माओवादी भ्रातृ संगठन वाइसीएल पार्टी विरुद्ध ओर्लिएपछि एकीकृत माओवादीले वाइसीएल कार्यकर्तालाई पार्टीबाटै प्याकेज दिने निर्णय गरेको छ । सुदूर पश्चिमबाट वाईसीएलले पार्टी विरुद्ध आन्दोलन शुरु गरेपछि आज राजधानीमा बसेको माओवादी स्थायी समिति वैठकले लडाकुबाट वाइसीएल बनाइएका कार्यकर्तालाई राहत प्याकेज दिने निर्णय गरेको हो । प्याकेज के कस्तो हुने र कहिले दिइने भन्ने चाँही खुलाइएको छैन ।
यता, माओवादी सेनाबाट वाइसीएल बनाइएपछि महासचिव रहेका माओवादी पूर्व लडाकु दिलीप प्रजापतीले पार्टीले वाइसीएलको मागलाई सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।
पार्टीले शिविरमा रहेका हजारौं लडाकुलाई बाहिर निकालेर संविधान सभाको निर्वाचनमा प्रयोग गरेको पनि खुलासा गर्नुभयो ।
माओवादीले वाइसीएल गठन गरेपछि प्रत्येक जिल्लामा लडाकुका व्रिगेड कमाण्डरलाई वाइसीएल इञ्चार्ज र कम्पनी कमाण्डरलाई सहायक इञ्चार्ज बनाएको पनि वाइसीएल कार्यकर्ताहरुले अहिले खुला गर्न थालेका छन् । यस्तै वाइसीएलको भरणपोषणका लागि भन्दै प्रत्येक लडाकुबाट मासिक १ हजार रुपैयाँ कटाईदै आएको पनि लडाकुहरुले बताएका छन् ।



