जिमेल ठेगानाको नाम परिवर्तन गर्न सकिने

 

काठमाडौँ । गुगलले आफ्नो इमेल सेवा जीमेलमा नयाँ सुविधा सुरु गरेको छ, जसमार्फत अब प्रयोगकर्ताले आफ्नो इमेल ठेगानाको नाम (ठेगानाको अगाडिको भाग) परिवर्तन गर्न सक्ने भएका छन् । कम्पनीका अनुसार यो सुविधा डिजिटल पहिचानलाई सुधार गर्ने उद्देश्यले ल्याइएको हो ।

हाल यो सेवा अमेरिकामा मात्र उपलब्ध गरिएको छ । विशेष गरी पहिले बनाइएका असहज वा लाज लाग्ने नाम भएका इमेल प्रयोगकर्ताका लागि यो सुविधा उपयोगी हुने बताइएको छ ।

गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिचाईले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पुराना नाममा अड्किरहनु नपर्ने बताएका छन् । अब प्रयोगकर्ताले आफूलाई नमिल्ने पुरानो इमेल नाम परिवर्तन गर्न सक्ने सुविधा पाएको उनले उल्लेख गरेका छन् ।

नयाँ इमेल नाम चयन गरेपछि पुरानो इमेल पूर्ण रूपमा हट्ने छैन । पुरानो ठेगाना वैकल्पिक इमेलका रूपमा रहनेछ । नयाँ र पुरानो दुवै ठेगानामा आएका इमेल एउटै इनबक्समा प्राप्त हुनेछन् । साथै पुराना इमेल, तस्बिर, फाइल र अन्य सामग्री सुरक्षित नै रहनेछन् । गुगलका सबै सेवामा पुरानो वा नयाँ जुनसुकै इमेल प्रयोग गरेर लगइन गर्न सकिनेछ ।

इमेल परिवर्तन सजिलो भए पनि केही सावधानी अपनाउन कम्पनीले सुझाव दिएको छ । इमेल परिवर्तन गर्दा केही एप्सका सेटिङ फेरिन सक्छन् । त्यसैले मोबाइलका डाटा, सम्पर्क सूची र तस्बिरको ब्याकअप राख्न सल्लाह दिइएको छ । साथै ब्राउजर प्रयोगकर्ताले समन्वय (सिङ्क) सेटिङ फेरि जाँच गर्नुपर्ने हुन सक्छ ।

सबैभन्दा पहिले आफ्नो खातासम्बन्धी पेज खोल्नुपर्छ । त्यसपछि व्यक्तिगत विवरणमा गएर इमेल विकल्प छान्नुपर्छ । त्यहाँ ‘खाता इमेल परिवर्तन’ विकल्प देखिएमा नयाँ नाम राखेर पुष्टि गर्न सकिन्छ । यदि यो विकल्प नदेखिएमा सेवा अझै सक्रिय नभएको बुझ्नुपर्छ ।

गुगलले यो सुविधामा केही सीमा पनि राखेको छ । प्रयोगकर्ताले एक वर्षमा एकपटक मात्र इमेल नाम परिवर्तन गर्न सक्नेछन् । जीवनभरमा बढीमा तीनपटक मात्र परिवर्तन गर्न पाइनेछ । नयाँ इमेल बनाएपछि पुरानोमा फर्कन भने सकिनेछ, तर नयाँ बनाएको इमेल तुरुन्तै हटाउन भने मिल्ने छैन ।

#Gmail #EmailTips #GmailTips #TechTips #GoogleAccount #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages