



काठमाडौँ । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ सम्बन्धी मस्यौदामा प्रमुख राजनीतिक दलहरूसँग विस्तृत सुझाव माग गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त गरेका राजनीतिक दलका घोषणापत्र, वाचापत्र र विभिन्न प्रतिबद्धताहरूलाई समेटेर उक्त मस्यौदा तयार गरिएको हो । सरकारको लक्ष्य विभिन्न दलका एजेण्डालाई एकीकृत गर्दै साझा राष्ट्रिय मार्गचित्र बनाउने रहेको जनाएको छ ।
मस्यौदामा देशको आर्थिक विकास, सुशासन, सामाजिक न्याय, पूर्वाधार निर्माण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सुधार, तथा संघीय संरचनाको प्रभावकारी कार्यान्वयनजस्ता विषय समेटिएको बताइएको छ । यसका साथै दीगो विकास, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा पनि जोड दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित राजनीतिक दलहरूलाई आगामी बैशाख १० गतेभित्र आफ्ना सुझाव र राय पेश गर्न आग्रह गरेको छ । प्राप्त सुझावका आधारमा मस्यौदालाई परिमार्जन गरी अन्तिम रूप दिइनेछ ।
सरकारले यस प्रक्रियामार्फत दलहरूबीच साझा समझदारी निर्माण गर्दै दीर्घकालीन राष्ट्रिय लक्ष्य तय गर्ने उद्देश्य राखेको जनाएको छ । यस्तो साझा प्रतिबद्धताले नीति निर्माण र कार्यान्वयनमा स्थायित्व ल्याउने तथा सरकारका कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
#सरकार #राष्ट्रियप्रतिबद्धता #राजनीतिकदल #नेपालसरकार #नीतिनिर्माण #NepalPolitics #TodayNews #BreakingNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🇳🇵



