काठमाडौ – स्थानीय निकायमा चुनावको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले मुलुकभरका गाउँ विकास समितिको कार्यालयहरुमा बिहीबार तालावन्दी गरेको छ । नेताहरु आफैले नेतृत्व गरी आफ्नो गाविसमा तालाबन्दी गरेका छन् ।
राप्रपा नेपालका युवा नेता मोहन श्रेष्ठका अनुसार पार्टी अध्यक्ष कमल थापाले आफ्नै नेतृत्वमा मकवानपुरको र्गहजलिला मकवानपुरको हटिया र पदमपोखरी गाविस कार्यालयमा तालावन्दी गराएका छन् ।
तालाबन्दी कार्यक्रममा थापाले बर्तमान सरकार इतिहासकै भ्रष्ट र नालायक सरकार भएको उल्लेख गर्दै आफ्नो पार्टीले राखेको माग समयमा पुरा नगरिए सडकबाटै बिकल्प खोजिने चेतावनी दिए ।
त्यसैगरी पार्टीका सहअध्यक्ष पदमसुन्दर लावतीले पाँचथरको यशोक र उपाध्यक्ष धवलसमशेर राणाले बाँकेको पर्वनियपुर गाविस भवनमा तालाबन्दी गरेका छन् ।
यही फागुन ५ देखि ११ गतेसम्मको घोषणा गरिएको प्रथम चरणको आन्दोलनमा यसअघि जिविस र नगरपालिकाहरुमा पनि तालाबन्दी गरेको थियो । दोस्रो चरणको आन्दोलन छिट्टै घोषणा हुन लागेको पनि श्रेष्ठले बताए । –कान्तिपुर



