

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेका कर्मचारी र सुरक्षा निकायका अधिकारीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले सम्मान गरेका छन् ।
सोमबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले विभिन्न निकायका उच्च अधिकारीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान व्यक्त गरेका हुन्। सम्मानित हुनेमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत काठमाडौं उपत्यकाका जिल्ला सुरक्षा समितिका पदाधिकारी रहेका छन् ।

यस अवसरमा मन्त्री अर्यालले गत फागुन २१ मा सम्पन्न निर्वाचन शान्तिपूर्ण र सफल रूपमा सम्पन्न भएको उल्लेख गर्दै यसमा सबै सरोकारवालाको महत्वपूर्ण योगदान रहेको बताए। उनले रक्तपातबिनै एकै चरणमा निर्वाचन सम्पन्न हुनु नयाँ मानकका रूपमा स्थापित भएको उल्लेख गरेका थिए ।
उनले सामूहिक नेतृत्व, समन्वय र जिम्मेवार भूमिकाका कारण सकारात्मक परिणाम प्राप्त भएको भन्दै आगामी दिनमा पनि यस्तो अभ्यासलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै सम्बन्धित अधिकारीहरूले पनि निर्वाचन अवधिभर देखिएको सहकार्य र समन्वय नै सफलताको मुख्य कारण भएको बताएका छन् ।



