


भारत र भियतनामले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर गर्दै सन् २०३० सम्ममा २५ अर्ब अमेरिकी डलरको द्विपक्षीय व्यापार पु¥याउने नयाँ लक्ष्य निर्धारण गरेका छन् । भारतको तीन दिने राजकीय भ्रमणमा रहेका भियतनामी राष्ट्रपति तो लाम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बुधवार नयाँ दिल्लीमा भएको भेटवार्तापछि ती समझदारीहरू साझा गरिएका हुन् ।

दुई देशबीच वित्तीय नवाचार, सीमापार डिजिटल भुक्तानी, सांस्कृतिक सहयोग, दुर्लभ खनिज, समुद्र विज्ञान, औषधि विज्ञान, शिक्षा र पर्यटन प्रवद्र्धन जस्ता महत्वपूर्ण क्षेत्रहरूमा समझदारी भएको छ। यसैगरी, जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन भारतको मुम्बई र भियतनामको हो चि मिन्ह सिटीबीच ‘भगिनी सम्बन्ध’ (सिस्टर–सिटी) स्थापना गर्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ ।


भेटका क्रममा दुवै राष्ट्रप्रमुखले आफ्नो द्विपक्षीय सम्बन्धलाई ‘बढाइएको वृहत रणनीतिक साझेदारी’ मा स्तरोन्नति गर्ने निर्णय गरेका छन् ।आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०३० सम्ममा २५ अर्ब अमेरिकी डलर बराबरको व्यापार गर्ने महत्वाकांक्षी लक्ष्य समेत दुवै पक्षले तय गरेका छन् ।



