जाँदा जाँदै गृहमन्त्री अर्यालले भनेः ‘संविधान सही बाटोमा फर्कियो’

 

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो कार्यकालको मुख्य उपलब्धि निर्वाचनलाई मान्नुभएको छ । जेन–जी जनआन्दोलन पछिको असामान्य परिस्थितिमा गठन भएको सरकारको मुख्य म्याण्डेट नै निष्पक्ष निर्वाचन गराउनु रहेको उहाँले बताउनु भयो । उहाँले निर्वाचनलाई ‘स्वच्छ, निष्पक्ष, भयरहित र रक्तपातविहीन’ बनाउन सफल भएकोमा गर्व व्यक्त गर्नुभयो । गृहमन्त्री अर्यालले आफ्नो कार्यकालमा जेन–जी जनआन्दोलनका मागहरूलाई सम्बोधन गर्न विशेष प्राथमिकता दिएको बताउनु भयो । आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४२ जना सुशासन योद्धा र ३ जना प्रहरीलाई शहीद घोषणा गरिएको जानकारी उहाँले दिनुभयो ।

त्यसैगरी, आन्दोलनका ७ सय २९ जना घाइतेलाई तत्काल राहत स्वरूप प्रतिव्यक्ति ३५ हजार रुपैयाँ वितरण गरिएको र गम्भीर घाइतेहरूलाई मासिक जीविकोपार्जन भत्ताको व्यवस्था शुरु गरिएको उहाँको भनाइ छ । शहीदका आश्रित परिवारका लागि जीवन निर्वाह वृत्तिको निर्णय समेत कार्यान्वयनको चरणमा रहेको उहाँले उल्लेख गर्नुभयो ।

छोटो अवधिमै गृह मन्त्रालयले नीतिगत र कानूनी क्षेत्रमा ठूलो फड्को मारेको अर्यालले दाबी गर्नुभयो । ६ महिनाको अवधिमा दुई दर्जनको हाराहारीमा कानूनहरू तर्जुमा तथा संशोधन गरिएको उहाँले बताउनु भयो । जसमा ५ वटा अध्यादेश, ७ वटा नियमावली संशोधन र विभिन्न कार्यविधिहरू रहेका छन् ।

आन्दोलनका क्रममा क्षतिग्रस्त भएका ४ सय ६५ वटा सरकारी कार्यालयहरू (जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय आदि) को पुनर्निर्माण गरी सेवा प्रवाहलाई पूर्ण रूपमा सुचारु गरिएको विषयलाई उहाँले आफ्नो कार्यकालको महत्वपूर्ण प्रशासनिक सफलताको रूपमा प्रश्तुत गर्नुभयो ।

सामूहिक नेतृत्व र व्यावसायिकताको नयाँ मानक
आफूलाई ‘विशुद्ध व्यावसायिक व्यक्ति’ का रूपमा चिनाउँदै अर्यालले गृह प्रशासनमा सामूहिक नेतृत्वको भावना विकास गरेको बताउनु भयो । सुरक्षा निकाय र कर्मचारीतन्त्रको खस्किएको मनोबल उच्च बनाउन ‘बटम–अप’ (तल्लो तहबाट माथि) अप्रोच अपनाइएको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘हामीले व्यवसायिकतालाई केन्द्रबिन्दुमा राखेको हुनाले व्यावसायिक जनशक्तिको मर्यादा बढाउने काम गरिएको छ । प्रणालीलाई मात्र दोष दिनु भन्दा कार्य वातावरण राम्रो दिन सक्यौँ भने लक्षित नतिजा प्राप्त गर्न सकिन्छ भन्नेकुरा यसपालि मन्त्रालयले पुष्टि गरेको छ ।’

सत्यको भाष्य स्थापित गर्नुपर्नेमा जोड

उहाँले राष्ट्र सेवक र सुरक्षा फौजको मनोबल गिराउने गरी बजारमा बनाइने ‘गलत भाष्य’ विरुद्ध उभिनुपर्ने बताउनु भयो । बाहिर रहँदा पनि आफूले सत्यको आधारमा संस्थाको रक्षाका लागि भुमिका खेल्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

#HomeMinister #Aryal #Constitution #RightPath #ArghakhanchiCOM #ArghakhanchiDOTCOM #ArghakhanchiCOMHD

Nepal life insuranceimagesimagesimages