२०८२ मा ५६ नेपाली चलचित्रले गरे १ अर्ब ८ करोडको व्यापार

 

काठमाडौं । चलचित्र विकास बोर्डले चालु वर्षको वार्षिक रिपोर्ट २०८२  सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार यस वर्ष बोर्डमा २३० वटा चलचित्र दर्ता भएका छन् भने ९४ वटा चलचित्रले सेन्सर सिफारिस प्राप्त गरेका छन्।

बोर्डका अनुसार यस अवधिमा ५६ वटा नेपाली चलचित्र र ९३ वटा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शनमा आएका छन् । यसैगरी, देशभर ८ वटा नयाँ सिनेमा हल दर्ता भएका छन् भने हाल सञ्चालनमा रहेका कुल हल संख्या १७२ पुगेको छ ।

वितरण क्षेत्रतर्फ पनि यस वर्ष उल्लेखनीय गतिविधि देखिएको छ । बोर्डको विवरणअनुसार ९ वटा नयाँ वितरक दर्ता भएका छन् भने कुल वितरक संख्या ४४ पुगेको छ ।

व्यापारिक तथ्याङ्कतर्फ हेर्दा नेपाली चलचित्रले यस वर्ष १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० बराबरको व्यापार गरेको छ। नेपाली चलचित्र हेर्ने दर्शकको संख्या ३७ लाख ८१ हजार ५४४ रहेको बोर्डले जनाएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय चलचित्रतर्फ १ अर्ब ११ करोड ५२ लाख ६७ हजार ७४९ बराबरको कलेक्सन भएको छ भने ३३ लाख २२ हजार ७५७ टिकट बिक्री भएको तथ्याङ्कमा उल्लेख छ । तथ्यांकअनुसार यो बर्ष ४ लाख ५८ हजार ७ सय ७८ जना बढि दर्षकले स्वदेशी  चलचित्र सिनेमा हल गएर हेरेका छन् ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको यो वार्षिक समरीले नेपाली चलचित्र उद्योगको उत्पादन, प्रदर्शन, वितरण तथा व्यापारिक गतिविधि निरन्तर विस्तारोन्मुख रहेको संकेत गरेको छ ।

बोर्डले यस्ता तथ्याङ्कले चलचित्र क्षेत्रको वास्तविक अवस्थाको मूल्यांकन गर्न, नीतिगत योजना बनाउन तथा उद्योगको आगामी दिशा तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

 

Nepal life insuranceimagesimagesimages