

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्रीको शपथ गरेका छन् । शुक्रबार शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई देशको ४३औं प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन् । प्रधानमन्त्री बालेनसँगै १५ मन्त्रीहरुले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । बालेनले आफुसँग रक्षा तथा उद्योग मन्त्रालय आफैसँग राखेका छन् । जसमा अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, सुदन गुरुङ गृहमन्त्री, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, भौतिक पूर्वाधारमन्त्रीमा सुनिल लम्साल, उर्जामन्त्रीमा विराज भक्त श्रेष्ठ, पर्यटनमन्त्रीमा गणेश पौडेल, सस्मित पोखरेल शिक्षामन्त्री, स्वास्थ्य मन्त्रीमा निशा मेहता, डा. विक्रम तिमल्सिना सञ्चारमन्त्री, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, कानुनमन्त्रीमा सोबिता गौतम, गीता चौधरीले कृषिमन्त्री, दिपक शाह श्रममन्त्री र महिला बालबालिका मन्त्रीमा सीता वादीले शपथ लिएका छन् ।

२- बालेन शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले चार निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने र शहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।
३- सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर सकुशल अवतरण गरेको अवस्थामा भेटिएको छ । हेलिकप्टर अपर लाप्चे गुम्बा नजिक रहेको हेलिप्याडमा सुरक्षित अवतरण भएको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा रहेका पाइलट र ५ जना यात्रु सकुशल रहेका छन् । नागरिक उड्ययन प्राधिकरणका अनुसार काठमाडौंबाट दोलखातर्फ उडेको मुस्ताङ एयरको नाइन एन–एएनओ कलसाइन भएको हेलिकप्टर मध्याह्न १२:४५ बजेदेखि सम्पर्कविहिन भएको थियो । उक्त हेलिकप्टर दोलखाको बिगु गाउँपालिका–१ लुम्नाङबाट उडेर लाप्त्चेतर्फ जानेक्रममा सम्पर्कविहीन बनेको थियो ।
४- पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म ८२ जनालाई अनुमति दिएको छ । विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि बुधबारसम्म १० समूहका ८२ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि मार्च २५ सम्म २१ महिला र ६१ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै अन्नपूर्ण प्रथम आरोहण गर्न ३ समूहका २२ जनाले अनुमति पाएका छन् । त्यस्तै आमादब्लम हिमालमा २ समूहका २० आरोहीले अनुमति लिएका छन् । त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी जर्मनी नागरिक २६ जना छन् बहें पोल्याण्डका १० जना रहेका छन् । त्यस्तै क्यानडाका ९ जना र रसियाका ७ जना रहेको विभागले जनाएको छ । यी अनुमतिबाट एक करोड ८४ लाख रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।

५- इजरायलले इरानमाथि आफ्ना आक्रमण अझ तीव्र बनाउने चेतावनी दिएको छ। इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इरानबाट भइरहेका क्षेप्यास्त्र आक्रमणको जवाफमा अब अझ ठूलो कारबाही गरिने बताएका छन् । नागरिक क्षेत्रमा आक्रमण नगर्न चेतावनी दिइए पनि इरानले आक्रमण जारी राखेकाले अब आक्रमणको दायरा विस्तार गरिने उनको भनाइ छ। उनका अनुसार इरानको हतियार निर्माण र सैन्य गतिविधिमा सहयोग गर्ने थप स्थानहरूलाई पनि निशाना बनाइनेछ। साथै, इजरायलले इरानी सैन्य नेतृत्व र कमाण्डरहरूलाई निरन्तर लक्ष्य बनाइरहने र रणनीतिक क्षमता कमजोर पार्ने जनाएको छ। इजरायलले करिब चार सातादेखि इरानमाथि लगातार आक्रमण गर्दै आएको र हालै एक वरिष्ठ कमाण्डर मारिएको दाबी पनि गरेको छ। यता, इरानले होर्मुज जलडमरु क्षेत्रमा तीन जहाजलाई फर्काएको जनाएको छ। उक्त समुद्री मार्ग हालका लागि बन्द गरिएको र आवागमनमा कडा कारबाही गरिने चेतावनी दिइएको छ । इरानी क्रान्तिकारी गार्डको नौसेनाले विभिन्न देशका तीन जहाजलाई प्रवेश गर्न नदिई फर्काएको बताइएको छ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १० तेल ट्यांकरलाई होर्मुजबाट जान दिइएको भन्ने दाबी अस्वीकार गर्दै अमेरिका र इजरायलसँग सम्बन्धित देशका बन्दरगाहबाट आउने-जाने जहाजमा पूर्ण रोक लगाइएको स्पष्ट पारेको छ । यसैबीच, इरानले इजरायलमाथि ८३औँ पटक क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ । यस पटक प्रहार गरिएका क्षेप्यास्त्रमा विभिन्न देशप्रति आभार व्यक्त गर्दै सन्देश लेखिएको बताइएको छ । इरानी पक्षका अनुसार यस आक्रमणमा लामो तथा मध्यम दूरीका क्षेप्यास्त्र र मानवरहित विमान प्रयोग गरिएको छ । आक्रमणमा इजरायली ठेगानासँगै खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य ठेगानालाई पनि निशाना बनाइएको दाबी गरिएको छ ।
६- नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारको प्रवक्ता नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो ।
७- बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ । प्राप्त अपडेट अनुसार फिल्मले रिलिजको ८ दिनमा ६३३.७२ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको आठौ दिन विहिबार भारतभर ४६ करोड कमाई गरेसँगै ८ दिनमा ६३३.७२ करोड कमाएको हो । फिल्मले पेड रिभ्यु र रिलिजको पहिलो दिन १४० करोड, दोस्रो दिन ८१ करोड, तेस्रो दिन १०९ करोड, चौथो दिन ११३ करोड, पाँचौ दिन ६० करोड भारु कमाएको थियो । त्यस्तै छैटौं दिन ५२ करोड, सातौँ दिन ४५ करोड कमाएको थियो । योसँगै बलिवुडमा धुरन्धर-२ ले सबैभन्दा छिटो ३ सय करोड, ४ सय करोड, ५ सय करोड र ६ सय करोडको नयाँ किर्तिमान बनाएको छ । धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो । धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।

८- भारतका विदेश मन्त्री एस जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत खनालको सफल कार्यकालको कामना गर्दै नेपाल-भारतबीचको परम्परागत सम्बन्ध अझ सुदृढ बनाउन सहकार्य गर्न इच्छुक रहेको उल्लेख गरेका छन् । जयशंकरले दुई देशबीचको सहकार्यलाई थप मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा पनि व्यक्त गरेका छन् ।
९- मधेश प्रदेशले जारी पीएम कप अन्तर्गत लुम्बिनी प्रदेशलाई २५ रनले पराजित गरेको छ । शुक्रबार जनकपुरमा सम्पन्न खेलमा मधेशले दिएको १२५ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेश २६ ओभरमा अल आउट हुदै केवल ९९ रन बनाएको थियो । लुम्बिनीका लागि सुमित श्रेष्ठले सर्बाधिक ३० रन बनाएका थिए भने संदेश थापाले १६ रन बनाएका थिए । त्यस्तै मधेश प्रदेशका बलर बिशाल पटेलले ५ विकेट लिए भने प्रदिप पासवानले २ विकेट लिएका थिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ३८.१ ओभरमा अल आउट हुदै १२४ रन बनाएको थियो । मधेशका लागि मयन यादवले ३१ र आदील आलमले २३ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर संदेश थापा र सन्तोष यादवले ३-३ तथा अजय चौहानले २ विकेट लिएका थिए । त्यसैगरी आजै सम्पन्न अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । कोशी प्रदेशले दिएको १३१ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गरेको कोशी प्रदेशले ४३.४ ओभरमा अल आउट हुदै १३० रन बनाएको थियो ।
१०- निवर्तमान प्रधानमन्त्री सुशिला कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाएको भन्दै खुशी व्यक्त गरेकी छन् । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिदै कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रुपमा पाउदा मलाई थप हर्षित बनाएको बताएकी हुन् । उनले जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस् भन्ने कामना समेत गरेकी छन् ।
११- अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहरण गरेलगत्तै दिउँसो मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गर्दै तीन निर्णय गरेका छन् । अर्थमन्त्री वाग्लेले गरेका निर्णयहरु: १. चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने ।

२. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने । ३. निजी उद्यम-व्यवसाय सुरक्षा एवं प्रवद्र्धन र ठुला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दैं वृहत आर्थिक- कानूनी सुधारको मार्गचित्र बनाउने ।
१२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त नेपाली प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत मोदीले बालेनलाई बधाई दिदै नेपाली जनताले उनको नेतृत्वमाथि विश्वास गरेको देखाएको उल्लेख गरेका छन् । मोदीले नेपाल-भारतबीचको मित्रता र सहकार्यलाई अझ मजबुत बनाउदै दुवै देशका जनताको हितमा मिलेर काम गर्न आफू इच्छुक रहेको उल्लेख गरेका छन् ।
१३- प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई प्रधानमन्त्री बालेनको शपथ ग्रहण समारोहमा सहभागी भए पनि ओली अनुपस्थित भएका हुन् । पिताको निधनपछि सेतो वस्त्रमा रहेका ओलीले आफू शपथ समारोहमा उपस्थित हुन नसक्ने जानकारी राष्ट्रपतिको कार्यलयलाई गराएको बताइएको छ । त्यस्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा रहेका कारण समारोहमा अनुपस्थित रहेका थिए । काँग्रेसका सभापति गगन थापा पनि शपथ ग्रहण समारोहमा अनुपस्थित रहेका छन् ।
१४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्याललाई सभामुख बनाउनेमा बालेन र सभापति रवि लामिछाने सहमत भएका छन् । अर्यालले यसअघि गृहमन्त्रीमा दाबि गरे पनि बालेन त्यसमा सहमत नभएपछि उनलाई सभामुख बनाइने भएको हो । सभामुख बनेमा उनले पार्टीको सदस्यता छोड्नुपर्ने हुन्छ ।
१५- भारत सरकारले इन्धन संकटका बीचमा पेट्रोल र डिजेलमा लाग्ने उत्पादन कर घटाएको छ । कच्चा तेल संकटबीच आम उपभोक्ता र तेल कम्पनीलाई राहत दिन यस्तो निर्णय गरिएको बताइएको छ । भारत सरकारले पेट्रोलमा प्रति लिटर १३ भारु रहेको शुल्क १० रुपैयाँ घटाएर अब ३ रुपैयाँ कायम गरेको छ भने डिजेलमा रहेको प्रति लिटर १० रुपैयाँ उत्पादन शुल्क पूर्ण रूपमा हटाएर शून्य बनाइएको छ । सरकारको यो निर्णयले तेल कम्पनीहरूको आम्दानी सन्तुलनमा सुधार आउने र बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्न नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
१६- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको ४६ सयले घटेर तोलाको २ लाख ८१ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८५ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४६७० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४८२० मा कारोबार भएको थियो ।
१७- सांसद महावीर पुनले देशले जोशिलो प्रधानमन्त्री पाउन लागेको भन्दै नेताहरुले चरम गुटवन्दी गरी जनतामा भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस् भन्ने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले नेपालले एकदमै जोशिलो युवा प्रधानमन्त्री पाउँदैछ भन्दै आज देखि स्वार्थको लागि नेताहरुले चरम गुटवन्दी गरी जनतामा भ्रष्टाचार, नातावाद, कृपावाद र कुशासन लाद्ने कुप्रवृत्तिको इतिहास नदोहोरियोस भन्ने चेतावनी दिएका हुन् । त्यस्तै उनले त्यस्तो घटना नेपालको इतिहासमा ४ पटक दोहोरिई सकेको छ, कुशासनलाई निर्मुल पारेर सुशासन ल्याउने भनेर नै २००७ सालमा, २०१७ सालमा, २०४६ सालमा र २०६३ सालमा नेतृत्व र व्यवस्था परिवर्तन भएको समेत उल्लेख गरेका छन् ।
१८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रमा हुने आक्रमण १० दिनका लागि स्थगित गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यो निर्णय इरानको अनुरोधमा गरिएको र नयाँ समयसीमा अप्रिल ६ तोकिएको बताएका हुन् । यसअघि उनले पाँच दिन इरानी उर्जाकेन्द्रमा आक्रमण नगर्ने बताएका थिए । शुक्रबार सकिने भनिएको पुरानो समयसीमा फेरि बढाएर अब अप्रिल ६ साँझसम्म कुनै आक्रमण नहुने जनाइएको छ । ट्रम्पका अनुसार यो निर्णय अमेरिका र इरानबीच चलिरहेको वार्तालाई अघि बढाउने उद्देश्यले गरिएको हो । उनले दुई देशबीचको संवाद राम्रो रूपमा अगाडि बढिरहेको दाबी गरेका छन् र यसलाई कूटनीतिक समाधानतर्फको सकारात्मक संकेत मानिएको छ । ट्रम्पले इरानले १० वटा तेल ट्यांकरलाई बाटो दिनु विश्वासको संकेत भएको पनि बताएका छन् । ती ट्यांकरमा पाकिस्तानको झण्डा रहेको उल्लेख गर्दै उनले सुरुमा ८ वटा र पछि थप २ वटा ट्यांकर जान दिइएको बताएका छन् । ह्वाइट हाउसमा भएको मन्त्रिपरिषद् बैठकमा उनले इरान आफैंले वार्ताप्रति गम्भीरता देखाउन ट्यांकर जान दिने प्रस्ताव गरेको बताएका थिए । पछि थप २ ट्यांकर पठाएर इरानले थप भरोसा दिलाउन खोजेको उनको भनाइ छ । यस्तै, अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले मध्यपूर्व क्षेत्रमा करिब १० हजार थप सैनिक पठाउने सम्भावनाबारे विचार गरिरहेको जनाइएको छ । यसअघि नै पठाउन आदेश दिइएका करिब ५ हजार मरीन र २ हजार प्याराट्रूपरमा थप बल जोडिने बताइएको छ । एकातिर अमेरिका र इरानबीच वार्ताको प्रयास भइरहेको छ भने अर्कोतिर सैन्य तयारी पनि बढाइँदै गएको देखिएको छ ।

१९- फ्रान्सले ब्राजिललाई मैत्रीपूर्ण फुटबल खेलमा पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले २-१ गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा किलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए । त्यस्तै ब्राजिलका लागि ग्लेईसन ब्रेमरले एक गोल फर्काएका थिए । ब्राजिल र फ्रान्सबीच अहिलेसम्म भएको १५ खेलमा फ्रान्सको यो छैटौं जित हो । फ्रान्सले २००६ पछि पहिलो पटक ब्राजिललाई पराजित गरेको छ । त्यस्तै ब्राजिलले फ्रान्सलाई अहिलेसम्म ६ पटक पराजित गरेको छ भने दुवैबीचका तीन खेल बराबरीमा सकिएका छन् ।

२०- राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति काठमाडौंको असनमा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना गरेका छन् । चैत्र शुक्ल अष्टमीको अवसरमा आयोजित रथयात्रा असन पुगेपछि राष्ट्रपति पौडेलले परम्पराअनुसार पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले असनमा रथको दर्शन गरी परम्परागत विधिअनुसार पूजाअर्चना गरेका थिए । विहिबार केलटोलबाट शुरु भएको खट यात्रा सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बिशेष श्रृङ्गार गरेर जमलस्थित तीनधारा पाठशाला अघिल्तिर निर्माण गरिएको रथमा लगेर प्रतिस्थापन गरिएको थियो । अब आज साँझ साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याइनेछ । चैत्र १४ गते साँझ ५ बजे हनुमानढोकाबाट हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्यावहाल हुँदै लगनसम्म पुर्याइन्छ र चैत्र १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्याइन्छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् ।



