आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकलाई जिल्ला अदालत काठमाडौँले थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।  आइतबार अदालतले ओली र लेखकलाई थुनामा राख्न थप पाँच दिन म्याद थप गरेको हो । यसअघि अदालतले चैत १९ मा दुई दिन थुनामा राख्न आदेश दिएको थियो ।  भदौ २३ र २४ गतेको जेनजी आन्दोलन बारे जाँचबुझ गर्न गठित कार्की आयोगको सिफारिसमा प्रहरीले गत शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो ।  यसैबीच ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सुनुवाई जारी रहेको छ । आइतबारको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ र अब अर्को सुनुवाई सोमबार हुदैछ ।

२- कलाकार सागर लम्साललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । शनिबार पक्राउ परेका ‘बले’ उपनामले चिनिने सागरलाई अमेरिका रहेकी एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएकी थिइन् । चौतर्फी दबाबपछि शनिबार बिहान प्रहरीले बलेलाई पक्राउ गरेको थियो । प्रहरीले पिडित युवतीको जाहेरी नआएका कारण उनीविरूद्ध अभद्र व्यवहार कसुरमा म्याद थप गरेको प्रहरीले जनाएको छ ।

३- लखनउ सुपर जाइन्टले आइपिएलको यस सिजनको दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा लखनउले सनराइजर्स हैदरावादलाई ५ विकेटले पराजित गरेको हो ।  सनराइजर्सले दिएको १५७ रनको लक्ष्य पछाएको लखनउले १९.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । लखनउको जितमा ऋषव पन्तले अविजित ६८ रन बनाएका थिए । त्यस्तै एडन मार्क्रमले ४५ रन बनाएका थिए । यस अघि पहिला ब्याटिंग गरेको सनराइजर्स हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५६ रन बनाएको थियो । सनराइजर्सका लागि हेईनरिच क्लासेनले ६२ र नितिश कुमार रेड्डीले ५६ रन बनाएका थिए । त्यस्तै लखनउका बलर मोहमद शामी, प्रिन्स यादव र अभेश खानले २-२ विकेट लिएका थिए । यो लखनउको दोस्रो खेलमा पहिलो जित हो भने सनराइजर्सको तेस्रो खेलमा दोस्रो हार हो ।

३- राष्ट्रियसभा उपाध्यक्षमा नेकपा एमालेकी सांसद लीलाकुमारी भण्डारी निर्विरोध भएकी छन् । आइतबार उपाध्यक्ष पदको उम्मेदवारीको प्रस्ताव दर्ताको समयभित्र भण्डारीको मात्रै एकल उम्मेदवारी दर्ता भएपछि उनी निर्विरो भएकी हुन् । भण्डारीको प्रस्तावकमा एमालेका प्रेमप्रसाद दङ्गाल र समर्थकमा नेपाली कांग्रेसका कृष्णबहादु रोकाया, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का मदनकुमारी शाह र जनता समाजवादीका पूजा चौधरी थिए । चैत २३ गते सोमबार बस्ने राष्ट्रियसभाको बैठकमा भण्डारीलाई उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने संसद सचिवालयले जनाएको छ ।

४- नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।  आइतबारनै महान्यायाधिवक्ता नियुक्त बह्येका कँडेलले सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।  कँडेललाई प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । बागलुङको काठेखोला गाउँपालिका-५ का कँडेलले बेलायतबाट ‘अभिव्यक्ति स्वतन्त्रता’ मा विद्यावारिधि गरेका छन् ।

५-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ । आज दुवै रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासमा पेशी तोकेर सुनुवाई भएको थियो ।  आज सुनुवाई नसकिएपछि यो रिट हेर्दा हेर्दैमा राखिएको छ । आज निवेदक पक्षका वकिलको बहस सकिएको छ भने अब भोली सरकार पक्षका वकिलको बहस हुने भएको छ । यसअघि अलग अलग इजलासले जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ पेश गरिसकेकाले आजदेखि संयुक्त इजलासमा सुनुवाइ शुरु भएको हो । भदौ २३ र २४ गतेको आन्दोलनको जाँचबुझ समितिको सिफारिसका आधारमा ओली र लेखक चैत १४ गते पक्राउ परेका थिए । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

६- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल (डीपी) ले पदवहाली गरेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनियताको शपथ लिएसँगै सिंहदरबारस्थित संसद सचिवालय पुगेर सभामुख अर्यालले पदवहाली गरेका हुन् । पद बहाली गर्दै उनले सभामुखको गरिमालाई कायम राख्दै तटस्थ भएर भूमिका निभाउने बताएका छन् । सभामुख अर्यालले उम्मेदवारी दर्ता गरेसँगै रास्वपाको सबै जिम्मेवारीबाट आफुलाई मुक्त गरेका थिए ।

७- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल हाजिरी जमानीमा रिहा भएका छन् । आइतबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाललाई बोलाएका बखत उपस्थित हुने गरी छोडेको हो । सोही कसुरमा उनका छोरा शंकर ग्रुपकै सञ्चालक सुलभ अग्रवाल भने विभागको हिरासतमा छन् । सुलभलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले १० दिनको अनुमति दिएको छ ।

८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषास्थित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन पदाधिकारीसहित ६ जना र एक आपूर्तिकर्ता कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा सार्वजनिक खरिद ऐन विपरीत प्रक्रिया अपनाई राज्यलाई हानि पुर्‍याइएको निष्कर्ष निकालेको छ । सो प्रकरणमा तत्कालीन अध्यक्ष शालीग्राम सिंह, कार्यकारी निर्देशक बलराम ठाकुर, प्रशासकीय अधिकृत चिरञ्जिविराज शर्मा ढुङ्गाना, लेखापाल सावित्री कुमारी गिरी, खरिदार मदनकुमार चौधरी सूडी र ईशिता ट्रेडर्स तथा त्यसका सञ्चालक पशुपतिनाथ पाठकलाई प्रतिवादी बनाइएको छ । अनुसन्धानका क्रममा प्रतिस्पर्धाविना सोझै खरिद प्रक्रिया अघि बढाइएको, आवश्यक स्पेसिफिकेसन र लागत अनुमान तयार नगरी योजना स्वीकृत गरिएको तथा कानुनी प्रक्रिया बेवास्ता गरिएको पाइएको आयोगले जनाएको छ । प्रारम्भिक रूपमा करिब ३३ लाख रुपैयाँमा खरिद सम्भव हुँदा पनि मिलेमतोमा ५५ लाखभन्दा बढी रकममा सम्झौता गरिएको उल्लेख छ । आयोगका अनुसार नक्कली कागजात प्रयोग गरी ईशिता ट्रेडर्समार्फत खरिद सम्झौता गरिएको र वास्तविक आपूर्ति भने विदेशी कम्पनीमार्फत गराइएको थियो। यसरी कुल ५५ लाख २ हजार ८५४ रुपैयाँ बराबरको अनियमितता भएको दाबी गरिएको छ । उक्त प्रकरणमा संलग्न सबैविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

९- लुम्बिनी प्रदेशले जारी पीएम कपमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा लुम्बिनीले पुलिस क्लबलाई ५० रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २५७ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लबले ४२.५ ओभरमा अल आउट हुदै २०६ रन बनाएको थियो  । नेपाल पुलिस क्लबका लागि दिनेश खरेलले ९४ रन बनाए भने श्रवण यादवले ३६ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर अजय चौहानले ४ र देव खनालले ३ विकेट लिएका थिए  । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले ४९.५ ओभरमा अल आउट हुदै २५६ रन बनाएको थियो  । लुम्बिनीका लागि रन्जीत खड्काले १२८ रनको शतकीय पारी खेलेका थिए  । त्यस्तै आकाश त्रिपाठीले ३६ र दर्श सोनारले ३३ रन बनाएका थिए  । त्यस्तै नेपाल पुलिसका बलर ललित राजबंशीले ३ तथा रशिद खान र दिनेश खरेलले २-२ विकेट लिएका थिए । यो जितपछि लुम्बिनीको ६ खेलमा ७ अंक भएको थियो छ र चौथो स्थानमा उक्लिएको छ भने नेपाल पुलिस क्लबको ६ खेलमा ७ अंक नै छ र तेस्रो स्थानमा रहेको छ  । त्यस्तै आज सम्पन्न अर्को खेलमा सुदूरपश्चिमले बागमतीलाई १६३ रन अन्तरले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको २१० रनको लक्ष्य पछाएको बागमती ११.२ ओभरमा ४६ रन बनाएर अल आउट भएको थियो । बागमतीका लागि सुभ कंसाकारले ३२ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । बागमतीको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा सुदूरपश्चिमका हेमन्त धामीले ७ विकेट लिएका थिए भने शेर मल्लले ३ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले ४२.१ ओभरमा अल आउट हुदै २०९ रन बनाएको थियो । सुदूरपश्चिमका नारायण जोशीले सर्बाधिक ७५ रन बनाएका थिए भने दिपक बोहोराले ४० र अभिषेक पलले ३९ रन बनाएका थिए । यो जितपछि सुदूरपश्चिमको ६ खेलमा १० अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै बागमती प्रदेशले भने ६ खेलमा चौथो हार बेहोरेको छ ।

१०- इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको अमेरिकी पाइलटको सफल उद्धारको दाबी अस्वीकार गरेको छ । इरानी सञ्चारमाध्यमहरूले उद्धार अभियान असफल भएको र अमेरिकी विमान तथा हेलिकप्टर खसालिएको दाबी गरेका छन् । यसअघि ट्रम्पले अमेरिकी सेनाले दर्जनौँ हतियारसहितका विमान परिचालन गरी पाइलटलाई सुरक्षित बाहिर निकालेको बताएका थिए । उनका अनुसार पाइलट घाइते भए पनि खतरा बाहिर रहेको उल्लेख गरिएको थियो । तर इरानको तस्नीम समाचार संस्थाले इस्फहानको दक्षिणी क्षेत्रमा अमेरिकी उद्धार अभियानलाई निशाना बनाइएको जनाएको छ । सो रिपोर्टमा दुईवटा ब्ल्याक हक हेलिकप्टर र एक सी–१३० ढुवानी विमान खसालिएको दाबी गरिएको छ । इरानी पक्षले केही भिडियो र तस्वीर सार्वजनिक गर्दै ती विमानहरूको अवशेष देखाइएको दाबी गरेको छ। साथै ट्रम्पले आफ्नो असफलता लुकाउन सफल उद्धारको दाबी गरेको आरोप पनि लगाइएको छ । यद्यपि, यी दाबीहरू स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन्। अमेरिकी सेनाको तर्फबाट पनि यस विषयमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

११-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतमा आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै भदौ २३ र २४ का घटनाप्रति दुःख व्यक्त गरेका छन् । अदालतमा उनले प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश नदिने भन्दै आफू निर्दोष रहेको जिकिर गरेका छन् । आपतकालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसकै कारण राजीनामासम्म दिनुपरेको अवस्था आएको उनले अदालतमा बताएका छन् । भीडमा मानिसको मृत्यु भएको खबर सुन्दा आफू अचम्मित भएको उल्लेख गर्दै उनले किन र कसरी यस्तो घटना भयो भन्नेबारे गम्भीर छानबिन आवश्यक रहेको बताएका छन् । शान्तिपूर्ण आन्दोलन भनिएको अवस्थामा निषेधाज्ञा किन तोडियो र द्वन्द्व कसरी सिर्जना भयो भन्ने विषयमा पनि अनुसन्धान हुनुपर्ने उनको भनाइ छ । ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन्। घटनाको सुरुदेखि अन्त्यसम्म संलग्न सबैमाथि निष्पक्ष कारबाही हुनुपर्नेमा उनले जोड दिएका छन् । उनले राज्यको सम्पत्ति जलाउने र भीडलाई उत्तेजित पार्ने कार्यमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने बताउदै राष्ट्रको हितमा काम गर्दा विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको गुनासो समेत गरेका छन् ।

१२- नेप्सेमा आज पहिरो गएको छ । आज आइतबार नेप्से १०५.५० अंकले घटेर २६७६.६८ विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका ३ करोड १२ लाख ६ हजार १६२ कित्ता शेयर १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५७० मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स, रिज इनर्जी जुङ हाइड्रो र होटल फरेस्ट इनको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सुपर खुदि र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी नारायणी विकास बैंक, हिमालयन रिइन्सुरेन्स र भूगोल इनर्जीको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको ५८ करोड २८ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको शेयर ४५ करोड २५ लाख बराबरको कारोबार भएको छ ।

१३- सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन संकटलाई समाधान गर्ने पहलकदमी लिदै सोमबारदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने  निर्णय गरको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।मन्त्रिपरिषद बैठकका निर्णयहरु : १- अर्थ मन्त्रालयबाट डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टको लागि क्रमश एसियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । २- दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने । ३- नेपाल सरकारका सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तरगतका निकायहरुको संगठन तथा व्यवस्थापन संरक्षण गर्न पूर्व स्वकृति दिने । ४- राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष श्री धमेन्द्र झाले दिएको राजीनामा स्वकृति गर्ने । ५- पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण २०८२ चैत २३ गते बाट लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरुमा शनिबार र आइतबार बिदा दिने तथा शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरुको कार्यालय समय समय ९ देखि ५ बजे कायम गर्ने । ६- डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने । ७- आगामी शैक्षिक सत्र २०८३ बैसाख १५ गतेबाट सुरु गर्ने ।

Nepal life insurance

१४- अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनावी साधारण सभा रोकिए पछि फिफाबाट निलम्बनको सम्भावना बढेको छ । फिफा र एएफसीले एन्फालाई शनिबार पत्र पठाउदै ७ दिन भित्र निर्वाचन गरेर नयाँ कार्यसमिति चयन नगरेमा फिफा काउन्सिलमा निलम्बनको प्रस्ताव पेश गर्ने चेतावनी दिएका छन् । फिफा र एएफसीले राष्ट्रिय खेलकुद परिषदले एन्फालाई गरेको तीन महिनाको निलम्बनको निर्णयले एन्फाको स्वायत्ततामा हस्तक्षेप गरेको देखिएको र यो तेस्रो पक्षको अनुचित प्रभावको उदाहरण भएको उल्लेख गरिएको छ ।  फिफा र एएफसीले राखेपको निर्णय तत्काल फिर्ता नभए र सात दिनभित्र एन्फालाई पुरानै अवस्थामा फर्किएर चुनाव प्रक्रिया अघि बढाउन दिने सुनिश्चितता नदिइए कडा कदम चाल्ने चेतावनी दिएका छन् । यस्तो अवस्थामा एन्फामाथि निलम्बनको सिफारिस गरिने जनाइएको छ । एन्फा निलम्बनमा परेमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता, विकास कोषमा पहुँच लगायतका सम्पूर्ण अधिकार गुम्नेछन् भने अन्य देशका फुटबल संघहरूलाई एन्फासँग कुनै पनि खेलकुद सम्बन्ध राख्न प्रतिबन्ध लगाइनेछ ।

१५- नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघले देशभर लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो । आजदेखि लागु भएको नयाँ मूल्य सूची अनुसार अण्डाको मूल्यमा प्रति क्रेट १५ रुपैयाँले वृद्धि गरिएको छ । यसअघि चैत १६ गते तोकिएको मूल्यलाई परिमार्जन गर्दै संघले ‘एक्सेल’ अण्डाको फार्म मूल्य प्रति क्रेट ४७५ रुपैयाँ कायम गरेको छ । त्यसैगरी, ठूलो अण्डाको मूल्य प्रति क्रेट ४५० रुपैयाँ र मिडियम अण्डाको मूल्य ४०० रुपैयाँ तोकिएको छ । चितवनलाई आधार मानेर तय गरिएको यो मूल्य देशभरका उत्पादक र विक्रेताका लागि सन्दर्भ मूल्य हुनेछ । चितवनबाट लोड भई देशका विभिन्न डिपोहरूमा अण्डा पुर्‍याउदा लाग्ने ढुवानी भाडा, कार्टुन र क्रेट बापत प्रति क्रेट थप १४५ रुपैयाँ लाग्ने संघले जानकारी दिएको छ । लागत मूल्य र बजारको अवस्थालाई मध्यनजर गर्दै मूल्य समायोजन गरिएको भन्दै संघले सम्पूर्ण सरोकारवालाहरूलाई नयाँ दररेट अनुसार नै अण्डाको खरिद-बिक्री गरिदिन अनुरोध गरेको छ ।

१६- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि सभाको बैठकमा पूर्व सभामुख कृष्णप्रसाद भट्टराईदेखि सुबास नेम्वाङसम्मलाई सम्झिएका छन् । सभामुखमा डोलप्रसाद अर्याललाई प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा पुर्व सभामुखहरुले स्थापित गरेको मानकलाई अझ माथि उठाउन शुभकामना दिएका थिए । डा. वाग्लेले २०१५ सालका सभामुख कृष्णप्रसाद भट्टराई, २०४८ सालपछि सभामुख बनेका दमननाथ ढुङ्गाना र २०६५ सालपछि संक्रमणकालमा भूमिका निर्वाह गरेका सुवासचन्द्र नेम्वाङलाई सम्झिदै उनीहरूले स्थापित गरेको निष्पक्षता र सन्तुलनको मानकलाई अर्यालले निरन्तरता दिनेमा विश्वास व्यक्त गरेका छन् । उनले दलीय आबद्धताभन्दा माथि उठेर तटस्थ रूपमा प्रतिनिधि सभा सञ्चालन गर्ने विश्वास व्यक्त गर्दै अर्यालले विगतका सभामुखहरूले स्थापित गरेका मानकलाई अझ सुदृढ बनाउने अपेक्षा आफूले राखेको बताए ।  आइतबारको प्रतिनिधि सभा बैठकमा सभामुखमा अर्याललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव पारित भएसँगै उनी नयाँ सभामुखमा निर्वाचित भएका छन् ।

१७-  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा हराएका एक अमेरिकी सैन्य अधिकारीलाई सुरक्षित उद्धार गरिएको बताएका छन् । ती अधिकारी आफ्नो एफ–१५ ई लडाकु विमान इरानमा खसालिएपछि हराएका थिए । ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी सेनाले इतिहासकै साहसी खोज तथा उद्धार अभियान सफलतापूर्वक सम्पन्न गरेको बताएका छन् । उनले ती अधिकारी एक सम्मानित कर्नेलसमेत रहेको जानकारी दिँदै अहिले पूर्ण रूपमा सुरक्षित अवस्थामा रहेको बताएका छन् । उनका अनुसार अमेरिकी सेनाले २४ घण्टासम्म ती अधिकारीको अवस्थामाथि निगरानी राख्दै उद्धारका लागि रणनीति तयार पारेको थियो । उद्धार अभियानका क्रममा अत्याधुनिक हतियारसहितका दर्जनौँ विमान परिचालन गरिएको बताइएको छ । ट्रम्पले उद्धार गरिएका अधिकारी सामान्य घाइते भए पनि गम्भीर खतरा नरहेको र छिट्टै पूर्ण रूपमा निको हुने बताएका छन् । साथै, उक्त अभियानमा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको दाबी गर्दै अमेरिकी वायु सेनाले इरानको आकाशमा पूर्ण नियन्त्रण कायम गरेको पुन: दाबी गरेका छन् ।

१८-  नेपाली बजारमा आज सुनचाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य स्थिर रहदै तोलाको २ लाख ९४ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि सुन तोलाको २ लाख ९४ हजारमा नै कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४८३० मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार पनि चाँदी तोलाको ४८३० मा नै कारोबार भएको थियो ।

१९- कर्ण शाक्यले पोखरा स्थित वाटरफ्रन्ट होटलले कुनै नियम नामिचेको दाबि गरेका छन् । शनिबार बिहान फेवा किनारमा रेहेको वाटरफ्रन्ट होटलमा महानगरले डोजर चलाएर संरचना भत्काएपछि शाक्यले आफु खराब उधमी नभएको बताउदै आफुहरुसँग लालपुर्जा र सरकारका सबै निकायसँग लिएको स्वीकृतिको प्रमाणपत्र रहेको बताएका छन् । शाक्यले भनेका छन्- ‘ ६५ मिटरको मापदण्ड कुनै निजी मुद्दा होइन, यो त राष्ट्रिय सरोकारको विषय हो । नीति ठीक छ कि छैन, आफ्नो ठाउँमा छ । तर हाम्रो होटलले कुनै नियम उल्लङ्घन गरेको छैन । जग्गा मिचेको छैन । लालपुर्जा छ, नक्सा पास छ । पर्यटन विभागको लाइसेन्स छ । उद्योग विभागको प्रमाणपत्र छ । राष्ट्र बैंकको इजाजतपत्र सबै छ । हरेक वर्ष कर तिरेका छौं । कुनै बैकको ऋण छैन । एउटा होटल सञ्चालन गर्न एक उद्यमीले पालना गर्नुपर्ने सबै नियम पालना गरेका छौँ । तर पनि हामीमाथि यस्तो कठोर व्यवहार किन ?’ उनले पोखराको वाटरफ्रन्ट होटल केवल व्यवसाय मात्र नभएर विश्वास, संघर्ष र आस्थाको प्रतिक भएको बताउदै बिस वर्ष पहिले, माओवादी आन्दोलनताका जब देशमा तन, मन र धन पलायन भयो, तर मैले स्वदेशमै पर्यटन व्यवसायमा लाग्ने निर्णय गरेको उल्लेख गरेका छन् । उनले आफुले दिवाकर राजकर्निकारले फेवाताल नजिक एउटा पोखरेली रैथाने उद्यमीसँग ‘बुद्ध लज’ सहितको १७ रोपनी जग्गा किनेर अन्तर्राष्ट्रिय स्तरको होटल निर्माण गरेको बताएका छन् । उनले कुनै पूर्वसूचना बिना नगरपालिकाले होटलको पर्खाल भत्काएको बताउदै यस घटनाले मनमा गहिरो पीडा र चिन्ता जागेको बताएका छन् ।  उनले भनेका छन्- ‘पोखरामा सबैभन्दा पहिले UN-Habitat सँग समन्वय गरी अत्याधुनिक DEWAT सेफ्टी ट्यांकी बनाएका छौँ । हामी खराब उद्यमी होइनौँ, जिम्मेवार र सचेत नागरिक हौँ । हामी नीति  नियम पालन गर्ने मान्छे हौ । मापदण्ड अनुसार होटलको भवन ६५ मिटर टाढा छ । तीन तल्लाको छ । होटल र तालबीच अरूको जग्गा छ, जहाँ पैराग्लाइडिङ गरिन्छ ।’ शाक्यले लेकसाइड क्षेत्रमा हजारौँ बस्ती, उद्योग, व्यापार, होटल र रेस्टुरेन्टहरू अवस्थित रहेको बताउदै यस्ता संरचना र  जग्गा उचित मुआवजा दिएर विधिवत् अधिग्रहण नगरी, पूर्वसूचना बिना भत्काउनु कसरी जायज ठहरिन सक्छ ? भन्दै यस्तो कार्यप्रणालीलाई न्यायसंगत मान्न सकिन्छ ? भनेर सरकारसँग प्रश्न गरेका छन् ।   उनले इतिहासले फेवाताल राणाकालमा बाँध निर्माण गरेर विस्तार गरिएको देखाएको उल्लेख गर्दै पछि राजा महेन्द्रको पालामा बाँधको उचाइ थप बढाइयो र ताल अझ फैलाइएको र  यसरी समयसँगै यसको स्वरूप निरन्तर परिवर्तन हुँदै आएको बताएका छन् । उनले पोखरा जस्तों अन्तराष्ट्रीय पर्यटकीय नगरीमा विकासका लागि संरक्षण नीति अपनाउने हो भन्दै संरक्षणले विकासलाई रोक्ने होइन, टेवा दिने हो र कोठामा झिंगा आयो भनेर  झ्याल बन्द गर्ने होइन, जाली लगाउने हो भनेका छन् ।

images

२०-  स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिकोलाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्कश राशफोर्ड र रोबेर्ट लेवानडोस्कीले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि गिउलिआनो सिमेओनले एक गोल गरेका थिए । यस खेलमा एटलेटिको म्याड्रिडका निकोलस गोन्जालेजले खेलको पहिलो हाफको इन्जुरी समयमा रातो कार्ड पाउदा १० खेलाडीमा सिमित भएको थियो । यो जितपछि बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता बढाएको छ । बार्सिलोनाको ३० खेलमा ७६ अंक भएको छ र दोस्रो स्थानमा रहेको रियल म्याड्रिड भन्दा स्पष्ट ७ अंकले अगाडी भएको छ । त्यस्तै एटलेटिको म्याड्रिडको ३० खेलमा ५७ अंक रहेको छ र लिगमा चौथो स्थानमा छ ।

#NepalNews #Top20News #DailyBulletin #BreakingNews #NewsUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages