१४० प्रकारका सूचना गोप्य राख्ने निर्णयविरुद्ध आन्दोलित पत्रकार महासंघद्धारा आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं – १ सय ४० प्रकारका सूचना वर्गीकरण गरी गोप्य राख्ने निर्णयविरुद्ध आन्दोलित नेपाल पत्रकार महासंघले आन्दोलन कार्यक्रम स्थगित भएको छ ।

प्रधानमन्त्री बाबुराम भट्टराईले सूचना वर्गीकरण स्थगित गर्ने र कार्यान्वयन नगर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने आश्वासन दिएपछि विरोध प्रदर्शनका कार्यक्रमहरु स्थगित भएको महासंघले जनाएको छ । महासंघ नेतृत्वले मंगलबार सूचना गोप्य राख्ने निर्णयबारे प्रधानमन्त्री भट्टराईसँग वार्ता गरेको थियो ।

‘सरकारले सूचना वर्गीकरणको निर्णय स्थगित गर्ने प्रतिवद्धता जनाएको र अदालतबाट समेत अन्तरिम आदेश जारी भएको सन्दर्भमा महासंघका तर्फबाट माघ १९ गतेदेखिका विरोध प्रदर्शनका कार्यक्रमहरु स्थगित गरिएका छन्,’ महासचिव ओम शर्माद्वारा बुधबार जारी विज्ञप्तीमा लेखिएको छ, ‘भविष्यमा पनि हुनसक्ने यस प्रकारका हस्तक्षेपप्रति चनाखो हुन सम्पूर्ण सञ्चारकर्मीहरुमा महासंघ अपिल गर्दछ ।’

सूचना वर्गीकरण गरी गोप्य राख्ने निर्णयविरुद्ध पत्रकार महासंघले दबाबमुलक कार्यक्रम सुरु गरेको थियो । उसले मंगलबार नागरिक समाज, पेशाकर्मी र मानव अधिकारकर्मीहरुको उपस्थितिमा बबरमहलमा कालो व्यानर राखेर विरोध गरेको थियो ।

यसैगरी मंगलबार नै सर्वोच्च अदालतले पनि सूचना वर्गीकरणको निर्णय तत्काल लागू नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।