गोप्य राख्न सरकारी कार्यालयलाई उर्दी गरेको विरोधमा नेपाल पत्रकार महासंघद्धारा चरणबद्ध आन्दोलन घोषणा

काठमाडौं – सूचना वर्गीकरण गरी गोप्य राख्न सरकारी कार्यालयलाई उर्दी गरेको विरोधमा नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

महासंघ मुख्यालय सञ्चारग्राममा सोमबार बसेको आकस्मिक बैठकले तीन दिने आन्दोलन कार्यक्रम घोषणा गरेको केन्द्रीय सदस्य बालकृष्ण बस्नेतले जानकारी दिए । घोषित कार्यक्रम अनुसार मंगलबार दिउँसो ३ बजे संविधानसभा भवन अगाडि कालो ब्यानर राखेर प्रदर्शन गर्ने तथा बुधबार र बिहीबार देशभरका शाखाहरुले प्रदर्शन गर्नेछन् ।

‘सरकारको गैरकानुनी र असंवैधानिक उर्दी फिर्ता लिन महासंघको माग छ,’ बस्नेतले भने, ‘उर्दी फिर्ता नलिएसम्म चरणबद्ध आन्दोलन जारी रहन्छ ।’ बैठकले प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी कार्यक्रम धनकुटाका पत्रकार बन्धक बनाएकोमा भर्त्सना गरेको छ ।

सरकारले वर्गीकरण गरी १ सय ४० प्रकारका सूचनालाई गोप्य राख्न सरकारी कार्यालयलाई निर्देशन दिएको छ ।