बिर्तामोड – राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाले बाबुराम भट्टराई नेतृत्वको सरकार हरेक ढंगले असफल भइसकेको बताएका छन् ।
पाँचथरमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बिर्तामोडमा मंलबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राणाले अहिलेकै पाराले जेठ १४ भित्र संविधान बन्न सक्ने अवस्था नरहेको बताए ।
‘आफ्नै आयु दुई तीन साता भएको सरकारले १० वर्षका लागि कार्यक्रम घोषणा गरेको छ,’ अध्यक्ष राणाले भने, ‘महत्त्वाकांक्षी घोषणा हुन्छन् तर काम सिन्को भाचिन्न ।’ उनले सुधारका नाममा मुस्ताङ गाडी चढेका प्रधानमन्त्री भट्टराईले आफ्ना अगाडिपछाडि ४८ वटा प्राडो लगाउनु हास्यास्पद मितव्ययिता भएको बताए । नेता राणाले डा. भट्टराई प्रधानमन्त्री भएपछि राजधानीमा मात्र १३ जनाको हत्या भएको बताउँदै सुरक्षा व्यवस्था दयनीय भएको टिप्पणी गरे ।
‘कालो धनलाई सेतो बनाउनेलगायत तीन विधेयक सरकारले सदनमा प्रस्तुत गरेको छ,’ अध्यक्ष राणाले भने, ‘तर उनकै पार्टीका ७०-८० जना सभासदले विरोध गर्छन्, यस्तो नाटक किन मञ्चन भइरहेको छ ?’ उनले सभामुखले पनि बहुमतबाट निर्णय गराएर अगाडि बढ्न नसकेकामा रोष व्यक्त गरे ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, अत्यधिक लोडसेडिङलगायत विषयमा सरकारले केही गर्न नसकेको उनको टिप्पणी थियो । उनले भने, ‘एउटा सामान्य चिया पार्टीका लागि २७ लाख खर्च गर्ने प्रधानमन्त्रीले मितव्ययिताको कुरा गर्नु लज्जास्पद छ ।’
शान्ति प्रक्रिया घरिघरि अगाडि बढेजस्तो देखिए पनि काम हुन नसकेको नेता राणाको टिप्पणी थियो । उनले प्रचण्ड आफैँ संयोजक रहेको विशेष समितिबाट पारित गरेका विषयलाई पनि सदनमा लगेर आफ्नै पार्टीबाट विरोध गर्न लगाउने दोहोरो चरित्र माओवादीले त्याग्नुपर्ने उनले बताए ।
माओवादीका लडाकुलाई वितरण गरिएको चेक कमान्डरले खोसेको विषय उल्लेख गर्दै नेता राणाले भने, ‘अरू संसारलाई लुटेका माओवादीले आफ्नै कार्यकर्तालाई पनि लुट्न बाँकी राखेनन्, यो घृणित काम हो ।’
– कान्तिपुर



