

काठमाडौं । केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता शुरु भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार जिल्ला प्रशासन कार्यालय ललितपुरको निरीक्षणको क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच अन्तरआबद्धता शुरु भएको जानकारी दिएका हुन् ।

अन्तरआवद्धतासँगै सेवाग्राहीले एउटै प्रकृतिका विवरणका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै फारम भर्नुपर्ने झन्झट अन्त्य भएको छ ।
गृहमन्त्री अर्यालले यस बारेमा जानकारी दिदै भने- ‘गृह मन्त्रालय सञ्चालनमा रहेको केन्द्रिकृत नागरिकता व्यवस्थापन सूचना प्रणाली र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीबीच सेवा अन्तरआबद्धता गरी राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीहरुले राष्ट्रिय परिचयपत्रको विवरण दर्तासहितको आवेदन फारम भर्न नपर्ने बनाइ सहज र नागरिकमैत्री सेवा उपलब्ध गराउँदा नागरिकलाई भलन्झटरहित सेवा उपलब्ध गराउनेगरी सेवा शुरु गरेका छौं ।
मन्त्रालयका अनुसार हाल १२ वटा सार्वजनिक सेवासँग अन्तरआवद्धता भइसकेको छ । यसबाट दोहोरो काम घटेको, राज्यकोषमा बचत भएको तथा आर्थिक र सामाजिक अपराध नियन्त्रणमा समेत सहयोग पुगेको जनाइएको छ । राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा व्यक्तिको पहिचान र प्रमाणीकरण गरी नागरिकका वैयक्तिक तथा जैविक विवरण प्रयोग गरेर प्रविधिमैत्री सेवा प्रवाह सुनिश्चित गरिएको छ । यसले सुशासन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

गृह मन्त्रालयका अनुसार हाल दैनिक करिब ६ हजारदेखि ८ हजारसम्म सेवाग्राहीले नयाँ व्यवस्थाबाट सेवा लिइरहेका छन् ।
#NationalID #CitizenshipNepal #DigitalNepal #GovernmentService #EasyProcess #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



