प्रजातन्त्र दिवस नमनाएकोमा प्रमुख प्रतिपक्षी कांग्रेसद्धारा आक्रोस व्यक्त

काठमाडौं – नेपाली कङ्ग्रेसले वर्तमान सरकार प्रजातन्त्रप्रति इमानदार नरहेको, प्रजातन्त्र विरोधी र निरंकुश चरित्रको रहेको स्पष्ट भएको जनाएको छ। कङ्ग्रेस सरकारको भर्त्सना गर्छ भन्दै उसले भविष्यमा यस किसिमका मुलुकका ऐतिहासिक दिवस समाप्त गर्ने दुष्साहस नगर्न पनि माओवादी नेतृत्वको सरकारलाई सचेत गराएको छ।


संविधान सभामार्फत् लोकतान्त्रिक संविधान निर्माण गरी मुलुकमा लोकतन्त्रलाई सुदृढ र स्थायी बनाउनुपर्ने समयमा अद्यावधि लोकतन्त्र र लोकतन्त्रका आधारभूत मूल्य, मान्यता नै असुरक्षित रहिरहेको वर्तमान सरकारबाट प्रजातन्त्र दिवसप्रति व्यक्त उदासिनता र बेवास्ताबाट प्रष्ट भएको पनि कङ्ग्रेसले जनाएको छ।

कङ्ग्रेसद्वारा जारी प्रेस विज्ञप्ति

कैंयन बीर सपूतहरुले आफ्नो प्राणको आहुति दिई मुलुकबाट शताब्दी लामो एकतन्त्रीय निरंकुश शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरिएको दिन वि.सं. २००७ फाल्गुण ७ गतेलाई नेपालको इतिहासमा निरंकुशतन्त्रको पराजय र प्रजातन्त्रको विजय भई नेपाल नयाँ युगमा प्रवेश गरेको ऐतिहासिक दिनको रुपमा स्मरण गरिन्छ। प्रजातन्त्र स्थापना सँगै सामाजिक सुधार र परिवर्तन तथा आर्थिक विकासको प्रारम्भ भएको ऐतिहासिक दिन फाल्गुण ७ गते सम्पूर्ण प्रजातन्त्रवादीहरुका लागि हर्ष र गौरवको दिन हो।

बीर शहीदहरुको त्याग, वलिदान र संघर्षबाट प्रजातन्त्रको स्थापना भएको ऐतिहासिक दिन फाल्गुण ७ गतेलाई हरेक वर्ष विशेष महत्व दिई राष्ट्रिय पर्वका रुपमा प्रजातन्त्र दिवस मनाउँदै आइएको हो।

संविधानसभा मार्फत् लोकतान्त्रिक संविधानको निर्माण गरी मुलुकमा लोकतन्त्रलाई सुदृढ र स्थायी बनाउनु पर्ने वर्तमान समयमा अद्यावधि लोकतन्त्र र लोकतन्त्रका आधारभूत मूल्य, मान्यता नै असुरक्षित रहिरहेको, वर्तमान सरकारबाट प्रजातन्त्र दिवसका प्रति व्यक्त उदासिनता र वेवास्ताबाट प्रष्ट भएको छ। यसबाट वर्तमान सरकार प्रजातन्त्रका प्रति इमान्दार नरहेको, प्रजातन्त्र विरोधी र निरंकुश चरित्रको रहेको स्पष्ट भएको छ। नेपाली कांग्रेस सरकारको यस किसिमको व्यवहारको भर्त्सना गर्दछ र भविष्यमा यस किसिमका मुलुकका ऐतिहासिक दिवसहरुलाई समाप्त गर्ने दुष्साहस नगर्न एनेकपा (माओवादी) नेतृत्वको सरकारलाई सचेत गर्दछ।

वसन्तकुमार गौतम
मुख्य सचिव

 

 

-नागरिक