आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको छ ।विहिबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको संसदीय दलको बैठकले बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो  । योसंगै अब बालेन शाह देशको नयाँ प्रधानमन्त्री बन्ने औपचारिकरुपमा निश्चित भएको छ । यस अघि रास्वपाको केन्द्रीय समिति बैठकले बालेन शाहलाई  संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो । सभापति रवि लामिछानेको प्रस्तावमा सो प्रस्ताव सर्वसम्मत पारित भएको थियो  । अब बालेनले भोली शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।

२- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट आज पनि हेर्दा हेर्दैमा राखिएको छ । सर्वोच्च अदालतमा विहिबार न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा हेर्दा हेर्दैमा राखिएको हो । अब यो रिटको सुनुवाई आइतबार हुने भएको छ । विहिबार महान्यायाधिवक्ताकोतर्फबाट बहस सकिएको छ भने अब आइतबार लामिछाने पक्षका वकिलको बहसपछि जवाफी बहस हुने बताइएको छ । यअसघि न्यायाधीशद्धय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले तीन दिन बहस सुनेर फाइल मगाउने आदेश गरेको थियो । यो रिट अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने  निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने  बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।

३- गृहमन्त्री ओमप्रकाश अर्याललाई एक कार्यक्रमका बीच औपचारिक विदाई गरिएको छ । विहिबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालको विदाई गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री अर्यालले असामान्य राजनीतिक अवस्थाबीच गृहमन्त्रीको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै यस अवधिमा शान्ति सुरक्षा सामान्य बनाउने, सुशासन सुदृढ गर्ने र निष्पक्ष निर्वाचन सम्पन्न गर्ने मुख्य चुनौती सामना गर्नुपरेको बताए । उनले जनआन्दोलनपछि ध्वस्त संरचनाको व्यवस्थापन, हिंसा नियन्त्रण र कानुनी राज्यको स्थापना प्राथमिकतामा राखिएको बताउदै यस क्रममा सुरक्षाकर्मीको मनोबल बढाउँदै देशको सुरक्षा अवस्था सुधार गर्न पहल गरिएको उनले बताए । त्यस्तै आवश्यक सुरक्षा तयारी र प्रशासनिक समन्वयमार्फत निर्धारित समयमै निर्वाचन सम्पन्न गरिएको दाबी गर्दै उनले यसले लोकतन्त्रप्रतिको प्रतिबद्धता झल्काएको उल्लेख गरे । आफ्नो कार्यकालमा भएका मुख्य कामहरू अभिलेखका रूपमा मन्त्रालयमा हस्तान्तरण गरिएको जानकारी दिँदै उनले अब नवनिर्वाचित सरकारलाई जिम्मेवारी सुम्पिएको घोषणा गरेका छन् ।

४- संयुक्त अरब इमिरेट्सको अबुधाबीमा मिसाइलका टुक्रा खस्दा दुई जनाको ज्यान गएको पुष्टि भएको छ । स्थानीय अधिकारीका अनुसार मृतकमध्ये एक भारतका र अर्को पाकिस्तानका नागरिक रहेका छन् । अबुधाबी सञ्चार कार्यालयका अनुसार उक्त घटनामा तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक युएई, एक जोर्डन र एक भारतका नागरिक रहेका छन् । अधिकारीहरूले हवाई रक्षा प्रणालीले मिसाइलहरू आकाशमै नष्ट गरिरहेको भए पनि त्यसका टुक्रा खस्दा दुबई, अबुधाबी लगायतका क्षेत्रमा सर्वसाधारणका लागि जोखिम बढिरहेको बताएका छन् । मध्यपूर्वमा जारी द्वन्द्व अहिले २७औँ दिनमा पुगेको छ । विभिन्न रिपोर्टअनुसार इरानले खाडी क्षेत्रका ती स्थानहरूलाई निशाना बनाइरहेको छ, जहाँ अमेरिकी सैन्य आधारहरू रहेका छन् । इरानले अमेरिकी सेनालाई सहयोग गर्ने देशहरू पनि आफ्नो निशानामा पर्न सक्ने चेतावनी दिएको छ । तर खाडी राष्ट्रहरूले भने आफूहरू यस द्वन्द्वमा संलग्न नभएको स्पष्ट पारेका छन् ।

५- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध चौतर्फीरुपमा कुप्रचार गरिएको दाबी गरेका छन् । विहिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नवनिर्वाचित सांसदहरुलाई विशेष निर्देशन दिने कार्यक्रममा वोल्दै ओलीले फागुन २१ को निर्वाचनमा पार्टीविरुद्ध चौतर्फीरुपमा कुप्रचार गरिएको बताउदै नतिजा अस्वाभाविक भएको बताएका हुन् । ओलीले निर्वाचन प्रक्रिया र परिणामबारे विस्तृत टिप्पणी गर्ने बेला नभए पनि अहिलेको नतिजा स्वभाविक नभएको बताए । उनले भने- ‘हामी नराम्रो काम गरेर पछाडि परेका होइनौं । हामीमाथि असत्य र कुप्रचारबाट प्रहार भयो । हाम्रो सभ्य शैलीले त्यसको मुकाबिला गर्न सकेन ।’ ओलीले पार्टीका नेता कार्यकर्तालाई सामाजिक सञ्जालको अत्यधिक र प्रभावकारी प्रयोग गर्न निर्देशन दिदै सामाजिक सञ्जालमा स्टाटस लेख्दा चाहिनेभन्दा बढी नचाहिने कुरा लेख्ने गरेको र ती प्रवृत्ति सच्याउनु पर्ने बताए । उनले भने- हामी आफैले सामाजिक सञ्जालको अत्यधिक प्रयोग गर्नुपर्छ र बोल्नु पर्छ । अहिलेको कुप्रचारलाई चिर्न तथ्यमा आधारित भएर प्रस्तुत हुन आवश्यक छ ।’ ओलीले एमालेका नेताहरुले नै पार्टीमा भोट नहालेको, चुनाव प्रचारमा नखटेको र अहिले सामाजिक सञ्जालमा पार्टीविरुद्ध नै अभिव्यक्ति दिदै हिडेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

६-  जारी पीएम कम अन्तर्गत नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ । विहिबार सम्पन्न खेलमा पुलिस क्लबले बागमती प्रदेशलाई ७ विकेटले पराजित गरेको हो । बागमती प्रदेशले दिएको २६६ रनको लक्ष्य पछाएको पुलिस क्लबले ४४ ओभरमा ३ विकेट गुमाउदै पुरा गरेको थियो । पुलिसको जितमा शंकर रानाले ११६ रनको शतकीय पारी खेलेका थिए भन दिनेश खरेलले ७० रन बनाएका थिए  लक्ष्य दुवैले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए  लक्ष्य  त्यस्तै कप्तान अरिफ सेखले ४३ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बागमती प्रदेसले ४९.२ ओभरमा अल आउट हुदै २६५ रन बनाएको थियो । बागमतीका लागि पवन थापाले सर्बाधिक ७९ रन बनाए भने इशान पाण्डेले ७० रन बनाएका थिए । त्यस्तै पुलिस क्लबका बलर रशिद खान र दिनेश खरेलले ३-३ विकेट लिएका थिए भने करण केसीले २ विकेट लिएका थिए । त्यस्तै  विहिबार सम्पन्न अर्को खेलमा आर्मीले गण्डकीलाई ७ विकेटले पराजित गरेको हो । गण्डकीले दिएको २१० रनको लक्ष्य पछाएको आर्मीले ३४ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । आर्मीको जितमा कप्तान विनोद भण्डारीले सर्बाधिक ५८ रन बनाए भने भिम सार्कीले अविजित ५४, तृतराज दासले ५१ र कुशल मल्लले अविजित ४३ रन बनाएका थिए । गण्डकीका बलर सुबास भण्डारीले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकीले ४९.४ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्बाधिक ६७ रन बनाए भने दीपक डुम्रेले ५१ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर आकाश चन्द र शाहाब आलमले ३-३ तथा कुशल मल्लले २ विकेट लिएका थिए ।

७- इरानसँगको युद्धपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा गिरावट आएको देखिएको छ । पछिल्लो समय उनले रिपब्लिकन पार्टीको एक आर्थिक संकलन कार्यक्रममा भाग लिँदै आफ्नो पार्टीले यस वर्ष हुने मध्यावधि चुनाव जित्ने दाबी गरेका थिए । तर विभिन्न सर्वेक्षणले फरक तस्वीर देखाएका छन् । रॉयटर्सको सर्वे अनुसार ट्रम्पको लोकप्रियता अहिले करिब ३६ प्रतिशतमा झरेको छ, जुन युद्धअघि करिब ४० प्रतिशत थियो । विश्लेषकहरूका अनुसार इरानसँग बढ्दो तनाव र अमेरिकामा तेल तथा ग्यासको मूल्य वृद्धि ट्रम्पको लोकप्रियता घट्नुका मुख्य कारण बनेका छन् । यसैबीच ट्रम्पले आफूलाई इरानको सर्वोच्च नेता बन्न प्रस्ताव आएको दाबी पनि गरेका छन् । उनले उक्त प्रस्ताव अस्वीकार गरेको बताउँदै यस्तो जिम्मेवारीमा आफूलाई कुनै रुचि नभएको बताएका छन् । ट्रम्पले पर्दापछाडि इरानसँग वार्ता भइरहेको र इरानी पक्ष युद्धविराम चाहिरहेको दाबी गरे। तर आन्तरिक दबाबका कारण उनीहरू खुल्न नसकेको उनको भनाइ छ । यद्यपि इरानले ट्रम्पका सबै दाबी अस्वीकार गर्दै अमेरिकासँग कुनै वार्ता नभएको स्पष्ट पारेको छ ।

Nepal life insurance

८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेटौंडास्थित यातायात व्यवस्था कार्यालयका एक अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित कार्यालयमा कार्यरत अधिकृत अमृत भेटुवालले सवारी सरुवा सहमति गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा बिचौलियाको भूमिका निभाउँदै आएका लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिएको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको थियो । आयोगका अनुसार भेटुवाल र पौडेलबीच मिलेमतो गरी सेवाग्राहीसँग घुस माग्ने र मोलतोल गरेर रकम लिने योजना बनाइएको पुष्टि भएको छ । सोही योजनाअनुसार ११ हजार ५ सय रुपैयाँ घुस लिएको प्रमाणित भएपछि दुवैविरुद्ध मुद्दा चलाइएको हो । आयोगले अधिकृत भेटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र बिगोबमोजिम जरिवानाको माग गरेको छ । साथै बिचौलिया पौडेललाई पनि सोही ऐनअनुसार कैद र जरिवाना हुनुपर्ने मागसहित काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

९- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेटौंडास्थित यातायात व्यवस्था कार्यालयका एक अधिकृतसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिकास्थित कार्यालयमा कार्यरत अधिकृत अमृत भेटुवालले सवारी सरुवा सहमति गरिदिने बहानामा सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा बिचौलियाको भूमिका निभाउँदै आएका लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिएको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको थियो । आयोगका अनुसार भेटुवाल र पौडेलबीच मिलेमतो गरी सेवाग्राहीसँग घुस माग्ने र मोलतोल गरेर रकम लिने योजना बनाइएको पुष्टि भएको छ । सोही योजनाअनुसार ११ हजार ५ सय रुपैयाँ घुस लिएको प्रमाणित भएपछि दुवैविरुद्ध मुद्दा चलाइएको हो । आयोगले अधिकृत भेटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र बिगोबमोजिम जरिवानाको माग गरेको छ । साथै बिचौलिया पौडेललाई पनि सोही ऐनअनुसार कैद र जरिवाना हुनुपर्ने मागसहित काठमाडौँस्थित विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएको छ ।

१०- नेप्से दोहोरो अंकले बढेको छ । आज विहिबार नेप्से १४.२१ अंकले बढेर २९५०.१६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४३ कम्पनिका ३ करोड ४ लाख ३८ हजार ३१५ कित्ता शेयर १३ अर्ब १६ करोड २२ लाख ९९  हजार १७ मा कारोबार भएको थियो । आज विकास बैंक, जीवन बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स, सुपर खुदी हाइड्रो र होटल फरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोलु र भुजुङ हाइड्रो तथा भुजुंग हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी पन्चकन्या माई हाइड्रोको शेयर ७.४८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चरको ९४ करोड २९ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको शेयर ७१ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

११- इरानसँगको युद्धका कारण विश्वभर कच्चा तेलको मूल्य बढिरहेको छ र निकट भविष्यमा यसको मूल्य घट्ने सम्भावना कम देखिएको विज्ञहरूले बताएका छन् । अर्थशास्त्री विलियम ली का अनुसार अमेरिकाले आफ्नो रणनीतिक तेल भण्डारबाट बजारमा तेल पठाउन थाले पनि त्यसको प्रभाव सीमित मात्र रहनेछ । उनका अनुसार यस्तो कदमले बजारमा मनोवैज्ञानिक प्रभाव त पार्छ, तर वास्तविक रूपमा आपूर्ति भने खासै बढ्दैन । उनले अमेरिकासँग करिब ४१ करोड ५० लाख ब्यारेल तेल भण्डार रहेको बताए । तर आवश्यक क्षेत्रसम्म उक्त तेल पुर्‍याउन समय लाग्ने भएकाले तत्काल राहत मिल्न कठिन हुने उनको भनाइ छ । हाल सबैभन्दा बढी माग एशियामा रहेको छ, विशेषगरी चीनबाहेकका देशहरूमा । यस्तो अवस्थामा अमेरिकाबाट तेल आपूर्ति गर्न सहज नभएको र ढिलो हुने समस्या रहेको बताइएको छ । विलियम लीका अनुसार तेलको मूल्यमा वास्तविक गिरावट तब मात्र सम्भव छ, जब चीनले पनि आफ्नो भण्डारबाट तेल बजारमा ल्याउछ । चीनसँग ठूलो परिमाणमा तेल भण्डार रहेको अनुमान गरिए पनि उसले त्यसबारे आधिकारिक विवरण सार्वजनिक गरेको छैन र हालसम्म बजारमा तेल निकाल्ने कुनै संकेत दिएको छैन ।

१२-  प्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रम निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा भएको हो । यसअघि जेष्ठ सांसद केसीले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए । शपथ ग्रहण लिन सांसदहरुलाई औपचारिक र आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थिति भएका थिए ।  संघीय संसद सचिवालयका अनुसार नव निर्वाचित सांसदहरुमध्ये ४७ जनाले मातृभाषामा शपथ ग्रहण गरेका छन् । जसमा १७ जनाले मैथिली भाषमा थपथ ग्रहण गरेका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ ।  गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतफ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका थिए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राप्रपाले ५ सिट जितेका छन् । त्यस्तै एक सिटमा स्वतन्त्र सांसद महावीर पुन विजयी भएका छन् ।

१३- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज हर्क साम्पाङले आफुहरु प्रतिपक्षमा रहेर सरकारलाई प्रश्न गर्ने बताएका छन् । शपथ ग्रहणका लागि सिंहदरबारस्थित संसद् भवन परिसर पुगेका साम्पाङले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको प्रतिपक्षमा रहेर प्रश्न गर्ने बताएका हुन् ।  कुराकानीमा उनले भने- ‘प्रतिपक्षमा रहेर प्रश्न गर्ने छौँ । सरकाले गरेका राम्रा कामलाई समर्थन गर्छौं । सरकारले राम्रो काम गर्नुपर्छ । हामी जनताको आवाज संसदमा बोल्छौँ ।’उनले आफुले नेपाली भाषामै शपथ लिने जानकारी दिदै पार्टीका अन्य सांसदले मातृभाषामा शपथ लिने जानकारी दिए ।

१४- अफगानिस्तान र पाकिस्तान सीमामा फेरि हिंसात्मक झडप सुरु भएको छ । बुधबार भएको संघर्षमा कम्तीमा दुई सर्वसाधारणको ज्यान गएको र आठ जना घाइते भएका अफगान अधिकारीहरूले जनाएका छन्। पाकिस्तानतर्फ पनि एक नागरिक मारिएको स्थानीय सञ्चारमाध्यामले जनाएका छन् । ईदको अवसरमा दुवै देशबीच पाँच दिनका लागि अस्थायी युद्धविराम घोषणा गरिएको थियो। तर मार्च २५ मा युद्धविराम सकिएसँगै पुनः झडप सुरु भएको हो । अफगान पक्षका अनुसार युद्धविराम समाप्त भएपछि पाकिस्तानी सेनाले नरई र सरकानो क्षेत्रमा दर्जनौँ तोप प्रहार गरेको थियो । त्यसको जवाफमा अफगान सीमाबलले पनि गोलीबारी गर्दै तीन पाकिस्तानी सैन्य चौकी ध्वस्त पारेको दाबी गरिएको छ । करिब एक साताअघि साउदी अरब, टर्की र कतारको पहलमा दुवै देशले लडाइँ रोक्ने सहमति गरेका थिए । तर त्यसअघि नै पाकिस्तानले मार्च १७ को रात अफगानिस्तानभित्र हवाई आक्रमण गरेको थियो । अफगान तालिबान सरकारले ती आक्रमणमा काबुलस्थित लागूऔषध पुनःस्थापना केन्द्रलाई निशाना बनाइएको र ठूलो मानवीय क्षति भएको दाबी गरेको छ । तर पाकिस्तानले भने नागरिकलाई लक्षित नगरिएको भन्दै हतियार भण्डारणस्थलमा मात्रै आक्रमण गरिएको जनाएको छ । यसबीच पाकिस्तान तालिबान भनेर चिनिने तेहरिक ए तालिबान पाकिस्तानले पनि आफ्नो तीन दिने युद्धविराम सकिएपछि पाकिस्तानभित्र फेरि आक्रमण सुरु गरेको जनाएको छ । सन् २०२१ मा अफगान तालिबान सत्तामा आएपछि उक्त समूहले पाकिस्तानमा आक्रमण बढाउँदै आएको छ । पाकिस्तानले अफगानिस्तानमाथि उक्त समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ । तर अफगान पक्षले यसलाई अस्वीकार गरेको छ । पाकिस्तानले भने आफ्नो भूमिमा हुने आक्रमण रोक्न आवश्यक परे अफगानिस्तानभित्रै कारबाही जारी राख्ने चेतावनी दिएको छ । यसैबीच पाकिस्तानले भारतमाथि पनि आतंकवादी गतिविधिलाई सहयोग गरेको आरोप दोहोर्‍याएको छ । तर भारत र अफगानिस्तान दुवैले यस्तो आरोप अस्वीकार गर्दै पाकिस्तानभित्रका घटना आन्तरिक विषय भएको बताएका छन् । दुवै देशबीच आरोप–प्रत्यारोप बढ्दै जाँदा सीमाक्षेत्रको अवस्था झन् तनावपूर्ण बन्दै गएको छ ।

१५- नेपाली काँग्रेसले संविधान संशोधन सम्बन्धमा अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन गरेको छ । बुधबार सम्पन्न केन्द्रीय समितिको बैठकले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा  विज्ञ सम्मिलित संविधान संशोधन अध्ययन तथा सुझाव समिति बनाउने निर्णय गरेको हो । कांग्रेसको नेतृत्वमा ऐतिहासिक संविधानसभामार्फत बनेको संघीय लोतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयनको मूल दायित्व र जिम्मेवारी पनि कांग्रेसकै भएको भन्दै संविधानका आधारभूत मूल्य-मान्यता, संघीय शासन प्रणाली, नागरिक अधिकार र स्वतन्त्रता तथा समानुपातिक समावेशी सिद्धान्तलाई संकुचित हुन नदिई, त्यसलाई अझै फराकिलो र विस्तारित बनाउँदै नेपाली जनताको अपनत्व र स्वामित्व थप वृद्धि गर्न तथा सुशासन र प्रभावकारी सेवा प्रवाहको लागि कतिपय विषयमा संविधान संशोधन र तद अनुकुल कानून निर्माण गर्नु आवश्यक रहेको काँग्रेसको ठहर छ ।  यस समितिले सबै प्रदेश, सबै क्षेत्र र तह, समुदायसँग संवाद गरी पार्टीको तर्फबाट धारणा बनाउने र त्यस अनुरूप पार्टीले साझा राष्ट्रिय धारणा निर्माणका लागि अन्य पक्ष, नागरिक समाज, विशेषज्ञहरू, राजनीतिक दलहरू सहित राष्ट्रिय संवादको पहलकदमी लिने काँग्रेसले जनाएको छ ।

१६- मध्यपूर्वमा जारी इजरायल इरान युद्धका कारण कच्चा तेलको आपूर्ति प्रणाली प्रभावित भएको छ । यही संकट व्यवस्थापन गर्न भारतले रुसबाट ठूलो परिमाणमा तेल किन्ने निर्णय गरेको छ । जानकारी अनुसार भारतले अप्रिल महिनाको आपूर्तिका लागि रुससँग करिब ६ करोड ब्यारेल कच्चा तेल किन्ने सम्झौता गरेको छ । होर्मुज जलडमरुमा समस्या आएपछि साउदी अरब र इराकबाट हुने आपूर्तिमा अवरोध भएपछि भारतले पुनः रुसी तेलतर्फ ध्यान केन्द्रित गरेको हो । तथ्यांक विश्लेषण गर्ने संस्था केप्लरका अनुसार अप्रिलका लागि गरिएको यो खरिद फेब्रुअरीको तुलनामा दोब्बरभन्दा बढी हो । मध्यपूर्वमा तनावका कारण आपूर्ति अवरुद्ध भएपछि भारतीय कम्पनीहरूले सुरक्षित वैकल्पिक मार्ग खोज्न थालेका छन् । अचम्मको कुरा, पहिले सस्तोमा पाइने रुसी तेल अहिले महँगो मूल्यमा किनिँदैछ । रिपोर्टअनुसार प्रति ब्यारेल ५ देखि १५ डलरसम्म अतिरिक्त मूल्य तिरेर खरिद गरिएको छ । माग बढ्नु र आपूर्ति घट्नुका कारण मूल्य बढेको हो । भारतको यो निर्णयमा अमेरिकाले दिएको विशेष छुटको पनि भूमिका रहेको छ । अमेरिकाले मार्च ५ अघि जहाजमा लोड भइसकेको रुसी तेल लिन भारतलाई अनुमति दिएको थियो, पछि यो समयसीमा बढाएर मार्च १२ सम्म पुर्‍याइएको छ । होर्मुज क्षेत्रमा समस्या आएपछि तेल अभाव कम गर्न यस्तो छुट दिइएको हो । यसअघि अमेरिकी दबाबका कारण भारतले रुसी तेलको खरिद घटाएर साउदी अरब र इराकतर्फ मोडिएको थियो । तर युद्ध सुरु भएपछि ती देशको धेरै तेल खाडी क्षेत्रमै अड्किएको छ । यसैबीच भारतका केही प्रमुख रिफाइनरी कम्पनीहरू फेरि रुसी बजारमा फर्किएका छन् । उनीहरूले आन्तरिक माग पूरा गर्न भण्डारण बढाउने रणनीति अपनाएका छन् । रुससँगै भारतले भेनेजुएलाबाट पनि तेल आयात बढाएको छ । अप्रिलमा त्यहाँबाट करिब ८० लाख ब्यारेल तेल आयात हुने अनुमान गरिएको छ, जुन पछिल्ला चार वर्षकै उच्च स्तर हो । विश्लेषकहरूका अनुसार भारतसँग हाल रुसी तेलको विकल्प सीमित छ । मध्यपूर्वको मार्ग असुरक्षित र अन्य स्रोतको गुणस्तर कम भएकाले भारतले रुसमै निर्भर रहनुपर्ने अवस्था देखिएको छ ।

१७- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका छन् । पोखरेलले कार्की आयोग र आम निर्वाचन २०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको बताउदै आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन् । उनले निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर रहेको बताउदै अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको उल्लेख गर्दै अबको बाटो सजिलो नहुने, राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिएको बताएका छन् । यस्तो अवस्थामा, ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्ने उनको जिकिर छ । साथै उनले लोकपृयतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको वाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प नभएको उनको दाबि छ ।

१८-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको २९ सयले घटेर तोलाको २ लाख ८५ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४८२० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९२० मा कारोबार भएको थियो ।

images

१९- मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिकाले आफ्नो विमानवाहक युद्धपोत युएसएस आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित र सक्रिय रहेको जनाएको छ । अमेरिकाले इरानविरुद्धका सैन्य अभियान निरन्तर जारी रहेको पनि स्पष्ट पारेको छ । अमेरिकी केन्द्रीय कमान्डका अनुसार उक्त युद्धपोत क्षेत्रीय समुद्रमा रहेर लगातार हवाई कारबाही सञ्चालन गरिरहेको छ । सो क्रममा इरानका सैन्य संरचनालाई निशाना बनाइएको जनाइएको छ । यसअघि इरानले भने उक्त युद्धपोततर्फ क्रुज मिसाइल प्रहार गरिएको दाबी गरेको थियो । सो आक्रमणपछि जहाजले आफ्नो स्थान परिवर्तन गर्नुपरेको पनि इरानको भनाइ थियो । यसैबीच अमेरिकी प्रशासनले इरानको सैन्य क्षमतामा ठूलो क्षति पुर्‍याइएको दाबी गरेको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटका अनुसार हालसम्म इरानका ९ हजारभन्दा बढी स्थानमा आक्रमण गरिएको छ । उनले सैन्य अभियान सुरु भएयता इरानका क्षेप्यास्त्र र ड्रोन आक्रमण करिब ९० प्रतिशतले घटेको बताइन् । साथै, अमेरिकी सेनाले इरानका १४० भन्दा बढी नौसैनिक जहाज नष्ट गरेको र यो दोस्रो विश्वयुद्धपछि छोटो समयमै भएको सबैभन्दा ठूलो नौसैनिक क्षति भएको दाबी गरिएको छ ।

२०- इरानले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम अस्वीकार गरेको छ । उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्तमा युद्ध अन्त्य नगर्ने स्पष्ट पारेको छ । इरानी अधिकारीका अनुसार मध्यस्थ देशमार्फत आएको प्रस्ताव धोका भएको दाबी गरिएको छ । उनीहरूले उक्त प्रस्ताव वास्तविक अवस्थाबाट टाढा रहेको र केवल दबाब सिर्जना गर्ने उद्देश्यले ल्याइएको बताएका छन् । इरानले आफ्नो सर्त पूरा भए मात्र युद्ध रोकिने बताउँदै पाँच मुख्य सर्त अघि सारेको छ । इरानले राखेका सर्तमा आफ्नो देशविरुद्धका आक्रमण र लक्षित हत्या पूर्ण रूपमा रोक्नु पर्ने, भविष्यमा फेरि युद्ध नहुने सुनिश्चितता दिनुपर्ने, युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने, सबै क्षेत्रमा द्वन्द्वको अन्त्य हुनुपर्ने र होर्मुज जलडमरुमा आफ्नो अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने उल्लेख छ । यी सर्त पूरा नभएसम्म जवाफी कारबाही जारी रहने पनि इरानले जनाएको छ । यसअघि अमेरिकाले पाकिस्तानमार्फत युद्ध अन्त्यका लागि १५ बुँदे योजना इरानलाई पठाएको थियो । उक्त योजना पाकिस्तानमार्फत तेहरान पुगेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रस्तावमा इरानको क्षेप्यास्त्र र आणविक कार्यक्रमदेखि लिएर होर्मुज जलडमरुमा समुद्री आवागमनसम्मका विषय समेटिएका छन् । अमेरिकाले इरानसँग आणविक कार्यक्रम रोक्न, युरेनियम संवर्धन सीमित वा बन्द गर्न, अन्तर्राष्ट्रिय निरीक्षणका लागि सबै आणविक स्थल खुला गर्न, क्षेप्यास्त्र कार्यक्रम नियन्त्रण गर्न, क्षेत्रीय सैन्य गतिविधि घटाउन र समुद्री मार्ग सुरक्षित बनाउन आग्रह गरेको छ । यसको सट्टामा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध हटाउने तथा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग गर्ने प्रस्ताव गरिएको छ । यसै विषयमा ट्रम्पले इरानी नेतृत्व सम्झौताका लागि इच्छुक भए पनि डरका कारण खुल्न नसकेको दाबी गरेका छन् । उनले इरानभित्र र बाहिर दुवैतर्फको दबाबका कारण त्यहाँका नेताहरू खुलेर बोल्न नसकेको बताएका छन् ।

#TodayNews #Top20News #NewsBulletin #BreakingNews #ArghakhanchiCOM #ArghakhanchiDOTCOM #ArghakhanchiCOMHD

Nepal life insuranceimagesimagesimages