नेपाली फिल्मको बदलिँदो प्रचार शैलीः बम्बईका पोस्टरदेखि डिजिटल युगसम्मको यात्रा

– निमेष गौतम।

दर्शकका लागि फिल्म मनोरञ्जन र निर्माताका लागि व्यवसायको माध्यम हो । फिल्मबाट लगानी उठाएर मुनाफा गर्नकै लागि निर्माताले मुटु दह«ो पारेर पैसा लगाउँछन् । भलै कति सफल हुन्छन् त कति असफल । फिल्मको व्यावसायिक सफलता अथवा असफलता फिल्म निर्माण पछिको प्रचारप्रसारमा पनि भरपर्छ । अहिले एआईको युगमा विश्व प्रवेश गरिरहँदा प्रचारप्रसारको शैली फेरिएको छ । अर्थात निर्माताहरु डिजिटल प्रचारप्रसारमा जोड दिइरहेका छन् । सामाजिक सञ्जालको प्रयोगलाई प्राथमिकता दिइरहेका छन् ।

तर एक समय सामाजिक सञ्जाल र मिडियाको बढ्दो विकासक्रम नहुँदा फिल्म प्रचारप्रसारको शैली भिन्न थियो । त्यस समयमा पोस्टर, पत्रपत्रिका, माइकिङ र गीतलाई प्रचारप्रसारको प्रमुख आधार मानिन्थ्यो ।
नेपालको भित्तामा बम्बईको पोस्टर
फिल्मको प्रचारप्रसारको प्रमुख साधन पोस्टर नै हो । प्रविधिको विकाससँगै नेपालमै आकर्षक साजसज्जादेखि प्रकाशनसम्मको सुविधा छ । तर कुनै समय नेपाली फिल्मको पोस्टर छपाईंकै लागि भारतको बम्बई(मुम्बई) सम्म पुग्नुपथ्र्यो ।
कलाकार, निर्माता तथा निर्देशक नीर शाहको अनुभवमा पुरानो समयमा फिल्मको प्रचारप्रसारको प्रमुख आकर्षण नै पोस्टर हुन्थ्यो । ‘ठाउँमा ठाउँमा पोस्टरिङ गरिन्थ्यो । त्यो समयमा पोस्टर टाँस्न खुल्ला ठाउँ प्रशस्तै थिए । दुई तीनवटा साइजका पोस्टर बनाएर बम्बईमा लगेर छापिन्थ्यो’, उनी भन्छन्, ‘पोस्टरको निश्चित साइज हुन्थ्यो । त्यो साइजभन्दा ठूलो अथवा सानो साइजले काम दिँदैन थियो । त्यसबेला ५ देखि १० हजार प्रति पोस्टर छापेर बजारमा बाँड्ने गरिएको मलाई जानकारी छ ।’

फिल्म निर्माता तथा वितरक छविराज ओझा पोस्टरलाई नै प्रचारको प्रमुख माध्यम मान्छन् । ‘चिनिएका कलाकारहरुको तस्वीरसहित पोस्टर भित्तामा टाँस्दा दर्शकहरु चासो दिएर हेर्थे । फिल्म निर्माणको संख्या कम हुने भएकाले पनि कुन फिल्म कुन मितिमा आउँदैछ भन्ने पोस्टरबाटै थाहा पाउँथे’ उनी भन्छन्, ‘नेपालका प्रायः सबै ठाउँमा पोस्टर पु¥याएर टाँस्ने चलनले गर्दा त्यसले प्रचारप्रसारमा महत्वपूर्ण भुमिका खेल्थ्यो ।’ 
निर्देशक लक्ष्मीनाथ शर्मा पोस्टरले दर्शकलाई आकर्षित गर्ने भएकाले पनि निर्माताको बढी ध्यान आकर्षक पोस्टर बनाउनेमै हुने गरेको बताउँछन् ।

‘पोस्टर टाँस्नका लागि कुनै निषेध थिएन । त्यसकारणले पनि प्राथमिकतामा पोस्टर पथ्र्यो, अनि मात्र अन्य प्रचारप्रसारका सामाग्रीलाई अगाडि बढाइन्थ्यो’, उनी भन्छन् ।

रेडियो नेपालमा गीत
रेडियो नेपाल नेपाली फिल्म भन्दा धेरै जेठो छ । अर्थात् वि.सं. २००७ मा रेडियो नेपाल स्थापना हुँदा नेपालमै निर्माण भएको पहिलो नेपाली भाषाको फिल्म ‘आमा’ वि.सं. २०२२ सालमा रिलिज भएको थियो ।
कलाकार नीरका अनुसार २०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि मात्र टेलिभिजनले औपचारिक रुपमा गीतको प्रशारण गर्न थालेको हो ।

‘त्यस बेला नेपालमा एफएम थिएन । रेडियो नेपालबाट फिल्मको गीत भनेर छुट्टै बजाउने प्रचलन थिएन । रेडियो नेपालबाट निरन्तर गीत बजिरहने भएकाले पनि फिल्मको प्रमोसन राम्रै हुन्थ्यो’, नीर सम्झन्छन्, ‘फिल्म, कलाकार, निर्माता, निर्देशकको नाम नै राखेर फिल्मका लागि छुट्टै कार्यक्रम बनाएर प्रसारण भने नेपाल टेलभिजनको स्थापना पछि नै भएको हो । टेलिभिजनको उद्देश्य पनि नेपाली फिल्मको प्रवद्र्धन गर्ने नै थियो ।’ 

निर्माता ओझाकाअनुसार त्यसबेला गीत प्रशारणको प्रमुख माध्यम नै रेडियो नेपाल थियो ।

‘त्यो बेला एउटा गीत आउने बित्तिकै यो फिल्मको गीत आयो भनेर हंगामा भईहाल्थ्यो । गीत पनि रेडियो नेपालले रातभरि, दिनभरी बजाउँथ्यो । अझ रेडियोमा चिनेको मान्छे भयो भने फटाफट बजाउँथ्यो,’ उनी भन्छन् ।
निर्देशक शर्मा रेडियो नेपालमा फिल्मको नाम, गीतकार, संगीतकार, गायकगायिका सबैको नाम आउने भएकाले पनि निर्माताहरुले गीत दिने गरेको स्मरण गर्छन् । ‘अहिले त गायकगायिकाको नाममात्र भन्छन् । कतिपयले त भन्दैनन् पनि । त्यो बेला विस्तृत रुपमा आउँथ्यो । जसकारण पनि निर्माताहरु रेडियो नेपालमा गीत दिन लालयित हुन्थे’, शर्मा भन्छन् ।

माइकिङ बलियो आधार
कुनै समय फिल्म प्रचारप्रसारको प्रमुख आधार माइकिङ नै हुन्थ्यो । विशेषत काठमाडौं उपत्यका बाहिरका सहरमा माइकिङको ठूलो महत्व थियो । ‘रिक्सा, भाडाका ट्याक्सीबाट माइकिङ गरिन्थ्यो । हाम्रो समयमा सामूहिक रुपमा प्रचारप्रसारको अवस्थालाई फिल्म उद्योगले ग्रहण गरेको थिएन । त्यसकारण पनि निर्माताहरु आ–आफ्नो गच्छे अनुसारको प्रचारप्रसार गर्थे’, नीर भन्छन् ।

निर्माता ओझा शहरका कुनादेखि फिल्म हलसम्म हुने माइकिङले प्रचारप्रसारलाई बलियो बनाउने गरेको बताउँछन् । माइकिङमा फिल्मको प्रचारसँगै गीत पनि बज्ने भएकाले दर्शकले चनाखो भएर सुन्ने गरेको उनी स्मरण गर्छन् ।
पत्रपत्रिकामा विज्ञापन
एफएम रेडियो र निजी क्षेत्रका टेलिभिजनको विकास नहुँदा सर्वसाधारणलाई सूचनाको प्रमुख स्रोत पत्रपत्रिका नै हुन्थे । त्यस समयमा गोरखापत्र, कान्तिपुर, जनआस्थालगायतका दैनिक तथा साप्ताहिक पत्रिकाको बजारमा राम्रो प्रभाव थियो । त्यसकारण पनि निर्माताहरु पत्रपत्रिकामा समाचारसँगै विज्ञापनलाई पनि प्राथमिकता दिन्थे । बिहानको समयमा चिया पिउँदै पत्रपत्रिका हेर्ने बानीले गर्दा दर्शकलाई फिल्मप्रति चासो राम्रै हुन्थ्यो ।

सिल्भर र गोल्डेन जुब्लीमा दर्शकसँग अन्तरक्रिया
सामाजिक सञ्जाल र मिडिया पहुँचका कारण अहिले कलाकारहरु क्षण–क्षणमै मिडियासँग ठोक्किइरहन्छन् । अर्थात फिल्म प्रचारप्रसारमा कलाकारको सक्रिय सहभागिता अहिले अनिवार्यजस्तै छ । तर पुरानो समयमा अवस्था त्यस्तो थिएन ।
नीरकाअनुसार दर्शकसँग कलाकारले अन्तरक्रिया अथवा साक्षात्कार गर्न फिल्मको ‘सिल्भर जुब्ली’ अथवा ‘गोल्डेन जुब्ली’ नै पर्खनुपथ्र्यो । ‘अहिले पो कलाकारहरु फिल्मको प्रमोसनका लागि दैनिक रुपमा मिडियासँग कुराकानी गर्छन् । फिल्म रिलिज भएपछि हल–हल पुग्छन् । हाम्रो समयमा कलाकारहरु हल–हलमा जाने, दर्शकसँग अन्तरक्रिया गर्ने चलन थिएन । फिल्म लगातार २५ हप्ता प्रदर्शन भएपछि हलमा विशेष कार्यक्रम राखेर दर्शकसँग अन्तरक्रिया हुन्थ्यो । फिल्मलाई चर्चित बनाउनका लागि त्यो संयन्त्रले काम गरेको थियो,’ उनी भन्छन् ।

निर्देशक शर्मा नीरको भनाईमा सहमत छन् । ‘कलाकारहरु अहिले जस्तो दर्शक र मिडिया अगाडि गएर भाषण गर्ने, गीत गाउने, नाँच्ने चलन थिएन । फिल्म सफल भयो भन्ने थाहा भएपछि मात्र दर्शक भेट्न कलाकार पुग्थे’, शर्मा भन्छन् ।

अधिकतम एक लाख खर्च
अहिले कुनैपनि फिल्मको विज्ञापन गर्नुप¥यो भने निर्माताको अधिकतम १५ देखि २० लाखसम्म खर्च हुन्छ । यो खर्च अनलाइन र सामाजिक सञ्जालमा दिइने विज्ञापनवापतको हो ।
नीरकाअनुसार उनको समयमा एक लाख रुपैंयाँमा फिल्मको प्रचारप्रसार गर्नु उनकै भाषामा ‘भयंकर’ नै हुन्थ्यो । ‘मिडियाको उपस्थिति कम भएकाले बढी खर्च पोस्टर, माइकिङमै हुन्थ्यो । पैसा हुने निर्माताले एक लाख रुपैंयाँसम्म प्रचारप्रसारमा खर्च गर्थे’, उनी भन्छन् ।

निर्माता ओझा फिल्मको लागत अनुसार प्रचारप्रसार खर्च छुट्याइने गरिएको खुलाउँछन् । ‘अहिलेजस्तो मिडिया र सामाजिक सञ्जालको चाप थिएन । पत्रपत्रिका, पोस्टर र माइकिङमा खर्च हुने भएकाले त्यहीअनुसार बजेट बनाउँथ्यौं’, छवि भन्छन् ।

बक्सअफिस मानक
पुरानो समयमा अहिले जस्तो बक्सअफिस थिएन । हल सञ्चालकले दिएको हिसावमै निर्माताहरुले चित्त बुझाउनुपथ्र्यो । ‘हल सञ्चालकले जे हिसाब दियो, त्यही हिसाबमा आफूसँग आएको हिसाब देखाएर चल्यो वा चलेन भन्ने थाहा हुन्थ्यो । अहिलेको जस्तो पारदर्शी थिएन’,नीर भन्छन्, नीर भन्छन्, ‘सरकारले मनोरन्जन कर फिर्ता गर्ने प्रचलन थियो । सरकारले सरकारकै पैसा स्पष्ट रुपमा निर्मातालाई नै फिर्ता गर्ने गतिलो आर्थिक नीति अवलम्वन गरेको थियो । त्यसबाट आउने पैसा र टिकटबाट आउने पैसा गरेर अक्सर फिल्महरुले आफ्नो लगानी उठाउँथ्यो । धेरै फिल्म घाटामा जाँदैन थिए ।’

निर्माता ओझा फिल्मको प्रदर्शन अवधिका आधारमा हिसावकिताव हुने गरेको बताउँछन् । ‘शुक्रवार र शनिवार फिल्म लाग्दा मारामार हुन्थ्यो । दुई दिनको व्यापारले नै निर्माता ढुक्क हुन्थे । किनभने हल संख्या सीमित थियो । राम्रो फिल्म रहेछ भने दुई दिनपछि पनि निरन्तर अघि बढ्थ्यो । नराम्रो रहेछ भने तीन दिनदेखि चल्दैन थियो’, छवि भन्छन् ।

 

 

Nepal life insuranceimagesimagesimages