आज बसन्तपञ्चमी पर्ब मनाइदै

आज बसन्तपञ्चमी पर्ब मनाइदै   

माघे संक्रान्तिपछि सूर्य उत्तरायण हुने र वसन्त ऋतु प्रारम्भ भएको मानिने हुनाले प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन यो चाड मनाइन्छ।  जाडोको शीतले पात पतिङ्गरहरू सबै झरी उजाड भैसकेका रूख र बोटबिरुवाहरूमा वसन्त ऋतुको आगमनपछि नयाँ पालुवा र हरियाली  छाउन थाल्छ। न जाडो न गर्मी हुनाले यो ऋतुलाई ‘ऋतुहरूको राजा वसन्त’ पनि भन्ने गरिएको छ। प्रकृतिका सबै वनस्पति वृक्ष, रूख, बिरु वा, घाँसझारमा नयाँ पालुवा लाग्ने, प्राणीजगत् जसमा हरेक जनावर तथा चराचुरुङ्गीसमेतले बच्चा काढ्ने, फूल ओथार्ने आदि नयाँ जीवनको  सुरुवात गर्ने उचित अवसर तथा समय भएकाले यो ऋतुलाई वसन्त ऋतु भनिएको हो।
यस दिन सरस्वतीको मन्दिरमा पूजाआजा गर्ने श्रद्धालुहरूको ठूलो घुइँचो लाग्छ। पूजाआजा सफा र स्वच्छ सेतो सुगन्धित फूलले गर्नुपर्ने धामिर् क मान्यता छ। पूजापश्चात् भित्ता-भित्तामा सरस्वतीको कोण बनाई सरस्वतीको मन्दिरबाट सात गेडा सग्ला अक्षता ल्याएर दाँतले नचपाई  निलिन्छ। यसो गर्दा विद्या तथा बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने जनविश्वास छ। यस दिन घरका विभिन्न पुस्तक,  ग्रन्थ, पाठ्यक्रम एवं मसिदानीलाई पनि विद्याकी देवी सरस्वतीको प्रतीक मानी पूजाआजा गरिन्छ। 
यसै दिनदेखि आफ्ना बालबच्चाहरूलाई अक्षर चिनाउन तथा पठनपाठनतिर लगाउन सुरु गरिन्छ। खास गरी प्रस्टसँग बोल्न नसक्ने एवं  भकभकाएर बोल्ने बालबालिकाहरूलाई पनि यसै दिन सरस्वती माताको दर्शन गराइन्छ र सरस्वती कुण्डको जल पियाएर वाक्य फुटोस्, पढ्न  आवोस् भनी कामना गरिन्छ। यसै अवसरमा पाटीमा विद्याकी देवी सरस्वतीको चित्र बनाएर आफ्ना शिशुको हातबाट पूजा गराई बाह्रखरी  अक्षर चिनाउने र लेखाउने चलन पनि छ।
सरस्वती देवीको आह्वान तथा उपासना गर्ने तिथि त्रयोदशी हो तै पनि पञ्चमी तिथिलाई उत्तम तिथि मानिएकाले श्रीपञ्चमीको दिनलाई कारोबारहरू शुभारम्भ गर्ने शुभ साइतका रूपमा पनि लिइन्छ। यस दिन कुनै माङ्गलिक कार्य गर्नका लागि साइत जुराइरहनु नपर्ने हुनाले  विवाह, व्रतबन्ध, घरनिर्माण आदि काम यही दिनमा सम्पन्न गरिन्छ। उक्त कार्य सफल होस् भनी सरस्वतीको मन्दिरमा गै पिउरी तथा  ऊनीजन्य वस्तु चढाई भगवतीको कामना पनि गरिन्छ।
काठमाडौं उपत्यकामा यस दिन ठिमी, देवपाटन, टुकुचा, लेले, स्वयम्भू आदि स्थानमा रहेका सरस्वती मन्दिरहरूमा श्रद्धालुहरूको अपार भीड  लाग्छ। यसै दिन स्वयम्भूमा बौद्ध परम्पराअनुसार विद्याकी देवी ‘मञ्जुश्री’ को पूजा आराधना हुन्छ। शिक्षालयमा विद्यार्थीहरूले सरस्वतीको मूर्ति को स्थापना गरी पूजा, आराधना गर्छन्। यसरी पूजा गरिएको मूर्तिलाई भोलिपल्ट सबै विद्यार्थी मिलेर हर्षोल्लासका साथ पवित्र नदी वा  जलाशयमा लगेर सेलाउँछन्। 
जसरी यो दिनदेखि सानो बालबालिकाले अक्षर अध्ययनको थालनी गर्छन्, त्यसै गरी कृषकहरूसमेत नयाँ वर्षका लागि खेतीपातीको शुरुवात  गर्छन्। त्यसैले यो पर्वको अर्को नाम श्रीपञ्चमी पनि हो, जसलाई परम्परागत रूपमा ग्रामीण कृषक परिवारबीच हलोको पूजा गरी मनाउने  चलन छ। हलोको अन्तिम टुप्पोलाई शिर भनिन्छ, त्यसैले यो पर्वलाई शिरपञ्चमी पनि भनिएको हो।