पाकिस्तानी प्रधानमन्त्रीमाथि अदालतको अवहेलना गरेकोमा मुद्धा चलाइने

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री युसुफ रजा गिलानी विरुद्ध राष्ट्रपति आसिफ अली जर्दारी संलग्न भ्रष्टाचार सम्बन्धी मुद्धालाई पुनः अगाडि नबढाई अदालतको आदेशको अबज्ञा गरेको विषयमा मुद्धा चलाउने निर्णय गरेको छ । अदालतले आफ्नो संक्षिप्त फैसलामा प्रधानमन्त्री गिलानीलाई फेब्रुअरी १३ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ । गिलानी विरुद्धको मुद्धा प्रमाणित भएमा उहांलाई छ महिना सम्म जेल र प्रधानमन्त्रीबाट हट्नु पर्ने हुन्छ । प्रधानमन्त्रीका कानुनी सल्लाहाकार ऐतिजाज एहसनले भने अदालतको निर्णय विरुद्ध अपील गर्ने जनाएका छन् । ऐहसनले सरकार र न्यायापालिकाबीच टकरावको स्थिति नहोस् र लोकतन्त्र मजबुत बनाउन दुवै पक्ष मिलेर काम गर्नु पर्नेमा प्रधानमन्त्री सचेत रहेको बताए ।


पाकिस्तानको सर्वोच्च अदालतले जनवरी १६ मा विभिन्न नेताहरुलाई दिइएको आममाफीको विषयमा प्रधानमन्त्री गिलानीमाथि अदालतको आदेश अवज्ञा गरेको भन्दै नोटिस जारी गरेको थियो । पाकिस्तानको सर्वोच्च अदालतले राष्ट्रपति जर्दारीसंग जोडिएको भ्रष्टाचारसम्बन्धी मुद्धा अघि बढाउन स्वीस अधिकारीहरुलाई आग्रह गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएको थियो । तर प्रधानमन्त्री गिलानीले सो मुद्धा अगाडि बढाउन अस्वीकार गर्दै आउनु भएको थियो । जनवरी १९ मा अदालतमा उपस्थित हुंदै प्रधानमन्त्री गिलानीले दुई तिहाई जनताबाट निर्वाचित राष्ट्रपति विरुद्ध मुद्धा अघि बढाउंदा राम्रो संदेश नजाने जिकिर पनि गर्नु भएको थियो । पाकिस्तानमा गिलानी सरकार न्यायपालिका र शक्तिशाली सेनाको विवादमा फसेको छ । पाकिस्तानमा अदालतले दोषी ठहर गरे राष्ट्रपति र प्रधानमन्त्रीको कुर्र्सी संकटमा पर्ने विश्लेषण गरिएको छ ।