आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

May be an image of ‎temple and ‎text that says "‎الا یر لو ۳ا नयाँ बर्ष २०८३ को हार्दिक् मंगलमय शुभकामना अर्घाराँची मिडिया हाउस प्रा लि द्धारा सत्चालित अर्घाराँची डट कम तथा अर्घाराँची डट कम एचडी परिवारको तर्फबाट हामी सम्पू्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०८३ को शुभकामना व्यक्त गर्दै, यो नयाँ वर्षले सबेको जीवनमा नयाँ आशा, नयाँ ऊर्जा, सकारात्मक सोच, समृद्ध र सफलताको उज्यालो ल्याओस भन्ने हार्दिक कामना गर्दडों। बशयांची 보로 만자 Arghakhanchi.com‎"‎‎May be an image of text

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्कालाई रिहा गर्न आदेश दिएको छ । कामु प्राधनन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्कालाई दिइएको पक्राउ पूर्जी र म्याद थप कानुन संगत नदेखिएको ठहर गर्दै तत्काल थुनामुक्त गर्न आदेश दिएको हो । आदेशमा भनिएको छ- ‘खड्कालाई हिरासत बाहिर बसेर नै अनुसन्धान गर्न सकिने प्रकृतिको देखिएको निष्कर्ष निकाल्दै सम्बन्धित अदालतबाट अनुमति लिएरमात्र विदेश जान दिनू ।’  खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।

२- संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि मनोनयन दर्ता भएको छ । प्रतिनिधिसभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिका लागि संसद सचिवालयमा मनोनयन दर्ता भएको हो । जसमा शिक्षा समिति र  राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा २-२ जनाको उम्मेदवारी परेको छ भने अन्य समितिका सभापतिमा एकल उम्मेदवारी परेको छ । जसमा कानून न्याय तथा मानवअधिकार समितिको सभापतिमा समीक्षा बास्कोटा, कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिमा अशोक चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समितिमा आकृती अवस्थी, राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकालको मनोनयन दर्ता भएको छ । त्यसैगरी सार्वजनिक लेखा समितिमा कांग्रेसका भरत बहादुर खड्का, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सुम्निमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी र उद्योग समितिको सभापतिमा रहवर अन्सारीको मनोनयन दर्ता भएको छ । त्यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाइ समितिमा बोधनारायण श्रेष्ठले मनोनयन दर्ता गरेका छन् ।  यी सबै समितिमा एकल उम्मेदवारी परेकोको सभापति निर्बिरोध हुने भएको छ । त्यसैगरी शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा रास्वपाका डा.ओजस्वी शेरचन र एमालेका गुरु बरालको मनोनयन दर्ता भएको छ भने संयुक्त समिति अन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा रास्वपाका गणेश कार्की र नेकपाका तर्फबाट राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह (गरिमा) ले मनोनयन दर्ता गरेका छन् । अब शुक्रबार बस्ने सम्बन्धित समितिको बैठकमा मनोनयनसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने र निर्वाचन प्रक्रिया पुरा गर्ने कार्यतालिका रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

३- धनगढी उपमहानगरपालिकामा केन्द्र सरकारले तोकेको भन्दा छिटो शैक्षिक शत्र शुरु हुने भएको छ । उपमहानगले विहिबार सूचना प्रकाशित गर्दै वैशाख ४ गतेदेखि नै विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने र वैशाख ११ गतेसम्म भर्ना प्रक्रिया सकेर वैशाख १४ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने भएको हो । संघीय सरकारअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भने देशभर वैशाख १५ गतेदेखि भर्ना र वैशाख २१ गतेदेखि कक्षा सञ्चालन गर्ने कार्यतालिका तय गरेपनि धनगढीका सरोकारवालाहरूसँगको छलफलपछि सो तालिका अनुसार शुरु गर्दा शैक्षिक सत्र प्रभावित हुने, आवश्यक पाठ्यघण्टा नपुग्ने र समग्र शिक्षाको गुणस्तरमा असर पर्ने भन्दै त्यसभन्दा अगाडी नै शैक्षिकसत्र शुरु गर्न लागेको उपमहानगरले उल्लेख गरेको छ ।

४- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै विशेष अदालत काठमाडौँमा आरोपपत्र पेश गरेको हो । आयोगका अनुसार तिवारीले सार्वजनिक पदमा रहँदा पदीय मर्यादाविपरीत कार्य गर्दै अवैध रूपमा सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा २०४४ साल भदौ १९ गतेदेखि २०७८ साल वैशाख ९ गतेसम्मको अवधिलाई जाँच अवधि कायम गरिएको थियो । उक्त अवधिमा तिवारी तथा उनको परिवारले विभिन्न स्रोतबाट आर्जन गरेको कुल वैध आय १४ करोड ५१ लाख ९१ हजार ३५६ रुपैयाँ देखिएको छ । तर सोही अवधिमा घरजग्गा खरिद, निर्माण, शेयर लगानी, बीमा, सामाजिक खर्चलगायत शीर्षकमा २५ करोड ६ लाख ८७ हजार २२७ रुपैयाँ बराबरको खर्च तथा लगानी गरेको पाइएको छ । आयोगका अनुसार कुल आयभन्दा खर्च तथा लगानी बढी देखिएकाले १० करोड ५४ लाख ९५ हजार ८७१ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ ।  त्यस्तै, सो सम्पत्ति श्रीमती मीना देवी तिवारी र छोरी मीरा तिवारीको नाममा समेत रहेको पाइएको भन्दै उनीहरूलाई समेत प्रतिवादी बनाइएको छ । आयोगले तिवारीसहित तीन जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी कसुरमा कानुनअनुसार कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

५- भारतको दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ठुलो दुर्घटना टरेको खुलेको छ । विहिबार स्पाइसजेटको विमान अकासा एयरको विमानसँग ठोक्किएपछि ठूलो दुर्घटना हुनबाट जोगिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । घटनामा दुवै विमानमा क्षति पुगेको छ, तर सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित हुनु रहेका थिए । रिपोर्टका अनुसार, स्पाइसजेट बि ७३७-७०० विमान धावनमार्गमा पुग्दा यसको दायाँ पखेटा अर्को विमानसँग ठोक्किएको थियो । टक्करले अर्को विमानको बायाँ हातको तेर्सो स्टेबिलाइजरलाई पनि क्षति पुर्‍याएको बताइएको छ । हाल प्राविधिक अनुसन्धान भइरहेको र क्षतिको मूल्याङ्कन भइरहेको बताइएको छ । दिल्लीबाट हैदराबाद उडान गरिरहेको अकासा एयरको उडान क्यूपी १४०६ प्राविधिक र सञ्चालनका कारण खाडीमा फर्कनुपरेको थियो । प्रारम्भिक जानकारीका अनुसार, अकासा एयरको विमान पार्किङमा रहेको बेला, अर्को एयरलाइन्सको विमानले विमानसँग सम्पर्क (टक्कर जस्तो अवस्था) गर्यो । अकासा एयरले सबै यात्रु र चालक दल सुरक्षित रहेको र समयमै उद्धार गरिएको बताएको छ । अकासा एयरले पनि आफ्नो ग्राउन्ड स्टाफले यात्रुहरूलाई सकेसम्म चाँडो हैदराबाद पुर्‍याउन वैकल्पिक उडानको व्यवस्था गरिरहेको बताएको छ ।

६- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन वा सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महासंघले पछिल्ला केही महिनादेखि अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण डिजेल र पेट्रोलको मूल्य निरन्तर बढ्दै जाँदा यातायात व्यवसाय सञ्चालन गर्न कठिन भएको जनाएको छ । मूल्यवृद्धिले यात्रुवाहक तथा मालवाहक सवारी साधन सञ्चालनमा प्रत्यक्ष असर परेको महासंघको भनाइ छ । सरकारले विगतमा लागू गरेको स्वचालित मूल्य प्रणालीका आधारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा त्यसअनुसार भाडा समायोजन नगर्दा व्यवसायीहरू मारमा परेको महासंघका महासचिव डेकनाथ गौतमले विज्ञप्तिमा उल्लेख गरेका छन् । महासंघले २०७९ सालयता लागू वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार मूल्य समायोजन हुनुपर्ने माग गरेको छ। वर्तमान परिस्थितिमा पेट्रोलियम पदार्थको खपत घटाउने र सेवा सञ्चालनलाई प्रभावकारी बनाउने प्रयास गरिए पनि लागत अत्यधिक बढेकाले तत्काल समाधान आवश्यक रहेको जनाएको छ । महासंघले नेपाल आयल निगममार्फत भइरहेको पटक-पटकको मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गर्दै यथाशीघ्र निर्णय लिन आग्रह गरेको छ ।

७- पाकिस्तानका सेनाप्रमुख फील्ड मार्शल आसिम मुनीरले इरानको संसदका सभामुख मोहम्मद बाघेर गालिबाफसँग भेटवार्ता गरेका छन् । बुधबार तेहरान पुगेका मुनीरले विहिबार सभामुख गालिबाफसँग भेटवार्ता गरेको  इरानको सरकारी सञ्चारमाध्यमले यसबारे जानकारी दिएको छ । मुनीरको इरान भ्रमण क्षेत्रीय तनाव बढ्न नदिन भइरहेको प्रयासकै बीचमा भएको बताइएको छ । यसअघि इस्लामाबादले सम्बन्धित पक्षहरूबीच पहिलो चरणको शान्ति वार्ता आयोजना गरेको थियो, जसलाई क्षेत्रीय स्थिरताका लागि महत्वपूर्ण कदम मानिएको छ । मुनीर अमेरिकाले दिएको इरानसँग सहमतिका नयाँ प्रस्ताव लिएर तेहरान पुगेको दाबि गरिएको छ । सभामुख गालिबाफले हालै इस्लामावादमा भएको अमेरिकासँगको वार्तामा इरानको प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।  इरानले भने अमेरिकासँग भइरहेको वार्ताबाट धेरै अपेक्षा नरहेको स्पष्ट पारेको छ । उसले अमेरिका प्रति विश्वास पनि नगरेको बताउँदै वार्ता भए पनि नतिजाप्रति आशंका रहेको जनाएको छ । इरानी संसदको राष्ट्रिय सुरक्षा समितिका सदस्य वाहिद अहमदीका अनुसार अब निर्णय अमेरिकाको हातमा रहेको छ । उनले अमेरिका इरानका मागहरू स्वीकार गर्न तयार भएन भने परिस्थिति अझ जटिल बन्न सक्ने चेतावनी दिएका छन् । उनले सकारात्मक जवाफ नआए इरान युद्ध जारी राख्न हिचकिचाउने अवस्था नरहेको समेत बताएका छन् ।

८- नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धा आज हेर्दा हेर्दैमा सकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा विहिबार भएको सुनुवाई नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । आज रिट निवेदक देउवा पक्षका वकिल र निर्वाचन आयोगको तर्फबाट सरकारी वकीलले बहस गरेका थिए । अब शुक्रबार कांग्रेस सभापति गगन थापा पक्षका वकिलले बहस गरेपछि जवाफी बाह्स हुने र त्यसपछि समय पुगेमा भोलि आदेश आउने सम्भावना रहेको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको काँग्रेसलाई निर्वाचन आयोगले मान्यता दिएपछि सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च गएको थियो । सो रिट विचाराधीन रहेको अवस्थामा गगन थापा नेतृत्वको काँग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याएपछि देउवा पक्षले अर्को रिट दायर गरेका थिए । दुवै रिटको सुनुवाई एक साथ गरिएको छ ।

९- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ । पराजुली काठमाडौँ- ७ बाट प्रत्यक्षतर्फ लगातार दोस्रो पटक निर्वाचित सांसद हुन् ।  त्यस्तै विहिबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटी र सचेतकहरुमा सांसद प्रकाशचन्द्र परियार र सांसद  क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।

१०- नेप्से आज गिरावट आएको छ । आज विहिबार नेप्से ३३. ८३ अंकले घटेर २८३३.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता शेयर ९ अर्ब ३१  करोड २८ लाख ६० हजार ८०८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, रिज लाइन इनर्जी र सुर्यकुण्ड हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, होटल फोरेस्ट इन, पाल्पा सिमेन्ट र शिखर पावरको शेयर ९.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी सिन्धु विकास बैंकको शेयर ९.४७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको ६१ करोड ८० लाख बराबर कारोबार भएको छ भने नेशनल हाइड्रोको ५५ करोड ५९ लाख बराबरको कारोबार भएको छ ।

११- बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई असर पार्नेछ । यो निर्णय करिब पाँच अर्ब पाउण्ड बराबरको खर्च बचत गर्ने उद्देश्यले लिइएको हो । बीबीसीका कार्यवाहक महानिर्देशक रोड्री टेल्फन डेविसले बुधबार यसबारे जानकारी दिएका हुन् । उनका अनुसार सन् २०११ पछि यो सबैभन्दा ठूलो कर्मचारी कटौती हुनेछ । हाल बीबीसीमा करिब २१ हजार पाँच सय कर्मचारी कार्यरत छन् । डेविसले यो निर्णयले कर्मचारीमा चिन्ता र अनिश्चितता बढाउने स्वीकार गर्दै वर्तमान आर्थिक अवस्थाका कारण यस्तो कदम चाल्न बाध्य भएको बताएका छन् । बढ्दो महँगी, लाइसेन्स शुल्कबाट घट्दो आम्दानी, व्यापारिक आम्दानीमा गिरावट र विश्व आर्थिक अस्थिरताले खर्च कटौती गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । खर्च घटाउन बीबीसीले नयाँ भर्नामा नियन्त्रण गर्ने, यात्रामा हुने खर्च कम गर्ने, व्यवस्थापन परामर्शमा खर्च घटाउने तथा कार्यक्रम र भेलामा हुने खर्च कटौती गर्ने योजना बनाएको छ । यसका साथै लागत घटाउन प्रविधिको प्रयोग बढाउनेतर्फ पनि बीबीसीले ध्यान केन्द्रित गरेको छ । बीबीसीको मुख्य आम्दानी बेलायतका घरधुरीबाट उठाइने वार्षिक लाइसेन्स शुल्कबाट आउने गर्छ ।

१२- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको बताएका छन् । विहिबार अन्तर सरकारी वित्ति परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै मन्त्री वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको र संबिधान परिवर्तन गर्दा पनि सरकारले संबिधानकै धारामा टेकेर गर्ने स्पष्ट गरेका हुन् । उनले करिब दुई तिहाईको बहुमत आएको अवस्थामा संबिधानमा के के परिवर्तन गर्ने हुन् भन्ने हल्ला चलाइएको बताउदै मन्त्री वाग्लेले सरकार संबिधानप्रति प्रतिबद्ध रहेको स्पष्ट गरेको बताए । सरकार सेवामुखी काम गर्न प्रतिबद्ध रहेको बताउदै मन्त्री वाग्लेले यसको शुरुवात समेत गरिसकेको बताए । उनले ठुलो जनमतसाथ आएको सरकारलाई सामान्य काम चलाउ किसिमको काम गर्ने छुट नभएको भन्दै आफुहरुले व्यापक सुधारका काम गर्न शुरु गरेको बताए । उनले बजेटमार्फत दर्जनौं ऐन खारेज र संशोधन गर्ने बताउदै नियमन गर्ने ऐन नभएमा नयाँ ऐन ल्याउने तयारीका साथ काम गरिरहेको बताए ।  मन्त्री वाग्लेले विकासको बाधक बनेको भनिएको खरिद ऐनलाई छिटो परिवर्तन गर्ने बताउदै अध्यादेशबाट गर्ने वा संसदको आउदो अधिवेशनबाटै परिवर्तन गर्ने प्रतिबद्धता जनाए । उनले सरकारले रुपान्तरणकारी पूर्वाधारको विकास गर्ने तयारीमा सरकार रहेको बताए । मन्त्री वाग्लेले ठुला पूर्वाधारमा निजी क्षेत्रलाई ल्याउने बताउदै भारतले अपनाइरहेको टोल सडकको अवधारणाको सानो अंश नेपालमा ल्याउने बताए ।

१३-  टर्कीमा लगातार दोस्रो दिन विद्यालयभित्र गोलीकाण्ड भएको छ । बुधबार एक माध्यमिक विद्यालयमा १३ वर्षका विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा एक शिक्षकसहित ९ विद्यार्थीको मृत्यु भएको छ भने करिब १३ जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् । आक्रमणपछि ती विद्यार्थीले आफैँमाथि पनि गोली प्रहार गरेका थिए । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ । प्रान्तीय गभर्नर मुकर्रम उनलुएरका अनुसार आक्रमणकारी आठौँ कक्षामा अध्ययनरत विद्यार्थी थिए । उनी विद्यालय आउँदा झोलाभित्र पाँच थान हतियार र सात वटा म्यागजिन रहेको बताइएको छ । प्रारम्भिक जानकारीअनुसार ती हतियार पूर्व प्रहरी अधिकृत रहेका उनका बाबुको हुन सक्ने आशंका गरिएको छ । घटनापछि विद्यालय क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ र अनुसन्धान सुरु गरिएको छ । गभर्नरका अनुसार आक्रमणकारी विद्यालयभित्र छिरेर पाँचौँ कक्षाका विद्यार्थी पढिरहेको दुई कक्षामा प्रवेश गरी अन्धाधुन्ध गोली चलाएका थिए । घाइतेमध्ये केहीको शल्यक्रिया भइरहेको र अवस्था चिन्ताजनक रहेको बताइएको छ । यसबीच सामाजिक सञ्जालमा आएका भिडियोहरूमा गोली चलिरहेको बेला विद्यार्थीहरू ज्यान जोगाउन विद्यालयको माथिल्लो तलाबाट हाम फालेको देखिएको छ । न्यायमन्त्री अकिन गुरलेकले घटनाको गम्भीर छानबिन सुरु गरिएको जानकारी दिएका छन् । यसअघि मंगलबार पनि टर्कीको सनलिउरफा प्रान्तमा अर्को गोलीकाण्ड भएको थियो । त्यहाँ १८ वर्षका एक युवकले आफ्नो पुरानो विद्यालयमा प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा १६ जना घाइते भएका थिए । तीमध्ये विद्यार्थी र शिक्षक दुवै थिए । आक्रमणपछि ती युवकले पनि आफैँमाथि गोली प्रहार गरेका थिए । त्यो घटना एक व्यावसायिक उच्च विद्यालयमा भएको थियो । आक्रमणकारी पूर्व विद्यार्थी रहेको र उनले शटगन लिएर विद्यालय पुगेको बताइएको छ । उनले कुनै निश्चित लक्ष्य नछानी गोली चलाएको र पछि विद्यालयभित्र लुकेर बसेको जनाइएको छ । उक्त घटनामा १० विद्यार्थी, ४ शिक्षक, एक क्यान्टिन कर्मचारी र एक प्रहरी अधिकारी घाइते भएका थिए। प्रहरीले विद्यालयलाई घेरेर विशेष कारबाही थालेको थियो। आक्रमणकारीले आत्मसमर्पण गर्न अस्वीकार गरेपछि कारबाहीका क्रममा उनले आफैँमाथि गोली चलाएका थिए । लगातार दुई दिन विद्यालयमा भएका यी घटनाले टर्कीमा सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता बढाएको छ ।

१४- नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको १ सयले बढेर तोलाको ३ लाख २ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको ३ लाख २ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले बढेर ५२५० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५२२० मा कारोबार भएको थियो ।

images

१५- उपसभामुख रुबी कुमारी ठाकुरले दाइजो लिने दिने प्रथाविरुद्ध कडा सन्देश दिँदै यस्ता विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् । सामाजिक सञ्जालमार्फत उनले परिवर्तनको सुरुवात आफूबाटै गर्नुपर्ने उल्लेख गर्दै सानो व्यक्तिगत प्रयासले पनि ठूलो सामाजिक परिवर्तन सम्भव हुने र आफु दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने घोषणा गरेकी छन् । उनले पछिल्लो समय धेरै विवाहका निमन्त्रणापत्र प्राप्त भइरहेको तर तीमध्ये कुनैमा पनि ‘दाइजोमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख नभेटिएको जनाएकी छन् । यसले समाज अझै पनि दाइजो जस्तो गम्भीर कुरीतिबाट मुक्त हुन नसकेको संकेत गर्ने उनको भनाइ छ । दाइजो लिनु र दिनु मात्र नभई, त्यस्तो प्रथामा आधारित विवाह स्वीकार गर्नु, कार्यक्रममा सहभागी हुनु वा भोज खानु समेत सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय हुने उनले उल्लेख गरेकी छन् । यस्तो अभ्यासले महिलाको सम्मान, समानता र अधिकारमा प्रत्यक्ष असर पर्ने उनको धारणा छ । समाज परिवर्तन र देश विकासका लागि कुरीतिविरुद्ध उभिन आवश्यक रहेको बताउँदै उनले परिवर्तनको सुरुवात व्यक्तिगत तहबाट गर्नुपर्नेमा जोड दिएकी छन् । यसै सन्दर्भमा, दाइजो लेनदेन हुने विवाहमा आफू सहभागी हुन नसक्ने जानकारी गराउँदै उनले सबैलाई दाइजोमुक्त, समानतामा आधारित र सभ्य विवाहलाई प्रोत्साहन गर्न आग्रह गरेकी छन् । साथै, विवाह निमन्त्रणापत्रमै ‘दाइजोमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश समावेश गर्न उनले अनुरोध गरेकी छन् । सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ अघि बढ्न उनले आह्वान गरेकी छन् ।

१६- सोपान फर्मास्यूटिकल्स लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन गरेको छ । कम्पनीले दोस्रो चरणअन्तर्गत ३४ लाख ७४ हजार ९०० कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा बिक्रीमा ल्याएको हो । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर बाँडफाँट गरिसकेको छ । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबरको कुल ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । सोहीमध्ये बाँकी रहेको शेयर सर्वसाधारणका लागि खुला गरिएको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन अवधि वैशाख ८ गतेसम्म रहनेछ । आइपिओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि-आस्बा प्रणालीमार्फत नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

१७- साउदी अरबले अनुमति बिना हज गर्नेलाई कडा कारबाही गर्ने घोषणा गरेको छ । अप्रिल १८ देखि जुनको मध्यसम्म लागू हुने नयाँ नियमअनुसार अधिकतम १ लाख साउदी रियालसम्म जरिवाना लगाइने बताइएको छ । हज सिजनका बेला मक्का र आसपासका पवित्र स्थलमा कडाइ गरिने जनाइएको छ । गृह मन्त्रालयका अनुसार भ्रमण भिसा मिलाइदिने, यातायात वा बसोबासको व्यवस्था गर्ने व्यक्तिलाई पनि समान जरिवाना गरिनेछ । एकभन्दा बढी व्यक्ति संलग्न भएमा जरिवाना रकम अझ बढ्न सक्नेछ । अनुमतिबिना मक्कामा प्रवेश गर्ने वा भिसा अवधि नाघेर बस्ने व्यक्तिलाई देशनिकाला गरी १० वर्षसम्म पुनः प्रवेशमा प्रतिबन्ध लगाइनेछ । यसका साथै यस्ता गतिविधिमा प्रयोग गरिएका सवारीसाधनसमेत जफत गर्न सकिने व्यवस्था गरिएको छ । जरिवाना लगाएपछि ३० दिनभित्र उजुरी दिने र ६० दिनभित्र प्रशासनिक अदालतमा पुनरावेदन गर्ने अधिकार पनि दिइएको छ ।

१८- इरानी सेनाको नियन्त्रणमा रहेका उदयपुरको गाईघाटका अमृत झा रिहा भएका छन् । कतारस्थित नेपाली दूतावासले अमृत झा रिहा भएको परराष्ट्र मन्त्रालयको पश्चिम एसिया महाशाखालाई जानकारी गराएको छ। अमृतकी दिदी पूजा झाले पनि भाइ रिहा भएको जानकारी पाएको बताएकी छन् । ३० वर्षीय अमृत झासहित ७ जनालाई इरानी सुरक्षाकर्मीले हर्मुजभन्दा माथि रहेको समुद्री आइल्यान्ड केशनबाट पक्राउ गरेको थियो । परराष्ट्र मन्त्रालयले झालाई इरान युद्ध भन्दा अगाडी नै पक्राउ गरेको बताएको थियो ।

images

१९- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरि डिजेल मट्टितेलमा प्रति लिटर ३० रुपैयाँका दरले मूल्य वृद्धि गरेको हो । मुल्य वृद्धिपछि काठमाडौँ उपत्यकामा डिजल- मट्टीतेल प्रतिलिटर २३७ पर्ने भएको छ । निगमले मुल्य समायोजन पछि पनि डिजलमा प्रति लिटर ९९.१६ रुपैयाँ घाटा रहेको जनाएको छ ।  त्यस्तै हवाई इन्धन आन्तरिक तर्फ प्रति लिटर ५ रुपियाँले बढेको छ ।  निगमले यो समायोजन पछि निगमलाई पाक्षिक रुपमा ५ अर्ब ७५ करोड घाटा रहेको बताएको छ । निगमले पेट्रोल र एलपी ग्याँसको मुल्य भने यथावत राखेको छ ।

२०- रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखसँग ४-३ गोल अन्तरले पराजित भएसँगै समग्रमा ६-४ गोल अन्तरले पराजित भएको हो । यस अघि पहिलो लिगमा बायर्न म्युनिख २-१ गोल अन्तरले विजयी भएको थियो । यस खेलमा बायर्नका लागि ह्यारी केन, लुइस डियाज, माइकल ओलीस र अलेक्जेन्डर पाभलोभीकले एक एक गोल गरेका थिए । त्यस्तै रियल म्याड्रिडका लागि आर्दा गुलेरले २ र किलियन एम्बाप्पेले एक गोल गरेका थिए । यस खेलको अन्त्य तिर रियल म्याड्रिडका एडुआर्ड़ो कामाभिंगा र आर्दा गुलेरले रातो कार्ड पाएका थिए । अब च्याम्पियन्स लिगको सेमिफाइनलआमा बायर्न म्युनिखले पिएसजीको सामना गर्ने भएको छ । सेमिफाइनलको पहिलो लिग अप्रिल २८ मा हुने छ भने दोस्रो लिग मे ६ मा हुने छ ।  त्यस्तै गएराती सम्पन्न क्वाटरफाइनलको अर्को खेलमा दोस्रो लिगमा स्पोर्टिंग सिपिसँग गोल रहित बराबरीमा रोकिएसँगै समग्रमा १-० को नतिजासहित आर्सनल सेमिफाइनलमा पुगेको हो । यस अघि पहिलो लिगमा आर्सनल १-० ले विजयी भएको थियो । अब आर्सनल सेमिफाइनलमा एटलेटिको म्याड्रिडसँग खेल्ने छ । सेमिफाइनलको पहिलो लिग अप्रिल २९ मा हुने छ भने दोस्रो लिग मे ५ मा हुने छ ।

 

May be an image of textNepal life insuranceimagesimagesimages