


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यबाट व्यावसायिक जहाजहरूलाई सुरक्षा दिँदै बाहिर निकाल्ने सैन्य अभियान ‘प्रोजेक्ट फ्रीडम’ तत्कालका लागि स्थगित गर्ने घोषणा गर्नुभएको छ । वासिङ्टन र तेहरानबीच हुन लागेको सम्भावित शान्ति सम्झौताका लागि वातावरण सहज बनाउन यो निर्णय लिइएको उहाँले बताउनुभएको छ । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत सो जानकारी दिनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘इरान विरुद्धको नाकाबन्दी पूर्ण रूपमा लागू रहने भएपनि, सम्झौतालाई अन्तिम रूप दिन र हस्ताक्षर गर्न सकिन्छ कि भन्ने प्रयोजनका लागि ‘प्रोजेक्ट फ्रीडम’ (हर्मुज जलडमरूमध्यबाट जहाजहरूको आवागमन) लाई छोटो समयका लागि रोकिएको छ।’

ट्रम्पकाअनुसार पाकिस्तान र अन्य केही देशहरूको अनुरोध तथा इरानका प्रतिनिधिहरूसँगको वार्तामा भएको ‘महत्वपूर्ण प्रगति’ का आधारमा यो कदम चालिएको हो । उहाँले इरानसँगको पूर्ण र अन्तिम सम्झौताका लागि ठोस आधार तयार भइरहेको समेत संकेत गर्नुभएको छ । यसअघि, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायलसँग मिलेर गत फेब्रुअरी २८ देखि शुरु गरिएको सैन्य अभियान ‘एपिक फ्युरी’ समाप्त भएको जानकारी दिनुभएको थियो ।

कंग्रेसलाई यसबारे जानकारी गराउँदै विदेशमन्त्री रुबियोले भन्नुभयो, ‘त्यो चरणको कारबाही अब सकिएको छ । अब हाम्रो ध्यान विश्वव्यापी ऊर्जा मार्ग पुनः सञ्चालन गर्ने प्रयास अर्थात् ‘प्रोजेक्ट फ्रीडम’ मा केन्द्रित छ ।’
यद्यपि, राष्ट्रपति ट्रम्पको पछिल्लो घोषणाले उक्त ‘प्रोजेक्ट फ्रीडम’ लाई पनि केही समयका लागि थाती राखेको छ, जसले गर्दा इरानसँगको कूटनीतिक संवादलाई प्राथमिकता दिइएको स्पष्ट हुन्छ ।



