


काठमाडौँ । आज संवैधानिक परिषदको बैठक शुरु भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको संबैधानिक परिषदको बैठक केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकले ३२ औं प्रधानन्यायाधीशको सिफारिस बारे निर्णय गर्ने एजेण्डा रहेको छ ।

प्रधानन्यायाधीश सिफारिस गर्ने बैठकमा कानुनमन्त्रीसमेत सहभागी हुने प्रावधान रहेकोले यस बैठकमा मन्त्री सोबिता गौतमको समेत सहभागिता हुनेछ ।

न्याय परिषद् बैठकले वरिष्ठ न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा.मनोजकुमार शर्मा, डा.नहकुल सुवेदी र तिल प्रसाद श्रेष्ठको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरिसकेको छ ।
नेपालको संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था रहेको छ । परिषदमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दलका नेताका रूपमा भीष्मराज आङ्देम्बे रहेका छन । त्यस्तै प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बैठकमा कानुनमन्त्री पनि परिषदको सदस्यको रुपमा बैठकमा सहभागी हुन पाउने कानुनी व्यवस्था रहेको छ । त्यस्तै नेपाल सरकारका मुख्यसचिवले परिषदको सचिवको रुपमा काम गर्ने व्यवस्था रहेको छ ।

सरकारले अध्यादेशमार्फत यसअघि व्यवस्था संशोधन गर्दै चार जना उपस्थित भएमा बैठक बस्न सकिने र तीन जनाको सहमतिमा निर्णय गर्न सकिने व्यवस्था गरेको छ ।



