सरकारले जनताका आधारभूत आवश्यकतासमेत परिपूर्ति गर्न नसकेको मजदुर पार्टीका नारायणमान बिजुक्छेको आरोप

कीर्तिपुर  – नारायणमान बिजुक्छे, नेपाल मजदुर किसान पार्टीका अध्यक्षले सरकारले जनताका आधारभूत आवश्यकतासमेत परिपूर्ति गर्न नसकेको आरोप लगाएका छन्। पेट्रोलियम पदार्थको अभावलगायतका विषयले सर्वसाधारण प्रत्यक्ष मारमा परेको उनको गसनासो थियो।

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको नवौँ काठमाडौं जिल्ला सम्मेलनको आज उद्‍घाटन गर्दै उनले सरकारले सर्वसाधारणका आधाभूत आवश्यकता पूरा गराउनसमेत नसकेको बताएका हुन्।

दलहरुका कारण राष्ट्रियता दिन प्रतिदिन सङ्कटमा पर्दै गएको बताउँदै उनले कम्युनिष्ट पार्टी भनिने प्रमुख दलहरु एकीकृत नेकपा (माओवादी) र नेकपा (एमाल)ले कम्युनिष्ट पार्टीका सिद्धान्तलाई आत्मसाथ गर्न नसकेको आरोप लगाए।


माओवादीका लडाकुलाई सेवा सुविधा प्रदान गरिनु कम्युनिष्ट सिद्धान्तअनुरुप नभएको भन्दै उनले कम्युनिष्ट सिद्धान्तमा समाजमा आमूल परिवर्तनका लागि निस्वार्थ सेवा गरिनुपर्ने भए पनि लडाकुलाई सेवा सुविधा प्रदान गर्नु केवल कामका लागि ज्याला प्रदान गरिएको टिप्पणी गरे।


नेपालमा शिक्षा क्षेत्रको विकासका लागि प्रत्येक स्थान र क्षेत्रमा आ-आफ्ना भाषामा शिक्षा पाउने अवस्थाको सिर्जना गरिनुपर्नेमा उनको जोड थियो। रासस