


सोलमन टापुका प्रधानमन्त्री जेरेमिया मानेलेले संसदमा आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रश्तावमाथि छलफल हुनुअघि देशवासीलाई शान्त रहन र एकता कायम राख्न आह्वान गर्नुभउको छ । संसदको विशेष बैठक बस्नुभन्दा एक दिनअघि बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री मानेलेले राजनीतिक प्रक्रियाका कारण सर्वसाधारणको दैनिक जीवनमा बाधा पुग्न नहुने बताउनु भयो ।

उहाँले सबै नागरिकलाई आफ्ना नियमित गतिविधिहरू जारी राख्न आग्रह गर्नुभयो ।

‘म अविश्वासको प्रश्तावमाथि संसदमा छलफल होस् भन्ने चाहन्छु । म संसदमा आफ्नो धारणा राख्नेछु र यदि मसँग पर्याप्त बहुमत नरहेको पुष्टि भएमा म पदबाट राजीनामा दिनेछु।’ प्रधानमन्त्री मानेलेले सञ्चारकर्मीहरूसँग भन्नुभयो ।
राष्ट्रिय संसद सचिवालयका अनुसार प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रश्तावमाथि छलफल गर्न बिहीवार बिहान विशेष बैठक आह्वान गरिएको छ ।
यसअघि ‘कोर्ट अफ अपील’ (पुनरावेदन अदालत) ले प्रधानमन्त्रीलाई आगामी मे ७ भित्र संसदको बैठक बोलाउन कानूनी कदम चाल्न आदेश दिएको थियो ।
सोही आदेशको पालना गर्दै सरकारले संसद्को बैठक बोलाएको हो । संसदको उक्त विशेष बैठकमा सर्वसाधारणलाई सहभागी हुन अनुमति दिइएको छ । यद्यपि, विगतमा भएका उच्छृङ्खल र हिंसात्मक घटनाहरूलाई मध्यनजर गर्दै संसद् परिसरमा कडा सुरक्षा व्यवस्था लागू गरिएको छ । थप अप्रिय घटना हुन नदिन सुरक्षा निकायहरूलाई उच्च शतर्कतामा राखिएको अधिकारीहरूले जनाएका छन् ।



