प्रधानमन्त्री भट्टराई उपस्थित धनकुटा महोत्सवको समाचार संकलनमा कालोपट्टी बाँधेर गएका पत्रकारलाई सुरक्षा घेराबाट मुक्त

रमेशचन्द्र अधिकारी

 

धनकुटा – सूचना बन्देजको बिरोधमा कालोपट्टी बाँधेर प्रधानमन्त्री बाबुराम भट्टराई उपस्थित धनकुटा महोत्सवको समाचार संकलनमा गएका पत्रकारलाई सुरक्षा घेराबाट मुक्त गरेको छ । उनीहरुलाई केही घण्टा सुरक्षा घेरामा राखेर राखिएको थियो ।

सूचना वर्गीकरण गरी १ सय ४० प्रकारका सूचनालाई गोप्य राख्नुपर्ने भन्दै त्यस्ता सूचना नदिन सरकारी कार्यालयलाई लिखित उर्दी जारी गरेको विरोधमा पत्रकारहरु कालो पट्टी बाँधेर समाचार संकलनमा निस्केका थिए । ‘पत्रकार महासंघको सर्कुलरअनुसार हामी सांकेतिक विरोध गर्न कालो पट्टी बाँधेर आएका थियौं,’ धनकुटा शाखाका अध्यक्ष मोहन वान्तवाले भने, ‘हामीलाई बन्धक बनाइयो ।’

कालो पट्टी बाँधेर महोत्सवमा आयोजकले छुट्याएको ठाउँमा बस्न गएका पत्रकारलाई विरोध गरेर बस्न नमिल्ने भन्दै उठाइएको थियो । कालो पट्टी खोल्न नमानेका पत्रकार तल्लो टुँडिखेलस्थित एक छेउमा गएकैबेला प्रमुख जिल्ला अधिकारी खड्गप्रसाद चापागाईंको निर्देशनमा हतियारधारी प्रहरीले घेरेका थिए ।

घेरिएका पत्रकारले आफूहरुलाई बाहिर जान दिन अनुरोध गरे पनि प्रहरीले ‘कालो पट्टी नखोलेसम्म बाहिर जान नदिनू भन्ने माथिको आदेश छ’ भन्दै रोकेका छन् । पत्रकारलाई कालो पट्टी नखोली दिशा-पिसाव गर्न निस्कन पनि दिइएको छैन ।