माधव ढुङ्गेल
काठमाडौँ – उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले फागुन ७ गते प्रजातन्त्र दिवस नमनाएर गल्ती गरेको स्वीकार्दै संसदमा माफी मागेका छन्।
गृहमन्त्रीले यस विषयमा स्पष्टिकरण दिने भएपछि विपक्षीहरुले आज संसद अवरुद्ध गर्ने कार्यक्रम फिर्ता लिएका थिए। गृहमन्त्री गच्छदारले प्रजातन्त्र दिवस नमनाउने निर्णय माधवकुमार नेपाल कै सरकारको पालामा भएको जिकिर गरे।
उनले आगामी वर्षदेखि पहिले जस्तै दिवस मनाउने प्रतिवद्धता जाहेर गरे।
प्रजातन्त्र दिवस मनाउने ६ दशक लामो परम्परा सरकारले यस पटक तोडेकोमा विपक्षीहरुको कडा आलोचना खेप्नु परेको थियो।