सरकार र दलहरुलाई सांसद महावीर पुनको आग्रह–नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता भाइरसबाट बच्नुहोस्

 

सांसद महावीर पुनले देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दे उहाँले यस्तो आग्रह गर्नुभएको हो । सांसद पुनले नेपाल एकीकरणपछिदेखि नै यस्तो प्रवृत्ति मौलाउँदै आएको दाबी गर्दै आगामी दिनमा मन्त्री वा सांसदले आफ्ना आफन्तलाई सार्वजनिक पदमा नियुक्त नगर्ने प्रवृत्ति सिर्जना गर्न आग्रह गर्नुभयो ।  फरक प्रसंगमा बोल्दै उहाँले गुम्ली जिल्लालाई २०७५ सालमै हिमाली जिल्ला घोषणा गरिए पनि सोअनुसारका सेवा–सुविधा नपाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘गुम्ली जिल्लालाई २०७५ सालमा हिमाली जिल्ला घोषणा गरेको रहेछ । तर हिमाली जिल्लाले पाउने सुविधाहरु केही पनि त्यहाँ गएको रहेनछ । हिमाली जिल्लाले पाउनुपर्ने सेवा सुविधाहरु उपलब्ध गराउन अनुरोध गर्दछु । साथै म सरकार र सबै राजनीतिक दलहरुलाई के अनुरोध गर्न चाहन्छु भने, नेपालमा सदियौदेखि रहेको नातावाद, कृपावाद, चाप्लुसिवाद र चाकरीवादजस्ता भाइसबाट बच्नुहोस् भन्न चाहन्छु । यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाहको पालादेखि शुरु भएको हो । यो भाइरसले अझै पनि छोडेको छैन । अगामी दिनमा यो मन्त्रीले, सांसदले आफ्नो आफन्तलाई फलानो पदमा नियुक्त गर्यो भन्ने कुरा सुन्नु नपरोस् ।’

हिमाली जिल्लाले पाउनुपर्ने आधारभूत सेवा र सुविधा तत्काल उपलब्ध गराउन समेत माग गर्नुभयो ।

 

Nepal life insuranceimagesimagesimages