

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- शिक्षामन्त्री सस्मित पोखरेलले प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्स पुर्णरुपमा बन्द गर्ने निर्णय गरेका छन् । मन्त्री पोखरेलको निर्णय अनुसार आगामी बैशाख १ गतेदेखि लागु हुने गरि विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले प्रवेश परीक्षा तयारी कक्षा एवम् ब्रिज कोर्सका नामका कार्यक्रमहरू सञ्चालन पूर्ण रुपमा बन्द हुने मन्त्रलायका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिएका छन् । यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझसमेत पर्न जाने देखिएको भन्दै यस्ता कार्यक्रमहरू सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन समेत दिइएको छ ।
२- प्रहरीले नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौँले खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई आज बिहान सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्र अनुसार बुढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

३- राष्ट्रिय परीक्षा बोर्डमा गठन गरिएको कर्मचारी युनियन भंग गरिएको छ । आइतबार युनियनले सूचना प्रकाशित गर्दै युनियन भंग गरिएको जनाएको हो । सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा ६० दिनभित्र विद्यालय तथा विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठनका संरचना हटाइने निर्णय गरे अनुसार कर्मचारी युनियन भंग गरिएको हो । युनियनका अध्यक्ष राजु ओलियाले आजदेखि नै लागू हुने गरी युनियन भंग भएको जानकारी दिएका छन् । सरकारले शिक्षा क्षेत्रमा दलीय हस्तक्षेप, विद्यार्थीको वास्तविक आवाज नसमेटिने र शैक्षिक गुणस्तर गिरावटको समस्या समाधान गर्न दलीय विद्यार्थी संगठनका संरचना हटाउन लागेको हो । सरकारले शुक्रबार गरेको निर्णय अनुसार शासकीय सुधारका लागि तयार गरेको १०० वटा कार्यसूचीअनुसार दलीय विद्यार्थी संगठनका संरचना हटाई ९० दिनभित्र स्टुडेन्ट काउन्सिल/भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्ने भएको छ ।
४- जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशलाई ३ विकेटले पराजित गरेको छ । बागमती प्रदेशले दिएको २०९ रनको लक्ष्य पछाएको आर्मीले कुशल मल्लको शानदार ९० रन, तृत राज दासको ५४ रन र नरेन साउदको २६ रनको योगदानले २७.५ ओभरमा ७ विकेट गुमाउदै पुरा गरेको थियो । बर्षका कारण यो खेल २८-२८ ओभर खेलाइएको थियो । यस अघि बागमतीले पहिला ब्याटिंग गर्दै २८ ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो । जारी पीएम कपमा अपराजित रहेको आर्मीको यो जितपछि ४ खेलमा ७ अंक भएको छ भने बागमतीको यो चार खेलमा तेस्रो हार हो । त्यस्तै आजै सम्पन्न अर्को खेलमा गण्डकीले एपीएफलाई ४३ रनले पराजित गरेको हो । बर्षाले प्रभावित यो खेल २१-२१ ओभरको खेलाइएको थियो । गण्डकीले दिएको १५१ रनको लक्ष्य पछाएको एपीएफ १८.३ ओभरमा अल आउट हुदै १०७ रन मात्र बनाएको थियो । एपीएफका लागि सुमित महर्जनले २२ रन बनाए भने कमल सिंह ऐरीले १७ रन बनाएका थिए । त्यस्तै गण्डकीका बलर अपराजित पौडेल, किब्रिन श्रेष्ठले ३-३ विकेट लिए भने सुबास भण्डारीले २ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको गण्डकीले निर्धारित २१ ओभरमा ७ विकेट गुमाउदै १५० रन बनाएको थियो । गण्डकीका लागि गौरव विकले ३७, दिपक डुम्रेले ३४ र अर्जुन कुमालले २५ रन बनाएका थिए ।
५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनकुटामा सरकारी जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गराएको प्रकरणमा संलग्न व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार धनकुटाको ताँखुवा क्षेत्रका कित्ता नम्बर ३८२, ३८३, ३८४ र ३८५ का सरकारी जग्गा मिति २०६६ मंसिर २१ गतेको निर्णयबाट माधवबहादुर भट्टराईको नाममा दर्ता गराइएको थियो । उक्त कार्यमा मालपोत कार्यालय धनकुटाका कर्मचारी र अन्य व्यक्तिहरूको मिलेमतो रहेको पाइएको छ । अनुसन्धानका क्रममा सरकारी अभिलेखमा रहेको जग्गा प्रचलित कानुनविपरीत दुषित रूपमा दर्ता गरी पछि ती जग्गा टुक्र्याएर अन्य व्यक्तिमा हक हस्तान्तरण गरिएको खुलेको छ । सिफारिस दिने क्रममा तत्कालीन तांखुबा गाउँ विकास समितिका सचिव भक्तबहादुर भट्टराईले स्थलगत सर्जमिन नगरी र आवश्यक कागजात नहेरी मिति २०६६ वैशाख २७ गते सिफारिस दिएको पाइएको छ । सोही दिन दर्ता भएपछि उनले कित्ता नम्बर ३८४ बाट ८ आना जग्गा खरिद गरेको र त्यसको स्रोत पुष्टि गर्न नसकेको आयोगले जनाएको छ । पछि उनले उक्त जग्गा २०७१ फागुन १८ गते विक्री गरेको विवरण पनि खुलेको छ । त्यसैगरी मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा स्वर्गीय रामबहादुर सुवेदीले गलत विवरण मिलाएर जग्गा दर्ता प्रक्रिया अघि बढाएको देखिएको छ । उनले सरकारी अभिलेखमा रातो मसीले केरिएको जग्गासमेतलाई आधार मानेर छुट जग्गा दर्ता प्रक्रिया मिलाएको आयोगको निष्कर्ष छ । अनुसन्धानबाट दर्ता प्रक्रियामा प्रयोग गरिएका कागजातहरू समेत असम्बन्धित र त्रुटिपूर्ण रहेको पाइएको छ । सरकारी नाममा रहेको जग्गालाई गलत आधार देखाई व्यक्तिको नाममा दर्ता गराउँदा राज्यलाई नोक्सानी पुगेको ठहर छ । आयोगले मालपोत कार्यालय, धनकुटाका तत्कालीन कार्यालय प्रमुख सुरेश थपलिया, छुट जग्गा दर्ता समितिका सदस्य तथा तत्कालीन शाखा अधिकृत टंक प्रसाद दुवाडी, छुट जग्गा दर्ता समितिका सदस्य तथा नापी कार्यालय, धनकुटाका तत्कालीन सर्भेक्षक राजेन्द्र प्रसाद यादव, मालपोत कार्यालय, धनकुटाका तत्कालीन नायब सुब्बा छविलाल फूयलसँग जनही ६७ लाख ६८ हजार बिगो माग गरेको छ । त्यस्तै साविक तांखुवा गाउँ विकास समितिको कार्यालय, सचिव भक्त बहादुर भट्टराई र छुट जग्गा दर्ता गर्ने जग्गाधनी माधव बहादुर भट्टराईसँग ६७ लाख ६८ हजार र अतिरिक्त १० लाख बिगो माग गरेको छ । त्यसैगरी हालको जग्गाधनीहरू खगेन्द्र बहादुर थापा, हिमादेवी बस्नेत, ज्ञान कुमारी मगर, मित्र बहादुर मगर, अम्बर बहादुर मगर, पदम बहादुर सिजाली, निर्मला घिमिरे, ईन्द्र बहादुर मगर र स्व.पूर्ण बहादुर थापाको हक सकार गर्ने गजेन्द्र थापासँग सो जग्गा जफतको माग गरेको अख्तियारले जनाएको छ । उक्त प्रकरणमा संलग्न सबै प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

६- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक बोलाएको छ । कावा मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आगामी बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बैठक बोलाइएको छ । बैठकको एजेण्डा बारे जानकारी नदिए पनि शनिबार नेता पूर्ण बहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेको विषयमा समितिले छलफल गर्ने र निर्णय लिने बुझिएको छ ।
७- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ । ओलीको तर्फबाट उनकी श्रीमती राधिका शाक्यले बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् भने लेखकको तर्फबाट यशोदा लेखकले रिट दायर गरेकी हुन् । सर्वोच्च प्रशासनले दुवै रिट दर्ता भएको र सोमबार सुनुवाई हुने जानकारी दिएको छ । रिटमा कानुन विपरीत ओली र लेखकलाई प्रहरी हिरासतमा राखेको भन्दै तत्काल रिहाइको माग गरिएको छ । यता जिल्ला अदालत काठमाडौँले ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसको आधारमा सरकारले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शनिबार प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका ओली उपचारका लागि टिचिङ अस्पतालमा भर्ना भएका छन् भने लेखक प्रहरी हिरासतमा छन् ।
८- नेकपा एमाले अध्यक्ष केपी शर्मा र काँग्रेस नेता रमेश लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ओली र लेखकलाई ५ दिनको म्याद थप गर्न अनुमति दिएको हो । आजको इजलासमा ओलीलाई भिडियो कन्फेरेन्सको माध्यमबाट अदालतमा उपस्थित गराइएको थियो भने काँग्रेस नेता लेखक उपस्थित भएका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले ओली र लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न समय माग गरेको थियो । शनिबार पक्राउ परेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
९- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने विषय आफूले नै उठाएको विषय भएको प्रतिक्रिया दिएका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै प्रचण्डले पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्ने कुरा आफूले संसदमा उठाएको बताउदै भने- ‘हामीले भनेकै कुरा हो । मैले पार्लियामेन्ट पनि यस विषयमा बोलेको छु । पूर्वप्रधानमन्त्रीहरूमाथि छानबिन गर्नुपर्ने हामीले भनेकै कुरा हो ।’ प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि राजनीतिक पूर्वाग्रह नराखी अनुसन्धान हुनुपर्ने बताए । उनले राजनीतिक पूर्वाग्रह नराखी स्वतन्त्र ढंगले छानबिन हुनुपर्ने बताए ।
१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको मुद्धामा सर्वोच्च अदालतले पूर्ण इजलासमा पेस गर्ने आदेश गरेको छ । सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासले पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको हो । यो रिट अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।
११- उत्तर कोरियाका नेता किम जोंग उनले नयाँ तथा शक्तिशाली क्षेप्यास्त्र इन्जिन परीक्षणको प्रत्यक्ष अवलोकन गरेका छन् । सरकारी सञ्चार माध्यमले आइतबार यसको जानकारी दिएको हो । यो इन्जिन सुधारिएको, उच्च शक्तियुक्त र ठोस इन्धनमा आधारित रहेको बताइएको छ, जसको क्षमता पहिलेभन्दा धेरै बढाइएको छ । किमले यसलाई देशको सैनिक शक्ति विस्तारतर्फको महत्वपूर्ण कदम बताएका छन् । उक्त परीक्षणको उद्देश्य अमेरिका र उसका सहयोगीलाई लक्षित गर्न सक्ने क्षेप्यास्त्र विकास गर्नु रहेको जनाइएको छ । यस्ता क्षेप्यास्त्र पहिचान गर्न र रोक्न कठिन हुने बताइएको छ । कोरियन केन्द्रीय समाचार एजेन्सीका अनुसार यो इन्जिन कार्बन फाइबरबाट बनेको हो । यसको अधिकतम शक्ति २५ सय किलोटन मापन गरिएको छ, जुन यसअघि सेप्टेम्बरमा गरिएको परीक्षणमा १ हजार ९७० किलोटन थियो । यो परीक्षण देशको पाँच वर्षे हतियार विकास योजनाअन्तर्गत गरिएको हो । यसको लक्ष्य परमाणु क्षमता भएका ब्यालिस्टिक क्षेप्यास्त्रलाई थप आधुनिक बनाउनु रहेको छ । किमले यस परीक्षणपछि देशको रणनीतिक शक्ति उच्च स्तरमा पुगेको दाबी गरेका छन् । परीक्षण कहिले र कहाँ गरिएको हो भन्ने स्पष्ट जानकारी भने दिइएको छैन । केही विज्ञहरूले उत्तर कोरियाको दाबी बढाइचढाइ गरिएको हुन सक्ने बताएका छन् । दक्षिण कोरियाका एक अनुसन्धानकर्ता ली चुन ग्यूनले उत्तर कोरियाले केही महत्वपूर्ण विवरण लुकाएको हुन सक्ने बताए । विशेषगरी इन्जिन कति समयसम्म चलेको थियो भन्ने जस्ता तथ्य सार्वजनिक गरिएको छैन । यसअघि सेप्टेम्बरमा गरिएको परीक्षणलाई उत्तर कोरियाले ठोस इन्धन इन्जिनको अन्तिम जमिन परीक्षण भनेको थियो र यसलाई अन्तरमहादेशीय क्षेप्यास्त्रमा प्रयोग गरिने जनाएको थियो । त्यसबेला विज्ञहरूले छिट्टै यस्तो इन्जिन जडित क्षेप्यास्त्र परीक्षण प्रक्षेपण हुने अनुमान गरेका थिए, तर हालसम्म त्यस्तो परीक्षण भएको छैन । विज्ञहरूका अनुसार यस कार्यक्रम केही ढिलो भइरहेको देखिन्छ । रुसको प्राविधिक सहयोगमा अझ उन्नत इन्जिन विकास भइरहेको सम्भावना पनि औंल्याइएको छ । पछिल्लो समय रुस र उत्तर कोरियाबीच सम्बन्ध थप नजिकिँदै गएको छ। उत्तर कोरियाले युक्रेन युद्धमा रुसलाई सहयोग गर्न आफ्ना सैनिक र हतियार पठाएको पनि बताइएको छ ।

१२- नेपाल उद्योग वाणिज्य महासंघले सरकारले निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन रणनीति तत्काल कार्यान्वयन गर्ने निर्णयलाई सकारात्मक रूपमा लिएको जनाएको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस निर्णयले निजी क्षेत्रका व्यवसाय, लगानी र व्यक्तिगत सुरक्षामा सरकारको प्रतिबद्धता देखिएको बताए। उनले यसबाट निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको पनि उल्लेख गरेका छन् । सरकारको शासकीय सुधारसम्बन्धी सय बुँदे कार्यक्रममा यो रणनीति समेटिएको छ। देशको आर्थिक स्थायित्व, लगानी वातावरण सुदृढीकरण र निजी क्षेत्रप्रति विश्वास पुनःस्थापना गर्ने उद्देश्यले मन्त्रिपरिषदले उक्त रणनीति स्वीकृत गरी तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको हो । सरकारले यस रणनीतिमार्फत भौतिक सुरक्षा र सम्पत्ति संरक्षण, आर्थिक पुनरुत्थान, नियम सहज बनाउने व्यवस्था, लगानी प्रवर्द्धन तथा युवा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रम अघि बढाउने जनाएको छ । भदौ २३ र २४ गतेको प्रदर्शनपछि निजी क्षेत्रका व्यवसाय, आवास र प्रतिष्ठानमा भएको तोडफोड तथा आगजनीबाट प्रभावित व्यवसायलाई राहत र सहजता प्रदान गर्न महासंघले प्रस्ताव पेश गरेको थियो। मन्त्रिपरिषदले आवश्यक सहुलियत दिने निर्णय पनि गरेको छ । नीतिगत सुधारका लागि महासंघको आग्रहअनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएका सुझावहरू कार्यान्वयन गर्ने निर्णय पनि सरकारले गरेको छ। यसअनुसार १५ वटा कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । महासंघले आर्थिक सुधारको दोस्रो चरणका लागि मार्गचित्र तयार पार्न उच्चस्तरीय आयोग गठन गर्न यसअघि नै सरकारसँग आग्रह गरेको थियो। अध्यक्ष ढकालले राष्ट्रिय आर्थिक रूपान्तरण २०३० अभियानअन्तर्गत आवश्यक कानुन संशोधन, परिमार्जन र खारेजीका लागि पहल गरिएको बताए । यसैगरी विदेशी लगानी सहजीकरणका लागि लगानी बोर्ड, उद्योग विभागलगायत समान प्रकृतिका निकायलाई एकीकृत संरचनामा ल्याउने निर्णयले सेवा प्रवाह सरल हुने विश्वास व्यक्त गरिएको छ । सरकारले अधिकांश सेवा डिजिटल माध्यमबाट प्रदान गर्ने र सुशासन कायम गर्ने प्रतिबद्धता जनाएको छ। साथै सबै व्यावसायिक सेवा एउटै स्थानबाट उपलब्ध गराउने गरी ४५ दिनभित्र एकद्वार सेवा प्रणाली तयार पार्ने योजना अघि बढाइएको छ । ऊर्जा उत्पादन र निर्यातलाई प्रोत्साहन गर्ने विषयलाई पनि सकारात्मक रूपमा लिइएको छ। ऊर्जालाई कच्चा पदार्थका रूपमा प्रयोग गरी उत्पादनमुखी उद्योगलाई सहुलियत दरमा उपलब्ध गराउन सके दोहोरो लाभ हुने महासंघले जनाएको छ । महासंघले गत कार्तिक २२ गते आयोजना गरेको आर्थिक बहस कार्यक्रममा बदलिँदो परिस्थितिमा यस्तो रणनीति आवश्यक भएको भन्दै पहिलो पटक सरकारको ध्यानाकर्षण गराएको थियो । त्यसपछि शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रममा थप छलफल गरी महासंघले सरकारसमक्ष अवधारणापत्र पेश गरेको थियो ।
१३- साउदी अरेबियाको प्रिन्स सुल्तान हवाई आधारमा भएको इरानी क्षेप्यास्त्र तथा मानवरहित विमान आक्रमणमा अमेरिकी सेनाको एक महत्वपूर्ण निगरानी विमानमा ठूलो क्षति पुगेको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जनरलका अनुसार उक्त आक्रमणमा बोइङ ई–३ सेन्ट्री विमान पनि क्षतिग्रस्त भएको छ । यो उन्नत रडार प्रणालीसहितको हवाई निगरानी तथा नियन्त्रण विमान हो, जसले सयौं किलोमिटर टाढासम्मका विमान र क्षेप्यास्त्रको निगरानी गरी सेनालाई तुरुन्त जानकारी दिने क्षमता राख्छ । शुक्रबार भएको उक्त आक्रमणमा १२ जना अमेरिकी सैनिक घाइते भएका छन् भने इन्धन भर्ने प्रयोजनका लागि प्रयोग हुने अन्य केही विमानमा पनि क्षति पुगेको बताइएको छ । समाचारअनुसार यस आक्रमणअघि अमेरिकासँग यस्ता सञ्चालनमा रहेका करिब १६ वटा मात्र ई–३ सेन्ट्री विमान बाँकी रहेका थिए, जबकि यसअघि तिनको संख्या झण्डै ३० थियो । पत्रिकाले ती विमानको तत्काल सहज विकल्प उपलब्ध नभएको पनि उल्लेख गरेको छ । सम्भावित विकल्पका रूपमा ई–७ वेजटेल नामक नयाँ विमानको मूल्य करिब ७० करोड अमेरिकी डलर पर्ने अनुमान गरिएको छ ।
१४- नेप्सेमा आज ठुलो गिरावट आएको छ । आज आइतबार नेप्से ७१.०५ अंकले घटेर २८७९.११ विन्दुमा पुगेर रोकिएको छ । बालेन शाहको नेतृत्वमा सरकार बनेपछिको पहिलो कारोबारमा ठुलो गिरावट आएसँगै लगानीकर्ता नयाँ सरकारको स्थिर नीतिप्रति आश्वस्त हुन नसकेको देखिएको छ । आज ३३३ कम्पनिका ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स, सुपर खुदी हाइड्रो र रिज इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको ९.९९ र भुजुङ हाइड्रोको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी युनिक नेपाल लघुवित्तको शेयर ६.१७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिढी हाइड्रोको ७१ करोड ११ लाख बराबरको कारोबार भएको छ भने एनगाडी ग्रुपको शेयर ५२ करोड २८ लाख बराबरको कारोबार भएको छ ।

१५- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको नेतामा पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् । नेकपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको बैठकले प्रचण्डलाई नेता चयन गरेको हो । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रचण्ड रुकुम पूर्वबाट विजयी भएका थिए । यस निर्वाचनमा नेकपाले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट गरेर कुल १७ सिट जितेको छ ।
१६- नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाइको माग गर्दै एमालेले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । एमालेको सचिवालय बैठकले शनिबार ७७ वटै जिल्लामा विरोध पत्र बुझाउने निर्णय अनुसार आज काठमाडौँसहित सबै जिल्लामा विरोध पत्र बुझाइएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्दे ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ । दुवैलाई आज जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ भने म्याद थप हुने नहुने निर्णय आउनेक्रममा रहेको छ ।
१७- तिब्बतको निर्वासित प्रशासनका प्रमुख सिक्योंग पेनपा छेरिङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । धर्मशालाबाट पठाएको बधाई सन्देशमा उनले शाहलाई सन्देश पठाउँदै सफल कार्यकालको कामना गरेका हुन् । उनले पछिल्लो युवापुस्ताले नेतृत्व गरेको आन्दोलनपछि सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्नु नेपाली जनताको आकांक्षाको प्रतीक भएको उल्लेख गरेका छन् । बधाई सन्देशमा विशेषगरी युवापुस्ताको चाहना र विश्वासलाई यसले प्रतिनिधित्व गरेको उनको भनाइ छ । सन्देशमा नेपाल र तिब्बतबीचको ऐतिहासिक तथा आध्यात्मिक सम्बन्ध लामो समयदेखि कायम रहेको उल्लेख गरिएको छ । तिब्बतमा भएको कब्जापछि नेपालमा शरण लिएका तिब्बती समुदायले यहाँको सामाजिक र आर्थिक क्षेत्रमा योगदान दिँदै आफ्नो पहिचान जोगाइरहेको पनि उनले बताएका छन् । त्यसका लागि नेपाल सरकार र नेपाली जनताको उदारताप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा दुवै पक्षबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । उनले सन्देशको अन्त्यमा प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालले प्रगति, समृद्धि र सकारात्मक परिवर्तनतर्फ अघि बढ्ने आशा व्यक्त गरेका छन् । तिब्बतको निर्वासित सरकारले यसअघि सुशिला कार्की प्रधानमन्त्री हुदा समेत बधाई तथा शुभकामना दिएको थियो ।
१८- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले तीन पूर्वप्रधानमन्त्रीहरु र उनीहरुको परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान अगाडि बढाएको छ । उच्च प्रहरी स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण विभागको पत्र प्राप्त गरेपछि ब्यूरोले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली र उनीहरुको परिवारको सम्पत्ति छानबिनको प्रक्रिया अगाडी बढाएको हो । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानिलकण्ठस्थित देउवा निवासमा ठुलो मात्रामा पैसा भेटिएको थियो । सो रकम भेटिएको विषयमा विभागले यस अघि नै अनुसन्धान गरिरहेको थियो । सम्पत्ति शुद्धीकरण विभागले पत्र पठाएकै आधारमा काँग्रेस नेता तथा पूर्व मन्त्री दिपक खड्का आइतबार बिहान पक्राउ परेका थिए । खड्काको बुढानिलकण्ठस्थित घरबाट पनि भदौ २४ गते ठुलो मात्रामा रकम जलेको भेटिएको थियो ।

१९- प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा सल्लाहकार टिम बनाएका छन् । मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्री बालेनको प्रमुख सल्लाहकारमा कुमार बेन र राजनीतिक सल्लाहकारमा असीम शाहलाई नियुक्त गरिएको छ । त्यस्तै प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा सुवास शर्मा नियुक्त भएका छन् भने आईटी सल्लाहकारमा विवेक मिश्र नियुक्त भएका छन् । सरकारीतर्फबाट स्वकीय सचिवमा सहसचिव प्रदीप परियारले जिम्मेवारी पाएका छन् । परियार यसअघि बालेन काठमाडौं महानगरको मेयर रहँदा प्रमुख प्राशासकीय अधिकृत भएर काम गरेका थिए ।
२०- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५ हजारले बढेर तोलाको २ लाख ८६ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ८१ हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ४७२० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ४६७० मा कारोबार भएको थियो ।
#TodayNews #Top20News #NewsBulletin #NepalNews #BreakingNews #DailyUpdate #Headlines #NewsUpdate #Arghakhanchi #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD



