आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

 

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका सङ्घको १५२औँ महासभाको क्रममा भएको भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित तथा संसदीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । भेटमा अध्यक्ष दाहालले संसदीय सहकार्य विस्तार, अनुभव आदानप्रदान तथा सिधा हवाई सेवा सञ्चालनको आवश्यकता औंल्याएका छन् । उनले अष्ट्रेलियामा रहेका नेपाली समुदायको शिक्षा, रोजगारी र सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् । सभामुख डिकले नेपाल–अष्ट्रेलिया सम्बन्ध सौहार्दपूर्ण रहेको उल्लेख गर्दै संसदीय सहकार्य थप मजबुत बनाउने बताएका छन् । उनले शैक्षिक सहकार्य र हवाई सेवाका विषयमा सकारात्मक रहेको पनि जानकारी दिएका छन् ।

२- कोलकोता नाइट राइडर्सले जारी आइपिएलमा पहिलो जित हासिल गरेको छ । आइतबार सम्पन्न खेलमा कोलकोताले राजस्थानलाई ४ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १५६ रनको लक्ष्य पछाएको कोलकोताले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । कोलकोताको जितमा रिंकु सिंहले ५३ रन बनाएका थिए भने अनुकुल रोयले २९ रन बनाएका थिए । त्यस्तै क्यामरुन ग्रीनले २७ र रोभमन पावेल २३ रन बनाएका थिए । त्यस्तै यसअघि पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । राजस्थानका लागि वैभव सूर्यवंशीले ४६ र यशस्वी जैसवालले ३९ रन बनाएका थिए ।  यो जितपछि कोलकोताको ७ खेलमा ३ अंक भएको छ भने राजस्थानको ६ खेलमा ८ अंक रहेको छ ।

images

३- रुवाण्डामा जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा नेपालले इटालीलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा नेपालले इटालीलाई ५० रनले पराजित गरेको हो ।  नेपालले दिएको ११३ रनको लक्ष्य पछाएको इटाली १८.४ ओभरमा अलआउट हुदै ६२ रन मात्र बनाएको थियो । यसअघि पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउदै ११२ रन बनाएको थियो । यो नेपालको जारी प्रतियोगितामा दोस्रो खेलमा पहिलो जित हो । त्यस्तै पहिलो खेल जितेको इटालीको पहिलो हार हो । नेपालले अर्को खेल अप्रिल २२ मा रुवाण्डासँग, अप्रिल २४ मा भानुआटुमा, अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

४- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका छन् । आइतबार काठमाडौंमा बसेको १४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरुको छलफलका क्रममा पार्टी विवादका विषयमा अदालतले फैसला गरिसकेको अवस्थामा अव पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्ने निष्कर्ष निकालेका हुन् । देउवा पक्षका नेता श्यामकुमार घिमिरे अब पार्टीले आन्तरिक एकतालाई प्राथमिकता दिँदै सबै पक्षलाई समेटेर अघि बढ्नुपर्ने तथा वर्तमान सभापति गगन थापाले समावेशी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखेका थिए । उनले भने- ‘कानुनी पाटो अब सकिएको छ । राजनीतिक रुपले हामीले पार्टीलाई एकताबद्ध गरेर लैजानुपर्ने आजको आवश्यकता हो । अब कानुनी लडाई सकिएको छ । अब राजनीतिक रुपले अहिलेका वर्तमान सभापति संस्थापन पक्षका गगन थापाले सबैलाई समेट्ने गरी भूमिका खेल्नुपर्छ भन्ने हो । असन्तुष्ट पक्षहरु हिजोको संस्थापन पक्षले पनि अब पार्टीलाई एकताबद्ध गरेर लैजाने बाटोमा जानुपर्छ ।’ उनले असन्तुष्ट पक्षलाई पनि एकताको प्रक्रियामा सहभागी गराउँदै पार्टीलाई सुदृढ बनाउने दिशामा अघि बढ्नुपर्ने बताए । बैठकमा देउवा पक्षले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरेपनि केहि विषयमा अझै अस्नातुष्टि देखिएको र पुनरावलोकनमा जाने विषयमा समेत छलफल भएको बुझिएको छ ।

५- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान पुग्ने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले इरानले शनिबार होर्मुज जलडमरुमा गोलीबारी गर्दै युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । उनले जलडमरु बन्द गर्दा इरानले दैनिक करिब ५० करोड अमेरिकी डलर बराबरको नोक्सानी व्यहोर्नु परेको दाबी गरेका छन् भने अमेरिकालाई कुनै क्षति नभएको उल्लेख गरेका छन् । ट्रम्पले इरानले अमेरिकी प्रस्ताव स्वीकार नगरेमा उसका ऊर्जा केन्द्र र पुलहरूलाई निशाना बनाउन सकिने चेतावनी पनि दिएका छन् । यसैबीच अमेरिका र इरानबीच सम्भावित दोस्रो चरणको युद्धविराम वार्ताअघि पाकिस्तानको राजधानी इस्लामाबादमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सडकमा सुरक्षा बल परिचालन गरिएको, पर्यटकीय स्थल बन्द गरिएको र ठूला होटलहरूलाई बुकिङ रद्द गरी तयारी अवस्थामा रहन निर्देशन दिइएको जनाइएको छ । औपचारिक घोषणा नभए पनि अधिकारीहरूले वार्ताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । मध्यस्थतामा संलग्न एक क्षेत्रीय अधिकारीका अनुसार अमेरिकी अग्रिम सुरक्षा टोलीहरू समेत इस्लामाबाद पुगिसकेका छन् ।

६-  नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक सोमबार बस्ने भएको छ । सचिव दिनेश थापामगर बैठक सोमबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ । बैठकले यसअघि पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खडकालाई सोधेको स्पष्टीकरण बारे छलफल गर्ने बताइएको छ  ।

७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीको पहिलो महाधिवेशनमा केन्द्रित हुने भएको छ । आज बसेको केन्द्रीय सचिवालय बैठकले यहि बैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । यसअघि पटक पटक सर्दै आएको रास्वपाको महाधिवेशन आगामी भदौ-असोजसम्म गरिसक्ने तयारी शुरु भएको बताइएको छ ।

८-  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले क्रियाशिल सदस्यताको डिजिटल अद्यावधिक अभियानलाई सफल पार्न बाग्मती प्रदेशका नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित जिल्ला सभापति, जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, पार्टीले जरा अभियानका लागि खटाएका केन्द्रित प्रतिनिधि लगायतको प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सदस्यतालाई सहज र प्रविधिमैत्री बनाउन डिजिटल अद्यावधिक गर्न लागिएको बताए । एक पटक डिजिटल रेकर्ड भए पछि नवीकरणमा सहजता पुग्ने भन्दै उनले एक पटक आ आफ्नो स्थानबाट मेहनत गरिदिन नेताहरुलाई आग्रह गरे । सदस्यता डिजिटल अद्यावधिक गर्न लागिए पनि पुरानो खारेज नहुने भन्दै उनले यसमा अलमलमा नपर्न आग्रह गरे । ‘पुरानो क्रियाशील खारेज होइन, अद्यावधिक गर्न लागिएको हो,’ उनले भने,‘यसमा कोही अलमलमा नपरौं ।’ महामन्त्री पौडेलले निर्वाचन प्रचारको शैली फेरिएर डिजिटल हुन थालेको भन्दै पार्टी सर्कुलर गर्न, आम सदस्यको राय लिन तथा पार्टीका गतिविधि बारे जानकारी दिन अब डिजिटल प्रविधिको उपयोग गरिने बताए । महामन्त्री पौडेलले पार्टीको सदस्य सँग पार्टी विचार लिन, जिम्मेवार बनाउन र सदस्यको क्षमताको रोष्टर तयार पार्न पनि डिजिटल अद्यावधिक आवश्यक रहेको बताए । महामन्त्री पौडेलले सदस्यताका लागि वडामा नै जानुपर्ने व्यवस्था गरिएको भन्दै सदस्यलाई आफ्नै टोलमा फर्काउन र चिनारी बढाउन वडामा नै जानु पर्ने व्यवस्था गरिएको बताए । ‘हरेक क्रियाशिल सदस्यलाई प्रणालीमा जोड्न र अपनत्वको भाव विकास गर्न वडामै जान प्रोत्साहित गरिएको हो,’ उनले भने, ‘यसले विवरणमा पारदर्शिता समेत कायम गर्न सकिनेछ ।’ कुनै विशेष कारण जान वडा जान नसक्नेका हकमा के गर्ने भन्ने विषय छलफलमार्फत टुंग्याइने उनले बताए । कांग्रेसले जिल्ला सभापति मार्फत सबै वडामा सदस्यताको फारम पठाउनेछ । वडा सभापति मार्फत अन्य क्रियाशील अद्यावधिक हुने तथा नवीकरण गरिसकेका सदस्यहरूको वडा सभापतिले सदर गरेर इन्ट्री गरेपछि वैध मानिने व्यवस्था मिलाइएको छ । सदस्यता नवीकरण नभएकाले नयाँ फर्म भर्न सकिने भए पनि अद्यावधिक नभएमा आगामी महाधिवेशनसम्बन्धी प्रक्रियामा भाग लिन पाइने छैन ।

९- वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन सक्ने भएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय(केयू)बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो । उक्त प्रयोजनका लागि यही वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको छ । योसँगै विद्यार्थीहरूले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन् । साथै सम्पूर्ण प्रक्रिया पूरा भएपछि आफ्नो प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । दुवै विश्वविद्यालयसँग अन्तरआवद्धता हुनुभन्दा अगाडि आवेदकले आवेदन दिइसकेपछि, आवेदकले राखेको नागरिकताको विवरण गृह मन्त्रालयसँग अन्तरआवद्धता भएको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट’ (सीआइएमएस) मा भेटिएको अवस्थामा र आवेदकले राखेको एनईबीको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणको आधारमा एनईबीसँग अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्र देखिएमा आवेदक विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने भएको छ । तर फेसलेस बनाउँदा आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदनमा विश्वविद्यालयको सर्टिफिकेट राख्नु पर्ने र विश्वविद्यालयका प्रणालीहरूसँग अन्तरआवद्धता नभएकाले आवेदक सर्टिफिकेट विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनुपर्ने अवस्था रहेको थियो । महालेखा नियन्त्रणको कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँग अन्तरआवद्धता भएकाले एनओसीको राजस्व पूर्ण रूपमा अनलाइनमार्फत लिइएको छ । एप्रुभ भएको एनओसी सर्टिफिकेट आवेदकले आफ्नै प्रोफाइलबाट पेपरलेस डाउनलोड गर्न सक्नेछन् । सर्टिफिकेटमा क्यूआर कोड भएकाले क्यूआर स्क्यानरबाट हेर्न सकिनेछ । त्रिवि र केयूसँग अन्तरआवद्धता भएपछि आवेदकले स्नातकोत्तर वा सोभन्दा माथि अध्ययन गर्न जाँदाको हकमा आवेदकले आवेदनमा राखेको विश्वविद्यालयको रजिस्ट्रेसन नम्बर, जन्ममिति विवरणको आधारमा त्रिवि र केयूसँग फेसलेस अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्रका विवरणहरू देखिने र आवेदक सर्टिफिकेट विवरणहरू रुजु गर्न भौतिक रूपमा कार्यालयमा उपस्थित हुनु नपर्ने एनओसी शाखाले जनाएको छ ।

१०- नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरेको समितिलाई पूर्णता दिएको छ । केन्द्रीय कार्यसमितिको २०८२ चैत्र ११ गते बसेको बैठकले पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा संविधान संशोधन अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको हो । समितिमा वरिष्ठ अधिवक्ताहरू र कानुन क्षेत्रका विज्ञहरू सदस्यका रूपमा रहेका छन् भने राजु कटुवाल सदस्य सचिव तोकिएका छन् । समितिमा राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेमबहादुर खडका, उपेन्द्रकेशरी न्यौपाने, शेरबहादुर केसी, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम केसी, ललितकुमार बस्नेत, रनबहादुर थेवे, शर्मिला श्रेष्ठ, झलमाया विक र निरज गुप्ता सदस्य रहेका छन् । समितिलाई संविधान निर्माणका क्रममा विभिन्न समुदाय र समूहबाट उठेका माग, आन्दोलन तथा भएका सहमतिहरूको अध्ययन–विश्लेषण गर्ने जिम्मेवारी दिइएको छ । साथै संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या, संघीयता कार्यान्वयन र विभिन्न तहका सरकार सञ्चालनमा देखिएका चुनौतीबारे अध्ययन गर्ने कार्यादेश दिइएको छ । त्यसैगरी सुशासन, सेवा प्रवाह, प्रतिनिधित्वका विषयमा उठेका माग, पार्टीको चुनावी प्रतिज्ञापत्रमा उल्लेख गरिएका संविधान संशोधनसम्बन्धी बुँदा तथा पछिल्लो समय विकसित राजनीतिक अवस्थाको समेत अध्ययन गर्ने जिम्मा समितिलाई दिइएको छ । समितिले लोकतन्त्रका मूल्य, नागरिक अधिकार र समावेशी सिद्धान्तलाई अझ सुदृढ बनाउने गरी सुझावसहितको प्रतिवेदन तयार पार्नेछ । सोही प्रतिवेदनका आधारमा नेपाली कांग्रेसले संविधान संशोधनबारे आफ्नो धारणा तय गर्ने जनाएको छ । पार्टीले साझा राष्ट्रिय धारणा निर्माणका लागि अन्य राजनीतिक दल, नागरिक समाज र विज्ञहरूसँग संवाद अघि बढाउने तयारी गरेको छ । साथै संविधान संशोधनसम्बन्धी बहस अघि बढाउन सरकारले लिएको पहलप्रति कांग्रेसले स्वागत गर्दै सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

Nepal life insurance

११- नेपाली कम्युनिष्ट पार्टीले सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ । पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई “अमानवीय” भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। विज्ञप्तिमा सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ। “समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौं,” विज्ञप्तिमा भनिएको छ। यसैबीच, नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै पार्टीले तत्काल नियन्त्रण गर्न पनि माग गरेको छ । पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ। पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको संगठित हुने अधिकार संघीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। साथै, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लङ्घन हुने उल्लेख गरिएको छ। वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टीले सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको जनाएको छ। तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको विज्ञप्तिमा उल्लेख छ। पार्टीले सरकारलाई अझ लोकतान्त्रिक, उत्तरदायी र समावेशी बन्न आग्रह गर्दै सुकुम्बासी, किसान, मजदूर तथा उत्पीडित समुदायप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिएको छ। “लोकतन्त्रको सुदृढीकरण अधिकार खोसेर वा जनताको घरबास उजाडेर सम्भव हुँदैन,” विज्ञप्तिमा उल्लेख छ ।

१२- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना नगर्न चेतावनी दिएका छन् । उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था खर्चेर बनेको पार्टी भएकाले केवल निर्वाचन हार्दैमा यसको भविष्य समाप्त नहुने बताएका छन् ।  उनले भनेका छन्- ‘ राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ। म जस्ता असंख्यको रगत, पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन ।’ उनका अनुसार पार्टीले चुनाव हार्नु अलग कुरा भए पनि अस्तित्व समाप्त हुने विषय होइन । लिङदेनले राप्रपा आफ्नो मूल अवधारणाबाट पछि नहट्ने स्पष्ट पारेका छन् । उनले अभिभावकीय राजसंस्था, सनातन धर्ममा आधारित हिन्दू राष्ट्र तथा प्रशासनिक रूपमा झन्झटिलो र बोझिलो प्रदेश संरचनाको पुनरावलोकनसम्बन्धी धारणा यथावत रहने बताए । उनले पार्टीभित्र भएका कमजोरी सुधार्दै राप्रपा पुनर्गठन गरेर फेरि सशक्त रूपमा अघि बढ्ने दाबी गरेका छन् ।

१३- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले पत्रकारितामा महिलामाथि गरिने टिप्पणीप्रति असन्तुष्टि जनाउँदै जिम्मेवार अभ्यासको आवश्यकता औंल्याएकी छन् । उनले आफू पत्रकारिता पृष्ठभूमिबाट आएले सञ्चार क्षेत्रप्रति सधैं सम्मान रहेको बताउँदै वर्तमान लोकतान्त्रिक अभ्यासको महत्त्वपूर्ण चरणमा केही प्रवृत्तिबारे खुलेर बोल्नुपर्ने अवस्था आएको उल्लेख गरेकी छन् । धितालले विशेषगरी युवा महिलासँग प्रश्न गर्दा ‘राम्री हुनुहुन्छ, चिटिक्क भएर आउनु भएको छ’ जस्ता टिप्पणीबाट संवाद सुरु गर्ने अभ्यास बढ्दो देखिएको बताइन् । उनले यस्तो शैलीले महिलालाई विषयवस्तुभन्दा बाह्य रूपमै सीमित गर्ने संरचनागत प्रवृत्ति बलियो बनाउने धारणा राखिन् । उनका अनुसार समानता, सम्मान र अर्थपूर्ण प्रतिनिधित्वका लागि भइरहेको संघर्षका बीच बाह्य रूपलाई केन्द्रमा राख्ने भाषाले मुद्दालाई ओझेलमा पार्ने र सार्वजनिक बहसको स्तर घटाउने काम गर्छ । उनले महिलाहरू आफैं पनि आफ्नो प्रस्तुति र व्यवहारप्रति सचेत हुनुपर्ने उल्लेख गर्दै अरूले बनाएको सौन्दर्य मापदण्डमै सीमित नहुन आग्रह गरिन् । धितालले सञ्चारकर्मीलाई माइक विचार व्यक्त गर्ने माध्यम भएको स्मरण गराउँदै सौन्दर्यको मूल्यांकन गर्ने ठाउँ नभएको बताइन् । उनले कुन सन्दर्भमा कस्तो प्रश्न गर्ने भन्नेमा सजग र जिम्मेवार बन्न आग्रह गरिन् । उनले पत्रकारितामा अझ गहिरो र बौद्धिक प्रश्न उठ्नुपर्ने आवश्यकता औंल्याउँदै मुख्यधार र वैकल्पिक माध्यमबीचको दूरी पनि प्रश्नको स्तरले निर्धारण हुने बताइन् । आवश्यक परे नयाँ माध्यमबाट सिकेर पनि प्रश्न गर्ने स्तर उकास्नुपर्ने उनको भनाइ छ । सामाजिक सञ्जालमा महिलाको हिँडाइ, हाँसो वा प्रस्तुतिलाई वस्तुकरण गर्ने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता अभ्यासले गलत संस्कारलाई अझ बलियो बनाउने धारणा राखेकी छन् ।  उनले सञ्चार माध्यम केवल सूचना प्रवाह गर्ने माध्यम मात्र नभई समाजको चेतना निर्माण गर्ने शक्ति भएको उल्लेख गर्दै त्यसलाई जिम्मेवार, संवेदनशील र रूपान्तरणमुखी बनाउनुपर्नेमा जोड दिइन् ।

१४- करिब १२ वर्षपछि अमेरिकाले सिरियाबाट आफ्ना सैनिक फिर्ता बोलाएको छ । अमेरिकी सेनाले त्यहाँ रहेका सबै सैन्य ठेगाना खाली गरेको जनाएको छ । सन् २०२६ अप्रिलमा हसाका क्षेत्रको कसराक हवाई आधारबाट अन्तिम अमेरिकी सैन्य टोली बाहिरिएसँगै सिरियाली सरकारले सबै ठेगाना आफ्नो नियन्त्रणमा लिएको छ । सिरियाको परराष्ट्र मन्त्रालयले यसलाई देशलाई एकीकृत गर्ने र सम्पूर्ण भूभागमा सरकारी नियन्त्रण विस्तार गर्ने दिशामा ठूलो मोडका रूपमा लिएको जनाएको छ । अमेरिकी केन्द्रीय कमान्डले करिब दुई हजार सैनिक जोर्डनतर्फ सरेको पुष्टि गरेको छ । अमेरिकाले हसाका, रुमैलान र देइर एज–जोर क्षेत्रमा रहेका कम्तीमा सात ठूला ठेगाना खाली गरेको थियो । अन्तिम ठेगाना कसराक हवाई आधार पनि अब सिरियाली सेनाको नियन्त्रणमा आएको छ । यसैबीच सिरिया सरकार र एसडिएफबीच भएको सहमतिपछि कुर्द लडाकुहरूलाई राष्ट्रिय सेनामा समेट्ने प्रक्रिया अघि बढाइएको छ । सीमावर्ती क्षेत्रहरूमा पनि राजधानी दमास्कसको नियन्त्रण बढ्दै गएको जनाइएको छ । हालै सिरियाले अन्तर्राष्ट्रिय इस्लामिक स्टेटविरुद्धको गठबन्धनमा सहभागी हुँदै आफ्नो भूमिका परिवर्तन गरेको छ । यससँगै अमेरिकाको सिरियामा सैन्य उपस्थितिको आधार कमजोर बन्दै गएको र उसले आफ्नो क्षेत्रीय रणनीति पुनः तय गर्न थालेको बताइएको छ । अमेरिका र सिरियाबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहे पनि सन् २०२४ डिसेम्बरमा बशर अल–असदको सत्ता पतनपछि सम्बन्धमा सुधार आएको हो । सन् २०२५ मे महिनामा साउदी अरेबियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र सिरियाली नेतृत्वबीच पहिलो भेट भएपछि अमेरिकाले सिरियामाथि लगाइएका धेरैजसो प्रतिबन्ध हटाउने घोषणा गरेको थियो । दुई देशबीच कूटनीतिक सम्बन्धको सुरुआत सन् १८३५ मा भएको थियो ।

१५- एशियामा फेरि तनाव बढेको छ । आइतबार उत्तर कोरियाले आफ्नो पूर्वी समुद्री क्षेत्रतर्फ धेरै ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दाबी गरिएको छ । दक्षिण कोरियाली सेनाको संयुक्त प्रमुख समितिका अनुसार ती क्षेप्यास्त्र आइतबार बिहान उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र सिनपोबाट प्रक्षेपण गरिएको हो । यो क्षेत्र यसअघि पनि यस्ता परीक्षणका लागि चिनिँदै आएको छ । दक्षिण कोरियाले अवस्थामाथि निरन्तर निगरानी राख्दै सुरक्षा तयारी अझ कडा बनाइएको जनाएको छ । यसैबीच जापानमा पनि आइतबार बिहान त्रास फैलिएको छ । उत्तर कोरियाबाट क्षेप्यास्त्र प्रक्षेपण भएको खबर आएपछि जापान सरकारले उच्च सतर्कता अपनाउँदै देशभर सुरक्षा व्यवस्था कडा बनाएको छ । प्रारम्भिक जानकारीअनुसार ती क्षेप्यास्त्र जापानको विशेष आर्थिक क्षेत्र बाहिर समुद्रमा खसेको बताइएको छ । घटनापछि जापान, अमेरिका र दक्षिण कोरिया मिलेर अवस्थाको विश्लेषण गरिरहेका छन् । क्षेप्यास्त्र प्रक्षेपणको उद्देश्य र सम्भावित जोखिमबारे तीनै देशले संयुक्त रूपमा अध्ययन गरिरहेका छन् । जापान सरकारले प्रधानमन्त्री कार्यालयको संकट व्यवस्थापन केन्द्रमा आपतकालीन बैठक बोलाएर सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । यता दक्षिण कोरियाले पनि निगरानी बढाएको छ र अमेरिका तथा जापानसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । सञ्चार माध्यमका अनुसार यस वर्ष उत्तर कोरियाले गरेको यो सातौं ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण हो भने अप्रिल महिनामै चौथो परीक्षण हो । यो कदम संयुक्त राष्ट्र सुरक्षा परिषद्का नियमहरूको उल्लंघन मानिन्छ । यद्यपि उत्तर कोरियाले यी प्रतिबन्ध अस्वीकार गर्दै आत्मरक्षाका लागि यस्तो कदम आवश्यक रहेको बताउँदै आएको छ । उत्तर कोरियाका नेता किम जोंग उनले देशको सुरक्षा सुदृढ गर्न परमाणु र क्षेप्यास्त्र क्षमता निरन्तर विस्तार गरिने बताउँदै आएका छन् । यसैबीच अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीले पनि चेतावनी दिँदै उत्तर कोरियाले आफ्नो परमाणु क्षमता तीव्र रूपमा बढाइरहेको र युरेनियम संवर्धनका नयाँ संरचना तयार गरेको हुन सक्ने जनाएको छ ।

१६- वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तारको काम आइतबार बिहानदेखि सुरु भएको छ। सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य सडक राष्ट्रिय राजमार्गको मापदण्डअनुरूप दायाँ र बायाँ २५-२५ मिटर चौडा पार्ने काम आइतबार बिहानदेखि डोजर चलाएर सुरु गरिएको हो । सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, आदर्शनगर, मकालु होटल चोक, विर्ता, छपकैया, भन्सार हुँदै मितेरी पुलसम्मको मुख्य सडक २५/२५ मिटर विस्तार गर्ने काम हुने जानकारी दिएको छ ।  यस्तै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि सडक विस्तार कार्यका लागि सडक विभागले माग गरेको सहयोग दिन महानगरपालिका तयार रहेको बताएका छन् । मेयर सिंहले भनेका छन्- ‘वीरगन्जको मुख्य सडकको दायाँ–बायाँ रहेका भौतिक संरचना २५/२५ मिटर हटाउने सम्बन्धमा सम्मानित सर्वोच्च अदालतको मिति २०८१ फागुन २८ गतेको फैसला बमोजिम संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, सडक डिभिजन हेटौंडाले वीरगन्ज महानगरपालिकासँग सहयोग माग गरेकोमा त्यस कार्यका लागि महानगरले जिल्ला-स्थित सुरक्षा निकायहरूलाई समेत सहयोगका लागि अनुरोध गरेको छ।’ त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको गण्डक चोकदेखि नेपाल–भारत सीमाको मितेरी पुलसम्मको मुख्य सडक विस्तार गर्न लागिएको २५/२५ मिटरको क्षेत्रमा सरकारी कार्यालयका २९ वटा भवन तथा व्यक्तिका निजी करिब १,२०० वटा घरहरू रहेको सडक डिभिजन हेटौडाले जनाएको छ । सर्वोच्च अदालतले त्रिभुवन राजपथमा पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) विस्तार सम्बन्धी मुद्दामा २०८१ फागुन २८ मा सरकारको पक्षमा फैसला गरेको झण्डै १३ महिनापछि उक्त फैसला कार्यान्वयनका लागि आइतबारदेखि काम सुरु गर्न लागिएको हो । पटक–पटक पेसी सर्दै आएको उक्त मुद्दामा सर्वोच्च अदालतले २०८१ फागुन २८ मा विपक्षी (घरजग्गाधनीहरू) को रिट खारेज गर्दै सरकारको पक्षमा फैसला गरेपछि सडक विस्तारको बाटो खुलेको थियो । तर सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदा फैसला कार्यान्वयनका लागि सडक डिभिजन कार्यालयले अग्रसरता लिएको थिएन । सर्वोच्च अदालतले वीरगन्जको मुख्य सडक विस्तार सम्बन्धी रिट निवेदन खारेज गरेको फैसलाको पूर्णपाठ फैसला भएको १ वर्षपछि अर्थात गत फागुन २४ गते मात्र सार्वजनिक गरेको थियो । तर सर्वोच्च अदालतको फैसला कार्यान्वयन महाशाखाबाट फैसला कार्यान्वयनका लागि पत्र नआएको भन्दै सडक विभागले सडक विस्तारमा हात हालेको थिएन । २०६९ सालमा नै सडक विभागले वीरगन्जको मेनरोड विस्तारका लागि सडकको मध्यभागबाट दायाँ–बायाँ दुवै तर्फ २५-२५ मिटरभित्र पर्ने भौतिक संरचना खाली गर्न सूचना निकाले पनि करिब १२ सय घरधनीले सर्वोच्च अदालतमा रिट हालेपछि विस्कातार रोकिएको थियो ।

१७- होर्मुज जलडमरु हुँदै भारततर्फ कच्चा तेल र ग्यास बोकेर आएका दुई जहाजमाथि इरानले गोली चलाएको छ । समाचार संस्था पीटीआईका अनुसार भारत आउँदै गरेका १४ वटा जहाजलाई इरानको रिभोल्युशनरी गार्डले होर्मुज जलडमरु पार गर्न रोकेको थियो । गोलीबारीपछि १३ वटा जहाज फारसको खाडीमा विभिन्न स्थानमा फर्किएका छन् । एक जहाजमा गोली लागेको छ भने एउटा जहाज भने जलडमरु पार गर्न सफल भएको जनाइएको छ । घटनापछि भारतको परराष्ट्र मन्त्रालयले भारतस्थित इरानी राजदूत डा. मोहम्मद फतहअलीलाई समन गर्दै विरोध जनाएको छ । मन्त्रालयले जारी गरेको वक्तव्यमा इरानले यसअघि भारतीय जहाजलाई सुरक्षित मार्ग दिँदै आएको उल्लेख गर्दै यथाशीघ्र जहाजको आवागमन पुनः सुरु गराउन आग्रह गरिएको छ । यसअघि इरानले होर्मुज जलडमरु बन्द गर्ने घोषणा गरेको थियो । अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै इरानले यस्तो निर्णय लिएको बताइएको छ, तर २४ घण्टाभित्रै आफ्नो निर्णय परिवर्तन गरेको जनाइएको छ ।

images

१८- म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा चेल्सीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा खेलको ४३औं मिनेटमा माथेअस चुन्हाले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यो जितपछि म्यानचेस्टर युनाइटेड ३३ खेलमा ५८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै चेल्सीको भने ३३ खेलमा ४८ अंक रहेको छ र हाल छैटौं स्थानमा छ ।

१९- सनराइजर्स हैदरावादले जारी आइपिएलमा चेन्नईलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई १० रनले पराजित गरेको हो । सनराइजर्सले दिएको १९५ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउदै १८४ रन मात्र बनाएको थियो । चेन्नईका लागि म्याथ्यु शर्टले सर्बाधिक ३४, आयुष मात्रेले ३० र सरफराज खानले २५ रन बनाएका थिए । त्यस्तै सनराइजर्सका बलर इशान मालिंगाले ३ विकेट लिए भने नितिश कुमार रेड्डीले २ विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १९४ रन बनाएको थियो । सनराइजर्सका लागि अभिषेक शर्मा र हेईनरीच क्लासेनले ५९-५९ रन बनाएका थिए । त्यस्तै चेन्नईका बलर जामि ओभरटन र अन्शुल काम्बोजले ३-३ तथा मुकेश चौधरीले २ विकेट लिएका थिए । यो जितपछि सनराइजर्सको ६ खेलमा ३ जित र ३ हारसहित ६ अंक भएको छ र चौथो स्थानमा रहेको छ । त्यस्तै चेन्नईको भने ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

images

२०- बलिवुड अभिनेत्री दीपिका पादुकोणले दोस्रो सन्तानको अपेक्षा गरिरहेको जानकारी सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत भावनात्मक सन्देशसहित यो खबर साझा गरेकी हुन् । सार्वजनिक गरिएको तस्वीरमा उनकी छोरी दुआले गर्भ परीक्षण उपकरण समातेको देखिन्छ । दीपिकाले तस्वीरसँग कुनै शब्द प्रयोग नगरी केवल नजर नलागोस् भन्ने संकेत दिने चिन्ह राखेकी छन् । उक्त पोस्ट सार्वजनिक भएको केही समयमै दर्शक तथा चलचित्र क्षेत्रका व्यक्तिहरूले बधाई सन्देश दिएका छन् । दीपिका र रणवीर सिंह लामो समयदेखि चर्चित जोडीका रूपमा परिचित छन् । उनीहरूले सन् २०१८ मा इटालीको लेक कोमोमा दुई दिने विशेष समारोहबीच विवाह गरेका थिए । विवाहमा दुवै परिवारका परम्परा समेटिएका थिए । यो जोडीको सन् २०२४ मा पहिलो सन्तान छोरीको जन्म भएको थियो । पछि उनीहरूले छोरीको नाम ‘दुआ पादुकोण सिंह’ राखेको सार्वजनिक गरेका थिए, जसको अर्थ प्रार्थना हुन्छ । अहिले दोस्रो सन्तानको खबरसँगै उनीहरूको परिवारमा नयाँ खुशी थपिएको छ । व्यवसायिक रुपमा रणवीर सिंहको धुरन्धर र धुरन्धर-२ ले बलिवुडका अहिलेसम्मकै सबै रेकर्ड तोडेको छ भने दीपिका भने पहिलो बच्चा देखि नै फिल्ममा त्यति सक्रिय रहेकी छैनन् ।

 

Nepal life insuranceimagesimagesimages