प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा आफ्नै नेतृत्वको सरकार केही दिनमा पुनर्गठन गरेर संयुक्त राष्ट्रिय सरकार बन्ने दाबी

– कृष्ण आचार्य

 

गोरखा – प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नै नेतृत्वको सरकार केही दिनमा पुनर्गठन गरेर संयुक्त राष्ट्रिय सरकार बन्ने दाबी गरेका छन् ।

शान्ति र संविधानको कार्यभार यही सरकारलाई रहेको भन्दै आफ्नै नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बन्ने दाबी गरेका हुन् । पालुंटारस्थित भवानी उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले सोमबार यही सरकार पुनर्गठन गरी संयुक्त राष्ट्रिय सरकार बनाउने विषयमा अन्य दलका शीर्षस्थ नेताहरु पनि सहमति नजिक पुगेको बताए ।

‘आजको आवश्यकता सरकारलाई पुनर्गठन गर्नु नै हो । त्यसो गर्दाखेरी व्यवहारिक र वस्तुवादी हुन्छ’ उनले कारण जनाउँदै भने, ‘किनकि अबको साढे तीन महिनामा सरकार बनाउने गिराउने खेलमा गयौ भने अर्को सरकार बन्दैन । शान्ति र संविधान धरापमा पर्छ ।’ शान्ति र संविधान जारी गर्नका लागि पनि यही सरकारलाई पुनर्गठन गर्नुपर्ने उनको तर्क थियो । ‘संविधान जारीपछि चुनाव सम्मको अवधिका लागि चक्रीय प्रणाली अपनाउला’ उनले भने, ‘मलाई विश्वास छ संयुक्त राष्ट्रिय सरकार यही सरकार पुनर्गठन गरेर बन्छ । बदलेर होइन ।’

कांग्रेसले शान्ति प्रक्रिया अघि नबढेसम्म सरकारमा सहभागी नहुने भन्दै आएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री भट्टराईले भने, ‘मलाई त्यस्तो लाग्दैन । ‘पब्लिक कम्जसन’ का लागि उनीहरूले त्यसो भनिरहेका छन् ।’ दलहरूबीच प्याकेजमा सहमति खोज्नका लागि अगामी २५ गते प्रमुख राजनीतिक दलबीचमा गम्भीर वार्ता गर्ने उनले खुलासा गरे । ‘त्यस क्रममा विवादित सबै विषय टुग्याउने छौ । माघ २९ गतेसम्ममा संविधानका विवादित विषय टुंग्याउनु पर्ने छ’ उनले भने, ‘त्यसका लागि सरकार प्रतिबद्ध भएर लागिपरिरहेको छ ।’