देउवा काँग्रेसको निर्णय- ओली र लेखक पक्राउको प्रतिवाद गर्ने

 

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । शनिबार बिहान देउवा पक्षका शीर्ष नेताहरूको बैठकले ओली र लेखकमाथि सरकारले राजनीतिक प्रतिशोध गरेको निष्कर्ष निकाल्दै संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।

काँग्रेसको लेटर हेडमा कार्यवाहक सभापतिकै हैसियतमा पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गर्दै ओली र लेखकको तत्काल रिहाईको माग समेत गरेका छन् ।

उनले भनेका छन्- ‘आज बिहान नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यबाट सरकारले पक्राउ गरेको छ । त्यसको लगत्तै नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तैगरी पक्राउ गरी दुवै जना नेताहरूलाई गैरकानुनी हिरासतमा राखेको छ । संविधान र प्रचलित कानुन विपरीत गरिएको यस कार्यको हामी भर्त्सना गर्दछौं । साथै उहाँहरूको तत्काल रिहाइको जोडदार माग गर्दछौं ।’

खड्काले सुशीला कार्की नेतृत्वको सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको सिफारिसका आधारमा गरिएको भन्ने यो बदनियतपूर्ण कार्यले गम्भीर संवैधानिक र कानुनी प्रश्न उठाएको उल्लेख गर्दै कुनै पनि प्रक्रिया पूरा नगरीकन तत्कालीन सरकारका पदाधिकारीहरूलाई पक्राउ गर्नु कानुनी राज्यको वर्खिलाप र राजनीतिक रूपमा पूर्वाग्रह प्रेरित रहेको बताएका छन् ।

उनले भनेका छन्- ‘आयोगको कार्यादेश बमोजिम भाद्र २३ र २४ गते दुवै दिनको घटनाको छानबिन गर्नु पर्नेमा मात्र २४ गतेको घटनाबाट भएको मानवीय क्षति, सरकारी संरचनाको क्षति, राजनीतिक दलका कार्यालयहरू र व्यापारिक प्रतिष्ठान तथा निजी सम्पत्ति माथि भएका नोक्सानी र संलग्न व्यक्तिहरू बारे बिल्कुल मौन रहनुबाट पनि यो प्रतिवेदन पक्षपाती भएको प्रष्ट छ ।’

विज्ञप्तिमा खड्काले सरकार गठन भए लगत्तै दुर्भावनापूर्ण तरिकाबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछि हट्न पुगेको देखिएको उल्लेख गर्दै यस कार्यको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरिएको बताएका छन् । साथै उनले आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन निर्देशन दिएका छन् ।

#NepaliCongress #SherBahadurDeuba #KPSharmaOli #RameshLekhak #NepalPolitics #Arghakhanchi #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages