संविधान सभाको म्यादका विषयमा सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध अदालतको इजलासमा निवेदन दर्ता

संविधान सभाको म्यादका विषयमा सर्वोच्च अदालतले गरेको फैसला विरुद्ध सभामुख सुवास नेम्वाङले अदालतको इजलासमा निवेदन दर्ता गराउनु भएको छ । सभामुख नेम्वाङको तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चको ईजलास समक्ष निवेदन दर्ता गराएको हो । गत शुक्रबार प्रधानमन्त्री डा.बाबुराम भट्टराईको तर्फबाट पनि यसैगरी निवेदन दर्ता गराइएको छ ।

दुवै निवेदनको विषयमा के गर्ने भन्ने विषयमा अब सर्वोच्च अदालतको ईजलासले निर्णय गर्नेछ । यसअघि संविधान सभाको आयु तोकेर सर्वोच्च अदालतले संसदको अधिकार हनन् गरेको भन्दै सरकार र संसदको तर्फबाट परेको रीटलाई अदालतको प्रशासनले दरपीठ गरिदिएको थियो । त्यसपछि अन्तिम उपाय स्वरुप सोझै ईजलासमा निवेदन दर्ता गराइएको हो । अब इजलासले पनि प्रशासनले गरेको दरपीठलाई नै सदर गरेमा फैसलामाथि पुनरावलोकनको गुञ्जयास रहने छैन ।