आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- प्रधानमन्त्री सुशीला कार्की आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडेजात्रा समारोहमा सरिक भएकी छन् । काठमाडौँ उपत्यकामा मनाइने यस प्रसिद्ध जात्राका अवसरमा नेपाली सेनाको क्याभलरीले घोडा दौड तथा अश्वकलाहरु प्रदर्शन गर्नुका साथै भैरव वाहन गुल्मका कुकुरहरुका पनि विभिन्न प्रस्तुति रहेका थिए । समारोहमा जीवित देवी कुमारी, राष्ट्रपति, उपराष्ट्रपति लगायत विभिन्न उच्च पदस्थ अधिकारी, कूटनीतिज्ञहरुले पनि समारोह अवलोकन गरेका थिए । कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । हरेक वर्ष चैत कृष्ण औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।

२- इरानले स्वदेश फर्किने महिला फुटबल खेलाडीहरूको स्वागत गरिने जनाएको छ । संसदका सभामुख मोहम्मद बाकर कालीबाफले उनीहरूलाई जनताले सम्मानपूर्वक स्वागत गर्ने बताएका हुन् । अष्ट्रेलियामा भएको एक खेलका क्रममा इरानको राष्ट्रगान गाउन अस्वीकार गरेपछि ती खेलाडी विवादमा परेका थिए । त्यसपछि उनीहरूलाई देशद्रोहीको आरोप समेत लगाइएको थियो । उक्त घटनापछि टोलीका ६ खेलाडी र एक सहयोगी सदस्यले अष्ट्रेलियामै शरण लिने निर्णय गरेका थिए । तर पछि उनीहरूमध्ये पाँच जनाले आफ्नो निर्णय परिवर्तन गर्दै इरान फर्किने निर्णय गरेका हुन् । सभामुख कालीबाफले सामाजिक सञ्जालमार्फत ती खेलाडीलाई देशका प्रिय छोरीहरू भन्दै स्वागत गरिने बताएका छन् । उनले विदेशी दबाब र प्रलोभनका बाबजुद खेलाडीहरूले हिम्मत नहारेको उल्लेख गर्दै अब उनीहरू गर्वका साथ स्वदेश फर्किने बताएका छन् ।

ad

३- अमेरिकाले इरानमाथि शक्तिशाली ‘बंकर बस्टर’ बम प्रयोग गरेको छ । करिब ५ हजार पाउण्ड अर्थात् झण्डै २ हजार २७० किलो तौलका यी बम गहिराइमा रहेका लक्ष्य नष्ट गर्न प्रयोग गरिन्छन् । अमेरिकी सेनाको केन्द्रीय कमाण्डका अनुसार होर्मुज जलडमरू नजिक इरानका क्षेप्यास्त्र आधारस्थलमा यस्तो बम प्रयोग गरिएको हो ।  यस प्रकारका आक्रमणमा सामान्यतया दुई प्रकारका बम प्रयोग हुने गर्छन् । एक लेजरमार्फत निर्देशित बम र अर्को नयाँ प्रविधिको उन्नत बंकर भेदी बम हो । नयाँ प्रविधिको बम प्रयोग भएको सम्भावना बढी रहेको जनाइएको छ । उक्त बम पहिलो पटक सन् २०२१ मा परीक्षण गरिएको थियो । यो अत्याधुनिक प्रविधिमा आधारित बम हो, जसलाई उपग्रह र आन्तरिक नेभिगेशन प्रणालीको सहायताले लक्ष्यसम्म पुर्‍याइन्छ । अमेरिकी वायुसेनाका अनुसार यस्तो बम विशेष गरी जमिनमुनि गहिराइमा बनेका बलिया संरचना ध्वस्त पार्न बनाइएको हो । यसलाई लडाकु तथा बमवर्षक दुवै प्रकारका विमानबाट प्रहार गर्न सकिन्छ । यस घटनाले इरानले आफ्ना महत्वपूर्ण सैन्य संरचना जमिनमुनि लुकाएर राखेको हुन सक्ने अनुमानलाई बल दिएको छ ।

४- खोटाङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा घाइतेलाई काठमाडौं ल्याइएको छ । विमानस्थल कार्यालयले दुर्घटनामा १ जना यात्रु घाइते भएको र घाइते यात्रु र पाइलटलाई हेलिकप्टरमार्फत तत्काल उद्धार गरी थप उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको जानकारी दिएको छ । हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको थियो । काठमाडौंबाट ६ जना लिएर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा असन्तुलित भई जमिनमा पल्टिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हेलिकप्टर काठमाडौंबाट ५ जना यात्रु र १ जना पाइलट गरी कुल ६ जना लिएर खोटाङको बालवेशी (खानिडाँडाबाट १७ किलोमिटर उत्तर–पूर्व) का लागि उडेको जानकारी दिएको छ ।

५- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको कावा मुख्य सचिव  कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूसहभागी हुने छन् । बैठकमा भर्खरैसम्पन्न निर्वाचनमा पार्टीको पराजयको समिक्षा हुने बताइएको छ ।

६- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरुको सरकार गठन नहुँदै पार्टीभित्र फाटो ल्याउन विभिन्न समूहहरु लागेको बताएका छन् । नवनिर्वाचित सांसदहरुको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापति लामिछानेले आफूहरु मिल्न नसके र स्वार्थको बन्दी बने समस्याहरु आउने बताउदै पार्टीभित्र फाटो ल्याउन विभिन्न समूहहरु लागेको बताएका हुन् ।  उनले भने, ‘नयाँ सरकार गठन नभईकन हामीमा फाटो ल्याउन विभिन्न समूहको विगबिगी छ ।’ नवनिर्वाचित सांसदहरुलाई जथाभावी अभिव्यक्तिहरु नदिन र पार्टीको अनुशासनमा बस्न आग्रह गरे । उनले मतदाताले दिएको प्रत्येक मतको इज्जत हुनुपर्ने बताउँदै यसलाई सम्मान गर्न नव निर्वाचित सांसदहरुको कर्तव्य भएको स्मरण गराएका थिए । उनले भने, ‘जुन आशा र अपेक्षाका साथ मतदाताले हामीलाई जिताउनु भएको छ, यसको जिम्मेवारीवोध तपाईहरुमा हुनुपर्छ ।’  उनले सो अवसरमा अहिलेसम्म कसैलाई मन्त्री बनाउने विषयमा छलफल नभएको स्पष्ट गर्दै पार्टीलाई सबै संसद को मिहिनेत र भूमिका स्पष्टसँग जानकारी रहेकाले मन्त्री बन्न घरदैलो र मिडियाबाजी नगर्न समेत चेतावनी दिए । उनले पार्टी अनुशासनमा नबसेमा पार्टीमा राइट टू रिकलको व्यवस्था रहेको सम्झाउदै यसलाई कडाइका साथ लागु गर्ने बताए ।  उनले यो देश अहिले नबने कहिल्यै नबन्ने बताउदै पुराना दल र नेताहरुको योगदानको सम्मान गर्दै अब देशको भविष्य आफुहरुले बनाउने बताए ।  मंगलबारदेखि शुरु भएको रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम आज सकिदैछ ।

७-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली जनताले रास्वपालाई इतिहासमा कसैलाई नगरेको विश्वास गरेको बताएका छन् । नवनिर्वाचित सांसदहरुको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापति लामिछानेले नेपाली जनताले रास्वपालाई इतिहासमा कसैलाई नगरेको विश्वास गरेको बताएका हुन् । लामिछानेले नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिदै यस अघिको जस्तो हल्कारुपमा प्रस्तुत नहुन आग्रह गर्दै जिम्मेवार हुन आग्रह गरेका थिए । उनले पार्टीको हित विपरित काम नगर्न र पार्टी अनुशासनमा बस्न चेतावनी दिदै रास्वपाको विधानमा ‘राइट टु रिकल’ को व्यवस्था रहेको सम्झाएका थिए । उनले कुनै पनि किसिमको अराजकतालाई स्वीकार नगर्ने बताउदै  ‘राइट टु रिकल’ लाई लागु गर्ने स्पष्ट गरेका छन् ।

ad

८- इरानले इजरायलको जासुसी आरोपमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ । ती व्यक्तिमाथि इजरायलको गुप्तचर निकायका लागि काम गरेको आरोप लागेको थियो । इरानको सरकारी समाचार एजेन्सी तसमिनका अनुसार उक्त व्यक्तिले देशका संवेदनशील क्षेत्रहरूको तस्बिर र जानकारी बाहिर पठाएको आरोप लागेको थियो । रिपोर्टअनुसार उनलाई गत वर्ष जुन महिनामा सवजबलाघ सहरबाट पक्राउ गरिएको थियो । त्यतिबेला इरान र इजरायलबीच १२ दिनसम्म द्वन्द्व चलिरहेको थियो । इरानले ती व्यक्ति अनलाइनमार्फत भर्ती भएको जनाएको छ । उनले एक यात्रा समूहको लिंकमा आफ्ना विवरण राखेपछि फारसी भाषा बोल्ने एक गुप्तचर अधिकारीले सम्पर्क गरेको बताइएको छ ।

९- सीताराम गोकुल मिल्क्सले उत्पादन गर्ने दुधको बिक्री रोक्का गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीको स्थलगत अनुगमन गर्दा कम्पनीको प्याकेट प्रशोधित दुध सरकारले तोकेको गुणस्तरभन्दा कम पाइएपछि विक्रीमा रोक लगाएको हो । विभागका अनुसार दुधको चिल्लो पदार्थ तीन प्रतिशत हुनुपर्नेमा १.४ प्रतिशत मात्रै रहेको पाइएको थियो । विभागले भनेको छ- ‘प्रशोधित दुधको लागि नेपाल सरकारले तोकेको न्यूनतम अनिवार्य गुणस्तर मापदण्डमा दुधको चिल्लो पदार्थ ३.० प्रतिशत हुनपर्नेमा उद्योगमा रहेको लगबुकमा १.४ प्रतिशत मात्र पाइएको ( उत्पादन मितिः २०८२-१२-०२, ब्याच नं: २८६१) हुँदा उत्पादन भई विक्री वितरणको लागि कोल्ड स्टोरमा तयारी अवस्थामा रहेको सोही ब्याचको प्रशोधित दुधलाई उद्योगमा रहेको प्रयोगशालामा परिक्षण गर्दा पनि दुधमा चिल्लो पदार्थको मात्रा नेपाल सरकारले प्रशोधित दुधको लागि तोकेको न्यूनतम अनिवार्य गुणस्तर मापदण्ड भन्दा कम पाइएको छ ।’ विभागकी प्रवक्ता डा. बाल कुमारी शर्माले उत्पादन भई विक्री वितरणको लागि कोल्ड स्टोरमा तयारी अवस्थामा रहेको ५१९ क्रेट (५०० मिलि * २० पोका प्रति क्रेट) प्रशोधित दुध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा (३३) बमोजिम विक्री वितरण नगर्ने निर्देशन सहित रोक्का राखिएको जानकारी दिएकी छन् । साथै थप अनुसन्धानको लागि प्रयोगशाला परिक्षणनार्थ उक्त ब्याचको दुधको नमुना संकलन गरिएको उनले बताएकी छन् ।

१०- प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् । नेकपाका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्वप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत नेताहरु प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटार पुगेका थिए । उनीहरुबीच हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचन र समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री कार्कीले भनिन्- ‘तपाईँहरुले निर्वाचनमा भाग लिइदिनुभयो। यो निर्वाचनको पक्षमा वातावरण बनाउनुभयो र मुलुकलाई शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट निकास दिन सहयोगी भूमिका खेल्नुभयो। यसका निम्ति धेरै धन्यवाद छ।’ उनले निर्वाचनमा विजय भएका नेताहरुलाई बधाई दिइन् र अन्य नेताहरुलाई अर्कोपटकका लागि शुभकामना दिएकी थिइन् । नेकपाका नेताहरुले प्रधानमन्त्री कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न भई देशले निकास पाएको भन्दै बधाई दिएका थिए । संयोजक प्रचण्डले भने- ‘यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो। यसमा जुन साहस र मेहनतका साथ तपाईँले काम गर्नुभयो, यो निकै महत्त्वपूर्ण र प्रशंसालायक छ । हामीले सुरुबाटै निर्वाचनको विकल्प छैन भनेर उभिएका हौँ। इफ बट केही नभनी निर्वाचन हुनुपर्छ भन्ने त्यतिबेला हामी मात्रै थियौँ ।’ पूर्वप्रधानमन्त्री नेपालले भने- ‘प्रधानमन्त्रीमा सुशीला कार्की आउने भन्ने सुनेको दिन निकै राहतको महसुस भएको थियो। तर पछि तपाईँले नआउने भन्नुभयो भन्ने समाचार पनि आयो। त्यस कुराले हामी सबै आत्तिएका थियौँ। तपाईँ आइदिएपछि संविधान बाँच्छ, व्यवस्था जोगिन्छ र अवस्था सम्हालिन्छ भन्ने विश्वास थियो ।’ अस्तव्यस्त अवस्था सम्हालेर ६ महिनाभित्रै चुनाव गराउने कार्य निकै चुनौतीपूर्ण भए पनि प्रधानमन्त्री कार्कीको छवि, इमान र दृढताका कारण सम्पन्न भएको उनीहरुको भनाइ थियो ।

११- बलिवुड फिल्म ‘धुरन्धर-२ द रिभेन्ज प्रति दर्शकको प्रतीक्षा अन्ततः सकिने भएको छ । यो फिल्म बिहीबारदेखि प्रदर्शनमा आउँदैछ । फिल्मप्रति दर्शकमाझ निकै ठूलो आकर्षण देखिएको छ । अग्रिम टिकट बुकिङका तथ्यांकले पनि यसको लोकप्रियता पुष्टि गरेका छन् । अग्रिम बुकिङको मामिलामा यसले ‘बाहुबली २’ लाई समेत पछि पारेको छ । गत वर्ष मंसिरमा प्रदर्शनमा आएको ‘धुरन्धर’ ले आम्दानीका धेरै कीर्तिमान बनाएको थियो । त्यसैले यसको दोस्रो भागले पनि त्यस्तै सफलता दोहोर्याउने अपेक्षा गरिएको छ । हालको अग्रिम बुकिङ हेर्दा चलचित्रले राम्रो सुरुआत गर्ने संकेत देखिएको छ । बुधबारदेखि केही स्थानमा विशेष प्रदर्शन समेत हुँदैछ । ती प्रदर्शनबाट मात्रै करिब ३० करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान गरिएको छ । अग्रिम बुकिङतर्फ हेर्दा अहिलेसम्म नौ लाखभन्दा बढी टिकट बिक्री भइसकेका छन् । हालसम्म झण्डै ९ लाख ९० हजार ५०० टिकट बिक्री भएका छन्, जुन करिब १२ हजार ४२२ शोका लागि हो । भारतमा अग्रिम बुकिङमै ४२ करोड ७१ लाख रुपैयाँ आम्दानी भइसकेको छ । पहिलो दिनमै चलचित्रले घरेलु बजारमा १०० करोड भारुसम्म कमाउन सक्ने अनुमान गरिएको छ । विश्वभर भने यो रकम २०० करोड रुपैयाँसम्म पुग्ने अपेक्षा गरिएको छ । अग्रिम बुकिङकै आधारमा ‘धुरन्धर २’ ले ‘बाहुबली २’ को कीर्तिमान तोडेको छ । यसअघि ‘बाहुबली २’ ले पहिलो दिन करिब ६ लाख ५० हजार टिकट बिक्री गरेर शीर्ष स्थानमा थियो, तर अहिले त्यो स्थान ‘धुरन्धर २’ ले लिएको छ ।

१२- पश्चिम एसियामा जारी युद्ध १९औं दिनमा प्रवेश गरेको छ, र त्यसबेला पनि, युद्ध शान्त हुनुको सट्टा फैलिँदै गएको देखिन्छ । विश्वव्यापी चिन्ताहरू सतहमा उठेका छन्, जबकि विगत केही दिनदेखि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको मृत्युको हल्ला चलिरहेको छ । सामाजिक सञ्जालमा सनसनीपूर्ण चर्चा, एआई भिडियोको दाबी र राजनीतिक बयानबाजी पछि, नेतान्याहूको बारेमा सत्यताको बारेमा प्रश्नहरू उठिरहेको प्रश्न बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि चिन्तित बनाएको देखियो । स्थिति यहाँसम्म पुग्यो कि अमेरिकी राष्ट्रपति ट्रम्पले नेतान्याहू जीवित रहेको यकिन गर्न एक दूत नै पठाउनु पर्यो, जसले गर्दा नेतान्याहूले आफ्नो जीवित रहेको पुष्टि गर्न फेरि एक पटक भिडियो जारी गरे । सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा, नेतान्याहूले आफ्नो मृत्युको बारेमा हल्ला र अनुमानहरूको कडा प्रतिवाद गरे, आफ्नो जीवित रहेको दाबी गर्दै स्पष्ट रूपमा भने, ‘म जीवित छु ।’ यस भिडियोमा नेतान्याहूसँगै अमेरिकी राजदूत माइक हुकाबी पनि देखिए । भिडियोमा, हुकाबीले मजाक गर्दै ट्रम्पले उनलाई नेतान्याहू ठीक छन् कि छैनन् भनेर जाँच गर्न विशेष रूपमा पठाएको बताएका थिए । यसमा, नेतान्याहू मुस्कुराउँछन् र जवाफ दिन्छन्, ‘हो, म जीवित छु ।’ वास्तवमा, केही दिन अघि, नेतान्याहूको एउटा भिडियो बाहिर आएको थियो, जुन एआईद्वारा सिर्जना गरिएको दाबी गरिएको थियो । मानिसहरूले उनको हातमा छ वटा औंला भएको जिकिर गरे, जसले भिडियोको बारेमा शंका उत्पन्न गरायो । यसले सामाजिक सञ्जालमा चर्को बहस निम्त्यायो । सामाजिक सञ्जालमा रहेको च्याटबोट ग्रोकले पनि भिडियोलाई डीपफेक घोषणा गर्‍यो, जसले गर्दा अफवाहहरू अझ बढ्यो । यी दाबीहरू पछि, नेतान्याहूले लगातार धेरै भिडियोहरू पोस्ट गरेका छन् । एउटा भिडियोले उनलाई कफी हाउसमा देखाएको थियो, तर त्यसले पनि प्रश्नहरू उठायो । नेतान्याहूले अब अमेरिकी राजदूतसँगको नयाँ भिडियो पोस्ट गरेर आफ्नो उपस्थिति प्रमाणित गर्ने प्रयास गरेका छन् ।

१३- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २२ सयले घटेर तोलाको ३ लाख ७ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको ३ लाख ९ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ रुपैयाँले घटेर ५१५० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५३३५ मा कारोबार भएको थियो ।

१४- प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेकी हुन् ।  मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरेको उनको सचिवालयले जनाएको छ । सो अवसरमा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत सहभागी रहेका थिए ।

१५- लामो समय अवरुद्ध रहेको पोखरा महानगर क्षेत्रको फोहोर व्यवस्थापन सुचारु भएको छ । विगत करिब दुई महिनादेखि नै महानगरपालिकाको फोहोर संकलन अवरुद्ध भएकोमा अब समस्या समाधान गरेर सुचारु भएको नगर प्रमुख धनराज आचार्यले जानकारी दिएका छन् । उनले निरन्तरको प्रयासले तत्काललाई यो समस्या समाधान भएको जानकारी दिदै सार्वजनिक सरोकारको विषयमा निरन्तर चासो राख्न र फोहोर व्यवस्थापन जस्तो संवेदनशील कार्यमा अवरोध नगर्न आग्रह गरेका छन् । उनले फोहोर संकलन गर्ने गाडी आएपछि मात्र फोहोर विसर्जन गर्न र सभ्यता र अनुशासन मार्फत मानवीयता प्रस्तुत गर्न नगरबासीलाई अपिल समेत गरेका छन् । पोखरा महानगरपालिका–३३ मा फोहोर व्यबस्थापनका लागि प्रस्ताव गरिएको ल्याण्डफिल साइटको विषयमा भएको विवाद बढ्दै गएपछि फोहोर संकलन गत माघ महिना देखि अवरुद्ध रहेको थियो । पोखरा महानगरपालिकाले पोखरा–३३ पुँडिटारमा ल्याण्डफिल साइट बनाउने उद्देश्यले मंसिर २ गते टेरासोल्भ रिन्युवल नेपाल प्रालिसँग सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सम्झौता गरेको थियो । सम्झौताअनुसार कम्पनीले ८० करोड लगानी गरी २१ वर्षसम्म ल्याण्डफिल साइट व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माण गर्ने बताइएको छ । २६ महिनाभित्र प्रशोधन केन्द्र निर्माण गरिसक्ने र महानगरले ३० दिनभित्र जग्गा उपलब्ध गराउने सम्झौतामा उल्लेख गरिएको छ । परियोजनाअन्तर्गत स्थानीय १७ परिवारको नाममा लालपूर्जा भएको करिब ९६ रोपनी जग्गा महानगरले रोक्का गरेको छ । तर स्थानीयबासीले आफूहरूसँग कुनै सरसल्लाह नगरी परियोजना अघि बढाइएको भन्दै विरोध गरेका थिए ।

१६- अमेरिका, इजरायल र इरानबीच जारी रहदा इजरायलको आक्रमणमा इरानका सुरक्षा प्रमुख अली लारिजानी र उनका छोराको मृत्यु भएको पुष्टि भएको छ । इरानको इस्लामिक क्रान्तिकारी गार्डले  लारिजानीको मृत्युको पुष्टि गर्दै त्यसको बदला लिन इजरायलको राजधानी तेल अवीवमा सयभन्दा बढी स्थानमा क्षेप्यास्त्र प्रहार गरिएको जनाएको छ । यसअघि मंगलबार इजरायलले लारिजानीको मृत्यु भएको दाबी गरेको थियो । लारिजानी अमेरिका- इजरायलको आक्रमणमा मारिने पछिल्लो हाइप्रोफाइल अधिकारी हुन् ।  इरानका अनुसार लारिजानी, उनका छोरा तथा बसीज अर्धसैनिक बलका कमाण्डर घोलामरेजा सुलेमानीको हत्या भएको घटनाको प्रतिशोधस्वरूप हमला गरिएको हो । इरानले आफ्नो आक्रमण रोक्न इजरायलको सुरक्षा प्रणाली असफल भएको दाबी गरेको छ । यता इजरायलले भने आक्रमणका क्रममा खसेका क्षेप्यास्त्रका टुक्रा लागेर एक महिलाको मृत्यु भएको जनाएको छ । यसैबीच इरानको नेतृत्व कसले सम्हाल्ने भन्ने विषयमा चर्चा सुरु भएको छ । सम्भावित नेताका रूपमा केही नामहरू अगाडि आएका छन् । जसमा सुरक्षा तथा सैनिक क्षेत्रमा अनुभव भएका अहमद वाहिदी, संसद्का सभामुख मोहम्मद बाघेर गालिबाफ र कुद्स फोर्सका प्रमुख इस्माइल कानी पनि महत्वपूर्ण व्यक्तिका रूपमा अगाडि आएको मिडिया रिपोर्टमा उल्लेख छ ।

१७-  गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित भएका छन्। त्यस्तै वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्ष पदमा ), रोशन थापा (जाम्बिया)बुद्धि सुबेदी (अमेरिका), चिन्ता मणि सापकोटा (स्पेन), ददिवाल खड्का (जापान), दिनेश पोखरेल (अष्ट्रेलिया), गोपीकृष्ण काफ्ले (क्यानडा), डा. ज्ञानेन्द्र रेग्मी (अष्ट्रेलिया), जुनु गुरुङ (दक्षिण कोरिया), कमल मणि गुरागाईं (कतार), खगेन्द्र न्यौपाने (मलेसिया), लोक प्रसाद दाहाल (बेल्जियम), महेन्द्र ओली (अष्ट्रेलिया), मनोज कुमार श्रेष्ठ (यूएई), प्रबिन गुरुङ (कतार), पूर्णचन्द्र बनियाँ (अमेरिका), रबिनराज बज्राचार्य (अमेरिका), रामशरण सिम्खडा (यूके), रोजिना प्रधान राई (यूके र टंकप्रसाद गैरे (जापान) तिलक गैरे(पोर्तुगल, बिश्व दीप तिगिला (यूके), सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । महिला उपाध्यक्षमा राधिका गुरुङ (हङकङ) तथा युवा उपाध्यक्षमा भीमसेन थापा (पोर्चुगल) निर्विरोध चयन भएका छन् । महासचिवमा डा. चिरञ्जीवी खड्का (चेक गणतन्त्र) निर्विरोध हुँदा उपमहासचिवमा अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), दिनेश कुमार घिमिरे (यूके), पारसमणि पोखरेल (जापान), राजेन्द्र अर्याल (साउदी अरेबिया), स्वतन्त्र प्रताप शाह (अष्ट्रेलिया) निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा अभिमन्यु बस्नेत (क्यानडा), दीपेश खत्री (जर्मनी), मदनराज पौडेल (अष्ट्रेलिया), माधव दुलाल (क्यानडा), मोहम्मद मुक्तदा मु (कतार), प्रसुना कडेल (यूके), शिवप्रसाद पौडेल (जापान), सुजन अधिकारी (अष्ट्रेलिया), सुजन केसी खत्री (कुवेत), सुपेन्द्र घिसिङ (जापान)  यज्ञनारायण पौडेल (स्पेन) (यूके), भवानी  प्रसाद तिमल्सिना (युएई), रमेश भट्ट (कतार)सर्वसम्मत रूपमा चयन भएका छन् । महिला सचिवमा अमृता थापा (चीन), कोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सेना (यूके), सह-कोषाध्यक्षमा अब्दुल बासिद (कतार)बिमल सुबेदी (कतार)  तथा महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा (दक्षिण कोरिया) निर्विरोध निर्वाचित भएका छन् । महिला संयोजकमा रश्मी थापा (क्यानडा) र युवा संयोजकमा नवीन निउरे (जापान) निर्विरोध भएका छन् । क्षेत्रीय संयोजकहरूतर्फ अफ्रिकामा मनोज बी.के. (सेशेल्स), अमेरिकामा भुवन खरेल (क्यानडा), एसिया–प्रशान्तमा दीपक प्रसाद कँडेल (जापान), युरोपमा रोबोट लिम्बु (पोर्चुगल), मध्यपूर्वमा रमेश श्रेष्ठ (यूएई) र ओसियानियामा रमेश जोशी (अष्ट्रेलिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । त्यसैगरी अमेरिका क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा नेत्र पाण्डे र सम्राट थापा सर्वसम्मत रूपमा विजयी भएका छन् । यसैगरी, एशिया प्यासिफिक क्षेत्रको उप-क्षेत्रीय संयोजक पदमा भविन्द्र बस्नेत (थाइल्याण्ड), छत्र बहादुर दाहाल (जापान) र लाल सिंह खड्का (कम्बोडिया) सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । युरोप क्षेत्रका उप-क्षेत्रीय संयोजक पदमा बेलायतका तिलक राम भट्टराई सर्वसम्मत रूपमा चयन भएक छन् । मध्यपूर्व क्षेत्रका उप-क्षेत्रीय संयोजकमा ओमनका बिकाल झा, यूएईका  बिकास शाही र विष्णु लाल श्रेष्ठ, साथै कतारका करिम बक्स मिया सर्वसम्मत निर्वाचित भएका छन् । ओसियाना क्षेत्रका उप-क्षेत्रीय संयोजकमा अष्ट्रेलियाका छबी प्रसाद सापकोटा, सीके भुसाल र हेमन्त काफ्ले निर्वाचित भएका छन्। एशिया प्यासिफिक, युरोप, मध्यपूर्वका अफ्रिका, अमेरिका र ओसियनिया क्षेत्रमा महिला संयोजक पदका उम्मेदवारहरूमा संगीता अधिकारी (जापान), बाबा (राजेश्वरी) थापा (अस्ट्रिया), सरिता भण्डारी (कतार) लगायतका निर्वाचित भएका छन् । उप-क्षेत्रीय महिला संयोजकमा युरोपका लागि राधा सिग्देल (जर्मनी) र मध्यपूर्वका लागि मञ्जु मल्ल (यूएई) निर्विरोध  भएका छन्। एशिया प्यासिफिक उप-क्षेत्रीय युवा संयोजकमा राम थापा (जापान),यूरोप  उप-क्षेत्रीय युवा संयोजक शिव सागर बुढाथोकी (पुर्तुगल) र मध्य पूर्वमा सुजन सापकोटा (यूएई) तथा उप-क्षेत्रीय युवा संयोजकमा ओमन गौचन (यूके) र बासुदेव सापकोटा (साउदी अरेबिया) निर्विरोध भएका छन्। त्यसैगरी, दोस्रो पुस्ताका संयोजकमा दीपमाला ढकाल (हङकङ) निर्विरोध निर्वाचित भएकी छन् । अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) अन्तर्गत प्रवक्ता  पदमा सोम  सापकोटा सर्वसम्मत रूपमा मनोनित  भएका छन् ।

१८- अफ्रिकी फुटबल महासंघले अफ्रिका कप अफ नेशन्सको उपाधि सेनेगलबाट खोसेर मोरक्कोलाई विजेता घोषणा गरेको छ । फाइनल खेलको नतिजा उल्ट्याउँदै महासंघले सेनेगलले नियम उल्लंघन गरेको ठहर गर्दै खेल ३-० ले मोरक्कोको पक्षमा मान्य हुने निर्णय गरेको हो । यसअघि १८ जनवरीमा भएको फाइनलमा सेनेगलले मोरक्कोलाई अतिरिक्त समयमा १-० ले हराएको थियो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको अन्त्यतिर पाएको पेनाल्टीको निर्णयलाई लिएर सेनेगलका खेलाडीले मैदान छाडेका थिए । करिब १७ मिनेटपछि खेलाडीहरू मैदानमा फर्किए पनि त्यसले विवाद समाधान गर्न सकेन । पेनाल्टी प्रहार रोकिएपछि अतिरिक्त समयमा सेनेगलले निर्णायक गोल गर्दै जित निकालेको थियो । तर मोरक्को फुटबल महासंघले नियमअनुसार कारबाहीको माग गर्दै दिएको निवेदनपछि अफ्रिकी फुटबल महासंघले उक्त नतिजा उल्ट्याएको हो । महासंघका अनुसार खेलका क्रममा मैदान छाड्नु प्रतियोगिताको नियमविपरीत भएकाले सेनेगललाई पराजित घोषित गरिएको हो । नियमअनुसार खेल त्याग्ने टोली स्वतः पराजित मानिन्छ र ३-० को नतिजा लागु हुन्छ । मोरक्को फुटबल महासंघले आफ्नो अपिल खेलको नतिजा बदल्न नभई नियम कार्यान्वयन गराउनका लागि गरिएको जनाएको छ । साथै प्रतियोगितामा सहभागी सबै राष्ट्रको प्रशंसा पनि गरेको छ । फाइनल खेल निकै विवादास्पद बनेको थियो । अन्तिम समयमा दिइएको पेनाल्टीको निर्णयप्रति असन्तुष्ट हुँदै सेनेगलका प्रशिक्षकले खेलाडीलाई मैदानबाट बाहिर बोलाएका थिए । पछि खेल पुनः सुरु भए पनि घटनाले व्यापक आलोचना निम्त्याएको थियो । फुटबल जगतका विभिन्न व्यक्तिहरूले उक्त घटनालाई निन्दनीय भन्दै टिप्पणी गरेका थिए ।

१९- आर्सनल र पीएसजी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् । गएराती सम्पन्न राउण्ड १६ को खेलका दोस्रो लिगमा आर्सनलले जर्मनी क्लब बायर लिभरकुसनलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-१ को जितसहित क्वाटरफाइनलमा पुगेको हो । आर्सनलले पहिलो लिगमा १-१ को बराबरीमा रोकिएको थियो । आर्सनलको जितमा एबेरेची इजी र डेक्लान राइसले एक एक गोल गरेका थिए । अब आर्सनल क्वाटरफाइनलमा पोर्चुगीच क्लब स्पोर्टिंगसँग खेल्ने भएको छ । त्यसैगरी गएराती नै सम्पन्न खेलमा फ्रेन्च क्लब पिएसजीले चेल्सीलाई ३-० गोल अन्तरले पराजित गर्दै समग्रमा ८-२ नतिजासहित क्वाटरफाइनलमा पुगेको छ । पिएसजीले पहिलो लिगमा चेल्सीलाई ५-२ ले पराजित गरेको थियो । यस खेलमा पीएसजीको जितमा ख्भीचा क्भारस्खेलिया, ब्राडली बर्कोला र सेन्नी मायुलुले एक एक गोल गरेका थिए । पिएसजीले अब क्वाटरफाइनलमा लिभरपुल र गालाटासारेबीचको विजेतासँग खेल्ने छ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीलाई २-१ गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले समग्रमा ५-१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । यस अघि राउण्ड १६ को पहिलो लिगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । यस खेलमा रियल म्याड्रिडका लागि भिनिसियस जुनियरले दुवै गोल गरेका थिए भने म्यानचेस्टर सिटीका लागि एक गोल इर्लिंग हालाण्डले गरेका थिए । त्यसैगरी यस खेलमा खेलको २०औं मिनेटमा नै ब्रेनार्डो सिल्भाले रातो कार्ड पाएपछि म्यानचेस्टर सिटी १० खेलाडीमा सिमित भएको थियो । अब क्वाटरफाइनलमा रियल म्याड्रिड एटलान्टा र बायर्नम्युनिखवीचको विजेतासँग खेल्ने छ । त्यस्तै पोचुगीच क्लब स्पोर्टिंग पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । गएराती बोडोलाई ५-० गोल अन्तरले पराजित गर्दै समग्रमा ५-३ को नतिजासहित स्पोर्टिंग क्वाटरफाइनलमा पुगेको हो । अब क्वाटरफाइनलमा स्पोर्टिंग आर्सनलसँग खेल्ने भएको छ ।

images

२०-  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मध्यपूर्वका केही देशमा कार्यरत नेपाली श्रमिकका लागि पुनः श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । यसअघि पश्चिम एसियामा विकसित असहज परिस्थितिका कारण मन्त्रालयले साउदी अरेविया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल लगायतका देशका लागि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति स्थगन गरेको थियो । मन्त्रालयका अनुसार विभिन्न देशमा रहेका गैरआवासीय नेपाली संघ, दूतावास तथा श्रमिकहरूले पुनः श्रम स्वीकृति खुलाउन माग गरेपछि नयाँ निर्णय गरिएको हो । परराष्ट्र मन्त्रालयको सिफारिस र वैदेशिक रोजगार विभागको सुझावका आधारमा मंगलबार उक्त निर्णय गरिएको मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले जानकारी दिएका छन् । निर्णयअनुसार इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबनान बाहेकका देशमा कार्यरत नेपाली श्रमिक तथा बिदामा नेपाल आएर पुनः रोजगारीमा फर्किन चाहने श्रमिकलाई पुनः श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ । यसअन्तर्गत साउदी अरेविया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्की जाने श्रमिकले पुनः श्रम स्वीकृति पाउनेछन् ।

#आजकासमाचार #NewsBulletin #TopNews #BreakingNews #NepalNews #DailyUpdate #समाचार #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages