

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले मुलुकमा हाल शान्ति र समृद्धिका नायकलाई खलनायक र देश जलाउनेलाई महानायक बनाईएको बताउनुभएको छ ।

बिहीवार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशको विकास गर्नेलाई हत्यारा र खलनायकको ट्याग भिराएर संसद, सिंहदबार जलाउनेहरुलाई महानायकको रुपमा प्रश्तुत गरिएको बताउनु भयो ।
उहाँले नेपालमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को नेतृत्वमा कथित रूपमा रंगक्रान्ति सम्पन्न गरिएको आरोप लगाउनु भयो । भदौ २३ रर २४ को रंगक्रान्तीलाई फागुन २१ गतेको आम निर्वाचनमार्फत निलो क्रान्तिमा वैधानिकता दिइएको दाबी गर्नुभयो । उहाँले रास्वपा र प्रधानमन्त्री बालेन्द्र साहको सपथलाई ऐतिहासिक जादुमयी विजयको रूपमा चित्रण गर्नुभयो ।

रास्वपाको ऐतिहासिक विजयमा आन्तरिक रुपमा नेपाली सेना, ब्युरोक्रेसी, तत्कालिन सुशिला कार्की नेतृत्वको सरकार, गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग तथा गैरसरकारी संस्थाहरूले निर्णायक भूमिका खेलेको दाबी गर्नुभयो । वाह्य रूपमा भने अदृश्य शक्तिहरू, एआई, एल्गोरिदम लगायतले प्रभाव पारेको उहाँको दाबी छ । नेता थापाले जेनजी आन्दोलनका घटनामा पनि विभिन्न संकास्पद गतिविधिहरु भएको उल्लेख गर्नुभयो । उहाँले सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, निजी तथा सार्वजानिक संस्थामा कुन उद्देश्य प्राप्तीको लागि आगो लगाइएको हो ? भन्दै प्रश्न गर्नभयो । विद्यार्थीलाई निषेधित क्षेत्र तोड्न किन उक्साउनेको उद्देश्य के हो ? भन्नेपनि खुल्दै जाने बताउनु भयो । उहाँले हाल राजनीतिक नेताहरूको गिरफ्तारी तथा देशव्यापी दमनका घटना भइरहेकोले यसको विरुद्धमा एमालेले निरन्तर आवाज उठाइरहने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा भदौ २३ र २४ गते अवैधानिक ढंगबाट रास्वपाको अघोषित नेतृत्वमा रंगक्रान्ती सफलतापुर्वक सम्पन्न भयो । फागनु २१ गते आम निर्वाचन मार्फत निलो क्रान्तिलाई बैधानिकता प्रदान गरियो । चैत्र १३ गते भव्य धार्मिक अनुष्ठानसहित श्री बालेन्द्र साहज्युलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो । यो ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री बालेन्द्र साहलाई एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु । यो अभुतपूर्व विजयमा आन्तरिक रुपमा को कसको निर्णायक भुमिका रह्यो ? तथ्यहरुले के स्पष्ट गर्दछन् भने मुख्यतः नेपाली सेना, व्यरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, वारवरा फाउण्डेशन एनजिओ आदी संस्था तथा पात्रहरुको यो विजयमा निर्णयक भुमिका रह्यो । त्यसैले ती संस्था तथा पात्रहरुलाई पनि एमालेको तर्फबाट बधाई भन्न चाहन्छु । यो जादुमय विजयको लागी वाह्य दृष्टिले क कसले निर्णयक भुमिका निवार्ह गरे ? असङ्ख्य तथ्यहरुले के स्पष्ट गर्छ भने अदृश्य शक्तिहरु टिओवी, एआई, एल्गोरिदम, गोयल्बसहरु जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघियता, शान्ति र समृद्धिका नायकहरुलाई खुंखार खलनायक र हत्याराको रुपमा स्थापित गरे । जसले देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रहरुलाई महानायक बनाए, ती संस्था र पात्रहरुले नै बाह्य रुपमा यो जादुमयी निर्णयक भुमिका खेले । त्यसैले यो एतिहासिक क्षणमा म ती सबै पात्रहरुलाई पनि एमालेको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु । यो चमात्कारिक विजयले केही असाधारण प्रश्नहरु जन्माएको छ । कुन उदेश्य प्राप्तीको लागी सिंहदरबार, शितल निवास, बालुवाटार, सर्वोच्च अदालत, राजनीतिक नेतृत्व र निजि निवासहरु, प्रहरी चौकी, व्यवसायिक प्रतिष्ठानहरु सुनियोजित ढंगबाट जलाईयो ? कुन उद्देश्य प्राप्तीको लागि, कसले ती अवोध विद्यार्थीलाई निषेधित क्षेत्र तोड्न उक्साइयो ? कुन उदेश्य प्राप्तीको लागि हतियारवद्ध टिओवीहरु २३ र २४ गते तेजस्वी रुपमा प्रकट भए ? कुन उदेश्य प्राप्तिको लागी गैरकानूनी ढंगबाट पूर्वप्रधानमन्त्री तथा गृहमन्त्रीहरुलाई गिरफ्तार गरियो ? कुन उद्देश्य पूर्ति गर्न राजनितिक नेतृत्वहरुलाई गिरफ्तार गर्ने प्रपन्चहरु रचिँदैछ ? कुन उदेश्यको लागि देशव्यापी रुपमा दमनचत्र र राज्य आतंक मच्चाइँदैछ ? कुन उदेश्यको लागी विधार्थी तथा पेशा कर्मीहरुको संगठित हुने मौलिक अधिकारलाई बलात् खोसिँदैछ ? कुन उदेश्यको लागि मिडिया ट्रायल र साईबर आतंक सिर्जना गरिँदैछ ? निष्चय पनि भविष्यले यी प्रश्नहरुको सही जवाफ दिँदै जानेछ । तर यी प्रश्नहरु र यस्तै यस्तै प्रश्नहरु हामी सम्पूर्ण तागतसहित राज्यलाई सोध्नेछोँ ।’
उहाँले एमालेले एक निर्वाचन हारेपनि कमजोर नभएको बताउनु भयो । युद्धमा हारेको सिपाही फेरि थप सशक्त बनेर निस्कने उहाँको भनाई छ ।



