चितवनलाई चार टुक्रा पार्ने गरी राज्य पुर्नसंरचना आयोगले तयार पारेको प्रतिवेदनको विरुद्ध राजधानीलाई नाकाबन्दीको घोषणा

चितवन जिल्लालाई चार टुक्रा पार्ने गरी राज्य पुर्नसंरचना आयोगले तयार पारेको प्रतिवेदनको विरुद्ध चितवनमा गठित संर्घष समितिले राजधानीलाई नाकाबन्दी गर्ने कार्यक्रम घोषणा गरेको छ ।

 

चितवनमा आज सम्पन्न वृहत भेलाले आयोगको बहुमत पक्षले संघियताको नाममा जिल्लालाई चार टुक्रा पार्ने प्रतिबेदन दिएको ठहर गर्दै त्यसको सशक्त प्रतिबाद गर्ने निर्णय गरेको हो ।

 

जातीय राज्य बनाउने मनसायले तयार पारिएको आयोगको प्रतिवेदन असान्दर्भिक भएको ठहर गर्दै माओवादी, कांग्रेस, एमालेलगायतका मुख्य दल र विभिन्न संघ सस्थाहरुको प्रतिनिधत्व हुने गरी संघर्ष समिति घोषणा गरिएको छ ।

 

६ वटा राजनीतिक दलको आव्हानमा बृहत्तर एकीकृत चितवन निर्माण गर्न पांच सय एक सदस्यीय संयुक्त संघर्ष समितिले पहल गर्ने भएको छ ।

 

भेलाका केही सहभागीले चितवनलाई देशको राजधानी बनाउन पहल थाल्नुपर्नेमा समेत जोड दिएका थिए । एकीकृत चितवनको माग गर्दै समितिले फागुन ११ गते आमसभा गर्ने, १२ र १३ गते राजधानीलाई नाकाबन्दी गर्ने र १५ गते चितवन बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।