आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कांग्रेसले आफ्नो १५औं महाधिवेशनको लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति गगन थापाले पार्टीको १५औं नियमित महाधिवेशनको तलिका प्रस्ताव गरेका हुन् । जसअनुसार २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने प्रस्तव गरिएको छ । सभापति थापाले बैशाख महिनामा देश भर क्रियाशील सदस्य अध्यावधिक गर्ने बताउदै महाधिवेशनको मिति प्रस्ताव गरेका छन् । प्रस्तावित कार्यतालिकाअनुसार ६ हजार ७४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।त्यस्तै साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन, साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्न प्रस्ताव गरिएको छ । त्यसैगरी जिल्ला अधिवेशन भदौ ६ र ७ गते र प्रदेश अधिवेशन भदौ १५ र १६ गते गर्न प्रस्ताव गरिएको छ । यो कार्यतालिका पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने सभापति थापाले बताएका छन् ।

२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट सर्वोच्च अदालतमा आज पनि हेर्दा हेर्दैमा राखिएको छ । सोमबार न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा हेर्दा हेर्दैमा राखिएको यो रिटमा आज पनि बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो । यअसघि न्यायाधीशद्धय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले तीन दिन बहस सुनेर फाइल मगाउने आदेश गरेको थियो ।  यो रिट अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।

३-  राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई  २४ घण्टे स्पष्टीकरण सोधेको छ । परिषद्को स्वीकृति नलिईकन निर्वाचन प्रक्रिया अगाडि बढाइएको भन्दै एन्फालाई स्पष्टीकरण सोधेको हो । राखेपले पछिल्लोपटक बिहीबार चैत ५ गते एन्फालाई पत्र पठाएर निर्वाचन स्थगन गर्न र त्यसको लिखित जानकारी तीन दिनभित्र गराउन भनेको थियो । त्यसको जवाफमा एन्फाले निर्वाचन रोक्न नसकिने भनेपछि राखेपले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

४- जारी पीएम कप अन्तर्गत नेपाली पुलिस क्लबले एपीएफ क्लबलाई फराकिलो अन्तरले पराजित गरको छ । मंगलबार सम्पन्न खेलमा पुलिस क्लबले एपीएफलाई १८५ रन अन्तरले पराजित गरेको हो । पुलिस क्लबले दिएको ३५६ रनको विशाल लक्ष्य पछाएको एपीएफले ४४ ओभरमा अल आउट हुदै १७० रन मात्र बनाएको थियो । एपीएफका लागि नन्दन यादवले सर्बाधिक ४४, कमल सिंह ऐरीले ३५ र सन्दीप जोराले २४ रन बनाएका थिए ।त्यस्तै नेपाल पुलिस क्लबका ललित राजबंशीले ३ विकेट लिए भने करण केसी, रशिद खान र दिनेश खरेलले २-२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ९ विकेट गुमाएर ३५५ रन बनाएको थियो । पुलिस क्लबका लागि शंकर रानाले सर्बाधिक ६१ रन बनाएका थिए भने दिनेश खरेलले ६०, दिलसाद अलीले ५१, आरिफ सेखले ५०, रशिद खानले ४४, अमित श्रेष्ठले ३९ रन बनाएका थिए । त्यसैगरी एपीएफका बलर कमल सिंह ऐरी र अमर राउतेलाले २-२ विकेट लिएका थिए । त्यस्तै अर्को खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई फराकिलो रन अन्तरले पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा बागमती प्रदेशले गण्डकीलाई १७० रन अन्तरले पराजित गरेको हो । बागमतीले दिएको २९५ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ३१.५ ओभरमा अल आउट हुदै १२४ रन मात्र बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले ७४ रन र सुबाश भण्डारीले २९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै बागमतीका बलर रिजन ढकालले ३ विकेट लिए भने सन्दीप लामिछाने र इशान पाण्डेले २-२ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बागमती प्रदेशले इशान पाण्डेको ७१, आशुतोष घिरोहियाको ५९ र सुभ कंसाकारको ४४ रनको मद्धतले ५० ओभरमा ८ विकेट गुमाउदै २९४ रन बनाएको थियो । अब बागमती प्रदेसले अर्को खेल विहिबार नेपाल पुलिस क्लबसँग खेल्ने छ भने गण्डकीले त्रिभुवन आर्मीसँग विहिबार नै खेल्ने तालिका रहेको छ ।

५- मध्यपूर्वमा जारी युद्धको प्रभाव एसियासम्म फैलिँदै जाँदा फिलिपिन्समा ऊर्जा आपतकाल घोषणा गरिएको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले कार्यकारी आदेश जारी गर्दै देशको इन्धन आपूर्ति र ऊर्जा स्थिरतामा गम्भीर जोखिम देखिएको बताएका छन् । उनले मध्यपूर्वको अवस्थाका कारण ऊर्जा आपूर्तिमा तत्काल खतरा देखिएकाले राष्ट्रिय ऊर्जा आपतकाल घोषणा गरिएको स्पष्ट पारेका छन् । फिलिपिन्स आयातित इन्धनमा अत्यधिक निर्भर रहेको र उत्पादन तथा आपूर्ति अवरुद्ध हुँदा सबैभन्दा बढी प्रभावित हुने देशमध्ये एक भएकाले यस्तो कदम चालिएको हो । राष्ट्रपति मार्कोसका अनुसार यस निर्णयले सरकारले समन्वयात्मक रूपमा आवश्यक कदम चाल्न सहज हुने छ । सरकारले इन्धन, खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति, वितरण र उपलब्धता सुनिश्चित गर्न विशेष समिति गठन गरेको छ । यो आपतकालीन व्यवस्था एक वर्षसम्म कायम रहने जनाइएको छ । तेलको मूल्य अत्यधिक बढेपछि नागरिकले भोगिरहेको कठिनाइलाई ध्यानमा राख्दै विभिन्न सांसदहरूले आपतकाल घोषणा गर्न आग्रह गरेका थिए । ऊर्जा मन्त्रीले हाल देशसँग करिब ४५ दिन पुग्ने इन्धन मौज्दात रहेको जानकारी दिएका छन् । बढ्दो तरलीकृत ग्यासको मूल्यका कारण ऊर्जा आवश्यकताका लागि अस्थायी रूपमा कोइला आधारित विद्युत उत्पादनमा निर्भरता बढाइने पनि जनाइएको छ । होर्मुज जलडमरुमा देखिएको अवरोधका कारण विश्वव्यापी तेल आपूर्ति प्रभावित भइरहेको छ । एसिया यसबाट विशेष रूपमा प्रभावित क्षेत्र हो, किनकि उक्त मार्गबाट हुने तेल र ग्यासको झन्डै ९० प्रतिशत आपूर्ति यही क्षेत्रमा आउने गरेको छ ।

६- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आजको बैठक सकिएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार आजको बैठकमा २८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् । बैठकमा १५औँ नियमित महाधिवेशन तयारी, संविधान संशोधन अध्ययनका लागि विज्ञ समिति गठन, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा केन्द्रीय सदस्यहरूले धारणा राखेका थिए । आजको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ २४, २५ र २६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । केन्द्रीय सदस्यहरुले बोल्नेक्रम नसकिएकाले बैठक बुधबार बिहान ११ बजे फेरि बस्नेगरी स्थगित भएको प्रवक्ता चालिसेले जानकारी दिएका छन् ।

ad

७- इण्डियन प्रिमियर लिग (आईपीएल) २०२६ सुरु हुनुअघि नै राजस्थान रोयल्स टोली नयाँ मालिकको हातमा जाने सहमति भएको छ । अमेरिकी मूलका व्यवसायी काल सोमानीले करिब १.६३ अर्ब अमेरिकी डलरमा राजस्थान रोयल फ्रेन्चाइजी खरिद गर्ने सम्झौता गरेका हुन् । यो सम्झौता आईपीएल इतिहासकै सबैभन्दा महँगो मानिएको छ । यद्यपि, उक्त सम्झौता आईपीएल २०२६ पछि मात्र लागू हुने र यो सिजनमा भने टोली पुरानै मालिकको नियन्त्रणमै रहने बताइएको छ । यसअघि गत वर्ष गुजरात टाइटन्समा पनि स्वामित्व परिवर्तन भएको थियो, जसले फ्रेन्चाइज मूल्य उल्लेख्य रूपमा बढाएको थियो । सम्झौतापछि क्रिकेट विश्लेषकहरूले यसलाई आईपीएलका लागि ठूलो उपलब्धि भएको बताएका छन् । उच्च मूल्यमा टोली बिक्री हुनुले प्रतियोगिताको लोकप्रियता र व्यापारिक सम्भावना झन् बढेको संकेत गरेको छ ।  काल सोमानीले विगतमा प्रविधि र खेल क्षेत्रमा लगानी गर्दै आएका छन्। उनी विभिन्न खेलसम्बन्धी परियोजनामा संलग्न रहँदै आएका छन् । यसैबीच, अर्को चर्चित टोली रोयल च्यालेन्जर्स बेंगलुरु पनि बिक्रीको तयारीमा रहेको चर्चा छ । उक्त टोलीको मूल्य २ अर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।

८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङस्थित सडक निर्माणमा अनियमितता गरेको आरोपमा पाँच जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।  बित्थडचिर गाउँपालिका–९ अन्तर्गत बागथला–धारी डोबा सडक निर्माणमा काम नगरी भुक्तानी दिएको उजुरीका आधारमा गरिएको अनुसन्धानपछि मुद्दा दायर गरिएको हो । अनुसन्धानका क्रममा बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, इन्जिनियर सन्देश भण्डारी, सबइन्जिनियर किरण भण्डारी, लेखापाल रामचन्द्र धामी तथा निर्माण व्यवसायी मानबहादुर बोहराबीच मिलेमतो भएको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार योजनाअनुसार निर्माण कार्य पूरा नभए पनि सम्पन्न भएको देखाएर झुट्टा बिल र प्रतिवेदन तयार गरी भुक्तानी लिइएको थियो। नापी किताबमा ३३८ मिटर सिँचाइ नहर उल्लेख गरिए पनि स्थलमा २४८ मिटर मात्र निर्माण भएको र केही संरचनाको काम नै नभएको भेटिएको छ । यसरी वास्तविकभन्दा कम काम गरी सरकारी रकम करिब ८ लाख ४८ हजार रुपैयाँभन्दा बढी हिनामिना गरिएको आयोगको निष्कर्ष छ । उक्त कार्यले सरकारलाई हानि पुर्‍याउने र सम्बन्धित व्यक्तिलाई गैरकानुनी लाभ दिलाउने उद्देश्यले भ्रष्टाचार भएको पुष्टि भएपछि भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

९- बलिवुडका गायक तथा र्‍यापर बादशाह दोस्रो विवाह गरेका छन् । बादशाहले पञ्जाबी अभिनेत्री ईशा रिखीसँग गोप्य रूपमा विवाह गरेका हुन् । सम्बन्ध विच्छेदको छ वर्षपछि यो बादशाहको दोस्रो विवाह हो । दुलहा र दुलहीको रूपमा बादशाह र ईशा रिखीको तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका भएपनि गायक बादशाहले अहिलेसम्म सार्बजनिक जानकारी भने दिएका छैनन् ।  विवाहका तस्बिरहरू र भिडियोहरू पुनम रिखी नामक इन्स्टाग्राम खाताबाट साझा गरिएको छ । विवाहको समयमा बादशाह र ईशाको तस्बिरहरू मात्र सार्वजनिक भएका छैनन्, तर पछि नवविवाहित जोडीको रूपमा उनीहरूको तस्बिरहरू पनि भाइरल भएका छन् । ईशाले आफ्नो कपालको रेखामा सिन्दूर लगाएको र बादशाहको काखमा आराम गरिरहेको देखिएका छन् ।  गायक बादशाहको यसअघि सम्बन्ध विच्छेद भएको थियो । बादशाह, जसको असली नाम आदित्य प्रतीक सिंह सिसोदिया हो, ले जस्मिन मसिहसँग विवाह गरेका थिए । उनीहरूले २०१२ मा विवाह गरे । यद्यपि, पाँच वर्ष पछि, उनीहरू २०१७ मा अलग भए र त्यसपछि २०२० मा सम्बन्ध विच्छेद गरे । उनीहरुका एक छोरी पनि छिन् ।

१०- नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज मंगलबार नेप्से २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ मा कारोबार भएको थियो ।  आज होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने , सोलु हाइड्रोको शेयर ९.९९ र हिमालयन पावरको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ६.५६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी राढी जलविधुतको शेयर ६७ करोड ४३ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ५७ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।

११- उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनले देशसँग परमाणु हतियार राख्ने निर्णय भएको बताएका छन् । उतर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार उनले अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणले आफ्नो देशले परमाणु हतियार राख्ने निर्णय सही रहेको पुष्टि गरेको बताएका हुन् । संसदमा दिएको सम्बोधनमा किमले वर्तमान विश्व परिस्थितिमा बलियो सैन्य शक्ति नै सुरक्षाको आधार भएको उल्लेख गरे । उनले उत्तर कोरियाको परमाणु शक्ति अझ मजबुत बनाइने र अमेरिकालाई रोक्ने दिशामा अघि बढ्ने बताए । किमले सन् २०१९ मा अमेरिकासँग भएको वार्ता विफल भएपछि परमाणु कार्यक्रम विस्तार गर्ने निर्णय आफ्नो सबैभन्दा सही कदम रहेको पनि दाबी गरेका छन् । उनले आफ्नो देश कुनै पनि परिस्थितिका लागि तयार रहेको उल्लेख गरे । त्यस्तै, दक्षिण कोरियालाई प्रमुख शत्रुका रूपमा लिने नीति दोहोर्‍याउँदै कुनै पनि आक्रमणको प्रयास भए कडा प्रतिक्रिया दिने चेतावनी दिएका छन् । किमले आत्मनिर्भर अर्थतन्त्र निर्माणसँगै थप परमाणु हतियार र क्षेप्यास्त्र विकासमा जोड दिने बताएका छन् । उनका अनुसार परमाणु शक्तिका कारण देश सुरक्षित भएको र आर्थिक विकासमा ध्यान दिन सकिएको छ । अमेरिका र उसका सहयोगी देशहरूले वर्षौँदेखि उत्तर कोरियालाई परमाणु कार्यक्रम त्याग्न दबाब दिँदै आए पनि हालसम्म त्यसमा सफलता मिलेको छैन । यसअघि अमेरिका र उत्तर कोरियाबीच सन् २०१८ मा वार्ता सुरु भई २०१९ मा असफल भएपछि उत्तर कोरियाले आफ्नो सैन्य शक्ति थप विस्तार गर्ने रणनीति अपनाएको थियो । अहिले उत्तर कोरियासँग लामो दूरीका क्षेप्यास्त्रसमेत रहेको अनुमान गरिएको छ, जसले टाढाका लक्ष्यसम्म प्रहार गर्न सक्ने क्षमता राख्छ ।

१२- नेपाली काँग्रेसका सभापति गगन थापाले अब पार्टी महाधिवेशनमा केन्द्रित हुने बताएका छन् । मंगलबार पार्टीको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टीका सबै विषय महाधिवेशनको हलनै तय गर्ने बताएका हुन् । केन्द्रीय समितिले राजीनामा अस्वीकृत गरेपछि बैठकमा सहभागी हुदै सभापति थापाले आफुले आफ्नो कर्तव्य ठानेर कुनै दबाब बिना राजीनाम दिएको तर केन्द्रीय समितिले अस्वीकृत गरेपछि अब यो विषय सकिएको बताएका हुन् । उनले आफुले हतारमा राजीनामा नदिएको बताउदै भने- ‘मैले कुनै हतारोमा आएर राजीनामा दिएको पनि होइन । हतास भएर राजीनामा दिएको पनि होइन । विशेष महाधिवेशन नगरी निर्वाचनमा गएका थियौं भने त्यो निर्वाचनमा हामीले कसरी सामना गर्नुपर्थ्यो भन्ने कुरा निर्वाचित भएका र हामी निर्वाचित नभएकाले पनि बुझेका छौं ।’ उनले चुनावपछि काँग्रेसको नयाँ जिम्मेवारी आएको बताउदै आफुहरुले मतदाताले दिएको जिम्मेवारी अनुसार काम गर्ने बताएका छन् । उनले सरकारमा नभएपनि चुनावका बेला जनतासँग गरेका प्रतिज्ञाहरुमा काम गर्ने बताएका छन् ।

१३- कपिलवस्तुको महाराजगञ्जमा शनिबार दिउँसोदेखि लगाइएको निषेधाज्ञा आजबाट हटाइएको छ । शनिबार, आइतबार र सोमबार तीन दिन लगाइएको निषेधाज्ञा आज विहान ९ बजेबाट हटाइएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिएका छन् । निषेधाज्ञा हटेसँगै जिल्ला सदरमुकाम तौलिहवामा जनजीवन सामान्य बनेको छ । २ दिनसम्म बन्द भएका तौलिहवा क्षेत्रका वित्तीय संस्था र विद्यालयहरु आजबाट सुचारु भएका छन् । महाराजगञ्ज नगरपालिकाको वडा नम्बर २ र ३ को सीमाक्षेत्रमा ईद र नवरात्र पर्व मनाउने क्रममा उत्पन्न भएको विवाद चर्किँदै गएपछि प्रशासनले शनिबार दिउसोदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको थियो ।

१४- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्दै प्रति ब्यारेल १०० डलर नजिक पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामाथि हुने सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेपछि सोमबार केही समय तेलको मूल्य घटेको थियो । तर त्यसपछि इरानले ट्रम्पको दाबिलाई अस्वीकार गर्नासाथ बजारमा पुनः उतारचढाव देखिँदै मूल्य बढ्न थालेको हो । सोमबार कारोबारका क्रममा ब्रेन्ट कच्चा तेलको मूल्य १० प्रतिशतभन्दा बढी घटेर करिब ९१ डलरसम्म झरेको थियो । तर मंगलबार बिहानसम्म पुनः बढ्दै करिब ९९.९९ डलर प्रति ब्यारेलसम्म पुगेको छ । त्यस्तै, अमेरिकी कच्चा तेलको मूल्य पनि बढेर करिब ९१ डलर आसपास पुगेको छ । विशेषज्ञका अनुसार पश्चिम एसियाको अवस्थाबारे लगानीकर्ताको चासो बढ्दै जाँदा तेलको मूल्यमा पुनः उछाल आएको हो । ट्रम्पले इरानलाई शान्तिका लागि ‘अन्तिम मौका’ रहेको संकेत दिएपछि बजारमा अनिश्चितता बढेको छ । यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य भने घटेको छ । अमेरिकी डलरको माग बढेपछि सुनको मूल्यमा दबाब परेको बताइएको छ । अमेरिकी शेयर बजारमा भने सकारात्मक संकेत देखिएको छ । अमेरिका-इरान तनाव चाँडै समाधान हुन सक्ने अपेक्षाले लगानीकर्ताको मनोबल बढ्दा प्रमुख सूचकहरू उकालो लागेका छन् ।

१५- नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १६ सयले घटेर तोलाको २ लाख ७३ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने आज बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ८०  रुपैयाँले बढेर ४५०५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४४२५ मा कारोबार भएको थियो ।

१६-  म्याग्दीबाट निर्वाचित सांसद महावीर पुनले भ्रष्टाचार नियन्त्रण गर्न नसके रास्वपा पनि कालान्तरमा हराएर जाने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै सांसद पुनले  नयाँ सरकार बनेसँगै पहिलो दिनदेखि नै भ्रष्टाचारविरुद्ध कडा कदम चाल्नुपर्ने उल्लेख गर्दै सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जाने बताएका हुन् । उनले नियमले अवरोध गरे तत्काल नयाँ व्यवस्था बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्- ‘सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ । तीन महिना भित्र जनताले सुशासनको अनुभुति गर्न सकुन । भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पुर्ण सहयोग गर्नेछु ।’ पुनले रास्वपाको सरकारले पहिलो दिन देखि नै भ्रष्टाचारीहरुलाई नियम पुऱ्याएर कहिल्यै उठ्न नसक्ने गरि नंग्याउनु पर्ने बताएका छन् ।

१७-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेतासँग मोजतबा खामेनीको मृत्यु आफूले नचाहेको बताएका छन् । फ्लोरिडामा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले मोजतबा जीवित छन् कि छैनन् भन्ने आफूलाई थाहा नभएको पनि उल्लेख गर्दै आफुले मोजतबाको मृत्यु नचाहेको बताएका हुन् । उनले इरानमा सत्तापरिवर्तन सम्भव रहेको संकेत गर्दै यस विषयमा एक विशेष व्यक्तिसँग संवाद भइरहेको बताए । ट्रम्पका अनुसार अमेरिका इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पहरूबारे काम गरिरहेको छ । उनले नयाँ नेतृत्व ल्याउने वा संयुक्त नेतृत्वको मोडल अपनाउने विकल्पबारे पनि चर्चा भइरहेको बताएका छन् । उनले इरान वार्ताका लागि तयार रहेको दाबी गर्दै केही दिनमै सम्झौता हुन सक्ने समेत दाबी गरेका छन् । सम्भावित सहमतिअनुसार होर्मुज जलडमरु संयुक्त रूपमा सञ्चालन गर्ने र इरानको प्रशोधित युरेनियम अमेरिकाले नियन्त्रणमा लिने प्रस्तावसमेत अघि सारिएको उनले बताएका छन् । यद्यपि, पछि उनले आफ्नो भनाइ सच्याउँदै इरानका एक अधिकारीसँग मात्रै संवाद भइरहेको स्पष्ट पारे । उनले इरानलाई पूर्ण रूपमा ध्वस्त पार्नु क्षेत्रीय स्थायित्वका लागि उचित नहुने पनि बताए । यसैबीच ट्रम्पको अघिल्लो कडा अभिव्यक्तिपछि वार्तातर्फको झुकावका विभिन्न कारणहरू पनि सार्वजनिक भएका छन् । अमेरिकी सैन्य खर्चको दबाब, इरानद्वारा गरिएको आक्रमण, अन्तर्राष्ट्रिय समर्थनको कमी, ऊर्जा संकट, विश्व बजारमा असर तथा आन्तरिक राजनीतिक दबाबलाई यसको प्रमुख कारणका रूपमा हेरिएको छ । यसैबीच इरानले भने ट्रम्पका सबै दाबिलाई खारेज गरेको छ । इरानको विदेश मन्त्रालयले भने कुनै किसिमको वार्ता नभएको र ट्रम्पले तेलको मुल्य घटाउन झुटो बोलेको आरोप लगाएको छ ।

१८-  कोलम्बियामा उडान भरेको केही समयपछि वायुसेना विमान दुर्घटना हुदा कम्तिमा ६६ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएका छन् । वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भा रुएडाले विमानमा ११४ सैन्य कर्मचारी र ११ जना चालक दलका सदस्य रहेको बताएका छन् । विमान अमेरिकी निर्मित सी-१३० हर्कुलस विमान थियो, जुन सेना ढुवानीको लागि प्रयोग गरिएको थियो । विमान पुटुमायो प्रान्तको प्योर्टो लेगुइजामो शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो । उक्त क्षेत्रमा पठाइएका आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् । यो घटना कोलम्बियाली वायुसेनाको हालैको इतिहासमा सबैभन्दा घातक दुर्घटनाहरू मध्ये एक हो । स्थानीय समाचार मिडियाले स्थानीयहरूले घाइते सैनिकहरूलाई दुर्घटनास्थलबाट साना मोटरसाइकलमा अस्पताल लैजाँदै गरेको पनि देखाएको छ । सेनाले आफ्नो पोस्टमा धेरै तस्बिरहरू साझा गरेको छ र घाइतेहरूलाई विशेष उपचारको लागि लगिएको बताएको छ । दुर्घटनामा परेको हरक्यूलिस सी–१३० विमान विश्वकै भरपर्दो सैन्य यातायात विमानमध्ये एक मानिन्छ। यसले सैनिक, हतियार र राहत सामग्री ओसारपसार गर्नेदेखि प्राकृतिक विपद्, स्वास्थ्य आपतकाल र अन्य विशेष कार्यमा प्रयोग हुँदै आएको छ ।

१९-  नेपाली काँग्रेसका नेता डा. चन्द्र भण्डारीले विगतमा सरकारी नियुक्ति पाएका पदाधिकारीलाई पद त्याग्न सुझाव दिएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले बहुमतको सरकार गठन हुन लागेको बेला जनताको अपेक्षा नयाँ ढंगले पूरा गर्न आवश्यक रहेको बताएका छन् । उनले पहिले नियुक्ति पाएका व्यक्तिहरूले स्वेच्छाले पद छाडे राम्रो सन्देश जाने उल्लेख गर्दै ‘हटाइयो’ भन्ने अवस्था आउन नदिन आग्रह गरेका छन् । उनले भनेका छन्- ‘बहुमतको सरकार बनिरहेको छ, जोस र जागर छ—जनताले पताइसकेका छन् । विगतमा सरकारी नियुक्ति पाएकाहरूले पद छोडे भइहाल्यो नि । अब लामो सास नफेर !!! सल्लाह पनि नखोज !!! ‘हटायो’ भन्ने शब्द आउन किन दिने ? नयॅा नजिर बन्न सक्दछ !’ डा. भण्डारीले स्वाभिमान पद, पैसा, सुविधा वा सत्तासँग जोडिएको नभई जिम्मेवारी र व्यवहारसँग सम्बन्धित हुने बताएका छन् ।

२०- फिल्म ‘आ बाट आमा’ सुपर हिट भएसँगै अब दोस्रो सिरिज निर्माण हुने भएको छ । अभिनेता पल शाहको जन्मदिनको अवसर पारेर गत फागुनमा एक पोस्टरमार्फत ‘आ बाट आमा २’ को निर्माण घोषणा गरिएको थियो । अब यसका निर्देशक चन्द्र पन्तले कलाकारहरूसँग सम्झौता गर्न शुरु गरेका छन् । उनले अभिनेता पल र विपना थापासँग एकसाथ लिखित सम्झौता गरेका छन् ।  ‘आ बाट आमा’ मा विपना र पल आमा छोराको भूमिकामा थिए । दोस्रो भागमा पनि उनीहरू सोही भूमिकामा हुने बताइएको छ । आगामी बैशाखमा छायांकन गरेर दशैंमा रिलिज गर्न लागिएको यस फिल्ममा पल र विपनाबाहेक अन्य कलाकारहरु चयनकै क्रममा रहेको बताइएको छ । फिल्मको पहिलो भागमा सिम्रन पन्त, उषा उप्रेती, साइग्रेस पोखरेल लगायतको पनि मुख्य भूमिका थियो । ५१ दिन मनाएको फिल्म ‘आ बाट आमा’ले बक्स अफिसमा १३ करोड भन्दा बढी कमाई गरेको छ ।

 

Nepal life insuranceimagesimagesimages