प्रचण्डलाई कहिले राजनेता त कहिले हिरो भनेर सम्वोधन गरी प्रभावित पार्ने काम भइरहेको छ: माओवादी सीपी गजुरेल

-राजकुमार कार्की

 

सिन्धुली – माओवादी सचिव सीपी गजुरेलले अध्यक्ष पुष्पकमल दाहाललाई ‘हिरो’ भनेर कांग्रेसले प्रभावित पार्न खोजेको आरोप लगाएका छन् ।

‘अध्यक्ष प्रचण्डलाई कहिले राजनेता त कहिले हिरो भनेर सम्वोधन गरी प्रभावित पार्ने काम भइरहेको छ,’ राष्ट्रिय बुद्धिजिवी संगठनले गरेको कार्यक्रममा गजुरेलले भने । कांग्रेस सभापति सुशील कोइरालाले शान्ति प्रक्रियालाई टुंग्याएर ‘हिरो’ हुने अवसर नगुमाउन दाहाललाई आग्रह गरेका थिए ।

गजुरेलले माओवादी विवाद साम्य भइ नसकेको दाबी गरे । ‘पार्टी मिलेको र केही नमिलेको भन्ने दवै कुरा असत्य हो, पार्टी मिल्दै नमिलेको सत्य भएको खुलासा गर्दै उनले भने ।

गजुरेलले तत्कालिन विद्रोही माओवादीको ‘जनसत्ता’ले बाँडेको लालपुर्जालाई बैधानिकता दिनै पर्ने बताए ।

बाबुराम भट्टराई सरकारको एकमात्र राम्रो कामलाई पुनः उल्टाउने निर्णय शसक्त आन्दोलन गर्ने गजुरेलले चेतावनी दिए । सरकारी उपस्थिति नभएको समयमा गाउँ गाउँमा वितरण भएको लालपुर्जालाई बैधानिकता दिएर कानूनी राज्यको पालना गर्दा विरोध हुनु दुःखपुर्ण भएको उनको भनाइ थियो ।

‘जनसत्ताले नै निर्माण गरेको जनसेनालाइ मान्यता दिने तर लालपुर्जा मान्य छैन् भनेर कांग्रेस-एमालेले निहुँ मात्र खोजे,’ उनले भने । लालपुर्जाको निर्णय नउल्टाएसम्म बैठक नबस्ने, बैठक नबसी सहमसत नहुने भएकाले शान्ति र संविधान अन्योलमा परेको उनले जनाए ।

कांग्रेसको संविधान बनाउनेमा कुनै रुचि नरहेको गजुरेलको आरोप थियो । ‘पहिला शान्ति अनि संविधान भन्नुले संविधानलाई शर्त राख्न खोजिएको छ,’ उनले भने, ‘त्यै भएर संविधान बन्नेमा शंका छ ।’

सचिव सीपी गजुरेलले सूचनाको हकमा सिमा निर्धारण गरेर सरकारले मौलिक हकलाइ कुण्ठित बनाएको आरोप लगाए । अहिले गणतन्त्रको अभ्यास भइरहेकाले विरोध गर्न पाउने अधिकारलाइ समेत सरकारले कुण्ठित गर्दै लगेकोमा सरकारप्रति उनले रोष प्रकट गरे ।