

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सरकारले घरबाटै काम गर्न अर्थात ‘वर्क फ्रम होम’ गर्न सबैमा आह्वान गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो । सरकारले ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिएकी छन् । सरकारले यसअघि नै इन्धन संकट कम गर्न सरकारी कार्यालय र शैक्षिक संस्थानमा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । मंगलबारको मन्त्रिपरिषद्को बैठकमा सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्ने विषयमा छलफल भएको र सरकारले आवश्यक ठानेमा लगाउन सक्ने बताइन्। मन्त्रिपरिषद्को बैठका निर्णय सुनाउदै मन्त्री रावलले भनिन्- ‘मूल्य समायोजनको बाध्यता छ, सरकारले यो तथ्य लुकाउँदैन। त्यसैले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ। पेट्रोलियम पदार्थ खपत कम गर्नका लागि आइतबार सार्वजनिक बिदा, शैक्षिक सत्र वैशाख १५ बाट सुरू, इन्धन कोटाको कटौती गरिसकिएको अवस्था छ। आवश्यक परे जोर बिजोर प्रणाली पनि सरकारले लागू गर्नेछ । सरकार जनतासँग ‘वर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ । त्यस्तै आजको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आयातमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ ।

२- सरकारी विज्ञापन नीजि मिडियालाई नदिने सरकारको निर्णयको कानुनी आधारबारे अन्तरिम आदेश दिने नदिने विषयमा छलफल गर्न सर्वोच्च अदालतले सरकारलाई झिकाएको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले मंगलबारको बहसपश्चात् सरकारलाई अन्तरिम आदेशको छलफलमा उपस्थित हुन आदेश दिएको हो । अन्तरिम आदेशबारे छलफल गर्न चैत ३० मा सरकारलाई उपस्थित हुन समेत आदेश गरिएको छ । नेपाल मिडिया सोसाइटीका अख्तियारप्राप्त अधिवक्ता अनन्तराज लुर्इंटेलले मिडियामाथि लगाएको विज्ञापन निषेधलाई चुनौति दिंदै सोमबार रिट निवेदन दायर गरेका थिए । मंगलबार भएको बहसमा नेपाल बार एशोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्र, महासचिव केदार कोइराला, बरिष्ठ अधिवक्ता ललित बहादुर बस्नेत तथा अधिवक्ताहरु अनन्तराज लुईंटेल, विकाश भट्टराई, किर्तिनाथ शर्मा पौडेल, प्रतिभा उप्रेती, विशाल थापा, भक्तिराम घिमिरे लगायतले सरकारको निरकुंश रवैया उपर सर्वाेच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाउन आग्रह गरेका थिए ।
३- पूर्वपत्नी उषा खड्गीको जाहेरीको आधारमा सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ परेका छन् । खड्गीले सोमबार दिएको जाहेरीका आधारमा तिमल्सिनालाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ । उनी विरुद्ध पूर्व मिस नेपाल समेत रहेकी खड्गीले अभद्र व्यवहार र कुटपिटको प्रयास गरेको आरोप लगाउदै जाहेरी दिएकी थिइन् । यसअघि प्रहरीले दुवैसँग छलफल समेत गरेको बताएको छ । खड्गीले सामाजिक सञ्जालमार्फत आफूलाई सुरक्षा चाहिएको र सरकारले न्याय दिनुपर्ने उल्लेख गर्दै कैयौं पोष्ट गरेकी थिइन् । तिमिल्सिना र खड्गीबीच २०७९ जेठ २६ मा काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो । सम्बन्ध विच्छेद भएपनि अंशवण्डाको टुंगो नलागेकाले दुवै एकै घरमा तलमाथि बस्दै आएको बताइन्छ ।

४- साउदी अरेबियामा ६२ जना नेपाली नागरिकले फाइनल एक्जिट भिसा प्राप्त गरेका छन् । रियादस्थित नेपाली दूतावासले सूचना जारी गर्दै भिसा प्राप्त गरेका नेपालीलाई यथाशीघ्र स्वदेश फर्किन अनुरोध गरेको छ । साथै, इकामा अवधि सकिएर नेपाल फर्कन चाहनेहरूले आवश्यक प्रक्रिया पूरा गर्न राजदूतावासमा उपस्थित हुनुपर्ने बताइएको छ । सूचनाअनुसार सम्बन्धित व्यक्तिले अनलाइन प्रणालीमार्फत आवेदन दर्ता गरी आवश्यक विवरण भर्नुपर्नेछ । त्यसपछि सम्बन्धित निकायबाट सन्देश प्राप्त भएपछि अन्तिम एक्जिट प्रक्रिया अघि बढ्नेछ । यदि मोबाइलमा एक्जिट भिसाको सन्देश प्राप्त नभएको अवस्थामा राजदूतावासमा सम्पर्क गरी कागजी प्रति लिनुपर्नेछ भने सन्देश आइसकेको भए सोही देखाएर विमानस्थलबाट यात्रा गर्न सकिने जनाइएको छ । राजदूतावासका अनुसार एक्जिट भिसा प्रक्रिया निःशुल्क हुने छ । तर स्वदेश फर्किने हवाई टिकट भने सम्बन्धित व्यक्तिले आफैं व्यवस्था गर्नुपर्नेछ । साथै, टिकट खरिद गर्दा पासपोर्ट वा यात्रा कागजातको विवरण मिलेको छ कि छैन भन्ने यकिन गर्न पनि आग्रह गरिएको छ । राजदूतावासका अनुसार विभिन्न जटिल परिस्थितिका कारण साउदी अरबमा बसाइ निरन्तरता दिन नसकेका नेपालीहरूलाई सहजीकरण गर्दै बहिर्गमन प्रक्रिया अघि बढाइए अनुसार एक्जिट भिसा प्राप्त भएको हो ।
५- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाका एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बर्दियाको बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्लले घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार बारबर्दिया नगरपालिकाको वडा नम्बर ७ स्थित विद्यालयको चार कोठे भवन निर्माणको अन्तिम बिल भुक्तानी गराउन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए । सोही आधारमा खटिएको टोलीले उनलाई एक लाख पचास हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । अनुसन्धानबाट उनले बिल तयार पार्ने, नापजाँच गर्ने तथा पास गराउने प्रक्रियामा सहजीकरण गर्ने बहानामा उक्त रकम लिएको पुष्टि भएको आयोगले जनाएको छ । यस कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर ठहर गर्दै बराबर बिगो कायम गरी कैद र जरिवानाको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
६- संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिमा सभापतिको चयन चार दल नेपाली काँग्रेस, नेकपा, नेकपा एमाले र जसपा नेपालबीचको भागबण्डाको आधारमा चयन भएका छन् । मंगलबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । उनको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा) र समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला थिए । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा र समर्थकमा दुर्गाकुमारी गुरुङ थिए । त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । उनको प्रस्तावकमा नारायणदत्त भट्ट र समर्थकमा जगत तिमिल्सना थिए । त्यस्तै विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनको प्रस्तावकमा आनन्दप्रसाद ढुंगाना र समर्थकमा गीता देवकोटा थिए । राष्ट्रिय सभामा चार दलबीच भएको सहमति अनुसार एमालेबाट उपाध्यक्ष बनेपछि दुई समितिको सभापति नेपाली काँग्रेस तथा नेकपा र जसपा नेपालले एक एक सभापति पाउने गरी सहमति गरे अनुसार सभापति चयन भएका छन् ।
७- इजरायलको रक्षा बलले इरानका नागरिकलाई रेल यात्रा नगर्न चेतावनी दिएको छ । आईडीएफको फारसी भाषाको सामाजिक सञ्जाल खातामार्फत जारी सन्देशमा नागरिकलाई आज राति ९ बजेसम्म रेल प्रयोग नगर्न र यात्रा नगर्न आग्रह गरिएको छ । सन्देशमा भनिएको छ- ‘रेलमा रहनु वा रेलमार्ग नजिक जानु तपाईंको ज्यानका लागि जोखिमपूर्ण हुन सक्छ ।’ यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई दिएको समयसीमा सकिन लागेको अवस्थामा आएको हो । ट्रम्पले होर्मुज जलडमरू खोल्न इरानलाई अल्टिमेटम दिएका थिए । यसैबीच इजरायल ले तेहरानमा सरकारसँग सम्बन्धित पूर्वाधारमाथि हवाई आक्रमण गरेको जनाएको छ । साथै हिजबुल्लाहसँग सम्बन्धित व्यक्तिहरू मारिएको दाबी पनि गरिएको छ । इरान भित्र भने विभिन्न स्थानमा विस्फोट भएको खबर आएको छ । सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार खोर्रमाबाद विमानस्थलमा आक्रमण भएको छ भने तेहरानको उत्तरी क्षेत्रमा पनि विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

८- राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचित लीलाकुमारी भण्डारीले पद तथा गोपनियताको शपथ लिएकी छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायाण प्रसाद दाहालले भण्डारीलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो । एमाले सांसद रहेकी भण्डारी सोमबारको राष्ट्रिय सभामा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । भण्डारी नेपाली कांग्रेस, नेकाप र जसपा नेपालको समर्थनमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकी हुन् ।
९- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको सुधार पहिलो प्राथमिकता भएको बताएका छन् । मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशभरको शिक्षा क्षेत्रको सुधारका लागि काम गर्न सरकार प्रतिवद्ध रहेको बताए । सरकारको प्रवक्ता समेत रहनुभएका शिक्षामन्त्री पोखरेलले आगामी पाँच वर्षभित्र हरेक क्षेत्रको सुधार क्रमशः हुदै जाने बताए । पहिलो वर्ष प्राथमिकताका आधारमा शिक्षा र स्वास्थ्यमा सरकारले लगानी गर्ने उनको भनाई छ । उनले भने- ‘विगतमा पहुँच कम भएका विद्यालय÷विश्वविद्यालयहरु बढी प्राथमिकतामा सरकारले राख्ने छ । आगामी पाँच बर्षभित्र क्रमशः हरेक क्षेत्रमा सुधार गर्दै जाने छौं । पुहँच कम भएका क्षेत्रमा लगानी र अनुदान पनि बढाइँने छ ।’ मन्त्री पोखरेलले सरकारको प्राथमिकताका विषयलाई आफ्नो प्राथमिकतामा राखेर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन समेत दिए । उनले भने- ‘अबको पाँच बर्ष नेपालका लागि टेष्ट पिरियड हो । शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद सबै क्षेत्रको आ–आफ्नै महत्व छ । हामी सबै साझेदार भएर काम गर्नुपर्छ ।’ यसअघि आजै शिक्षामन्त्री पोखरेलले धनगढिस्थित फाप्ला क्रिकेट मैदानको निरीक्षण गर्नुका साथै खेलाडीहरुसँग अन्तरक्रियासमेत गरेका थिए । सो अवसरमा शिक्षामन्त्री पोखरेलले फाप्ला क्रिकेट रङ्गशालालाई विश्वसँग जोड्न राज्यले विशेष महत्व दिएको उल्लेख गरे । उनले बुधबार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको चौथो सभा अर्थात् सिनेट बैठकको अध्यक्षता गर्ने तथा विभिन्न शैक्षिक तथा खेलकुद क्षेत्र अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

१०- नेप्सेमा सामान्य गिरावट आएको छ । आज मंगलबार नेप्से २.६१ अंकले घटेर २७५७.४० विन्दुमा पुगेर रोकिएको छ । आज ३४५ कम्पनिका एक करोड ७४ लाख ६ हजार ६१६ कित्ता शेयर ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १५० मा कारोबार भएको थियो । आज बैंकिंग, होटल्स, हाइड्रो र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, भुजुङ हाइड्रो, सुपर खुदी हाइड्रो र स्वेत गंगा हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, रिज लाइन र सुर्यकुण्ड हाइड्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एनआइबिएल ग्रोथ फन्डको शेयर ७.०८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको २४ कोर्द २२ लाख बराबर कारोबार भएको छ भने रिलाइन्स स्पिनिग मिल्सको २४ करोड २१ लाख बराबरको कारोबार भएको छ ।
११- पश्चिम एसियामा बढ्दो तनावका बीच पाकिस्तानले इन्धन संकट बढेपछि देशभर कडा प्रतिबन्ध लागू गरेको छ । प्रधानमन्त्री शहबाज शरीफको अध्यक्षतामा बसेको बैठकपछि मंगलबारदेखि नयाँ नियम कार्यान्वयनमा ल्याइएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार अब अधिकांश स्थानमा बजार र सपिङ मल राति ८ बजेसम्म मात्र खुला रहनेछन् । रेस्टुरेन्ट, बेकरी तथा अन्य खानेकुरा पसलहरू राति १० बजेसम्म बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । साथै विवाह मण्डप र अन्य व्यवसायिक स्थलहरू पनि राति १० बजेपछि सञ्चालन गर्न नपाइने भएको छ । सरकारले निजी रूपमा हुने विवाह तथा कार्यक्रममाथि समेत कडाइ गरेको छ । अब घर वा निजी स्थानमा पनि राति १० बजेपछि कुनै कार्यक्रम गर्न पाइने छैन । यद्यपि औषधि पसल तथा फार्मेसीलाई भने यस प्रतिबन्धबाट छुट दिइएको छ । खाडी क्षेत्रमा जारी तनावका कारण विश्वव्यापी इन्धन आपूर्तिमा असर परेको र त्यसैको प्रभाव पाकिस्तानमा देखिएको जनाइएको छ । खपत घटाउन र अवस्था नियन्त्रणमा राख्न सरकारले यस्तो निर्णय गरेको हो ।

१२- मन्त्रिपरिषद्को आकस्मिक बैठकले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाका लागि विश्व बैंकबाट विनियोजन हुने ८५ मिलियन अमेरिकी डलर बराबरको ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले जलस्रोत तथा उर्जा अनुसन्धान केन्द्र ललितपुर महानगरपालिका वडा नं ३ पुलचोकबाट गोदावरी नगरपालिका ३ मा स्थानान्तरण गर्ने निर्णय, भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सरकारी व्यवस्थापन समितिका अध्यक्ष र सदस्यहरूको राजिनामा स्वीकृत गर्ने, र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत नागढुङ्गा सुरुङ मार्ग र पासाङ ल्हामु राजमार्गका निजी जग्गा अधिग्रहण स्वीकृत गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावले जानकारी दिएकी छन् । त्यस्तै बैठकले वन तथा वातावरण मन्त्रालय अन्तर्गत काठमाडौं-मधेश द्रुतमार्ग निर्माणका लागि ४६.३९ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिइएको र उक्त क्षेत्रमा रहेका १८९८ वटा पोल हटाउन स्वीकृत गरिएको छ । साथै, बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय भएको छ । अर्थ मन्त्रालय अन्तर्गत पेट्रोल, डिजेल र मट्टितेलमा भन्सार महसुल र पूर्वधार विकास करमा ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ । बैठकले पेट्रोलियम पदार्थको आपूर्ति असहजताका कारण जोर-बिजोर प्रणाली लागू गर्ने सम्भावना उल्लेख गर्दै, जनतालाई ‘वर्क फ्रम् होम’ अपनाउन र विद्युतीय साधनको प्रयोग बढाउन आग्रह गरेको छ ।
१३- सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा कार्यकारी निर्देशकमा किरण पण्डितलाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा डेपुटी गभर्नरमा पण्डितलाई नियुक्त गरेको हो । डेपुटी गभर्नरका लागि दुईवटा पद खाली रहेपनि मन्त्रिपरिषद् बैठकले आज एक जना मात्र नियुक्त गर्ने निर्णय गरेको हो । डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्रको अवकाशपछि डेपुटी गभर्नर रिक्त थियो ।
१४- राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
१५- भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्म धुरन्धर- २ कमाईको नयाँ किर्तिमान बनाउने क्रम रोकिएको छैन । मार्च १९ मा सिनेमाघरमा रिलिज भएको यस फिल्मले हजार करोडभन्दा बढी कमाई गरिसकेको छ । फिल्मको कलेक्सन बढ्दै गइरहेको बेला तेस्रो साताको सप्ताहन्त पछि फिल्मको कलेक्सनमा गिरावट आएको छ । सोमबार यो फिल्मले करिब १० करोड कमाई गरेको छ । फिल्मले पहिलो साता (आठ दिन) मा ६७४.१७ करोड कमाई गरेको थियो । त्यस्तै फिल्मले दोस्रो हप्तामा, २६३.६५ करोड कमाई गरेको थियो । तेस्रो सातामा फिल्मले शुक्रबार २०.२५ करोड, शनिबार २४.२५ करोड र आइतबार २७.२५ करोड कमाई गरेको थियो । योसहित फिल्मले अहिलेसम्म कुल १०१९.५७ करोड कमाई गरेको छ । त्यस्तै फिल्मले विदेशमा पनि शानदार कमाई गरेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले विदेशमा ३९३.५ करोड भारु कमाई गरेको छ । धुरन्धर- २ ले घरेलु बक्स अफिसमा सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड राखेको छ। यसअघि, यो स्थान धुरन्धर- २ को पहिलो भागले राखेको थियो, जसको शीर्षक धुरन्धर थियो । धुरन्धरको भारतीय कलेक्शन ८९५.९६ करोड भारु थियो । धुरन्धर- २ एक हजार करोडभन्दा बढी कमाउने पहिलो फिल्म हो ।
१६- मन्त्रिपरिषदका सदस्यको मर्यादाक्रम हेरफेर गरिएको छ । प्रधानमन्त्री बालेन शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरुको मर्यादाक्रम हेरफेर गरेका हुन् । नयाँ मर्यादाक्रम अनुसार मन्त्रिपरिषद्को मर्यादाक्रमको तेस्रो स्थानमा यसअघि गृहमन्त्री सुदन गुरुङलाई राखिएकोमा अब परराष्ट्रमन्त्री शिशिर खनाललाई राखिएको छ । त्यस्तै चौथो स्थानमा उर्जमन्त्री विराजभक्त श्रेष्ठलाई राखिएको छ भने गृहमन्त्री गुरुङलाई पाँचौं स्थानमा राखिएको छ । त्यस्तै यसअघि पुछारमा रहेकी महिला मन्त्री सीता बादीलाई आठौ स्थानमा राखिएको छ भने श्रममन्त्री दिपक कुमार साहलाई १५औं स्थानमा राखिएको छ ।

१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको २ लाख ९१ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९१ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ४८२० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७८० मा कारोबार भएको थियो ।
१८- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल बिद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र, सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास घुससहित पक्राउ परेका छन् । दासले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख ४० हजार घुस लिएको अवस्थामा पक्राउ परेको अख्तियारले जनाएको छ । दासलाई कार्यालय, इटहरीबाट खटिई गएको टोलीले घुस रकमसहित सप्तरीको हनुमाननगर कंकालिनी, नगरपालिका-१ सोमबार नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
१९- पर्यटन विभागले यस बर्षको वसन्त सिजनमा हुने हिमाल आरोहणका लागि अहिलेसम्म २३६ जनालाई अनुमति दिएको छ । विभागले विभिन्न हिमालमा हुने आरोहणका लागि अप्रिल ५ सम्म ३१ समूहका २३६ जनालाई अनुमति दिएको जानकारी दिएको छ । मार्च १ देखि अप्रिल ५ सम्म ६५ महिला र १७१ पुरुषलाई अनुमति जारी भएको विभागले जनाएको छ । यस अवधिमा सबैभन्दा धेरै सगरमाथा आरोहण गर्न ३ समूहका ७३ जनाले अनुमति पाएका छन् । त्यस्तै आमादब्लम हिमालमा ३ समूहका ३४ आरोहीले अनुमति लिएका छन् । त्यस्तै आरोहण अनुमति लिने सबैभन्दा बढी जर्मनी नागरिक ३७ जना छन् भने अमेरिकाका २५ जना रहेका छन् । त्यस्तै क्यानडाका १७ जना र पोल्याण्डका १५ जना रहेको विभागले जनाएको छ । यी अनुमतिबाट २० करोड २२ लाख रुपैयाँ राजश्व संकलन भएको बिभागले जनाएको छ ।

२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्धबारे कडा अभिव्यक्ति दिएका छन् । गएराती आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिका चाहेको खण्डमा एकै रातमा इरानलाई समाप्त गर्न सक्ने चेतावनी दिएका हुन् । ट्रम्पले इरानविरुद्धको युद्ध आफूहरूको योजनाअनुसार अघि बढिरहेको दाबी गरे । आवश्यक परे जुनसुकै बेला कडा कदम चाल्न सकिने भन्दै उनले दबाब बढाएका छन् । इरानमा फसेका अमेरिकी पाइलटको उद्धारलाई उनले ऐतिहासिक अभियान बताएका छन् । उनका अनुसार उद्धारका लागि ठूलो जोखिम उठाइएको थियो । एक-दुई जनालाई बचाउन सयौंको ज्यान जोखिममा राखियो’ उनले भने । उद्धार अभियानका क्रममा १५५ सैन्य विमान परिचालन गरिएको थियो । तीमध्ये लडाकु विमान, बमवर्षक, इन्धन भर्ने ट्यांकर र उद्धार विमान समावेश थिए । विभिन्न दिशाबाट विमान पठाएर दुश्मनलाई झुक्याउने रणनीति अपनाइएको उनले बताए । ट्रम्पका अनुसार हालसम्म इरानका १३ हजारभन्दा बढी स्थानमा आक्रमण गरिएको छ भने ३७ दिनमा १० हजारभन्दा बढी लडाकु उडान सम्पन्न भएका छन् । उनले पहिलो पटक इरानले अमेरिकी एफ-१५ विमान खसालेको स्वीकार गरे । तर त्यो दुर्भाग्यवश भएको घटना मात्र भएको उनको भनाइ थियो । घाइते पाइलटको साहसबारे पनि उनले चर्चा गरे । विमान खसेपछि पाइलट प्यारासुटबाट झरेर गम्भीर घाइते अवस्थामै पहाडी क्षेत्रमा चढ्दै आफूलाई जोगाउन सफल भएको उनले बताए । पछि हेलिकप्टरमार्फत सुरक्षित उद्धार गरिएको जानकारी दिए । उद्धार अभियानबारे सबै सैन्य सल्लाहकार एकमत नभएको पनि ट्रम्पले स्वीकार गरे । जोखिम अत्यधिक भएकाले केही अधिकारीहरूले विरोध गरेको उनले बताए । तर रक्षा नेतृत्वले भने अभियानलाई समर्थन गरेको उनको भनाइ थियो । सूचना चुहावटप्रति पनि उनले कडा चेतावनी दिएका छन् । इरानमा फसेका अर्को पाइलटबारे जानकारी सार्वजनिक गर्ने व्यक्ति र सञ्चारमाध्यममाथि कारबाही गर्न सकिने उनले बताए । पत्रकार सम्मेलनमा ट्रम्पले इरानका नागरिकबारे पनि टिप्पणी गरे । आक्रमणका कारण पीडा भए पनि अन्ततः स्वतन्त्रताका लागि त्यो सहन तयार हुने उनले दाबी गरे । युद्ध अन्त्यतर्फ गएको हो कि अझ बढ्ने भन्नेबारे उनले स्पष्ट बताएनन् । उनले भने- ‘अहिलेको अवस्था धेरै महत्वपूर्ण छ, सबै कुरा उनीहरूले के गर्छन् भन्नेमा निर्भर छ ।’ सो अवसरमा उनको स्वास्थ्यको विषयमा पत्रकारहरुले सोधेको प्रश्न भने उनले खारेज गरेका थिए । उनको मानसिक अवस्थाको बारेमा समेत प्रश्न सोधिएको थियो । सामाजिक सञ्जालमा ट्रम्पले इरानलाई गाली गर्दै पोष्ट गर्न शुरु गरेपछि उनको मानसिक स्वास्थ्यको बारेमा प्रश्न उठाइएको थियो ।
#आजकाप्रमुखसमाचार #समाचारबुलेटिन #Top20News #दिनभरकासमाचार #नेपालसमाचार #अन्तर्राष्ट्रियसमाचार #BreakingNews #NewsUpdate #NepalNews #DailyNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



