सञ्चारमन्त्री तिमिल्सिनाको स्पष्टिकरण–सरकार पत्रकारितामाथि कुनैपनि प्रकारको अङ्कुश लगाउने तयारीमा छैन

 

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले संविधानले पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको उल्लेख गर्दै सरकार पत्रकारितामाथि कुनै प्रकारको अंकुश लगाउने तयारीमा नरहेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय पत्रकारिता दिवस–२०८३ को अवसरमा बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय पत्रकारिता पुरस्कार तथा वरिष्ठ पत्रकार सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लोकतन्त्रको सुदृढीकरणका लागि स्वतन्त्र, निष्पक्ष र मर्यादित पत्रकारिता अपरिहार्य रहेको उहाँको भनाइ छ ।

उहाँले सामाजिक सञ्जालको दुरुपयोग र फेक न्यूजका कारण समाजमा भ्रम, विभाजन र अविश्वास बढिरहेको भन्दै त्यसको नियन्त्रणका लागि तथ्यजाँचलाई पत्रकारिताको महत्वपूर्ण अंगका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रेस स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तरदायित्व पनि जोडिने भएकाले पत्रकारिताले तथ्य र सत्यलाई केन्द्रमा राख्नुपर्ने बताउनु भयो ।

उहाँले विश्वमा सूचना प्रविधिको तिब्र विकासले सञ्चार क्षेत्रमा क्रान्ति ल्याएपनि त्यससँगै चुनौती समेत बढ्दै गएको बताउनु भयो । उहाँले सुशासन कायम गर्न जिम्मेवार पत्रकारिताको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्दै यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘सुशासनको आधारः प्रविधिमैत्री जिम्मेवार पत्रकार’ तय गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्रको सुदृढिकरणका लागि स्वतन्त्र, निष्पक्ष मर्यादित पत्रकारिता अपरिहार्य छ । हाम्रो संविधानले पूर्ण पैस स्वतन्त्रताको प्रत्याभुति गरेको छ । सरकारले पत्रकारितामाथि कुनैपनि प्रकारको अङ्कुश लगाउने तयारीमा छैन । तर स्वतन्त्रतासँगै जिम्मेवारी र उत्तदायित्व पनि जोडिएर आउँछ । हामी यस्तो पत्रकारिता खोजिरहेका छौँ जहाँ तथ्यले स्थान पाओस् । र सत्यले समाजलाई मार्गनिर्देश गरोस् । आजको युग डिजिटल युग हो । यस सन्दर्भमा मुलुकको सुशासनको आधार जिम्मेवार पत्रकारिता रहेको तथ्यलाई दृष्टिगत गरी यस वर्षको राष्ट्रिय पत्रकारिता दिवसको नारा ‘सुशासनको आधार प्रविधिमैत्री जिम्मेवार पत्रकार’ तय गरिएको छ । विश्वमा भएको सूचना प्रविधिको दु्रत विकासले सूचना प्रविधिको क्षेत्रमा क्रान्ती ल्याएको छ ।

तर सँगसँगै निकै धेरै चुनौती पनि थपिएका छन् । छापादेखि अनलाइनसम्मका सञ्चारमाध्यमहरुको व्यवसायिकता र दिगोपन महत्वपूर्ण छ भन्ने सरकारको ठम्याइ छ । मन्त्रालय विज्ञापन नीति २०८३ तर्जुमा गरी सञ्चार माध्यमको हितमा नीतिगत व्यवस्था गर्नेगरी अगाडि बढिरहेको छ । सामाजिक सञ्जालको दुरुपयोग र फेक न्यूजले समाजमा विभाजन ल्याउने र भ्रम फैल्याउने कार्य गरिरहेको सन्दर्भमा यसलाई न्यूनिकरण गर्न र पत्रकारिताको विश्वसनीयतालाई जोगाउन तथ्यजाँचलाई  पत्रकारिताको एउटा महत्वपूर्ण अंगका रुपमा अंगाल्नुपर्ने आवश्यकता देखिएको छ ।’

उहाँले सरकारले सञ्चारमाध्यमको व्यवसायिकता र दिगोपनलाई प्राथमिकतामा राख्दै विज्ञापन नीति–२०८३ तर्जुमा गर्ने काम अगाडि बढाइरहेको बताउनु भयो । उक्त नीतिमार्फत सञ्चारमाध्यमको हित संरक्षण गर्ने गरी नीतिगत व्यवस्था गरिने उहाँको भनाइ छ ।

 

Nepal life insuranceimagesimagesimages