आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

ad

१- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनको समीक्षा शुरु गरेको छ ।  शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति वैठकमा पार्टी उपसभापति विश्वप्रकाश शर्माले चरम गुटबन्दी र वितृष्णाका कारण पार्टीले पराजय भोग्नु परेको प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका हुन् । उनले पराजयको प्रमुख कारण चरम गुटबन्दी र वितृष्णा भएको बताएका छन् । कतिपय जायज आवाजहरुलाई पनि पार्टीले नजरअन्दाज गर्दा निर्वाचनको नतिजा प्रतिकूल हुन पुगेको उल्लेख गर्दै पार्टीले फागुन २१ को निर्वाचनमा भोग्नु परेको पराजय र सभापति गगन थापाको राजीनामाका विषय पनि छलफलको एजेण्डामा राखेका छन् । बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यले अहिलेको अवस्थामा राजीनामा सहि विकल्प नभएको भन्दै सर्वसम्मतले राजीनामा अस्वीकृत गरिएको छ । बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले चुनाव हार्नुको प्रमुख कारण तत्कालिन कांग्रेस-एमालेको गठबन्धनको सरकार भएको धारणा राखेका छन् । आजको बैठकमा गगन थापा भने उपस्थित थिएनन् । बैठकमा उपसभापति विश्वप्रकाश शर्माले चुनाव पराजय बारे केन्द्रीय समितिमा समिक्षा पेश गरेका छन् । उपसभापति शर्माले २७ बुँदामा केन्द्रीय समितिको बैठकमा समिक्षा पेश गर्दै  २०७२ मा संबिधान बनेदेखि नै नयाँ शैली र नयाँपनको अपेक्षा अनुसार दलहरु परिवर्तन हुन नसकेको उल्लेख गरेका छन् । शर्माले विभिन्न कारण दिदै सभापति थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका थिए । उनले पेश गरेको प्रस्तावमा प्रतिकुलता चिरेर पार्टीलाई अनुकुलतामा पुर्याउने कमान्ड छोडेर सभापतिले पदत्याग गर्नु संगठनप्रति न्याय नहुने उल्लेख गरेका छन् । उनले भनेका छन्- ‘विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व आएको पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत र व्यक्तिप्रति न्याय हुन्न । त्यसका बाबजुद नैतिक जिम्मेवारी अनुभूत गर्ने सभापतिको भावनालाई उच्च कदर गर्दै पदबाट दिनुभएको राजीनामा अस्वीकृत गर्ने निर्णय गर्दछ।’ साथै उपसभापति शर्माले कांग्रेस निर्वाचनमा पहिलो दलका रूपमा विजयी बन्न नसके पनि पार्टीले अपनाएको मूल नीतिको विजय भएको उल्लेख गर्दै प्रतिकूल अवस्थाबीच चुनावमा जाँदा परिणाम अनुकूल नआउनु अनौठो नभएको बताएका छन् । अब बैठक आइतबार बिहान साढे ८ बजे बस्ने भएको छ ।

२- नारायणघाट- बुटवल सडक खण्डमा आजदेखि चैत ८ गतेसम्म राति ७ बजेदेखि बिहान ५ बजेसम्म ठुला मालबहाक सवारी साधन चलाउन रोक लगाइएको छ । नारायणघाट बुटवल सडक योजना (पश्चिम खण्ड) ले दुम्कीबास-दाउन्ने-बर्दघाट खण्डमा सडक चिप्लो भएका कारण चिप्लिने र अड्किने समस्या देखिएपछि तीन दिन रातिमा ठुला मालबहाक सवारी साधनको आवागमन रोकेको हो । सूचनामा भनिएको छ- यस दुम्किवास-दाउन्ने-वर्दघाट क्षेत्रमा मिति २०८२ चैत्र ६ गते दिउँसो १ वजे देखी परिरहेको भारि बर्षाका कारण सडक चिप्लो भई यस खण्डमा ठूला मालबहाक सवारी साधनहरू चिप्लिने, अड्किने समस्या देखिएको र सो कारणले सडक जाम भएर सवारी आवागमन अवरुद्द भएकोले सडक आवागमनको अवस्था हेरी मिति २०८२/१२/०६ देखि २०८२/१२/०८ सम्म रातिको समयमा (बेलुका ७ बजे देखी बिहान ५ बजेसम्म) ठुला मालबहाक सवारीसाधनहरुलाई वर्दघाट तर्फ त्रीवेणी चोक (टिसिएन चोक) मा र दुम्किवास बजारमै रोकी छोटो तथा लामो दुरीका यात्रुबहाक सवारीसाधनहरु तथा आकस्मिक सेवाका सवारी साधनहरुलाई प्राथमिकताका आधारमा मात्र सवारी साधन संचालन गर्न गराउन यो सूचना जारी गरिएको छ । साथै आयोजनाले यस सडक खण्डमा आवश्यक मर्मत सम्भारको काम भइरहेकोले अति आवश्यक सवारी साधन बाहेक अन्य सवारी साधनहरूले यथा संभव वैकल्पिक सडक प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

३- गैरआवासीय नेपाली संघ (एनआरएनए ) को नव निर्वाचित नेतृत्वले परराष्ट्र मन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट गरेको छ । नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरबारमा भएको भेटमा विश्वभर रहेका नेपालीहरूको हितका लागि सरकार र संघबीचको सहकार्य थप सुदृढ बनाउने विषयमा छलफल गरेको हो । भेटमा मन्त्री बालानन्द शर्माले नयाँ टोलीलाई बधाई दिँदै आगामी दिनमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईले पनि संघलाई सरकारको विश्वासिलो साझेदार भन्दै सफल कार्यकालको शुभकामना दिएका छन् । डा. शर्माले मध्यपूर्वमा कार्यरत २० लाखभन्दा बढी नेपाली श्रमिकहरूको अवस्थाप्रति सरकार गम्भीर रहनुपर्ने आग्रह गर्दै यस संवेदनशील समयमा एनआरएनए सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको बताए । उनले गैरआवासीय नेपालीहरू नेपालका सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान गर्न प्रतिबद्ध रहेको पनि दोहोर्याए ।  संघका अध्यक्ष शर्माले मध्यपूर्व क्षेत्रमा रहेका नेपालीहरूको अवस्था सम्बन्धी प्रतिवेदन मन्त्रालयलाई बुझाउँदै संकटमा परेका नेपालीको सहयोगका लागि राहत कार्यक्रम अघि बढाइएको जानकारी दिएका छन् । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष रोविन प्रसाद शेरचन, उपाध्यक्षहरू, आईईएस तथा ओबी सदस्यहरू, आईसीसी सदस्यहरू, एनसीसी अध्यक्षहरू तथा विभिन्न देशका गैरआवासीय नेपालीहरूको उपस्थिति रहेको थियो। परराष्ट्र मन्त्रालयका सचिव, सहसचिव तथा अन्य अधिकारीहरूको समेत सहभागिता रहेको उक्त भेटले एनआरएनए र मन्त्रालयबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाएको छ ।

४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानको खार्ग टापु कब्जामा लिने तयारी गरिरहेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । युद्धकै बीच यस्तो योजना अघि बढाइएको भन्दै उक्त कदममार्फत ईरानमाथि दबाब सिर्जना गरी होर्मुज जलडमरु खोल्न बाध्य पार्ने उद्देश्य रहेको जनाइएको छ । अमेरिकी सञ्चार माध्यम एक्सिओसका अनुसार अमेरिका पहिले सैन्य आक्रमणमार्फत ईरानलाई कमजोर बनाउने र त्यसपछि महत्वपूर्ण तेल निकासी केन्द्र खार्ग टापुमा नियन्त्रण कायम गरी वार्तामा आफ्नो पकड बलियो बनाउने रणनीतिमा रहेको बताइएको छ । खार्ग टापु ईरानका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ, किनकि त्यहाँबाट करिब ९० प्रतिशत तेल निर्यात हुने गर्दछ ।  तर अमेरिकी प्रशासनले सो क्षेत्रतर्फ थप सैनिक परिचालन गर्न अनुमति दिइसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

५- काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा हावाहुरी र असिनासहित बर्षा भएको छ ।  काठमाडौंमा पनि वर्षा भएको छ भने कालो बादलका करण अध्यारो भएको छ । त्यस्तै काठमाडौँका विभिन्न स्थानमा असिनासहित बर्षा भईरहेको छ । यसअघि जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा हावाहुरीसहित बर्षा हुने बताएको थियो ।

६-  इरानले होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको छ । परराष्ट्र मन्त्रालयले होर्मुज क्षेत्रबाट इरानले एक नेपालीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । साथै हाल इरानमा कुल ११ नेपाली रहेको पनि परराष्ट्रले जनाएको छ । त्यस्तै परराष्ट्रले हालसम्म मधपुर्वका विभिन्न देशमा इरान युद्धका करण एक जना नेपालीको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएको छ ।

७-  प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्न मधेस पुगेकी छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित कार्यक्रममा उनले कठिन र चुनौतीपूर्ण घडीमा पनि निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न विभिन्न तहमा खटिएका सुरक्षा अधिकारीहरू, प्रशासनिक कर्मचारीहरू तथा सरोकारवाला निकायहरूको योगदानको उच्च प्रशंसा गरेकी थिइन् । साथै, प्रदेशमा रहेका सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उहाँले उनीहरूको समर्पण र जिम्मेवारीप्रति कृतज्ञता व्यक्त गरेकी थिइन् । सो अवसरमा उनले भनिन्- ‘हामीले बनाएको योजना अनुसार तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो। हामीले लिएको सङ्कल्पलाई तपाईंहरूले सफलतापूर्वक पूरा गरिदिनुभयो। यसका लागि म आभारी छु। मान्छेहरू मलाई बधाई भनिरहेका छन्। यसको वास्तविक हकदार तपाईंहरू हो ।’ त्यस अवसरमा सुरक्षा निकायका अधिकारीहरूले पनि यस्तो महत्वपूर्ण राष्ट्रिय अनुष्ठानको अंग बन्न पाएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीजस्तो नेतृत्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताइन् ।

८-  ईरानले अमेरिकालाई सैन्य अड्डा प्रयोग गर्न दिए आक्रमणमा सहभागी मानिने भन्दै बेलायतलाई चेतावनी दिएको छ । ईरानका विदेशमन्त्री अब्बास अराघचीले बेलायतकी विदेशमन्त्री इभेट कूपरसँग टेलिफोन वार्ताका क्रममा यस्तो चेतावनी दिएका हुन् । उनले बेलायतले अमेरिकाालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न अनुमति दिए त्यसलाई ईरानविरुद्धको आक्रमणमा प्रत्यक्ष सहभागिता मानिने बताएका छन् । अराघचीले अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय नियम र सिद्धान्त विपरीत ईरानमाथि आक्रमण गरेको आरोप लगाए । साथै उनले बेलायतसहित केही युरोपेली देशहरूको धारणा पक्षपाती रहेको टिप्पणी गरे । संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ उल्लेख गर्दै उनले ईरानलाई आत्मरक्षाको अधिकार रहेको बताए । उनका अनुसार ईरानले छिमेकी देशहरूको सार्वभौमिकताको सम्मान गर्दै आएको छ र उनीहरूमाथि आक्रमण गर्ने कुनै उद्देश्य नरहेको स्पष्ट पारे । तर ती देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाबाट ईरानमाथि आक्रमण भइरहेको भन्दै उनले त्यसप्रति आपत्ति जनाएका छन् ।

९- चर्चित निर्देशक हेमराज विसी फिल्म निर्देशनमा फर्किने भएका छन् । पछिल्लो समय अमेरिकामा बस्दै आएका बिसी अब निर्देशनमा फर्किने तयारीमा लागेका छन् । बिसीले आफ्नो नयाँ फिल्मका लागि अडिसन आह्वान गरेका छन् । हेमराज स्वंयले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै फिल्मका लागि १८ देखि २५ वर्ष, २६ देखि ३५ वर्ष र ३६ देखि ५० वर्ष उमेर समूहका कलाकारको खोजी भइरहेको जनाएका छन् । उनका अनुसार इच्छुकले चैत्र १२ गतेदेखि १४ गतेसम्म हुने अडिसनमा सहभागिता जनाउन सक्नेछन् । फिल्मको अडिसन काठमाडौँको भत्केको पुलस्थित कठघरा स्टुडियोमा सञ्चालन हुनेछ । तर, अडिसनमा सहभागी हुन चाहनेले अनिवार्य रूपमा इमेल र फोनमार्फत नाम दर्ता गराउनुपर्ने र नाम दर्ता भएपछि मात्र अडिसन दिन पाइने निर्माण कम्पनी मुनलाइट मोसन पिक्चर्सले जानकारी दिएको छ । बिसीले पछिल्लो पटक छक्का पन्जा- ४ निर्देशन गरेका थिए । ‘एक्टर : टेक वान’का निर्माता थमन कुमार भण्डारीले फिल्मको निर्माण गर्नेछन् । उनले यसअघि फिल्म ‘पण्डित बाजेको लौरी’ पनि निर्माण गरेका थिए । उनी ‘कठघरा’ कार्यक्रमका निर्माता पनि हुन् ।

१०- मध्यपूर्वका विभिन्न देशमा अहिलेसम्म २० नेपाली घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले अहिलेसम्म इरान युद्धका कारण विभिन्न देशमा एक जनाको मृत्यु भएको र २० जना घाइते भएको जानकारी दिएको छ । अहिलेसम्म घाइते २० जना मध्ये १९ जना उपचारपछि फर्किएको र एक जनाको उपचार जारी रहेको परराष्ट्रले जनाएको छ । उपचारत एक जना पनि सामान्य घाइते रहेको उल्लेख गरेको छ । त्यस्तै मध्यपूर्वका देशहरुमा सामाजिक सञ्जालमा विभिन्न निषेधित सामाग्री शेयर गर्ने ७ नेपाली पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले उनीहरुलाई सम्बन्धित देशको कानुन अनुसार कारवाही हुने जानकारी प्राप्त भएको बताउदै उनीहरुलाई एक बर्षको जेल सजाय, नगद जरिवाना र डिपोर्टसम्म हुनसक्ने उल्लेख गरेको छ । परराष्ट्र मन्त्रालय मध्यपूर्वका देशले युद्ध बारे सामाजिक सञ्जालमा लेख्न कडा प्रतिबन्ध लगाएकोले त्यसो नगर्न सबैलाई आग्रह गरेको छ ।  परराष्ट्र मन्त्रालयले अहिलेसम्म मध्यपूर्वका देशमा कुनै नेपाली नागरिक अलपत्र परेको अवस्थामा नरहेको स्पष्ट गरेको छ ।

११-  इरानले कतारपछि अब कुवेतको तेल प्रशोधन केन्द्रमा पनि आक्रमण गरको छ । कुवेतको सरकारी तेल कम्पनी कुवेत पेट्रोलियम कर्पोरेशनका अनुसार प्रशोधन केन्द्रमा धेरै वटा ड्रोनबाट आक्रमण गरिएको हो । आक्रमण भए पनि हालसम्म मानवीय क्षतिको खबर भने आएको छैन । सरकारी समाचार एजेन्सीका अनुसार मीना अल अहमदी प्रशोधन केन्द्रमा आगलागी भएको थियो । आगो नियन्त्रणमा लिन आपतकालीन टोलीले लामो समयसम्म प्रयास गर्नुपरेको जनाइएको छ । केही उत्पादन एकाइहरू पनि अस्थायी रूपमा बन्द गरिएको छ । खाडी क्षेत्रका देशहरूले ऊर्जा केन्द्रहरूलाई आक्रमणबाट जोगाउने प्रयास गरिरहेका भए पनि युद्धका कारण ती स्थानहरू बारम्बार निशानामा परिरहेका छन् । दक्षिण पार्स ग्यास क्षेत्रमा इजरायलले आक्रमण गरेपछि त्यसको प्रत्युत्तरमा ईरानले कारबाही थालेको हो, जसको असर खाडी देशहरूमा समेत परेको छ । पवित्र रमजान महिनाको अन्त्यसँगै मनाइने ईदको समयमा समेत युद्ध रोकिने संकेत नदेखिएको जनाइएको छ ।

१२- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकुल बकपत्र गरेका सुर्खेतका टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । विशेष अदालतमा दर्ता भएको मुद्दा नं. ०८२–सीआर–००२७ मा नेपाल सरकारका तर्फबाट दायर गरिएको वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्की प्रतिवादी रहेको मुद्धामा घर्तिले बयान बदलेर कार्कीलाई सहयोग गरेको अख्तियारको आरोप रहेको छ । आयोगका अनुसार घर्तीलाई अनुसन्धानमा सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायबाट पूर्ण छुट दिई सरकारी साक्षी बनाइएको थियो । तर उनले विशेष अदालत, काठमाडौँमा गत माघ २२ गते दिएको बयान पहिलेको प्रमाण र विवरणसँग मेल नखाने गरि दिएका थिए । अनुसन्धानबाट देउतीबज्यै निर्माणका सञ्चालक समेत रहेका घर्तीले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सडक स्तरोन्नति योजनाको अन्तिम बिल भुक्तानी सहज बनाउनका लागि टंकबहादुर कार्कीलाई एक लाख रुपैयाँ घुस दिएको पुष्टि भएको आयोगले जनाएको छ । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएको ठहर गर्दै घर्तीविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

१३- बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले रिलिजको पहिलो दिन कीर्तिमानी कमाई गरेको छ । फिल्मले रिलिजको पहिलो दिन ९७ करोड भारु कमाई गरेर नयाँ किर्तिमान बनाएको हो ।  यसअघि बलिवुडमा पहिलो दिन धेरै कमाई गर्ने किर्तिमान शाहरुख खानको फिल्म जवानको नाममा रहेको थियो । २०२३ मा रिलिज भएको जवानले पहिलो दिन ७५ करोड कमाई गरेको थियो । बलिवुड फिल्म विश्लेषकहरुले धुरन्धर-२ ले पहिलो दिन ९७ करोड नेट कलेक्सन र पेड प्रिभ्युबाट ४७ करोड गरेर १४४ करोड भारु कमाई गरेको उल्लेख गरेका छन् । त्यस्तै धुरन्धर- २ ले भारत बाहिर पनि पहिलो दिन शानदार कमाई गरेको छ । फिल्म पहिलो दिन भारत बाहिर ६४ करोड कमाई गरेको छ । यसरी यस फिल्मले पहिलो दिन २०० करोड भन्दा बढी कमाई अग्रेको छ । धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो । धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।

१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई सर्वसम्मत संसदीय दलको नेता बनाउने भएको छ । महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार रास्वपाले आफ्नो संसदीय दलको नेता निर्वाचित गर्न मतदान नगर्ने भएको छ । पार्टीका शीर्ष नेताहरूको छलफलपछि पार्टीका सबै निर्वाचित सांसदहरूके सहमतिमै दलको नेता सर्वसम्मत निर्वाचित गर्ने तय गरिएको छ । उक्त सहमति अनुमोदनका लागि १२ गते  केन्द्रीय समिति बैठक बस्ने तयारी गरिएको छ । १२ गते नै नवनिर्वाचित सांसदहरुको शपथपछि बालेनले प्रधानमन्त्रीको रुपमा चैत्र १३ गते शपथ लिने तयारी समेत भएको बताइएको छ ।

१५- पश्चिम एसियामा जारी तनावबीच इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोरले इरानको आकाशमा अमेरिकी एफ–३५ स्टेल्थ लडाकु विमानलाई निशाना बनाएको दाबी गरेको छ । इरानले सो विमान दुर्घटनामा परेको सम्भावना उच्च रहेको जनाएको छ । यता अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार इरानी क्षेप्यास्त्र आक्रमणपछि एउटा एफ-३५ विमानले आकस्मिक अवतरण गर्नुपरेको अमेरिकी रक्षा अधिकारीहरूले बताएका छन् । अमेरिकी सेनाको केन्द्रीय कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले विमान इरानमाथि एक अभियानमा रहेको पुष्टि गर्दै सुरक्षित अवतरण भएको र चालकको अवस्था सामान्य रहेको जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ । एफ-३५ विश्वकै महँगा लडाकु विमानमध्ये एक मानिन्छ, जसको मूल्य १० करोड अमेरिकी डलरभन्दा बढी पर्छ । इरानको दाबी पूर्ण रूपमा सही ठहरिएमा यो द्वन्द्वको ठूलो सैन्य उपलब्धि हुने मानिएको छ । इरानले यसअघि अमेरिका र इजरायलका १२५ भन्दा बढी ड्रोन खसालेको पनि दाबी गरेको छ । यसैबीच युद्धका क्रममा अमेरिकी सेनाले अन्य क्षति पनि व्यहोरेको बताइएको छ । रिपोर्टअनुसार कुवेतको हवाई रक्षा प्रणालीले गल्तीवश अमेरिकाका तीन एफ-१५ इगल विमान खसालेको जनाइएको छ । ती विमानमा रहेका सबै छ चालक सदस्य भने सुरक्षित रहेको बताइएको छ । त्यसैगरी गत साता इराकमा अमेरिकाको केसी-१३५ स्ट्र्याटोट्यांकर विमान दुर्घटनामा परेको थियो, जसमा सवार सबै छ जनाको मृत्यु भएको थियो । अमेरिकी सेनाले उक्त दुर्घटना शत्रुको आक्रमणका कारण नभएको स्पष्ट पारेको छ । यी घटनाबीच पनि अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिका निर्णायक रूपमा अघि बढिरहेको दाबी गरेका छन् । उनले इरानको हवाई रक्षा प्रणाली लगभग ध्वस्त भइसकेको बताएका छन् । यसै क्रममा अमेरिकाले क्षेत्रमा आफ्नो उपस्थिती बलियो बनाउन ओकिनावाबाट मरीन बल र त्रिपोली समूह तैनाथ गर्ने निर्णय गरेको जनाइएको छ । अमेरिकी युद्धपोत युएसएस त्रिपोली हालै सिंगापुर नजिक देखिएको पनि रिपोर्टमा उल्लेख छ ।

१६-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य आजपनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ७८ सयले घटेर तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ३ लाख २ हजार ३ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४८९५ मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ५०१० मा कारोबार भएको थियो ।

१७- चीनले आफ्नै आन्तरिक बजार सुरक्षित राख्न भन्दै रासायनिक मल निर्यातमा रोक लगाउन सुरु गरेको छ । मिडिया रिपोर्टका अनुसार यस कदमले पहिले नै इरानसँग सम्बन्धित द्वन्द्वका कारण दबाबमा रहेको विश्व बजारमा थप असर पर्ने देखिएको छ । मार्च महिनामा बेइजिङले नाइट्रोजन-पोटासियम मिश्रित मल र केही फस्फेटयुक्त मलको निर्यातमा प्रतिबन्ध लगाएको हो । यसअघि नै लागू रहेका प्रतिबन्ध र युरियामा लगाइएको कोटासहित अब चीनबाट सीमित प्रकारका मल मात्र निर्यात भइरहेका छन् । विशेषगरी अमोनियम सल्फेटजस्ता केही मल मात्र बाहिर पठाउन सकिएको जनाइएको छ । यसको अर्थ अघिल्लो वर्ष चीनले निर्यात गर्ने मलको करिब आधादेखि तीन चौथाइ हिस्सा अहिले प्रतिबन्धमा परेको छ । यो मात्रा झण्डै ४ करोड मेट्रिक टनसम्म पुग्न सक्ने बताइएको छ । चीन विश्वकै ठूला मल निर्यातकर्तामध्ये एक हो । उसले गत वर्ष मात्रै १३ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको मल निर्यात गरेको थियो ।

१८- प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ चैत १२ गते हुने भएको छ । संघीय संसद सचिवालयले शुक्रबार सूचना जारी गर्दै नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार हुने जनाएको हो । शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभा कक्षमा हुने तय भएको छ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन सचिवालयले आग्रह गरेको छ । साथै नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनिएको छ । संघीय संसद सचिवालयले भनेको छ:  नेपालको संविधानको धारा ८८ र ९१ को उपधारा (५) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम देहायको मिति, समय र स्थानमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ बाट निर्वाचित सदस्यहरूको शपथ हुने भएकोले उक्त कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रति सहित निर्धारित समयभन्दा दुई घण्टा अगावै औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थितिका लागि सम्पूर्ण सदस्यहरूलाई अनुरोध गरिन्छ । नेपाली भाषा बाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहनुहुने सदस्यले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची – ३ को ढाँचाको शपथको व्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रम भन्दा तीन दिन अगावै सङ्घीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा सो शाखाको इमेल mpfacilitation_section@parliament.gov.np मा उपलब्ध गराउनुहुन समेत अनुरोध गरिन्छ । साथै, सबै जिल्ला प्रशासन कार्यालयले यसै सूचनालाई आधार मानी आ- आफ्नो जिल्लाका निर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई उल्लिखित व्यहोरा जानकारी गराइदिने व्यवस्था गर्नुहुन समेत अनुरोध गरिन्छ ।

१९- युइएफए युरोपा लिगको क्वाटरफाइनलको समीकरण पुरा भएको छ । युरोपा लिगको राउण्ड १६ का दोस्रो लिगका खेल सकिएसँगै क्वाटरफाइनलको समीकरण पुरा भएको हो । क्वाटरफाइनलमा पुग्ने आठ क्लबमा रियल बेटिस, एससी फ्रेईबर्ग, पोर्टो, बोलोंग्ना, एस्टन भिल्ल्ला, नोट्टीङघम फोरेस्ट, सेल्टा भिगो र ब्रागा रहेको छ । अब क्वाटरफाइनलमा रियल बेटिस र ब्रागा, एससी फ्रेईबर्ग र सेल्टा भिगो,  पोर्टो र नोट्टीङघम फोरेस्ट तथा बोलोग्ना र एस्टन भिल्लाबीच खेल हुने छ । क्वाटरफाइनलका खेलको पहिलो लिग अप्रिल ९ र दोस्रो लिग अप्रिल १६ मा हुने छन् ।

images

२०-  विश्वभर प्रयोग हुँदै आएका हेयर एक्सटेन्सनमा स्वास्थ्यका लागि हानिकारक रसायन हुने सम्भावना रहेको एक विस्तृत अध्ययनले देखाएको छ । वैज्ञानिकहरूले कृत्रिम तथा मानव कपालबाट बनेका विग, ब्रेडिङ कपाल, वीभ्स र क्लिप–इनजस्ता विभिन्न प्रकारका हेयर एक्सटेन्सन परीक्षण गर्दा अधिकांश नमुनामा करिब ५० भन्दा बढी खतरनाक रसायन फेला परेका छन् । अमेरिकन केमिकल सोसाइटी पत्रिकामा प्रकाशित यो अध्ययन अहिलेसम्मकै ठूलोमध्ये एक मानिएको छ । अनुसन्धानमा ४३ नमुनाको परीक्षण गर्दा १७० प्रकारका फरक-फरक रसायन भेटिएका छन् । तीमध्ये ४८ रसायन अन्तर्राष्ट्रिय रूपमा खतरनाक सूचीमा रहेका छन् । अध्ययनमा आगो रोक्ने रसायन, कीटनाशक तथा हार्मोनमा असर गर्ने पदार्थसमेत रहेको पाइएको छ । विशेषगरी हार्मोन प्रणालीमा असर गर्ने रसायनहरू भेटिनुले चिन्ता बढाएको छ । यस्ता पदार्थले शरीरको प्राकृतिक प्रक्रिया प्रभावित पार्ने, प्रजनन क्षमता घटाउने र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्ने बताइएको छ । अध्ययनले स्तन क्यान्सरसँग सम्बन्धित १७ प्रकारका रसायन ३६ वटा नमुनामा भेटिएको देखाएको छ । यसले दीर्घकालमा स्तन क्यान्सरको जोखिम बढाउन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ । यस्तै केही नमुनामा औद्योगिक प्रयोगमा आउने अर्गेनोटिन नामक यौगिक पनि फेला परेको छ, जुन सामान्यतया प्लास्टिक र आगो प्रतिरोधी सामग्रीमा प्रयोग हुने गर्दछ । यसलाई छालामा जलन र हार्मोन असन्तुलनसँग सम्बन्धित मानिन्छ । अनुसन्धानकर्ताका अनुसार हेयर एक्सटेन्सन लामो समयसम्म टाउको, घाँटी र शरीरसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले जोखिम अझ बढ्न सक्छ । धेरै महिलाले यसलाई हप्तौं वा महिनौंसम्म प्रयोग गर्ने भएकाले रसायनको असर क्रमशः बढ्न सक्छ । अध्ययनले मानव कपालबाट बनेका एक्सटेन्सन पनि पूर्ण रूपमा सुरक्षित नहुने देखाएको छ । ‘भर्जिन’ वा ‘र’ भनेर बेचिने कपालमा समेत रसायन भेटिएका छन् । कतिपय अवस्थामा मानव कपालका नमुनामा कृत्रिम कपालभन्दा बढी हानिकारक पदार्थ पाइएको उल्लेख गरिएको छ । वैज्ञानिकहरूका अनुसार कपाललाई चम्किलो, टिकाउ वा सजिलै मिलाउन योग्य बनाउन विभिन्न रसायन प्रयोग गरिने हुँदा यस्तो समस्या देखिएको हुन सक्छ । अर्कोतर्फ, हेयर एक्सटेन्सन प्रयोग गर्दा तातो उपकरण वा उम्लिएको पानी प्रयोग गर्ने चलनले पनि जोखिम बढाउन सक्छ । यस क्रममा विषालु ग्यास निस्कन सक्ने र श्वासमार्फत शरीरमा प्रवेश गर्न सक्ने चेतावनी दिइएको छ । विश्वभर हेयर एक्सटेन्सनको बजार आक्रामक रुपमा विस्तार भइरहेको बेला यस्तो रिपोर्ट सार्बजनिक भएको छ । हेयर एक्सटेन्सनको बजार विश्वव्यापी रूपमा द्रुत गतिमा बढिरहेको छ र २०२८ सम्ममा १४ अर्ब डलरभन्दा बढीको हुने अनुमान गरिएको छ ।

#DailyNews #Top20News #NewsBulletin #NepalNews #BreakingNews #TodayNews #NewsUpdate #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages