



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ वर्ष २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।

नयाँ वर्षका अवसरमा शुभकामना सन्देश दिँदै देशको इतिहास, सभ्यता र परम्परालाई झल्काउने उल्लेख गर्दै गौरवपूर्ण विगतको स्मरण गराउँदै उज्ज्वल भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले नयाँ वर्षलाई विगतको समीक्षा गर्दै आगामी दिनका लागि लक्ष्य निर्धारण र संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । उनले यस दिनलाई राष्ट्रिय लक्ष्य तय गरी त्यसको प्राप्तिका लागि प्रतिबद्ध हुने महत्वपूर्ण समयका रूपमा व्याख्या गरेका छन् ।
सन्देशमा हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले देशको राजनीतिक अवस्था स्पष्ट बनाएको उल्लेख गर्दै जनताले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत सुशासन, शान्ति, सामाजिक न्याय र समृद्धिको अपेक्षा व्यक्त गरेको बताएका छन् । उनले ती अपेक्षालाई पूरा गर्न सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

लोकतन्त्रप्रति निष्ठा, सुशासनमा प्रतिबद्धता, सामाजिक न्याय र समावेशीताको अभ्यास, राष्ट्रिय स्वाधीनताको रक्षा तथा नागरिकको हितलाई पहिलो प्राथमिकतामा राख्ने पाँच मुख्य संकल्प गर्न उनले आग्रह गरेका छन् ।
राष्ट्रपति पौडेलले यी संकल्पलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सके मुलुकले विकास र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
नयाँ वर्षले आपसी विश्वास, सहिष्णुता र एकतालाई थप बलियो बनाउँदै देशलाई अघि बढाउन प्रेरणा दिने उनको कामना छ ।



