

पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावले मौसम बदली भई पश्चिम नेपालबाट शुरू भएको वर्षा गएराति पूर्वी नेपाल पुगेको छ । राति पूर्वका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् विनोद पोखरेलका अनुसार कोशीका केही ठाउँमा अहिले भारी वर्षा भइरहेको छ । पानी पर्ने क्रम आज रातिसम्म जारी रहने उनले बताए ।


राति कोशीलगायत बाँकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार रातिदेखि मौसम खुल्ने सम्भावना छ ।
जलवायुविज्ञ उज्जवल उपाध्यायका अनुसार हाल बिहार,भारतको गोरखपुर-बगाहा हुँदै चितवनको माडीक्षेत्र प्रवेश गर्नै लागेको यो प्रणाली बिस्तारै उत्तर-पूर्व सर्ने क्रममा देखिन्छ ।

पूर्वमा पहिलेदेखि कायम रहेको वर्षा प्रणालीसँग ठोकिएपछि केहीबेर ठूलो वर्षा गराउने सम्भावना रहेको उनले बताए ।
यो प्रणाली पश्चिम चितवनबाट पूर्वीचितवन, धादिङ र उत्तरी मकवानपुर काठमाडौं उपत्यका आइपुग्ने सम्भावना छ । यसले धादिङ, मकवानपुर र तथा चितवनको भण्डारा-टाँडी-भरतपुर-मुग्लिङ-शक्तिखोर क्षेत्रमा ठूलो वर्षा गराउन सक्ने उनको भनाइ छ ।
उनका अनुसार काठमाडौं उपत्यकासम्म आइपुग्दा यो प्रणाली कमजोर भैसक्ने र ठूलो वर्षा हुने सम्भावना कम छ । यो वर्षापछि पश्चिम तथा काठमाडौंलगायतको मध्य-क्षेत्रमा मौसम खुल्दै जाने उनले बताए ।
मौसम पूर्वानुमान महाशाखाले पनि आइतबारदेखि मौसम क्रमशः खुल्ने जनाएको छ ।
#WeatherAlert #RainForecast #Thunderstorm #Lightning #Hailstorm #Windstorm #NepalWeather #WeatherUpdate #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD



