


काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले देशभरका विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूबाट दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचना तत्काल हटाउन उपकुलपतिहरूलाई कडा निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको लामो छलफलमा उनले शैक्षिक संस्थाहरूलाई राजनीति मुक्त बनाउने अडान दोहोर्याउँदै कुनै पनि बहानामा क्याम्पस, विद्यालय वा अस्पतालमा दलको प्रभाव स्वीकार्य नहुने स्पष्ट पारे।

सुरक्षाको चिन्ता नगर्न आग्रह गर्दै उनले आवश्यक परे सरकार र सुरक्षा निकायबाट पूर्ण सहयोग उपलब्ध गराइने बताए। साथै, शैक्षिक क्यालेन्डर कडाइका साथ लागू गर्न र परीक्षाको नतिजा एक महिनाभित्र प्रकाशन गर्न निर्देशन दिए।
उपकुलपतिहरूले केही स्थानमा अझै राजनीतिक तनाव रहेको बताए पनि अधिकांशले प्रशासन कडा बनाए शैक्षिक क्षेत्रमा राजनीति अन्त्य गर्न सकिने विश्वास व्यक्त गरेका छन्।



