


नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले ट्रेड युनियनहरू राजनीतिक दलको प्रभावबाट मुक्त भई श्रमिकको मुद्दामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल ट्रेड युनियन काँग्रेसद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले युनियनहरूलाई स्वायत्त ढंगले सञ्चालन गर्न र आफ्नो कार्यशैली परिमार्जन गर्न आग्रह गर्नुभयो ।
सभापति थापाले नेपालको ट्रेड युनियन आन्दोलनले सामाजिक सुरक्षा लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको स्मरण गर्दै अब बदलिँदो परिवेश अनुसार ‘गिग इकोनोमी’ (पठाओ, इनड्राइभर जस्ता सेवा) र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई समेट्नुपर्ने बताउनु भयो ।

थापाले ट्रेड युनियन र राजनीतिक दलबीचको सम्बन्धलाई पुनःपरिभाषित गर्नुपर्ने बताउनु भयो । न्युन पारिश्रमिकमा काम गरिरहेका स्वास्थ्य, शिक्षा र सेवा क्षेत्रका श्रमिकहरूको पहुँचसम्म पुग्न नसकिएको स्वीकार गर्दै थापाले ती क्षेत्रलाई संगठित गर्नुपर्ने बताउनु भयो । नेपाली काँग्रेसले आफ्नो विधान संशोधन गरी विभिन्न पेसागत क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिहरूलाई सिधै केन्द्रिय समितिमा प्रतिष्पर्धा गर्ने बाटो खुला गरेको जानकारी समेत उहाँले दिनुभयो । ट्रेड युनियन आन्दोलनमा लामो अनुभव बटुलेका व्यक्तिहरूले आफ्नो कार्यकालपछि सिधै पार्टीको मूल राजनीतिमा आउन सक्ने व्यवस्थाले राजनीतिलाई थप मर्यादित बनाउने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘ट्रेड युनियन कांग्रेसले पार्टीको विचार र लोकतान्त्रिक मूल्यमान्यतालाई मान्नु एउटा कुरा हो, तर दैनिक कार्यसम्पादनमा यो पूर्णतः स्वायत्त हुनुपर्छ । युनियनको नेतृत्वले पार्टीको मुख ताक्ने होइन, तल श्रमिकको अवस्था हेर्ने हो । दलको झोला बोकेको आरोपबाट मुक्त हुन युनियनले आफ्नो व्यावसायिक मर्यादा कायम राख्नुपर्छ । सरकारमा कुन दल छ भन्ने कुरा ट्रेड युनियनका लागि गौण हुनुपर्छ । काँग्रेसकै सरकार हुँदा पनि श्रमिकका हकहितका लागि युनियनले निर्धक्क भएर प्रश्न उठाउन सक्नुपर्छ । कानूनी प्रक्रिया आफ्नै ठाउँमा होला, तर मानवीय मर्यादा सबैभन्दा ठूलो कुरा हो । रोजीरोटी गुमेका श्रमिकका लागि ट्रेड युनियन कांग्रेस सहयोगी हात बन्नुपर्छ ।’
पार्टीभित्र पनि आत्मचिन्तन र समीक्षा भइरहेको उल्लेख गर्दै थापाले आगामी महाधिवेशनमार्फत सदस्यता वितरण र कार्यशैलीमा व्यापक परिवर्तन गरिने बताउनु भयो । विगतका कमीकमजोरी र सत्ता केन्द्रित राजनीतिका कारण भएका गल्तीहरूलाई सुधार्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । सभापति थापाले श्रमिक आन्दोलनलाई थप सशक्त बनाउन र संविधानप्रदत्त अधिकारको पूर्ण कार्यान्वयनका लागि सबै ट्रेड युनियनहरू एकजुट हुनुपर्नेमा समेत जोड दिनुभयो ।



