माओवादी आफैंले सरकारको नेतृत्व गरे पनि शान्ति प्रक्रिया र संविधानले गति लिन नसक्नु षडयन्त्र रहेको फोरम उपेन्द्र यादवको आरोप

विराटनगर  – मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माओवादी आफैंले सरकारको नेतृत्व गरे पनि शान्ति प्रक्रिया, राज्य पुनर्संरचना र संविधानको कामले गति लिन नसक्नु षडयन्त्र रहेको आरोप लगाएका छन् ।

 

पार्टीको तेस्रो मोरङ जिल्ला अधिवेशनलाई शनिबार विराटनगरमा सम्बोधन गर्दै उनले भने, ‘अहिले माओवादीले सरकारको नेतृत्व गरेको छ, नेपाली सेना उसैको मातहत छ, मधेसी मोर्चाको साथ छ, हतियार भएका लडाकु पनि उसैसँग छ, तैपनि शान्ति प्रक्रियाले गति नलिनु षडयन्त्र छ ।’

 

जनताको करबाट संकलित राज्य कोष खर्च गरेर तीन दलका शीर्ष नेताले रिर्सोट फेर्दै बैठक गरेर सहमति बनेन भनिरहनु जनता झुक्याउने काम भएको उनको आरोप थियो । उनले भने, ‘अहिले सरकारले नचाहेर गति नलिएको हो । अरुलाई अधिकार दिनुपर्ला भनेर मुख्य दलका नेता डराएका छन् ।’

 

सरकारमा मधेसी समुदायका धेरै मन्त्री भए पनि मधेसका मुद्दामा बल नदिएको भन्दै आक्रोशित यादवले भने ‘अनुहारमात्रै मधेसी छ, विचार छैन । अहिले सरकारमा रहेकाहरु प्रमुख दलका खटनपटन मान्नेहरु मात्रै छन् ।’ यो अधिवेशनले कार्यसमिति चयन गर्ने जनाइएको छ । – कान्तिपुर