रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिनको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरिएको यो कार्यक्रम “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित चैत्र ३ र ४ गते ललितपुरमा सम्पन्न भएको हो ।

कार्यक्रमको सुरुवातमा पार्टीका सभापतिद्धय डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले घण्टी बजाएर संयूक्त रुपमा उदघाटन गर्नुहुँदै जनताबाट प्राप्त विश्वासलाई परिणाममुखी उपलब्धिमा रूपान्तरण गर्न सांसदहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उपसभापति डा. वाग्लेले आफ्नो सम्बोधनमा प्रभावकारी संसदीय अभ्यास, नीतिगत स्पष्टता र उत्तरदायित्वपूर्ण नेतृत्वमार्फत् जनअपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए । त्यस्तै उपसभापति अर्यालले चुनावी अभियानका अनुभवहरू साझा गर्दै सांसदहरूलाई जनतासँग नजिक रहेर काम गर्न निर्देशन दिए ।

सहमहामन्त्री विपिनकुमार आर्चायले संचालन गरेको सो कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी संसदीय भूमिकातर्फ उन्मुख गराउने उद्देश्य लिएको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संघीय संसदको संरचना तथा कार्यप्रणाली, विधायन प्रक्रिया, संसदीय समितिहरूको भूमिका, बजेट तथा योजना निर्माण, नीति विश्लेषण, सुशासन र पारदर्शिताका मापदण्ड जस्ता विषयहरूमा विस्तृत जानकारी प्रदान गरिएको थियो। पूर्व सचिवहरू, विषय विज्ञहरूले सहजीकरण गरेका सत्रहरूले सांसदहरूलाई व्यवहारिक ज्ञान र दृष्टिकोण विकासमा सहयोग पुगेको छ ।

कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमले लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा पार्ने प्रभावबारे पनि विशेष प्रस्तुति राखिएको थियो । कार्यक्रममा पुन: निर्वाचित सांसदहरूले आफ्नो संसदीय अनुभव प्रस्तुत गर्दै चुनौती, सिकाइ र कार्यशैलीबारे जानकारी दिएका थिए । साथै समूहगत छलफल तथा ब्रेनस्टोर्मिङमार्फत् सांसदहरूलाई विभिन्न रणनीतिक सवालहरूमा छलफल चलाइएको थियो । आगामी संसदीय कार्यदिशा तय गर्न महत्वपूर्ण आधार तयार भएको कार्यक्रममा योग तथा ध्यानसहितको माइण्डफुलनेस अभ्यास समेत गरिएको थियो ।

समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण तथा नीतिगत प्राथमिकताबारे स्पष्ट पार्दै सांसदहरूलाई अनुशासित, उत्तरदायी र परिणाममुखी राजनीति अभ्यास गर्न आग्रह गरे । उनले जनताको विश्वासलाई कार्यसम्पादनमार्फत् प्रमाणित गर्नुपर्ने उल्लेख गर्दै संसदभित्र र बाहिर दुवै क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए ।

रास्वपाले आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने प्राप्त गरेकाे उल्लेख गर्दै सभापति लामिछानेले  यो जित रास्वपाको नभइ जनताको हो भएकाले अझै धेरै जिम्मेवार बन्नुपर्नेतर्फ सचेत गराएका थिए । साथै महान् शहिदहरुको त्याग लाई मनन गर्दै सबैभन्दा महत्वपूर्ण मुद्दा सामाजिक न्याय भएको बताए ।

सो अवसरमा उनले मधेश र कर्णालीको विकासलाई पहिलो प्रथमिकतामा राख्दै सिगों देशलाई विकास गर्ने योजनाहरु तर्जुमा गर्नमा जोड दिए । विपक्षीहरुलाई कटाक्ष नगर्न आग्रहसमेत गरे । विश्वविद्यालयहरूले काचुली फेर्नु पर्ने, उद्योग कलकारखाना चल्नुपर्ने, कामधन्दा निरन्तर चल्नुपर्ने, रोजगारी श्रृजना गर्नुपर्ने लगायतका सवालहरुमा पनि जोड दिइएको छ ।

विधानमा भएको राइट टु रिकल लागू गर्छौं भन्दै उनले मन्त्री आदिका लागि कुनैखालको भनसुन तथा समय व्यतित गर्ने कार्य आदि समेत नगर्न आग्रह गरे । विज्ञता, क्षमताका आधारमा सरकारको गठन हुने प्रष्ट्याउँदशे कसैले नेतृत्वका अगाडि नपर्दा मन्त्री नभइने भन्ने पुरानो दृष्टिकोण त्यागी जनताका सवालमा लाग्न ध्यानाकर्षण गरे ।

अभिमुखीकरणले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप,  दृष्टिकोण र संस्कार विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।

#RSP #NepalPolitics #सांसद #Orientation #PoliticalNews #नेपालसमाचार #Leadership #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages