

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूची कार्यान्वयनका लागि विभिन्न सुशासन एकाई र अध्ययन समिति गठन गरेको छ । मन्त्रिपरिषद्को चैत १३ गतेको निर्णयअनुसार स्वीकृत कार्यसूची प्रभावकारी रूपमा लागू गर्न तथा मन्त्रालयको कार्यसम्पादनलाई नतिजामुखी, पारदर्शी र जवाफदेही बनाउन यी संरचना गठन गरिएको जनाइएको छ । मन्त्रीस्तरबाट चैत १६ र १८ गते भएका निर्णयअनुसार मन्त्रालय र मातहतका निकायको कार्यसम्पादन अनुगमन तथा मूल्याङ्कन गर्न प्रशासन महाशाखाका सहसचिवको संयोजकत्वमा सुशासन एकाई गठन गरिएको छ ।

उक्त एकाईले कर्मचारीहरूको कार्य विवरणअनुसार काम भए नभएको, तोकिएको समयभित्र काम सम्पन्न भए नभएको र सरकारी स्रोत साधनको सही उपयोग भए नभएको विषयमा नियमित अनुगमन गरी सचिवसमक्ष प्रतिवेदन पेश गर्नेछ । यसैगरी, लामो समयदेखि अलपत्र परेका तथा समयमा सम्पन्न हुन नसकेका आयोजनाहरूको पुनरावलोकन गर्न सहसचिव डा. महेश्वर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय अध्ययन टोली गठन गरिएको छ । उक्त टोलीलाई ३० दिनभित्र आयोजनाको औचित्य, बजेट व्यवस्था, जग्गा अधिग्रहण र वातावरणीय प्रभाव मूल्याङ्कन लगायतका समस्या पहिचान गरी समाधानसहितको सिफारिस पेश गर्ने जिम्मेवारी दिइएको छ । मन्त्रालयले यी कदममार्फत कार्यसम्पादन सुधार, परियोजना व्यवस्थापन सुदृढीकरण र सुशासन प्रवर्द्धन गर्ने लक्ष्य राखेको जनाएको छ ।

२- निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुचारू गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा मङ्सिर ६ गतेदेखि स्थगित गरिएको कार्यक्रम आयोगको चैत १८ गतेको निर्णयअनुसार चैत २२ गतेदेखि पुनः सञ्चालनमा ल्याइएको हो । आयोगका अनुसार राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकले आफ्नै विवरण प्रयोग गरी अनलाइन प्रणालीबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन् । यस्तै, राष्ट्रिय परिचयपत्र प्रणालीमा आवद्ध नभएका नागरिकले ‘प्रि–इन्रोलमेन्ट’ प्रणालीमार्फत अनलाइन फारम भरी फोटो र औंठाछापसहितको विवरण दिन प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा स्वयं उपस्थित हुनुपर्नेछ । यसका साथै नाम, थर वा ठेगाना सच्याउने, एउटै वडाभित्र मतदान स्थल परिवर्तन गर्ने, नागरिकता अनुसार विवरण अद्यावधिक गर्ने, दोहोरो नाम हटाउने तथा मृत्यु वा बसाइँसराइका विवरण अपडेट गर्ने कार्यका लागि पनि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोगले सम्बन्धित सबैलाई यो सुविधा प्रयोग गरी आफ्नो विवरण अद्यावधिक गर्न अनुरोध गरेको छ ।
३- नेपाल माल्दिभ्समा जारी साफ यू- २० पुरुष च्याम्सिपयनसिपको सेमिफाइनलबाट बाहिरिएको छ । बुधबार सम्पन्न सेमिफाइनलमा नेपाल बंगलादेशसँग १-० गोल अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको हो । यो जितसँगै बंगलादेश फाइनलमा पुगेको छ र अब फाइनलमा दोस्रो सेमिफाइनलमा भारत र भुटानबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल खेल आजै हुदैछ ।

४- नेकपा एमालेका सांसद एवं युवा नेता सुहाङ नेम्वाङले आफूले अपेक्षा गरेअनुसार परिणाम नआएको बताएका छन् । संसदीय दलको नेता चयनमा उम्मेदवार दिन समेत असफल भएका नेम्वाङले प्रतिक्रिया दिदै आफुले एक पाइला चालेको बताउदै अब यस्ता पाइला चाल्दै जाने बताएका हुन् । संसदीय दलमा सुहाङले प्रस्तावक र समर्थक बस्न अन्य संसद हरुले अस्वीकार गरेपछि उम्मेदवारी दर्ता गर्न असफल भएका थिए । उनले सञ्चारकर्मीसँग भने- ‘मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुन योग्य छ भन्ने खालको नतिजा आएको छ ।’ साथै सुहाङ संसदमा प्रवेश गर्दा सत्ता र प्रतिपक्षको सोचभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने आफुले बताउदै आएको उल्लेख गर्दै सरकारले गरेका राम्रा कामहरुलाई हामीले सहयोग पुर्याउनुपर्ने बताए ।
५- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले सांसदहरुलाई दबाब दिएर संसदीय दलको नेता छानिएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै नेता भट्टराईले सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर गरिएको निर्णय राम्रो नभएको बताएका हुन् । उनले एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टी पंतिलाई थप चिन्तित बनाएको समेत उल्लेख गरेका छन् । उनले भनेका छन्- निर्वाचनबाट पार्टीलाई गंभीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फ़त बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टी पंतिलाई थप चिन्तित बनाएको छ । केहि दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।
६- जारी पीएम कपका खेलमा लुम्बिनी प्रदेश र बागमती प्रदेश विजयी भएका छन् । बुधबार सम्पन्न खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ६० रनले पराजित गरेको छ । बागमतीले दिएको १८१ रनको लक्ष्य पछाएको कर्णाली प्रदेश २५.१ ओभरमा १२० रन बनाएर अल आउट भएको थियो । कर्णालीका लागि निश्चल रावलले ३१ र दिनेश अधिकारीले २२ रन बनाएका थिए । त्यस्तै बागमती प्रदेशका लागि सन्दीप लामिछानेले ७ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको बागमतीले ३८.४ ओभरमा अल आउट हुदै १८० रन बनाएको थियो । बागमतीका लागि बिबेक मगरले ५६ र इशान पाण्डेले २७ रन बनाएका थिए । त्यस्तै कर्णालीका बलर दिवान पुनले ३ तथा दिपेन्द्र रावत र प्रकाश जैशीले २-२ विकेट लिएका थिए । यो जितपछि बागमती प्रदेशको ५ खेलमा ४ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ । त्यस्तै कर्णाली प्रदेश ५ खेलमा ३ अंकसहित आठौ स्थानमा झरेको छ । त्यसैगरी अर्को खेलमा लुम्बिनी प्रदेशले एपीएफलाई सुपर ओभरमा पराजित गरेको छ । दुवैले १२४-१२४ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट गरिएको थियो । यो जितपछि लुम्बिनी प्रदेश ५ खेलमा ५ अंकसहित पाँचौं स्थानमा रहेको छ भने एपीएफ ५ खेलमा ३ अंकसहित सातौं स्थानमा झरेको छ ।

७- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्सामा भएको राजस्व हिनामिना प्रकरणमा तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदमप्रसाद अर्याल, सुरेन्द्रप्रसाद राव कुर्मीलगायत ८ जनाविरुद्ध मुद्धा दायर गरेको छ । अन्य आरोपितमा मालपोत कार्यालय, पर्साका तत्कालीन नायव सुब्बा स्वर्गिय किरण प्रसाद उपाध्यायको हकमा अंशियार छोराहरू राज किशोर प्रसाद उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपती प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्याय रहेका छन् । अनुसन्धानअनुसार आर्थिक वर्ष २०७०/७१ मा मालपोत कार्यालय पर्साको रजिष्ट्रेशन फाँट ग मा उठेको राजस्व आम्दानी पूर्ण रूपमा अभिलेख नराखी बैंक दाखिला नगरी हिनामिना गरिएको पाइएको छ । सो अवधिमा एउटै दर्ता नम्बर प्रयोग गरी दोहोरो तथा तेहेरो रूपमा लिखत पारित गरिएको, कम राजस्व देखिएका लिखत मात्र लेखा फाँटमा बुझाइएको र बढी राजस्व भएका लिखतको रकम लुकाइएको देखिएको छ। त्यस्तै, दर्ता किताबमा थप प्रविष्टि गरिएका लिखतबाट उठेको रकम लेखा फाँटमा दाखिला नगरी आन्तरिक तथा अन्तिम लेखापरीक्षणसमेत नगरी हिनामिना गरिएको अनुसन्धानले देखाएको छ। यसरी एउटै नम्बरमा धेरै लिखत पास गरी कम रकम मात्र बुझाउने र बाँकी रकम लुकाउने कार्यबाट कुल २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ राजस्व हिनामिना भएको पुष्टि भएको छ । उक्त कसुरमा संलग्न देखिएका कर्मचारीहरूविरुद्ध कानुनअनुसार सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
८- नेपाली कांग्रेसले पार्टीको लेटरहेड दुरुपयोग गर्नेलाई कारवाही गर्ने चेतावनी दिएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले पार्टीको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी रहेको वक्तव्य जारी गर्ने काम भएको भन्दै लेटरहेड दुरुपयोग गरे कारवाही गर्ने चेतावनी दिएको हो । केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले अब उप्रान्त लेटरहेड दुरुपयोग गर्ने काम भए कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको जानकारी दिए । यसअघि नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखक पक्राउको विरोध गर्दै प्रतिवाद गर्ने बताएका थिए । त्यस्तै बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा अनुशासन उल्लघंन गरिएको भनी प्राप्त ५०७ उजुरीलाई वर्गीकरण गरी अविलम्व टुंगोमा पुर्याउने निर्णय गरेको छ भने छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लघंन गरेको भनी आरोप लागेका व्यक्तिहरुबाट सात दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णय भएको संयोजक गुरुङले जानकारी दिए । बैठकले प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लंघन गरेका भए सो को उजुरी २०८२ चैत्र मसान्तभित्र पठाउन निर्देशन जारी गरेको छ । तत्पश्चात प्राप्त हुन आएका उजुरी उपर कुनै कारवाही नहुने अनुशासन समितिले स्पष्ट गरेको छ ।
९- नेकपा एमाले संसदीय दलको नेतामा राम बहादुर थापा चयन भएका छन् । निर्वाचनबाट नेता छान्ने प्रक्रियामा सुहाङ नेम्वाङले उम्मेदवारी नदिएपछि थापा दलको नेता चयन भएका हुन् । यस अघि संसदीय दलको नेताका लागि पार्टी उपाध्यक्ष रामबहादुर थापा र युवा नेता सुहाङ नेम्वाङबीच प्रतिस्पर्धा हुने बताइएको थियो । उपाध्यक्ष रहेका रामबहादुर थापालाई सर्वसम्मत बनाउन युवा नेता सुहाङ नेम्वाङले अस्वीकार गरेपछिचुनावी प्रक्रिया शुरु गरिएको भए पनि सुहाङले उम्मेदवारी नदिएपछि थापा निर्बिरोध भएको मतदान अधिकृत निरज आचार्यले जानकारी दिएका छन् ।
१०- नेप्सेमा ठुलो गिरावट आएको छ । आज बुधबार नेप्से ७४.७३ अंकले घटेर २७७६. ३६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका ३ करोड २ लाख ९२ हजार ४५२ कित्ता शेयर १२ अर्ब १० करोड ९५ लाख २५ हजार ५६१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स र सुपर खुदी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने भुजुङ हाइड्रो, होटल फरेस्ट इन र रिज इनर्जीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी नेपाल रिइन्सुरेन्स कम्पनिको शेयर ९.८४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको ७१ करोड ३१ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ४५ करोड ७२ लाख बराबरको कारोबार भएको छ ।
११- प्रतिनिधिसभाको सभामुख चयनको कार्यसूची तय गरिएको छ । बुधबार संघीय संसद् सचिवालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनको कार्यसूची तय गरको हो । रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार सभामुखको मनोनयन दर्ता चैत २० गते र निर्वाचन २२ गते गर्ने सहमति भएको छ । यस्तै, बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा शुभकामना दिने, सभामुखको निर्वाचनको तालिका प्रस्तुत गर्ने तय भएको छ । रास्वपाले उपसभापति डिपी अर्याललाई सभामुख बनाउने तयारी गरेको छ । उपसभामुखको निर्वाचन भने सभामुखको चयन पछि मात्र हुने छ । संबैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्था रहेको छ । सभामुखको चयन नहुदासम्म बैठकको अध्यक्षता जेष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्ने भएका छन् ।

१२- इरानले अमेरिकी ठूला कम्पनीका क्षेत्रीय कार्यालयहरुलाई निशाना बनाउने चेतावनी दिएको छ । इरानको शक्तिशाली सैन्य निकाय इस्लामिक रिभोलुसनरी गार्ड कोरले अमेरिकाका ठुला १८ टेक कम्पनीका मध्यपूर्वमा रहेका क्षेत्रीय कार्यालयहरुलाई निशाना बनाउने चेतावनी दिएको इरानी सरकारी सञ्चार माध्यम प्रेस टिभीले उल्लेख गरेको छ । इरानले ती कम्पनीहरूले जासुसीमार्फत इरानभित्र अमेरिकी-इजरायली अपरेसनलाई सहयोग गरेको आरोप लगाएको छ । त्यसकै प्रतिक्रिया स्वरूप क्षेत्रीय कार्यालयहरू निशानामा पर्न सक्ने चेतावनी दिइएको बताइएको छ । सम्भावित प्रतिआक्रमण १ अप्रिल राति ८ बजेदेखि सुरु हुन सक्ने बताइएको छ । इरानी पक्षले यी आक्रमण अत्यन्त विनाशकारी हुन सक्ने दाबी गरेको छ । यस सूचीमा विश्वका प्रमुख प्रविधि र औद्योगिक कम्पनीहरू परेका छन् । तीमध्ये एप्पल, गुगल, मेटा र माइक्रोसफ्ट, एचपी, इन्टेल, आईबीएम र सिस्को समेत रहेको दाबि गरिएको छ । यससँगै टेस्ला, एनभिडिया, ओरेकल, जेपी मोर्गन र बोइङ जस्ता अन्य बहुराष्ट्रिय कम्पनीहरूलाई पनि यस्तो चेतावनी दिइएको बताइएको छ । इरानको यो चेतावनीपछि अन्तर्राष्ट्रिय स्तरमा सुरक्षा चिन्ता बढेको छ । सम्भावित साइबर आक्रमण वा भौतिक आक्रमणको जोखिमबारे विभिन्न देशहरूले सतर्कता बढाएको जनाइएको छ ।
१३- अमेरिकाले नेपालका लागि जारी ट्राभलको स्तर घटाएर ‘स्तर २’ मा झारेको छ । काठमाडौँस्थित अमेरिकी दुताबासका अनुसार नयाँ परामर्शमा नेपालमा सतर्कता अपनाएर यात्रा गर्न सुझाव दिइएको छ । दूतावासका अनुसार गत भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा जारी गरिएको एडभाइजरीको स्तर घटाइएको हो । दुताबासले देशव्यापी समग्र सुरक्षा अवस्था स्थिर बनेको उल्लेख गर्दै शहरहरूमा कहिलेकाहीँ प्रदर्शन र स्थानीय अशान्ति हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य सेवाका सन्दर्भमा दूतावासले नेपालमा नियमित तथा आकस्मिक उपचार क्षमता सीमित रहेको जनाएको छ । काठमाडौँका अस्पताल अन्य स्थानको तुलनामा राम्रो भए पनि भीडभाड, उपकरण वा औषधिको अभाव र उपचारअघि भुक्तानी माग्ने समस्या हुन सक्ने उल्लेख गरिएको छ । यात्रुहरूलाई आवश्यक औषधि साथमा ल्याउन, स्वास्थ्य बीमा गर्न र गम्भीर बिरामी परेमा अन्य देश जानुपर्ने अवस्था आउन सक्नेबारे सचेत गराइएको छ । प्राकृतिक विपद्का सन्दर्भमा नेपालमा भूकम्प, बाढी र पहिरोको जोखिम रहने जनाइएको छ । विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुनमा भारी वर्षाले आकस्मिक बाढी र पहिरो ल्याउन सक्ने तथा सडक अवरुद्ध र उद्धारमा कठिनाइ हुन सक्ने चेतावनी दिइएको छ । नेपाल भ्रमण गर्ने आफ्ना नागरिकहरूलाई दूतावासले स्थानीय समाचारमा ध्यान दिन, योजना आवश्यक अनुसार परिवर्तन गर्न तयार रहन, भीडभाडबाट टाढा बस्नु र यात्रा बीमा अनिवार्य रूपमा गर्नुपर्ने सुझाव दिएको छ । साथै, आपतकालीन अवस्थामा दूतावाससँग सम्पर्क सहज बनाउन ‘स्मार्ट ट्राभलर दर्ता कार्यक्रम’ मा नाम दर्ता गर्न पनि दुताबासले आग्रह गरेको छ ।
१४- अप्रिल फुलको दिन नेपाल प्रहरीले सचेतना सन्देश दिएको छ । बुधबार प्रहरीले आफ्ना सामाजिक सञ्जालमा एउटा क्युआर कोड सार्वजनिक गर्दै तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?’ सुनिश्चित गर्न यो क्यूआर कोड स्क्यान गर्नुस् भनेको छ । प्रहरीले दिएको क्युआर कोड स्क्यान गर्दा सचेत गराउने सन्देश देखिन्छ । सो सन्देशमा भनिएको छ ‘तपाईंले स्क्यान गर्नुभएको क्यूआर कोड सचेतना अभियानको लागि हो । आज हामीले मजाक गरेका थियौं…तर भोलि यस्तै क्यूआरबाट तपाईं स्क्याममा पनि पर्न सक्नुहुन्छ ।’ प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यूआर कोड स्क्यान नगर्न र स्क्यान गर्नुअघि भेरिफाइ गर्न समेत अनुरोध गरेको छ ।

१५- इरानले अमेरिका र इजरायलसँग लामो युद्धका लागि तयार रहेको स्पष्ट गरेको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले आवश्यक परे ६ महिनासम्म संघर्ष जारी राख्न सक्ने बताएका छन् । रसियन च्यानल आरटीसँग कुरा गर्दै उनले देशले लामो समयसम्म युद्ध लड्न सक्ने गरी तयारी गरिसकेको बताउँदै परिस्थिति अनुसार लडाइँ अघि बढ्ने स्पष्ट पारेक छन् । उनले भनेका छन्- ‘राष्ट्रको सुरक्षा र सार्वभौमिकता सबैभन्दा माथि हो, त्यसको रक्षा गर्न कुनै पनि हदसम्म जान तयार छौँ ।’ अराघचीले अमेरिकालाई कडा चेतावनी दिँदै जमीनी आक्रमण भए इरान पूर्ण रूपमा तयार रहेको समेत बताएका छन् । उनले भने- ‘हामी उनीहरूको प्रतीक्षामा छौँ ।’ इरानले आफैं जमीनी युद्ध चाहेको नभए पनि यदि यस्तो अवस्था आएमा त्यसको कडा जवाफ दिने उनले जनाए । उनका अनुसार अमेरिकी जमीनी आक्रमणको कुनै डर नरहेको र कुनै पनि परिस्थितिको सामना गर्न इरान सक्षम रहेको दाबी गरिएको छ । यसबीच इरानले अमेरिका र इजरायल माथि तेहरानस्थित औषधि उद्योगमा आक्रमण गरेको आरोप लगाएको छ । उक्त आक्रमणमा ‘तोफिघ दारु’ नामक औषधि कारखाना लक्षित भएको इरानको भनाइ छ । इरानी अधिकारीहरूका अनुसार उक्त कारखाना अस्पताल र शल्यक्रियामा प्रयोग हुने औषधिको कच्चा पदार्थ उत्पादन गर्ने महत्वपूर्ण केन्द्र थियो । आक्रमणका कारण देशको स्वास्थ्य आपूर्ति प्रणालीमा गम्भीर असर पर्ने चेतावनी दिइएको छ । इरानको स्वास्थ्य मन्त्रालयले उत्पादन र अनुसन्धान इकाइमा ठूलो क्षति पुगेको जनाएको छ भने विदेश मन्त्रालयले यसलाई युद्ध अपराधको संज्ञा दिएको छ । उता इजरायलले भने आफूले रासायनिक गतिविधिसँग जोडिएको अनुसन्धान केन्द्रमा आक्रमण गरेको दाबी गरेको छ । तर यसको समर्थनमा ठोस प्रमाण सार्वजनिक गरिएको छैन ।
१६- कम्बोडियामा अलपत्र परेका ८ जना नेपालीको उद्धार गरिएको छ । प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्र र क्यासिनोमा गैरकानुनी काममा लगाइएको थियो। नेपाली दूतावास बैंकक को पहल तथा कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरिएको हो । गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरू चैत १७ गते कम्बोडियाबाट उडेर चैत १८ गते काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । दूतावासका अनुसार अझै पनि कम्बोडियामा केही नेपाली नागरिक अनलाइन ठगीलगायत गैरकानुनी गतिविधिमा फसाइएका छन् भने केही बिना भिसा वा भिसा अवधि नाघेर बसिरहेका छन्। यस्ता अवस्थामा रहेका नेपालीलाई नेपाल फर्काउने पहल जारी रहेको जनाइएको छ । दूतावासले समस्यामा परेका नेपालीलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ। विशेषगरी पासपोर्ट जफत गरिएको वा हराएको अवस्थामा समेत उद्धार प्रक्रिया अघि बढाइने बताइएको छ। यस्तो अवस्थामा दूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउने व्यवस्था रहेको छ । पछिल्लो समय कम्बोडियातर्फ नेपालीको आवागमन तीव्र रूपमा बढेको तथ्याङ्कले देखाएको छ। सन् २०२१ मा १०१ जना नेपाली पुगेकोमा २०२२ मा १९७७, २०२३ मा २९४०, २०२४ मा ६४०४ र २०२५ मा ९६७६ जना पुगेका छन् । दूतावासले वैदेशिक रोजगारीमा जाँदा सरकारले तोकेको प्रक्रिया पूरा गर्न तथा आकर्षक आम्दानीको प्रलोभनमा परेर कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता देशमा भ्रमणको बहानामा नजान आग्रह गरेको छ ।
१७- इराक फिफा फुटबल विश्वकपमा छनौट भएको छ । इन्टरकान्टिनेन्टल प्लेअफमा बोलिभियालाई २-१ गोल अन्तरले पराजित गर्दै इराक अमेरिका मेक्सिको र क्यानडामा हुने विश्वकपमा छनौट भएको हो । विश्वकपमा छनौट भएसँगै इराक समुह आइमा फ्रान्स सेनेगल र नर्वेसँग परेको छ । इराक एशियाबाट विश्वकपमा छनौट हुने आठौ देश भएको छ भने कुल सहभागी ४८ देश मध्ये छनौट हुने अन्तिम देश पनि बनेको छ । एशियाबाट इराकसहित, अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्बेकिस्तान विश्वकपमा छनौट भएका छन् । विश्वकप फुटबल आगामी जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोका १६ शहरमा हुदैछ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७४ सयले बढेर तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार २ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४९४५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४८४५ मा कारोबार भएको थियो ।
१९- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएपछि आजदेखि वरिष्ठतम् न्यायाधीश मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दैछिन् । राउतलाई मंगलबार सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मल्लले बिदाइ गरेकी थिइन् । विंस २०८१ असोज २० मा प्रधानन्यायाधीश नियुक्त भएका राउत ६५ वर्ष उमेरहदका कारण अनिवार्य अवकाश भएका हुन् । २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका राउत ८ वर्षमै प्रधानन्यायाधीश बन्न सफल भएका थिए । वकिलबाटै सीधै सर्वोच्च अदालतको न्यायाधीश हुँदै प्रधानन्यायाधीश बन्न सफल भएका राउतले १८ महिना सर्वोच्च अदालतको नेतृत्व गरेका छन् । प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा मनोजकुमार शर्मा, नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीशले अवकाश पाउनुभन्दा एक महिना अगाडि संवैधानिक परिषद्को बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । न्यायपरिषद् ऐनको दफा ४ मा नियुक्तिको एक महिनाअगाडि सिफारिस गर्ने व्यवस्था छ । संविधानको धारा १२९ ले नेपालको प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतको न्यायाधीशको नियुक्ति र योग्यतासम्बन्धी व्यवस्था गरेको छ । संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ ।

२०- चार पटकको विश्व विजेता इटाली राष्ट्रिय फुटबल टोली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल भएको छ । बोस्निया-हर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि इटाली विश्कपमा छनौट हुन असफल भएको हो । यसअघि सन् २०१८ को रुस र २०२२ को कतार विश्वकपमा पनि इटाली पुग्न सकेको थिएन । यससँगै कुनै पनि पूर्व विश्व विजेताले लगातार तीन संस्करण गुमाएको यो पहिलो पटक हो । उता बोस्निया-हर्जेगोभिना राष्ट्रिय फुटबल टोलीले इतिहासमा दोस्रो पटक विश्वकपमा स्थान बनाएको छ । टोलीका ४० वर्षीय कप्तान एडिन जेकोको नेतृत्वमा बोस्नियाले विश्वकपको समूह ‘बी’ मा क्यानडा, कतार र स्विट्जरल्यान्डसँग खेल्नेछ । पराजयपछि भावुक बनेका प्रशिक्षक गात्तुसोले टोलीका लागि यो ठूलो धक्का भएको बताएका छन् । उनले आफ्नो भविष्यभन्दा टोलीको असफलता बढी पीडादायी भएको प्रतिक्रिया दिए । इटाली फुटबल संघका अध्यक्ष गाब्रिएले ग्राभिनाले भने इटाली फुटबल गम्भीर संकटमा पुगेको स्वीकार गरेका छन् । सन् २००६ मा चौथो पटक विश्वकप जितेपछि इटालीको प्रदर्शन निरन्तर खस्कँदै आएको छ । पछिल्ला वर्षहरूमा युवा खेलाडी उत्पादन कमजोर हुनु र घरेलु लिगमा विदेशी खेलाडीको प्रभाव बढ्नु यसको मुख्य कारण मानिएको छ । यसपटकको असफलतासँगै इटाली फेरि विश्व फुटबलको ठूलो मञ्चबाट बाहिरिएको छ, जसले समर्थकहरूमा गहिरो निराशा पैदा गरेको छ ।
#News #Top20 #Bulletin #Today #Update #Nepal #Breaking #Headlines #Daily #Media #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD



