

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- संघीय संसद सचिवालयले सभामुखको निर्वाचनको कार्यतालिका सार्बजनिक गरेको छ । सचिवालयका अनुसार सभामुखको निर्वाचन चैत्र २२ गते आइतबार बिहान ११ बजेको प्रतिनिधि सभाको बैठकमा हुने भएको छ । सचिवालयले सार्बजनिक गरेको तालिका अनुसार चैत्र २० गते बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म संसद सचिवालयमा मनोनयन दर्ता हुने छ । त्यस्तै सोहि दिन दिउसो साढे २ बजे उम्मेदारको नाम प्रकाशित हुने छ भने चैत्र २२ गतेको प्रतिनिधि सभाको बैठकमा सभामुखको निर्वाचनको प्रस्ताव पेश हुने सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा रास्वपाको बहुमत रहेकाले रास्वपाले अगाडी सारेका उपसभापति डिपी अर्याल सभामुख बन्ने निश्चित रहेको छ ।

२- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणबाट भएका विद्युत् खरिद सम्झौता (पीपीए) को विस्तृत अध्ययन गर्न उच्चस्तरीय समिति बनाएको छ । मन्त्री विराज भक्त श्रेष्ठले मन्त्री स्तरीय निर्णय गर्दै मन्त्रालयका सहसचिव डा. राजन भट्टराईको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएका हुन् । समितिले नेपाल विद्युत् प्राधिकरणबाट भएका विद्युत् खरिद सम्झौता (पीपीए)को विद्यमान अवस्थाको विश्लेषण गर्नेछ। यस समितिलाई पीपीए प्रक्रियाका नीतिगत, प्राविधिक, आर्थिक तथा कानुनी अड्चनको पहिचान गर्ने र आगामी दिनमा पीपीए प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र राष्ट्रिय हित अनुकूल बनाउन आवश्यक सुधारको सिफारिस गर्ने जिम्मेवारी दिइएको छ । त्यसैगरी विद्युत् विकास विभागबाट जारी भएका अनुमतिपत्रको वर्तमान अवस्थाको समीक्षा गर्न अर्का सहसचिव मोहन शाक्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । सो समितिले हालसम्म जारी भएका अनुमतिपत्रहरूको अवस्था र प्रगतिबारे विश्लेषण गर्दै अनुमति जारी प्रक्रियाभित्रका नीतिगत, प्राविधिक, आर्थिक तथा कानुनी कमजोरी पहिचान गर्नेछ । साथै भविष्यमा अनुमतिपत्र वितरण जारी गर्ने प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र राष्ट्रिय हित अनुकुल बनाउन नीतिगत तथा कानुनी सुधारका सुझावसमेत पेश गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।
३- प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ । मुख्यसचिव सुमनराज अर्यालले अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक देखिएको उल्लेख गर्दै त्यसको समूल अन्त्य गरी सुशासन कायम गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाउदै कडा कदम चाल्न सबै सरकारी कार्यालयलाई निर्देशन दिएका हुन् । निर्देशनमा भनिएको छ- ‘देशमा भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने मूलभूत माग राखी गत २०८२ भाद्र २३ र २४ गते जेन–जी युवाहरूको अगुवाइमा जनआन्दोलन भएको र सोही पृष्ठभूमिमा २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई हालै गठन भएको सरकारले सार्वजनिक निकायहरूमा हुने नीतिगत, संस्थागत, प्रक्रियागत लगायत सबै किसिमका भ्रष्टाचारलाई अन्त्य गरी सुशासन प्रवद्र्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ ।’ सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा हुने नीतिगत, संस्थागत तथा प्रक्रियागत भ्रष्टाचार अन्त्य गर्न सम्बन्धित निकायहरूले तत्काल प्रभावकारी पहल गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ । सरकारले विशेषगरी कर्मचारीहरूलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाउँदै जनविश्वास बढाउने, सेवाग्राहीसँग सभ्य व्यवहार गर्ने तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र असहाय वर्गलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ । त्यसैगरी, कार्यालय प्रमुखलाई नै मुख्य जिम्मेवार बनाउँदै तटस्थता, पारदर्शिता र आचारसंहिताको कडाइका साथ पालना गराउने दायित्व तोकिएको छ। सेवा प्रवाह र विकास व्यवस्थापनमा चुस्तता, मितव्ययिता र प्रभावकारिता कायम गर्न समेत आग्रह गरिएको छ । अनियमितता र भ्रष्टाचारका घटनामा सूक्ष्म निगरानी राख्न, छड्के अनुगमन गर्न र कुनै जानकारी प्राप्त हुनासाथ सम्बन्धित निकायमा जानकारी गराउन निर्देशन दिइएको छ । साथै, भ्रष्टाचार वा आर्थिक अनियमितता भेटिएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने चेतावनी पनि दिइएको छ ।

४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभापति डिपी अर्याललाई सभामुखमा प्रस्ताव गर्ने निर्णय गरेको छ । विहिबार बसेको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सभामुखको रुपमा अर्याललाई अगाडी सार्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । सभामुखको निर्वाचन चैत्र २२ गते हुदैछ । प्रतिनिधि सभामा रास्वपाको १८२ सिट रहेकाले अर्याल सभामुख बन्ने तय नै रहेको छ । सभामुख बन्ने भएसँगै अर्यालले रास्वपाको साधारण सदस्यताबाट समेत राजीनामा गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमरबहादुर दानीसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार समितिको रकम निर्णय बिना खर्च गर्ने, बिल–भरपाई बिना नक्कली कागजात तयार गरी भुक्तानी देखाउने र आम्दानी रकम हिनामिना गर्ने कार्य गरिएको पाइएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि २०७५/०७६ सम्मको अवधिमा पदाधिकारीबीच मिलेमतो गरी गैरकानुनी लाभ लिने उद्देश्यले अनियमितता गरिएको अनुसन्धानबाट खुलेको हो । आयोगले मालिका सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्र बहादुर वयक क्षेत्री तथा सदस्य हरि प्रसाद अधिकारी समेतको आपसी मिलोपतोमा सडक निर्माणका नाममा नक्कली कागजात तयार गरी रकम खर्च देखाएको, लेखापरीक्षण नभए पनि शुल्क भुक्तानी गरेको र काठ बिक्रीबाट प्राप्त रकम समितिको खातामा दाखिला नगरेको आयोगले जनाएको छ । साथै नर्सरी व्यवस्थापन लगायतका शीर्षकमा बिना प्रमाण लाखौँ रकम खर्च देखाइएको पाइएको छ । त्यस्तै, वनसम्बन्धी मुद्दामा अधिवक्तालाई शुल्क भुक्तानी गरेको देखाउँदै रकम दुरुपयोग गरिएको, मुद्दा तथा साक्षी खर्चका नाममा समेत रकम हिनामिना गरिएको आरोप छ । अध्यक्षले व्यक्तिगत प्रयोजनका लागि रकम प्रयोग गरेको र व्यक्तिगत जरिवाना तिर्न समेत समितिको कोष प्रयोग गरिएको पाइएको छ । विभिन्न शीर्षकमा नक्कली कागजात बनाएर जम्मा १२ लाख १८ हजार ५१२ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै आयोगले सोही बराबर बिगो कायम गरी कारबाहीको मागदाबी सहित मुद्दा दायर गरेको जनाएको छ ।
६- प्रतिनिधि सभाको आज बसेको पहिलो बैठकमा विभिन्न तीन अध्यादेश पेश भएको छ । जसमा मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२ रहेका छन् । गृहमन्त्री सुधन गुरुङले तीनवटै अध्यादेश संसदमा पेस गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक चैत्र २२ गतेसम्मका लागि स्थगित भएको छ ।
७- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न माग गरेका छन् । प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले सरकारसँग प्रदेश संरचना खारेज गर्ने प्रस्ताव ल्याउन माग गर्दै बहुमत नपुगे आफुहरुले सहयोग गर्ने बताएका हुन् । उनले भने- ‘देशमा आज ८८४ जना सांसदहरू छौँ, एक वर्षमा एक खर्ब रुपैयाँ प्रदेश संरचना पाल्नुपर्ने अवस्था छ । यो राजनितिक दलका कार्यकर्तालाई सेटलमेन्ट गर्न ल्याइएको प्रदेश संरचना यही संसद्बाट यही सरकारले खारेज गर्छ । यदि, बहुमत पुगेन भने हामीले पनि थप गर्छौं । १८४ चाहिन्छ, १८७ पुर्याउछौँ ।’ संसद शाहीले वार्षिक एक खर्ब रुपैयाँ जनताको पैसा प्रदेश संरचनाको नाममा खर्च भइरहेको उल्लेख गर्दै यसलाई बचाउन सरकारसँग आग्रह गरे ।
८- प्रतिनिधिसभाको अध्यक्षता गरेका अर्जुननरसिंह केसीले संसदलाई प्रभावकारी बनाउन शिष्ट, मर्यादित र जिम्मेवार व्यवहार हुने अपेक्षा व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधिसभाको अध्यक्षता गर्दै केसीले प्रतिनिधिसभा निर्वाचनले ऐतिहासिक उपलब्धि हासिल गरेको र जनताको अपेक्षाअनुसार शासन प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको बताएका हुन् । उनले शासन सञ्चालनको संस्कार र संस्कृति परिवर्तनको आवश्यकता जनताको चाहना रहेको उल्लेख गर्दै राजनीतिक स्थिरता, सुशासन र विधिको शासन स्थापनामा सहकार्य र समन्वय हुनुपर्ने बताए । केसीले लोकतन्त्रको आधार संवाद, सहमति र सहकार्य भएको उल्लेख गर्दै सत्तापक्ष र प्रतिपक्षबीच रचनात्मक सहकार्यको आवश्यकता रहेको बताए ।
९- सांसद महावीर पुनले आफु राजनीति गर्ने व्यक्ति नभएको बताउदै संसदमा आफ्नो भूमिका पक्ष विपक्ष भन्दा निष्पक्ष हुने बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद पुनले आउने नपर्ने आफु संसदमा आएको बताउदै आफुले संसदमा निष्पक्ष भूमिका निभाउने बताएका हुन् । सांसद पुनले आफुले शिक्षामन्त्री हुदा गर्न खोजेका काम गर्न नपाएपछि सांसद बन्न उम्मेदवार बनेको बताए । पुनले रास्वपाका युवा सांसदहरुलाई कुसंस्कारमा नफस्न सुझाव समेत दिएका छन् ।
१०- विवादास्पद व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सम्पत्ति शुद्धीकरणको कसुरमा उनलाई विहिबार काठमाडौंबाट पक्राउ गरेको हो । यसअघि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा गृह मन्त्रालयले कालोसूचीमा राखेको थियो ।

११- नेकपा एमालेका नेता रामबहादुर थापाले रास्वपाको अघोषित नेतृत्वमा भदौ २३ र २४ को जेनजी आन्दोलन भएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै नेता थापाले भदौ २३ र २४ को जेनजी आन्दोलनमा रास्वपाले अघोषित नेतृत्व गरेको र फागुन २१ गते देशमा निलो क्रान्ति भएको बताएका छन् । उनले नेपालमा अहिलेसम्मका घटनामा नेपाली सेना, सुशिला कार्की नेतृत्वको सरकार, कार्की आयोग र कर्मचारी तन्त्रको सहयोग रहेको समेत आरोप लगाए । त्यस्तै थापाले टिओबी, मिडिया ट्रायल, अल्गोरेदिम, बारबरा फाउन्डेसनआदिको भूमिकामा अहिलेको अवस्था आएको बताउदै सबै शक्तिलाई व्यंग्यात्मकरुपमा बधाई दिएका थिए । नेता थापाले जनताले आफुहरुलाई विपक्षमा रहने जनादेश दिएको बताउदै आफुहरुले विपक्षीको मोर्चाबाट सशक्त रुपमा सरकारले गरेका गलत कामको विषय उठाउने स्पष्ट गरे ।
१२- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज विहिबार नेप्से ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा पुगेर रोकिएको छ । आज ३२८ कम्पनिका २ करोड १३ लाख १८ हजार ९२९ कित्ता शेयर ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार ३३५ मा कारोबार भएको थियो । आज बैंकिंग, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स, रिज इनर्जी र सुर्यकुण्ड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै भुजुङ हाइड्रो र होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी भूगोल इनर्जीको शेयर ३.०६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एसवाई प्यानलको ३५ करोड ७० लाख बराबरको कारोबार भएको छ भने एनगाडी पावरको शेयर ३० करोड ९२ लाख बराबरको कारोबार भएको छ ।
१३- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले एमसीसी खारेज गर्न माग गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले विकासका नाममा गरिएका असमान सन्धिहरु खारेज गर्नुपर्ने बताउदै एमसीसी खारेज गर्न माग गरेका हुन् । बैठकमा समयमा शुरु नहुने विषयमा असन्तुष्टि जाहेर गर्दै तोकिएको समय भन्दा आज पनि बैठक १६ मिनेट ढिलो भएको र अबदेखि बैठक समयमै शुरु हुनुपर्ने माग गरेका छन् । उनले बैठकमा विपक्षी सांसदहरुलाई तोकिएको समयप्रति असन्तुष्टि जनाउदै जनताका विषय राख्न समय पाउनुपर्ने बताए । उनले डिस्कोर्डमा बनाइएको योजना, भदौ २३ गतेको आन्दोलनमा विद्यालयका बालबालिकालाई ड्रेसमा बोलाउने र आन्दोलनमा लगाउने, भदौ २४ को विध्वस्तको छानबिन गर्न आयोग गठन गर्न माग गरेका छ । अध्यक्ष साम्पाङले पूर्व मन्त्री र सांसदहरुको मात्र सम्पत्ति छानबिन गरेर नहुने बताउदै हालका प्रधानमन्त्री, मन्त्री र सांसदहरुकै सम्पत्ति छानबिन गरेर सुशासनको शुरुवात गर्नुपर्ने बताए । उनले किसानका समस्या समाधान नगरेसम्म देशको आर्थिक वृद्धि नहुने बताउदै योजना बनाउदा किसानलाई केन्द्रमा राख्न माग गरेका छन् । उनले संसदको पहिलो बैठकमै सरकारले विपक्षी दलहरुसँग छलफल गरेर योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
१४- प्रतिनिधिसभाको पहिलो बैठकले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्य मनोनयन गरेको छ । बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न आरेन राई, गंगा छन्त्याल, पाइरली भाट, बासना थापा,विश्वराज पोखरेल, यज्ञराज बोगटी, बलावती शर्मा मनोनयन गरिएको जानकारी गराए । त्यस्तै प्रतिनिधिसभाको आजदेखि सुरु भएको बैठकले नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधिसभाबाट सभाको नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम काम कारबाही गर्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको छ ।

१५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारलाई हनिमुन पिरियड नचाहिने बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सभापति लामिछानेले सरकारले काम गरेर देखाउन शुरु गरेको बताउदै आफुहरुलाई हनिमुन पिरियड नचाहिने बताएका हुन् । उनले आफुहरु प्रश्न सोधेर आएको बताउदै अब प्रश्न सोध्न मात्र होइन जवाफ दिन पनि आउछ भनेर देखाउने समय आएको बताए । उनले प्रतिपक्षी दलहरुलाई आफ्ना गल्ति औल्याइदिन समेत आग्रह गर्दै प्रतिपक्षको आवाजलाई कमजोर नबनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिशोध नगर्ने बताउदै सभापति लामिछाने अब आफुले सुन्न नचाहेको कुरा बोल्दा संसदमा माइक नकाटिने स्पष्ट गरे । उनले यसअघि राजनीतिक नियुक्ति पाएका सबैले स्वइच्छाले मार्ग प्रसस्त गर्न आग्रह गर्दै सरकारले पारदर्शी प्रशासनको ग्यारेन्टी गर्ने बताए । सरकार जेनजी आन्दोलनको पनि सन्तान भएकोले शहिदको रगत बगेकोविरुद्ध गरिने कारवाहीलाई प्रतिशोध नभन्न समेत आग्रह गरे । उनले संसदको रोष्टमबाटै दलितहरुप्रति भएको विभेदप्रति माफी माग्दै माफीको मुल्य न्यायले सुनिश्चित गर्ने स्पष्ट गरे । अबको यात्रा सशक्तिकरणको हुने बताउदै महिलाहरुले अब समान अवसर पाउने गरि सरकारले काम गर्ने बताए ।
१६- प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो दिन नै नेकपा एमालेका संसादहरुले अवरोध गरेका छन् । बैठक शुरु हुना साथ एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि बैठकको अध्यक्षता गरिरहेका अर्जुननरसिंह केसीले एमाले नेता गुरु बराललाई बोल्न समय दिएका छन् । नेता बरालले सरकारले संबिधान विपरित काम गरिरहेको बताउदै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको विषयको विरोध गरेका छन् । बरालले आन्दोलनका क्रममा एमाले नेता कार्यकर्ताहरुलाई घाइते बनाइएको बताउदै छानबिनको माग गरेका छन् । उनले संबिधान अनुसार देश चलोस भन्दै ओली र काँग्रेस नेता रमेश लेखकको रिहाईको माग गरेका छन् ।
१७- सरकारले तिनै तहका सरकारी विज्ञापनजन्य सूचना सरकारी सञ्चारमाध्यमबाट मात्र प्रकाशन प्रशारण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन प्रशारणमा एकरुपता र पारदर्शिता ल्याउन सरकारी स्वामित्वका सञ्चारमाध्यमहरुको प्रवर्द्धन गर्न आफू तथा आफू मातहतका निकायहरुलाई सर्कुलर जारी गरेको छ । सार्वजनिक निकायहरुबाट सार्वजनिक खरिदलगायतका सूचनाहरु सञ्चार माध्यमहरुबाट प्रकाशन र प्रशारण गर्दा नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तह एवम् सो अन्तर्गतका निकायहरु, सार्वजनिक कोष प्रयोग गरी कार्य गर्ने सबै सार्वजनिक निकायहरुले आफ्ना सूचनाहरु गोरखापत्र संस्थान, रेडियो नेपाल, नेपाल टेलिभिजन जस्ता सरकारी एवम् सरकारी सवामित्वमा रहेका सञ्चारमाध्यममा मात्र प्रकाशन प्रशारण गर्न मन्त्रालयले निर्देशन दिएको छ । साथै प्रकाशन र प्रशारण भएका कार्यको भुक्तानी गर्दा सरकारी वा सार्वजनिक कोषबाट सोझै सम्बन्धित प्रकाशन तथा प्रशारण गर्ने संस्थाको कोषमा मात्र जम्मा हुने व्यवस्था गर्न र यसरी भुक्तानी गर्दा भुक्तानीको दर र छुट रकमको विषय सम्बन्धित सञ्चारमाध्यमले आधिकारिक रुपमा स्वीकृत गर्न समेत निर्देशन दिइएको छ ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ३६ सयले घटेर तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १६५ रुपैयाँले घटेर ४७८० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९४५ मा कारोबार भएको थियो ।
१९- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ भने पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा रहेको छ । परीक्षा तालिका अनुसार चैत २९ गते परीक्षा सकिने छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यो वर्ष ५ लाख १२ हजार ४२१ जना परीक्षार्थी सहभागी हुदै छन् । जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र आंशिकतर्फ ७ हजार ८५५ परीक्षार्थी रहेका छन्। त्यसैगरी परीक्षामा प्राविधिक धारतर्फ नियमितमा १६ हजार ३१२ र आंशिकमा २६४ गरी १६ हजार ५७६ जना परीक्षार्थी रहेका छन । यो वर्षको एसईई परीक्षामा छात्रभन्दा छात्रा परीक्षार्थीको संख्या बढिरहेको छ । छात्रको संख्या २ लाख ५४ हजार ८०१ रहेको छ भने २ लाख ५७ हजार ६१३ छात्रा छन् । ७ जना फरक लिंगी परीक्षार्थी रहेको बोर्डले जानकारी दिएको छ । यो वर्ष पहिलो पटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनअनुसार एक महिनामै परीक्षाफल सार्वजनिक हुने कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिएका छन् । हरेक दिन परीक्षा सकिनासाथ उत्तरपुस्तिका परीक्षण शूरु हुने उनले बताए । प्रत्येक तेस्रो दिनमा अंक जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइमा उपलब्ध गराइने गरि व्यवस्थापन गरिएको छ । त्यस्तै परीक्षा सकिएको चौथो दिनमा परीक्षा नियन्त्रण कार्यालयमा आइपुग्ने गरी व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार वैशाख ५ गतेभित्र उत्तरपुस्तिकासहित अंकभार कार्यालयमा आइपुग्ने र वैशाख १९ गतेभित्र नतिजा सार्वजनिक गरिसक्ने तयारी गरिएको छ ।

२०- इरानसँगको युद्ध सुरु गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तय गरेका पाँच प्रमुख लक्ष्यमध्ये धेरै अझै अधुरा रहेका छन् । युद्ध सुरु भएको एक महिनाभन्दा बढी समय बितिसक्दा केही क्षेत्रमा प्रगति देखिए पनि धेरै महत्वपूर्ण मोर्चामा अपेक्षित उपलब्धि हासिल हुन नसकेको देखिएको छ । पहिलो लक्ष्य इरानको क्षेप्यास्त्र र ड्रोन क्षमता समाप्त गर्ने थियो । अमेरिका र इजरायलले इरानका धेरै क्षेप्यास्त्र अड्डा र कारखाना ध्वस्त पारेका छन् । तर पनि इरानले अझै क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेकाले यो लक्ष्य पूर्ण रूपमा पूरा भएको मानिएको छैन । दोस्रो लक्ष्य इरानी नौसैनिक शक्ति समाप्त गर्ने रहेको थियो । युद्धका क्रममा इरानको नौसेनाले ठूलो क्षति व्यहोरेको र केही जहाज नष्ट भएका भए पनि पूर्ण रूपमा समाप्त भएको दाबी भने अझै स्पष्ट छैन । तेस्रो लक्ष्य इरान समर्थित सशस्त्र समूहलाई कमजोर बनाउने थियो । तर इराक र लेबनानमा यस्ता समूह अझै सक्रिय रहेर आक्रमण जारी राखिरहेका छन् । चौथो लक्ष्य इरानको आणविक कार्यक्रम रोक्ने थियो । अमेरिकाले इरानका आणविक केन्द्रहरूमा आक्रमण गरेको भए पनि इरानसँग अझै उच्चस्तरको युरेनियम मौजुद रहेको रिपोर्टहरूले देखाएका छन् । यसले आणविक जोखिम पूर्ण रूपमा अन्त्य नभएको संकेत गर्छ । पाँचौँ लक्ष्य इरानमा शासन परिवर्तन गराउने रहेको थियो । तर हालसम्म त्यहाँको वर्तमान शासन कायम नै रहेको छ र नयाँ नेतृत्वसमेत कडा धारणा राख्ने खालको रहेको बताइएको छ ।
#NepalNews #BreakingNews #Top20 #DailyUpdate #Headline #NewsBulletin #Politics #Economy #Crime #International #Sports #Weather #Health #Education #Trending #Update #TodayNews #NepalUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



