

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने नारा संविधान संशोधनमार्फत स्थापित गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नागरिकता र सुशासनको विषयमा संविधान संशोधन गर्न सरकारलाई दुई तिहाइ बहुमत जुटाउन राप्रपा सहयोग गर्न तयार रहेको उहाँको भनाइ छ । उहाँले मुलुकमा सुशासन कायम गर्ने, सामाजिक न्याय र रुपान्तरणका विषयमा सरकारलाई सहयोग गर्न पार्टी तयार रहेको बताउनु भयो । उहाँले कृषिमा देखिएको संकटप्रति चिन्ता व्यक्त गर्दै देशका किसान रोजगारीका लागि विदेशिन बाध्य भएको अवस्था अन्त्य गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले दलगत स्वार्थभन्दा माथि उठेर राष्ट्रहितमा काम गर्न समेत सबै दलहरुलाई आह्वान गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एक पटकको नेपाली सधैँको नेपाली भन्ने नारालाई कायम राखियोस् । संविधान संशोधन गरेर फेरी कायम गरियोस् । यदि यो सरकारलाई त्यसका लागि दुई तिहाईको आवश्यकता पर्छ त्यतिबेला हामी तपाईको पछाडि उभिनेछौँ । ढुक्कका साथ काम गर्नुहोस् । हाम्रा किसानहरु जसले हाम्रो भूमिलाई हराभरा बनाउँछ उनीहरु आज विदेशी मजदुर भएका छन् । त्यो बाध्यताको अन्त्य गर्न हामी एकजुट हुनैपर्छ । हामी सँगसँगै जानैपर्छ । दलभन्दा ठुलो देश हो । यहाँ को ? कुन दल ? भन्ने होइन । हामी सबैले दलगत स्वार्थ त्यागेर सुशासन स्थापना र प्रजातान्त्रिक विधिको लागि एकढिक्का हुनुपर्छ भन्ने लाग्छ ।’
उहाँले सुशासन स्थापना र प्रजातान्त्रिक विधिको सुदृढीकरणका लागि सबै दलहरू एकढिक्का हुनुपर्ने आवश्यकता औंल्याउँदै देशलाई प्राथमिकतामा राखेर सहकार्य गर्न समेत आह्वान गर्नुभयो ।
#RSP #RPP #NepalPolitics #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



