


नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ‘मे दिवस २०२६’ लाई श्रमिकको हक, प्रविधि र समृद्धिको उत्सवका रूपमा मनाउने भएको छ ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिइएको हो । जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले ‘मे दिवस २०२६’ को अवसरमा आगामी मुख्य कार्यदिशा र लक्ष्यहरू सार्वजनिक गर्दै यस वर्ष जिफन्टले “कामको अधिकार, श्रमको सम्मान, सीपको अभिवृद्धि, प्रविधिसँग प्रगति र श्रमिकसँग समृद्धि” भन्ने मूल नारा तय गरेको बताउनु भयो ।
अध्यक्ष श्रेष्ठले बदलिँदो राजनीतिक र प्राविधिक परिवेशमा ट्रेड युनियन आन्दोलनलाई थप सशक्त र आधुनिक बनाउने बताउनु भयो । अध्यक्ष श्रेष्ठले नवनिर्वाचित सरकारले ट्रेड युनियन अधिकार र संरचनाहरूलाई संकुचित गर्ने प्रयत्न गरिरहेको भन्दै आपत्ति जनाउनु भयो ।

जिफन्टले न्युनतम ज्याला मात्र नभई जीवनयापन लागतमा आधारित ‘लिभिङ वेज’ को व्यवस्था गरिनुपर्ने, अस्थायी, करार र आउटसोर्सिङ श्रमिकसहित सबैलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स र हरित रोजगारी सम्बन्धी तालिमको व्यवस्था गर्ने, ४० वर्षमुनिका युवाहरूको नेतृत्व विकास गर्ने र हरेक तहमा महिला सहभागिता अनिवार्य गर्ने, ई–सदस्यता कार्ड र डिजिटल तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने, श्रमिकहरूकै स्वामित्वमा सहकारी उद्योगहरू प्रवद्र्धन गर्ने कार्यक्रमहरु अघि बढाउने उहँँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानको धारा ३४ ले मौलिक हकका रूपमा ग्यारेन्टी गरेको ट्रेड युनियन अधिकारलाई कसैले खारेज गर्न सक्दैन । सरकार आईएलओ अभिसन्धिको पक्षराष्ट्र भएकाले अन्तर्राष्ट्रिय प्रतिवद्धताविपरित जान मिल्दैन । ट्रेड युनियनहरूलाई दलगत भन्दै बन्द गर्ने कुरा लोकतन्त्रविरुद्धको कदम हो । हाम्रो सन्देश टकराव होइन, साझेदारी हो । उद्योगीहरूसँग सामाजिक सम्झौता र उत्पादकत्व वृद्धिमा सहकार्य गर्न हामी तयार छौँ । उद्योग चलोस्, रोजगारी बढोस् र नाफाको वितरण न्यायपूर्ण होस् भन्ने हाम्रो चाहना हो ।’
अध्यक्ष श्रेष्ठले मजदुर आन्दोलन अब केवल नाराबाजीमा मात्र सिमित नभई पेशागत उन्नति र राष्ट्रिय समृद्धिको सारथि बन्नुपर्ने बताउनु भयो ।

नेपालमा श्रमिकहरूको यकिन तथ्याङ्क नभएकाले सरकारलाई तत्काल ‘श्रमिक पञ्जीकरण’ गर्न जिफन्टले माग गरेको छ । अध्यक्ष श्रेष्ठकाअनुसार नेपालमा झन्डै १ करोड ३० लाख श्रमजीवी रहे पनि उनीहरूको अवस्थाबारे सरकारीस्तरबाट श्रम अडिट हुन नसकेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । जिफन्टले आगामी वैशाख १८ गते (मे १) मे दिवस भव्य रूपमा मनाउन देशभरका लाखौँ श्रमिकहरूमाझ पुग्ने र झन्डै १५ लाख थान सन्देशमूलक पर्चाहरू वितरण गर्ने योजना समेत सार्वजनिक गरेको छ ।



